हिरो गोल्डकप : उपाधिका लागि नेपाल–म्यान्मार भिड्दै

काठमाडौँ, फागुन ३
भारतमा जारी हिरो गोल्डकप प्रतियोगिताको अन्तिम चरणको खेलमा आज नेपाल र म्यान्मा भिड्दै छन् । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा हुने खेल नेपाली समयानुसार साँझ ६ बजे शुरु हुनेछ । नेपालको राष्ट्रिय महिला फुटबल टोलीले आज विजयी भए पहिलो अन्तर्राष्ट्रिय उपाधि पाउनेछ ।

दक्षिण एशियाली फुटलबमा सधैँ उपाधिका लागि तगारो बन्दै आएको भारतलाई समूहचरणमै पराजित गरेपछि नेपालले अन्तिम चरणमा म्यान्मारलाई प्रतिद्वन्द्वी पाएको हो ।
समूह चरणको पहिलो खेलमा नेपाल म्यान्मारसँग ३–० गोल अन्तरले पराजित भएकामा पछिल्ला दुई खेलमा भने भारत र इरानलाई पराजित गर्दै अन्तिम चरणसम्ममा पुगेको थियो ।

म्यान्मार भने लिग चरणका सबै खेलमा विजयी बन्दै अन्तिम चरणमा पुगेको हो । विश्व बरियतामा नेपालभन्दा निकै माथि रहेको म्यान्मारलाई हराउँदै महिला फुटबलको इतिहासमा उपाधि जित्ने अवसर नेपाली महिला टोलीलाई छ । फिफा बरियतामा नेपाल १०८ स्थानमा रहँदा म्यान्मार ४४औँ स्थानमा रहेको छ ।

नेपालले सन् २०१०, २०१२, २०१४ को साफ महिला च्याम्पियनसिपको अन्तिम चरणमा भारतसँग पराजित भएको थियो । यस्तै सन् २०१० र २०१६ मा दक्षिण एशियाली खेलकूद (साग) मा पनि नेपाल भारतसँगै पराजित भएको थियो ।

प्रतिकृया दिनुहोस


Techie