कुस्तीमा विवाद झन् बल्झिँदै

कुस्तीमा विवाद झन् बल्झिँदै

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल कुस्ती संघ पुनर्गठन गरेको छ । अस्तित्वमा रहेका दुई कमिटीलाई भंग गर्दै राखेपले संघलाई पुनर्गठन गरेको हो । राखेपले पुनर्गठन गरेको संघको अध्यक्षमा राज मोहम्मद मियाँ अन्सारी रहेका छन् । १६ सदसीय संघको वरिष्ठ उपाध्यक्षमा समिम मियाँ अन्सारी, उपाध्यक्षमा राम गौचन ठाकुर, मनोहर रायमाझी र वसन्त भण्डारी रहेको छ । संघको महासचिवमा रिता कोइराला, सचिवमा साहिल अन्सारी, कोषाध्यक्ष जफरुल्ला मियाँ मन्सुरी रहेका छन् । यस्तै सदस्यमा ललनप्रसाद यादव, जिनत अन्सारी, डा. पर्मचन्द्र सेन, सानु लामा, निसार अहमद खान, जुनेद इद्रिसी, सलामत राइन, नन्दलाल यादव रहेका छन् । राखेपले ९ असारकोे निर्णयबाट संघ पुनर्गठन गरिएको हो ।
यसअघि कुस्ती संघ दुई कमिटीमा रहेको थियो । नारायणदेव राणाको अध्यक्षमा रहेको संघलाई राखेपको मान्यता थियो । यस्तै राजमोहम्मद अन्सारी नेतृत्वको संघलाई नेपाल ओलम्पिक कमिटीले मान्यता दिएको थियो । नेपाली खेलकुदमा विवाद हुनु नौलो कुरा होइन । जुन संघमा राम्रो अन्तर्राष्ट्रिय पैसा सहयोग हुन्छ, विदेश घुम्न जाने अबसर प्राप्त हुन्छ त्यही संघमा विवाद हुन्छ । आपसी स्वार्थ र जुँगाको लडाईका कारण संघमा विवाद हुन्छ, त्यसको मार खेलाडीलाई पर्छ । नेपाल ओलम्पिक कमिटीदेखि लिएर साना–तीना झोले संघहरूमा समेत विवाद भइरहेको छ । यसै क्रममा केही संघहरू मिलेको भन्ने घोषणा पनि भइरहेका छन् । तर पनि पदाधिकारीमा असन्तुष्ट स्पष्टै देखिन्छ । संघमा राजनीति हावी हुनु, गुट हावी हुनुले विवाद निम्तिन्छ । कतिपय अवस्थामा राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वका कारण पनि विवाद भएका छन् । विवाद समाधानका नाममा ‘इगो’ साँध्ने काम पनि भएका छन् ।
एक साता अघि निर्वाचन गर्न पाइएन, वातावरण मिलाइदिनु प-यो भनेर पत्रकार सम्मेलन नै गरेर अध्यक्ष नारायणदेव राणाले भनेका थिए । उनले तत्कालीन सदस्य सचिवले समय नै नदिएको र फोन पनि नउठेको भन्दै पत्रकार सम्मेलन गरेका थिए । पुनर्गठन गरेको भन्दै परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले नयाँ अध्यक्ष प्रस्तुत गरे, राज मोहम्मद मिया अन्सारी । एउटा पक्ष चुनाव गर्न पाएन भनेर हिँडिरहेको अवस्थामा अर्को समूह आउने भएपछि अब विवाद हुने पक्का भएको छ । तर, सोही कार्यक्रममा उपाध्यक्ष पिताम्बरले घोषणा गरे, ‘यो खेलकुदको विवाद अन्त्य भएको साल हो । कुरा अलि हास्यास्पद नै छ ।
मिलेको भनेर घोषणा गरेको संघकै एउटा समूह उपस्थित भएन । उपाध्यक्ष तिम्सिनाले राणाले मिलेको भनेर लिखित पत्रमा हस्ताक्षर गरेको दाबी समेत गरेका छन् । राणाको मोहम्मदको संघलाई हाम्रो पूर्ण समर्थन छ भनेर लिखित प्रतिबद्धता जनाएको समेत तिम्सिना बताउँछन् । भनाई जे जस्तो भए पनि एक पक्षले निर्वाचन गर्न दिएन भनेर घोषणा गर्नु र अर्को पक्षले नेतृत्व गर्नुले विवाद आउने निश्चित छ । यो विषयलाई लिएर राणाको समूह अदालत जाने भइसकेको छ । राखेपको सो निर्णयको विरुद्धमा अदालत जाने तयारीमा जुटेको छ ।
उपाध्यक्ष तिम्सिनाले राष्ट्रिय मान्यता प्राप्त संघका अध्यक्ष राणाले संघ पुनर्गठनका लागि आफ्नो सहमति रहेको लिखित रूपमै दिएको दाबी समेत गरेका थिए । तर, राणाले भने राखेपले आफूहरूले गर्न लागेको निर्वाचनसमेत रोकेर एकलौटी रूपमा संघ पुनर्गठन गरेको बताएका छन् । ‘हामीले राखेपमा ७ असारमा निर्वाचन गराउन २ जेठमा नै राखेपमा निवेदन दिएका थियौं । तर, हामीलाई यस विषयमा राखेपले कुनै जवाफ नै दिएन । अहिले पुनर्गठन गरेको समाचार आएको छ । राखेपले बेइमानी गरेको छ । राखेपको यो निर्णयको विरुद्धमा हामी अदालत जाँदै छौं ।’
नेपालमा राखेपको संरक्षणमा राष्ट्रिय मान्यता र नेपाल ओलम्पिक कमिटी (एनओसी) को संरक्षणमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त हैसियतमा एकै खेलको दुई संघ अस्तित्वमा रहने अवस्था छ । यसले गर्दा राष्ट्रिय मान्यता प्राप्त संघका पदाधिकारी राखेपको अनुदानमा देशभित्रको सामान्य गतिविधिमा सीमित हुने र अन्तर्राष्ट्रिय मान्यता प्राप्त संघका पदाधिकारी एनओसीको समन्वयमा विदेशको कार्यक्रममा मात्रै रमाउने प्रवृति देखिएको छ । यसले गर्दा यी खेलमा लागेका खेलाडी मात्रै हैन सम्बन्धित खेलको विकास नै ओझेलमा पर्ने गरेका छन् ।
कुस्ती खेलमा पनि राखेपको संरक्षणमा राणा नेतृत्वको राष्ट्रिय मान्यता प्राप्त र एनओसीको संरक्षणमा राज मोहम्मद मियाँ अन्सारीको नेतृत्वमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त दुई संघ अस्तित्वमा थिए । राखेपले अन्तर्राष्ट्रिय मान्यता प्राप्त संघका अध्यक्ष राज मोहम्मदकै नेतृत्वमा संघ पुनर्गठन गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षको रूपमा तिम्सिना आइसकेपछि एक कार्यदल गठन गर्दै विवादित संघहरूलाई एकीकरण जिम्मेवारी दिएको थियो । संघहरूकै विवादका कारण ओलम्पिक विवाद भएको हो । यो अन्त्य भएपछि अब छिट्टै ओलम्पिक विवाद पनि सकिनेछ । नेपाल कुस्ती संघको विवाद चर्किएको छ । यसक्रममा आफूसँग कुनै लिखित सहमति नभएको राणाले बताउँदै आएका छन्, ‘लिखित सहमतिमा मैले हस्ताक्षर गरेको छैन । त्यस प्रकारको सहमति भएको रहेछ भने सार्वजनिक गर्न राखेपका उपाध्यक्ष तिम्सिनालाई भद्र चुनौती दिन्छु ।’
२०७२ जेठ २५ गते कुस्ती संघको साधारणसभा भएको थियो । यता, नेपाल ओलम्पिक कमिटीबाट मान्यता प्राप्त राजमोहम्मद मिया अन्सारीको अध्यक्षतामा अर्को कुस्ती संघ
रहेको थियो ।
अदालतले कुस्ती संघलाई समावेश गराएर मात्र निर्वाचन गराउनू भन्ने आदेश दिँदादिँदै कमिटीले अदालतको निर्णयलाई नै मानहानी हुने गरी काम गरेको विरोधमा फेरि अदालत जान लागेको जनाएको छ । ओलम्पिक कमिटीको निर्वाचनमा आफूहरूलाई सहभागिता नगराएको भन्दै गत १७ साउनमा पनि कुस्ती संघले अदालतको ढोका ढकढकाएको थियो । संघले गत १७ साउनमा एनओसीले आफूहरूलाई बेवास्ता गर्दै निर्वाचन गर्न लागेको भन्दै पाटन पुनरावेदन अदालतमा मुद्दा दायर गरेको थियो । जसका लागि पाटनले थप जानकारी लिनेका लागि संघलाई १८ गते नै बोलाएको थियो । पाटनले अध्यक्ष ध्रुवबहादुर प्रधान र महासचिव जीवन राम श्रेष्ठलाई अदालतमा हाजिर हुन पत्रचार गरेको थियो ।
अदालतले संघलाई स्टे अर्डर दिँदै प्रक्रिया अगाडि आदेश दिए तापनि हालसम्म एनओसीले कुनै पनि प्रकारको समन्वयन नगरेको भन्दै संघ पुनः कानुनको साहरामा जाने लागेको हो । सरकारअन्तर्गत रहेको राष्ट्रिय खेलकुद परिषद्मा रहेको निर्वाचित संघ राणा पक्षको हो । त्यसैले पनि एनओसीको अगामी निर्वाचनमा हामीलाई पनि प्रतिनित्व बनाइनुपर्छ भन्ने हाम्रो माग उनीहरूको रहँदै आएको छ । तथापि, एनओसीले संघलाई निर्वाचन अधिकारबाट वञ्चित गर्दैै निर्वाचन गर्न लागेको र अदालतको समेत अबेज्ञा गरेका कारण कानुनको ढोकासमक्ष जान लागेका हो । (जनमञ्च साप्ताहिकबाट)

प्रतिकृया दिनुहोस


Techie