सन्तोषी एकाएक कीर्तिमानधारी

सन्तोषी एकाएक कीर्तिमानधारी

एथलेटिक्स खेलै पुरानो  । यसलाई ‘फादर अफ स्पोर्ट्स’ मानिन्छ  । यही एथलेटिक्समा सन्तोषी श्रेष्ठले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्णपदक जितेर इतिहास रचेकी छन् । १३औं दक्षिण एसियाली खेलकुदमा उनी एथलेटिक्समा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय स्वर्ण जित्ने महिला खेलाडी भएकी हुन् । सन्तोषीले १० हजार मिटर दौडमा त्यो सफलता हासिल गरेकी हुन् । उनले एक मिलिसेकेन्डले मात्र भारतीय प्रतिद्वन्द्वी कविता यादवलाई पछाडि पारिन् ।

सन्तोषीको टाइमिङ निस्कियो ३५ मिनेट ०७.९४ सेकेन्डको । कविताको टाइमिङ थियो ३५ मिनेट ०७.९५ सेकेन्ड । एक मिलिसेकेन्ड भनेको त्यति थोरै समय हो, जुन एक सेकेन्डलाई हजार भाग लगाउँदाको एक भाग हो । अर्थात्, हजार मिलिसेकेन्डबराबर एक सेकेन्ड हुन्छ । अन्तिम रेखा पार गर्दा शरीरको भागबाट गरिनुपर्ने मूल्यांकनमा उनले बाजी मार्दै इतिहास कोरेकी हुन् ।

एक मिलिसेकेन्डले जीवनमा के अर्थ राख्ला ? यही एक मिलिसेकेन्डले सफलता चुम्न सफल भइन् सन्तोषी । ‘टाइम म्यानेजमेन्टमा धेरै कमजोर हुँ । दौड प्रतियोगितामा लागेपछि एक मिलिसेकेन्ड पनि कति महत्वपूर्ण छ भन्ने बुझ्न थालेकी छु ।’ सन्तोषीले भनिन् । सन्तोषी श्रेष्ठ, साग अगाडिसम्म एथलेटिक्स संघ तथा खेलाडी र उनको घर परिवार र नातागोताका मान्छेले मात्रै सुनेको जानेको नाम थियो । तर, जब १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा यस्तो कीर्तिमान बनाइन् जसले उनलाई एकाएक कीर्तिमानधारी खेलाडीको पहिचान दियो ।

सन्तोषी नेपाली एथलेटिक्स र सागको इतिहासमा नेपालका लागि स्वर्ण जित्ने पहिलो महिला खेलाडी बनिन् । कविता यादव सन्तोषीले सुनेको नाम थियो । तर, पहिलो पटक उनीसँग आफ्नै देशमा दौडिँदै थिइन् । ‘रमाइलो लागिरेहको छ । सुरुमा त म नर्भस भएकी थिए । तर, ट्र्याकमा दौडिँदा अन्य कुराहरुभन्दा पनि मेरो लागि सोच्ने व्यक्तिहरुको बारेमा सोचे ।’ सन्तोषी भन्छिन् । आफूजस्तै थुप्रै महिलाहरुका बारेमा सोचे । मेरो लागि सबैभन्दा ठूलो कुरा यही हो भन्ने सोच बनाएर दौडिएको सन्तोषीको भनाइ रहेको छ ।

धादिङको ज्वालामुखी गाउँपालिका सुनखानी घर भएकी सन्तोषीले स्कुल पढ्दादेखि नै दौडमा रुचि राख्थिन् । उनले कहिलै पनि आफ्नो कीर्तिमानी स्वर्ण जित्न सक्छु भन्ने सोचेकी थिइनन् । तर, एथलेटिक्समा स्वर्ण जित्ने पहिलो महिला खेलाडी बनेकी उनले सागमा सक्दो राम्रो गर्ने योजना बनाएर बन्द प्रशिक्षणमा जुटेको बताइन् । जीतले दिएको खुसी आउँदा दिनलाई लिएन सन्तोषी निकै उत्साहित छिन् ।

त्योभन्दा पनि उनी आफूलाई नयाँरुपमा समाजमा आफ्नो पहिचान बनाउन सफल भएकी छन् । नेपालमा विभागीय क्लबका खेलाडीहरुको वर्चश्व छ । जताततै विभागीय टोलीको वर्चश्व भइरहँदा विभागभन्दा बाहिर रहेकी सन्तोषीले स्वर्ण जित्दा धेरै त अचम्म पनि लागिरहेको छ ।सानैदेखिको खेल क्षेत्रमा रमाउने रहर पूरा गर्दै राष्ट्रका लागि केही गर्न सकेकोमा उनी दंग छन् । ‘देशका लागि केही गर्नुपर्छ भन्ने भावना थियो । यहीँबाट सुरु भएको छ । देशको शिर उचो राख्ने गरी आगामी दिनमा मेरो प्रदर्शन रहनेछ,’

प्रफुल्लित मुद्रामा उनले भनिन् । सागमा स्वर्ण दिलाएर देशको नागरिकको जिम्मेवारी पूरा गरेको जस्तो लागिरहेको छ । उनले आफ्नो रहर पूरा गर्न खेल्ने गरे पनि अहिले यही आफ्नो रहर देशको पदक बनेर आउँदा खुसी लाग्ने पनि बताइन् । सन्तोषीले स्कुलदेखि दौडिएको मिहेनत खेर जाँदैन भन्ने उनको अभिभावकलाई लागेको थियो । स्वर्ण ल्याउँछ भन्दा अरु मानिसहरु स्वर्ण जित्छ नभनिहालौँ भन्थे सन्तोषीका अभिभावक भन्छन् ।

प्रोजेक्ट अफिसरका रुपमा एनजीओमा काम गरिरहेकी सन्तोषीलाई कामभन्दा पनि खेलमा चासो बढेपछि उनी खाइपाइ आएको काम छाडेर दौडिन थालिन् । तर, पढाइ नभई हुँदैन भन्ने बुझेकी उनी अहिले पव्लिक हेल्थमा स्नातकोत्तर गर्ने लक्ष्यमा छिन् । सन्तोषीलाई आफू बेरोजगार हुँदा घर परिवारलाई दुःख भएको बताउँछिन् । खाइपाइ आएको जागिर छाडेर खेलमा लागेकी उनले सोचेअनुसारको सफलता हात पारे पनि घर परिवारलाई आर्थिकरुपमा सहयोग गर्न नसकेकोमा दुःख लागेको बताइन् ।

‘म खेलमा लागेर घर परिवार, भाइ सबैलाई दुःख भइरहेको छ । काम गरेर अगाडि बढ्नु पर्ने मान्छे त्यतिकै छु । मलाई यस्तै अवस्थामा पढाइ लेखाइ साथमै राखेर पनि खेल्न सकिन्छ भन्ने प्रमाणित गर्नु थियो । त्यो पूरा भयो,’ सन्तोषीले भनिन् । उनले खेलाडीलाई व्यवसायिक बनाउन सके सफलता हात पर्ने पनि बताइन् । खेलका लागि खेलाडीले ज्यान दिएर लागे पनि उसलाई हातमुख जोड्न समस्या हुने सन्तोषीको बुझाइ छ ।

‘तिमीले के सोचिराको छौ, जिन्दगीका बारेमा ? तिमीले आफ्नो अनुहार कहिले हेरेकी छौ ? कागती निचोरेको जस्तो भएको छ । अनुहार चाउरिसकेको छ । हेल्थको विद्यार्थी हेल्थ बिगारेर के गर्न खोज्दै छौ ? ७० हजार तलबको अफर पनि रिजेक्ट गर्छौ भने तिमीले करियरका बारेमा के सोचेकी छौ ?’

उनी आफू काम गरिरहेको संस्थाका हाकिम र पढिरहेको कलेजका शिक्षक मात्र थिएनन्, सन्तोषी श्रेष्ठलाई हरेक रोड रेसमा प्रतिस्पर्धा गर्न जाऊ भनेर हौसला दिइरहने अभिभावकजस्तै पनि थिए । सन्तोषी यसपटक अक्क न बक्क थिइन् । सन्तोषीलाई अहिले पनि नराम्रो लाग्दैन, उनका हाकिमले ठीकै भनेका थिए। हरेक महिना ४० हजार तलब आइरहेको जागिर चटक्कै छाडेर देशका लागि दौडने सपना देख्नु बाहिरी दुनियाँका लागि अनौठो थियो ।

धादिङको सामान्य परिवारमा जन्मिएकी सन्तोषी परिवारकी एक्ली छोरी थिइन् । बुबा आर्मी, आमा गृहिणी अनि दाजु र भाइ दुई जना । माओवादी द्वन्द्वका कारण ८ वर्षकै उमेरमा उनी पढ्न काठमाडौँ आउनु प-यो । एउटा सानो कोठामा दाइभाइलाई स्याहारेर पढ्न सजिलो थिएन । तर उनी अध्ययनमा अब्बल थिइन् ।

दुःखबीच नै एसएलसी पास गरिन्, प्लस टुमा साइन्स पढिन् । पब्लिक हेल्थमा ब्याचलर गर्दागर्दै एउटा गैरसरकारी संस्थामा रिसर्च अफिसरका रुपमा जागिर सुरु गरिन् । साथीहरु कहिलेकाहीँ भन्थे तिमी हिजो साँझ किन त्यहाँ एक्लै दौडिरहेको ? बिहान हुनुअघि र रात परेपछि रानीबारी र स्वयम्भू कतिपटक परिक्रमा लगाउँथिइन्, उनलाई आफैँलाई थाहा छैन ।

सँगै दौडिएका चर्चित राष्ट्रिय खेलाडीहरु तब चकित पर्थे, जब विनाविभाग (आर्मी, पुलिस र एपीएफ) अनि कतै प्रशिक्षण गरेको नदेखिएकी सन्तोषीले आफूलाई टक्कर दिन्थिन् । ‘यो सन्तोषीले पक्कै राम्रो ठाउँ र राम्रो गुरुसँग प्रशिक्षण गर्छे’, नाम चलेका खेलाडीहरुको कुरा सुनेर सन्तोषी मनमनै हाँस्थिन्। तर सन्तोषीका लागि सडक ‘सबथोक’ थियो । फुर्सद हुनेबित्तिकै सडकमा निस्किहाल्थिन्, अनि दुनियाँले के भन्छ नभनी सडक नाप्न थाल्थिन् । सडकले उनको साना साना रहर पूरा गरेका थिए (राम्रो जुत्ता लगाउने, राम्रो कपडा लगाउने, सार्वजनिक गाडी चढ्ने अनि बिस्तारै हवाइजहान पनि।

‘मिहेनतअनुसार फल भयो भने सबैभन्दा धेरै खुशी र सन्तुष्टि त्यसैमा हुने रहेछ’, सन्तोषी भन्छिन् । सडक र जागिर छाडेर रंगशालामा तयारी गर्न थालेको एक वर्षपछि सन्तोषीले १३औँ दक्षिण एसियाली खेलकुदको १० हजार मिटर दौडमा स्वर्ण पदक जितेर नेपाली महिला एथलेटिक्समा इतिहास रचेकी छिन् । यसअघि साग एथलेटिक्समा नेपाली महिला खेलाडीले स्वर्ण पदक जित्न सकेका थिएनन् । साग सम्पन्न नहुँदै उनी फेरि नियमित प्रशिक्षणमा फर्किसकेकी छिन् ।

गाउँमा पढाइ राम्रो नभएपछि मलाई परिवारले दाइको पछाडि लगाएर काठमाडौँ पठाउने निर्णय ग-यो । दाइले स्वयम्भूमा कोठा लिनुभएको रहेछ । नजिकै बुवाले शान्ति सेनामा जाँदा ल्याएको पैसाले जोडेको थोरै जग्गा थियो । मलाई स्थानीय सरकारी स्कुल गीतामातामा भर्ना गरियो । त्यहाँ त, एउटै कक्षामा सय जनाभन्दा बढी विद्यार्थी हुने । एकदमै अनौठो लाग्थ्यो । घरको याद पनि एकदमै आउने । बिदा हुनेबित्तिकै घर गइहाल्थेँ । एउटी छोरी भएर पनि मैले घरको काम पूरा गर्थेँ, खेतबारीमा लाग्थेँ ।

फुर्सदको समय पढाइमा दिनुपर्ने अवस्था थियो । तर मेरो पढाइ कमजोर थिएन । विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा पनि दोस्रो, तेस्रो हुन्थेँ । प्राय कविता, कथा, हाजिरीजवाफ, वक्तृत्वकला प्रतियोगिता भइरहन्थे । खेलकुदका प्रतियोगिता भएको मलाई थाहा थिएन । सधैँ पुरस्कारबापत कापी कलम पाइरहेको मेरो गलामा यसपटक मेडल अनि हातमा सानो ट्रफी थियो । मेडल र ट्रफी भन्नेबित्तिकै त्यसको महत्वै छुट्टै हुने । म दौडिएर जितेँ भन्दा पनि मैले पनि मेडल र ट्रफी पाएँ भन्नेमा ठूलो गर्व भयो ।  (जनमञ्च साप्ताहिकबाट)

प्रतिकृया दिनुहोस


Techie