एउटै शवले देश हल्लाउन खोज्ने कस्तो विडम्बना

एउटै शवले देश हल्लाउन खोज्ने कस्तो विडम्बना

पोसकान्त पोखरेल


कोरोना भाईरस (कोभिड–१९) को आतंक विश्वभर मच्चिएको छ । त्यसमा नेपाल जस्तो सानो मुलुक त अछुतो रहने कुरै भएन । कोरोनाको त्रास त भयो भयो कोरोना सँगै अन्य धेरै कुराहरुले नेपालीहरुलाई समस्यामा पारेको छ । आयात र रेमिट्यान्समा निर्भर नेपालमा यसपछिको अवस्था कस्तो हुने हो भन्ने चिन्ता पनि उत्तिकै छ । बजार अभावमा कृषिमा संलग्न कृषकहरुको आत्मविश्वास घट्दै गएको समयमा प्रवद्र्धनात्मक कृषि विकास चुनौतीपूर्ण यात्रा बनेको छ । दैनिक ज्यालादारी गरेर खानेलाई खाद्य संकटको चिन्ता छ । सबैलाई आ–आफ्नै चिन्ता र तनाब छ । ज्वरो आउने रुघाखोकी लाग्ने समस्या देखिए निजी अस्पतालले नलिने, लिएपनि अस्पतालमा अन्य संक्रमित भए सर्छ की भन्ने त्रास सारा नेपालीको साझा समस्या बनेको छ । संक्रमणमा जिउँदोको जन्ती जाने त सवाल हरायो हरायो मर्दाको मलामी जान पनि मानिसहरु तयार हुँदैनन् । डराईरहेका छन् । सबैलाई आफ्नै ज्यान बचाउने चिन्ता छ । त्यसमा पनि सरकारका जिम्मेवार अधिकारीहरुको संलग्नतामा स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएका आवाजहरुले सरकारलाई आलोचित बनाएको छ । संक्रमणकालिन विषम परिस्थितीमा पनि सरकारले आलोचित बन्ने काम गरेको हो कि नियोजित तरिकाले आलोचित बनाईएको छ ? यो आम नागरिकको सुझबुझ भन्दा बाहिरको कुरा हो ।

यतिबेला बुटवलको धागो कारखानामा निर्माण गरिएको कोरोना विशेष अस्थायी अस्पताल केही चर्चाको श्रोत बनेको छ । उक्त अस्थायी अस्पतालमा भर्ना भएका ३४ बर्षिय बाबुराम थापाको यहि चैत १६ गते आईसोलेशनमा मृत्यु भएपनि अहिले सम्म उनको शवको अत्येष्टी हुन नसक्नु समस्याको प्रतिउत्पादन गर्ने श्रोत बन्दै गएको छ । रिब्दीकोट गाउँपालिका पाल्पामा स्थायी घर भएका थापा सैनामैना नगरपालिकामा अस्थायी बसोबास गर्दै आएका थिए । चैत ६ गते यूएईबाट नेपाल आएका थापा १३ गते उक्त कोरोना विशेष अस्पतालमा भर्ना भएको तीन दिन पछि अर्थात चैत १६ गते मृत्यु भएको थियो । नौं नौं दिन वितिसक्दा पनि अस्पतालबाट शव उठ्न नसक्नु समन्वय, अविश्वास, चेतनाको कमीका साथै वास्तविकतामा बाँझिएका कुराहरुले सृजना गरेको अवस्था हो । जसले सम्बन्धित सबैप्रति प्रश्न चिन्ह खडा गरेको छ ।

पारिवारिक श्रोतका कुराहरुलाई आधार मान्ने हो भने १३ गते भर्ना भएका उनको १६ गते मृत्यु पछि थ्रोट स्वाब संकलन गरी सोही दिन काठमाडौं पठाईयो । चिकित्सकहरुको चरम लापरवाहीले मृत्यु भयो । मृत्युको जिम्मेवारी सरकारले लिनु पर्छ र क्षतिपुर्ती पनि दिनु पर्छ भन्ने भएतापनि यस विषयमा सरकारले ठोस निर्णय लिन ढिलाई गरिरहेको छ । जुन ढिलाईले समस्या थप उत्कर्स तर्फ लम्किरहेको छ । सरकारका जिम्मेवार अधिकारीहरुले चिकित्सकको लापरवाहीले मृत्यु नभई निमोनियाको कारणले मृत्यु भएकोले क्षतिपुर्ती दिने सवाल नउठेको बताउँदै आएका छन् । तरपनि नौं दिन सम्म शव उठ्न नसक्नु कमजोर राज्य सञ्चालन व्यवस्थाको ज्वलन्त उदाहरण बनाएको छ ।

१३ गते भर्ना भएका थापाको मृत्यु पछि १६ गते नै हतार गरेर स्वाब संकलन गरिनु आफैमा संकास्पद बातावरण सृजना गर्ने आधार हो । सुरुमा कोरोनाकै कारण मृत्यु भएको हल्लाले कसैले पनि थापाको शव छुने आँट गरेनन् । तीन दिने उपचार अवधीमा संकास्पदकै कारणले चिकित्सकहरुले कस्तो उपचार विधी अपनाए वा अपनाएनन् लापरवाही गरे त्यो सिसिटीभी क्यामेरामा कैद गरिएको भए क्यामेरा र चिकित्सकलाई थाहा छ वास्तविकता के हो भन्ने । सिसिटिभी निगरानीमा थिएन भने चिकित्सकको निर्णय नै अन्तिम हो । परीक्षण पछि रिर्पोट नेगेटिभ आएपनि राज्यले वास्तविकता लुकाएको कुराले भित्रभित्रै चर्चा बटुलेको छ । यति वास्तवमै रिर्पोट नेगेटिभ नै हो भने सरकारले जनतालाई बुझाउन नसक्नु सरकारको कमजोरी हो । सरकारले होईन भन्दा भन्दै पनि बुझ्न नसक्नुमा जनचेतनाको कमी हो ।

मर्ने मरिहाल्यो बाच्नेलाई दुःख दिने वातावरण सृजना हुनै कसैका लागि पनि राम्रो पक्ष होईन । कोरोना विशेष अस्पतालमा मरेका थापाको वास्तविक मरणको बारेमा चित्तबुझ्दो जवाफ दिन ढिला गर्नु हुँदैन । समस्या जतिधेरै पाल्यो उतिधेरै बल्झिने हुँदा उक्त घटनाको समाधानका लागि समिति बनाएर छानविन गरी छरपष्ट पार्नु नै बुद्धिमानी कार्य हो । चिकित्सकबाट लापरवाही भए नभएको सिसिटिभी क्यामेरा हेरर छर्लङ पार्नु पर्छ । यदि चिकित्सकबाट लापरवाही भएको छैन भने वास्तविकतालाई फेस गर्न आनाकानी गर्नुको कुनै औचित्य छैन् । वास्तविकता जान्न पाउने थापा परिवारको अधिकार हो । वास्तविकता देखाउनु सरकारको कर्तव्य हो । समस्या देखिने वित्तिकै समस्या समाधान खोज्नु र समस्याले उघ्ररुप लिंदै जाँदा दवाबै दवाबले गर्नुमा आकाश जमिनको फरक हुन्छ । पहिला गरिएको कामले उच्च सम्मान दिलाउँछ भने पछि गरिएको कामले धेरै भन्दा धेरै आलोचित बनाई अपमान गर्छ । यहि अवस्था रहिरहने हो भने एउटै शवले देश हल्लाउने स्थिती सृजना हुँदैन भन्ने कुनै ग्यारेण्टी छैन । त्यसैले सक्यो छिटो शवको अन्त्येष्टी गर्ने वातावरण मिलाउनु अहिलेको आवश्यकता हो । आर्थिक दैनिकबाट

 

प्रतिकृया दिनुहोस


Techie