सानै उमेरमा चर्चित

सानै उमेरमा चर्चित

जिया कार्की अहिले १४ वर्षकी भइन् । यो उमेरमा नै जिया कराँतेमा राष्ट्रिय च्याम्पियन बनिसकेकी छन् । गत वैशाखमा भएको आठौँ राष्ट्रिय खेलकुदमा महिला ४२ केजी कुमुतेतर्फ स्वर्ण पदक जितेपछि जियाको चर्चा निकै भयो । राष्ट्रिय खेलकुद नेपालको सबभन्दा ठूलो खेलकुद प्रतियोगिता हो । जहाँ नेपालका उत्कृष्ट खेलाडीको जमघट रहने गर्दछ । त्यस्तो प्रतियोगितामा कम उमेरकी जियाले स्वर्ण जित्छ भन्ने कसले सोचेको होला र । जियाको सोचाई भने फरक थियो, जित्छु भन्ने । नभन्दै एपीएफको प्रतिनिधित्व गरेकी जियाले अझ आफूभन्दा निकै अनुभवी नेपाली सेनाकी कुमु खड्कालाई फाइनलमा नकआउट गरेर च्याम्पियन बनिन् । यस्तो विशेष प्रदर्शनपछि जिया सबैको नजरमा पर्न सफल भइन् ।

राष्ट्रिय खेलकुदमा एपीएफलाई कराँतेमा स्वर्ण पदक दिलाउने जिया एक मात्र खेलाडी हुन् । त्यसैले पनि जियाको स्वर्ण पदक थप महत्वपूर्ण बन्यो । प्रतियोगितामा भाग लिँदा मात्र जिया एपीएफको प्रतिनिधित्व गर्छिन् । किनभने एपीएफमा आधिकारिकरुपमा आवद्ध हुन उनको उमेर पुगेको छैन । तर कराँतेमा उनको क्षमता देखेर अहिले एपीएफ मात्र होइन नेपाल सेना र नेपाल प्रहरीले पनि जियामाथि नजर लगाइसकेका छन् ।

जियाले गत असार महिनामा थाइल्यान्डमा भएको थाइल्यान्ड ओपन कराँते च्याम्पियन्सीपमा पनि भाग लिइन् । त्यहाँ पनि उनले पहिलो राउन्डमा आयोजक देशकै खेलाडीलाई सजिलै हराइन् । तर, जिया दोस्रो राउन्डमा इन्डोनेसियाकी खेलाडीसँग हारिन् । जसले जियाको नेपालबाहिर आप्mनो देशलाई पदक दिलाउने इच्छा पूरा भएन । नेपालबाहिर जियाको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । पदक जित्न नसके पनि उनी ठूलो अनुभव र शिक्षा हासिल गरेर नेपाल फर्केकी छन् ।

जिया भन्छिन्– अर्को पटक विदेशमा पक्का नेपालालई पदक दिलाउनेछु । विदेशी खेलाडी पनि हामीभन्दा स्तरीय होइन रहेछ । हामी मज्जाले उनीहरुलाई टक्कर दिन सक्छौँ । जिया विदेशमा खेलकुदको भौतिक संरचना र अत्याधिुनिक सुविधाजनक अभ्यास स्थल देखेर भने छक्क परिन् । आफैलाई भनिन्– यस्तो प्रशिक्षण पाएको भए नेपाल कराँतेमा धेरै माथि हुन्थ्यो होला । यद्यपि पदक जित्न नसकेपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न अझ धेरै मिहेनेत गर्नुपर्छ भन्ने पनि उनलाई लागेको छ ।

जियाले कराँते खेल्न सुरु गरेको सात वर्ष भयो । दिदी रिया कार्कीले आफूसँगै जियालाई मनमैजु डोजोमा कराँते सिकाउन लगेकी थिइन् । सुरुमा त रहरमा कराँतेमा होमिएकी जियाका लागि अब भने कराँते आफ्नो जीवनको अभिन्न अंग जस्तो लाग्छ । यस सात वर्षको कराँते यात्रामा जियाले थुप्रै सफलता हात पारिसकन् । साँच्चिकै भन्ने हो भने उनले आफूले जितेको पदकको संख्या पनि बिर्सिसकिन् । सन् २०१४ मा आफ्नो पहिलो प्रतियोगिता प्रथम इन्टरनेसनल कराँते च्याम्पियन्सीपमा स्वर्ण पदक जितेपछि जियाको प्रदर्शनको ग्राफ तल झरेको छैन ।

यसबीच उनले सन् २०१५ मा तेस्रो राष्ट्रिय ल्होसार कप ओपन कराँते च्याम्पियन्सीप, सन् २०१६ मा किड्स कराँते च्याम्पियन्सीप, चौथो इन्डो नेपाल कराँते च्याम्पियन्सीप, दोस्रो इन्टरनेसनल कराँते च्याम्पियन्सीप, नवौँ राष्ट्रिय प्रेसिडेन्ट कप, सन् २०१७ भएको प्रथम किसुनजी मेमोरियल वाडो कराँते च्याम्पियन्सीप, दोस्रो खुल्ला वाडो कार्य कराँते च्याम्पियन्सीप, तेस्रो इन्टरनेसनल कराँते च्याम्पियन्सीप, ५०औँ राष्ट्रिय कराँते च्याम्पियन्सीप, प्रथम रुरल म्युनिप्याटिज प्रेसिडेन्ट राष्ट्रिय कराँते,, छैटौँ सितेरियो कराँते एन्ड किक बक्सिङ, सन् २०१८ मा १६औँ डब्लयूकेआई इन्टरनेसनल कराँते, चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय कराँते तथा सन् २०१९ मा अन्तरा नगरपलिका कराँते र आठौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेकी छन् । अझ रजत, काश्य र उत्कृष्ट खेलाडीको पदक यहाँ उल्लेख गरिएको छैन ।

अब जियाको सपना भनेको सफल कराँते खेलाडी बन्ने र देशलाई एसियाली र ओलम्पिकमा पदक दिलाउने नै हो । तर, उनी सँगसगैँ पढाइलाई पनि लान चाहन्छिन् । जिया मनमैजु सकेन्डरी स्कुलमा कक्षा दशमा अध्ययनरत छिन् । त्यसैले अहिले जियालाई भ्याइनभ्याई छ । बिहान छ बजे नै स्कुल जानुपर्छ । कोचिङ कक्षा भएकोले बेलुका पाँच बजेसम्म स्कुलमा नै बस्नुपर्छ । फर्खेपछि दुईदेखि तीन घन्टा कराँतको अभ्यासमा गर्छिन् । त्यसपछि रातिको ११ बजेसम्म पुनः अध्ययनमा तल्लीन हुन्छिन् । पढाई बाहेक जियालाई नृत्य गर्न पनि मनपर्छ । उनले स्कुलमा मात्र होइन अन्य सांस्वृmतिक कार्यक्रम र डान्स प्रतियोगितामा पनि भाग लिएकी छन् ।

जियालाई सुरुवाती समयदेखि निरज महर्जनले प्रशिक्षण दिनुभएको हो । प्रशिक्षण निरज उमेरले साथ दिएको भए यस वर्ष नेपालमै हुन लागेको दक्षिण एसियाली खेलकुदमा जियाले पदक जित्ने पक्का छ, भन्छन् । ‘जिया सागमा पदक जित्न तयार भइसकेकी छन् । तर उमेरले धोका दियो । सागमा कराँतेमा प्रतिस्पर्धा गर्न १८ वर्ष पुग्नुपर्ने प्रावधान राखिएको छ । त्यसैले जिया सहभागी हुन पाएन । नत्र जियाले सागमा पदक पक्का थियो तर, उमेर उनको साथमा छ । अझ उनको अगाडि धेरै अवसर आउनेछ । मिहेनेत गर्न छोड्नु हुँदैन । अझ जियाजस्ता प्रतिभाशाली खेलाडीमा सरकारले पनि ध्यान दिनुपर्छ । ओलम्पिकमा पदक दिलाउने स्थितिसम्म पु-याउने हो भने सरकारले पनि यस्ता प्रतिभाशाली खेलाडीको उचित संरक्षण गर्नुपर्छ ।’ (जनमञ्च साप्ताहिकबाट)

प्रतिकृया दिनुहोस


Techie