खेलकुदको विकासका लागि खेतीयोग्य जमिनमा खेलमैदान

खेलकुदको विकासका लागि खेतीयोग्य जमिनमा खेलमैदान

खोटाङ, जेठ १९
खेलकुद क्षेत्रको विकासका लागि जिल्लास्थित लफ्याङमा खेतीयोग्य जमिन मासेर खेलमैदान निर्माण सुरु गरिएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–५ लफ्याङको छिवामा १२० मिटर लम्बाइ र ८० मिटर चौडाइ रहेको ‘मझुवागढी रणजितमान खेलमैदान’को निर्माणकार्य सुरु भएको हो । स्थानीय जग्गादाताहरुले निःशुल्क उपलब्ध गराएको २४ रोपनी जग्गामा वडा कार्यालय लफ्याङको १२ लाख ७० हजार खर्चमा खेलमैदान निर्माण सुरु गरिएको हो ।

निर्माणाधीन खेल मैदानका लागि स्थानीय पञ्चसेर राईले ९ रोपनी, बालाचन्द्र राईले ७ रोपनी, सर्वजित राईले ५ रोपनी र हर्कराज राईले ३ रोपनी जग्गा निःशुल्क उपलब्ध गराई वडाको नाममा पास गरिदिएपछि निर्माणकार्य अगाडि बढेको वडाध्यक्ष निर्मल राईले बताए । वडा कार्यालयले खेल मैदानका लागि वडाभित्रका विभिन्न स्थानमा निःशुल्क जग्गा जुटाउने क्रममा छिवामा जग्गा प्राप्त भएको जानकारी गराइएको छ । वडाको बजेटवाट सुरु गरिएको खेलमैदान नगर, प्रदेश, संघ लगायतबाट रकम जुटाएर पूर्णता दिइने निर्माण उपभोक्ता समितिले जनाएको छ । खेलमैदान निर्माण सुरु भएपछि त्यस क्षेत्रका खैलाडी तथा खेलप्रेमीहरु हर्षित भएका छन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie