औद्योगीकरणको आवश्यकता, महत्व, समस्या र सुझाव

औद्योगीकरणको आवश्यकता, महत्व, समस्या र सुझाव

अल्पविकसित अथवा विकासोन्मुख देशमा प्राकृतिक साधनहरूको उपयोग भएको हुँदैन । जस्तैः खनिज पदार्थ, वन, सौर्य शक्ति, जलसम्पदा तथा प्राकृतिक साधनहरूको उपलब्ध भएको हुन्छ । विकास शील देशहरूमा उपलब्ध भएका प्राकृतिक साधन तथा स्रोतहरूको उपयोग नै हुन नसकी अथवा केवल अर्ध उपयोग मात्रमै दुरूपयोग भइरहेका हुन्छन् । यस्ता मुलुकहरूमा उपलब्ध हुनसक्ने कतिपय प्राकृतिक साधन तथा स्रोतको अनभिज्ञताको कारण त्यस्ता देशहरू साधन तथा स्रोतहीनजस्ता बन्न पुगेका हुन्छन् ।

नेपाल जलस्रोतमा विश्वमा दोस्रो धनी देश हो । तैपनि धेरै कम मात्र विद्युत् शक्तिको विकास गर्न सकेको छ । अल्पविकसित मुलुकहरूमा उपलब्ध भएका प्राकृतिक साधनहरूलाई उपयोग गर्न नसकेको खास कारणहरूमा उच्च प्रविधिको अभाव, अदक्ष जनसमुदाय, पुँजीको अभाव नै हुन् । प्रो. कुरीहाराको विचारधारा अनुसार ‘अल्पविकसित मुलुकहरू प्रचुरमात्रामा प्राकृतिक साधन सम्पन्न मुलुकहरू हुन् । तर, आवश्यक प्रविधि र पुँजीको अभावमा तिनीहरूलाई विकास गर्न सकिएको हुँदैन र तिनीहरू साधन र स्रोत नभएका गरिब मुलुकजस्ता देखिन्छन् ।’ वर्तमानमा प्राकृतिक सम्पदाहरूमा अल्पविकसित मुलुकहरूले अर्थपूर्ण उपयोग गर्न सके पनि भविष्यमा क्रमशः आफ्नो अर्थतन्त्र मजबुत बनाउन सकिन्छ ।

भारतमा कृषियोग्य भूमिमध्ये नौ करोड एकड भूमि बाँझो रहन गएको छ भने त्यहाँ खान नपाएर वर्षेनी हजारौं मानिसहरू मरिरहेका छन् । धेरैजसो अर्धविकसित देशहरूले प्राकृतिक स्रोतको उचित उपभोग गर्न सकेमा विकासका पर्याप्त सम्भावनाहरू छन् उपयोगको अभावले ती देशको विकास हुन सकिरहेको छैन । त्यहाँको प्राकृतिक साधन अर्ध उपयोग वा अनुपयोग भइरहेका छन् । विश्वका यी अर्धविकसित देशहरूमा जल, खनिज र वन साधन तथा अन्य शक्तिका साधनहरू छन् । अफ्रिकी देशमा तामा, टीन, सुन र आल्मुनियम पाइन्छ । एसिया महादेशको राष्ट्रमा फलाम, टीन, सुन कोइला, म्याग्नेसाइट र ल्याटिन अमेरिकी देशहरूमा पेट्रोलियम पदार्थ, फलाम, तामा आदि पाइन्छन् । तर यिनै देशहरू अविकसित अवस्थामा छन् । यसको कारण के छ भने यी देशमा उपलब्ध साधनको राम्रो उपयोग हुन सकेन ।

हाल विकासोन्मुख देशहरू र नेपालमा समेत बढ्दो औद्योगीकरणको कारण विभिन्न प्रकारका ग्यास, धुँवाहरू वायुमण्डलमा मिसिन पुग्दछन् । यसमा कार्वनडाइअक्साइड, सल्फरडाइअक्साइडजस्ता यौगिक ग्यासहरू पर्दछन् । यही कारण आजको विश्वको कयौं ठाउँहरूमा अम्ल वर्षाले बाली नाली, सडक र भवनमा मात्र प्रतिकूल असर होइन, ओजनको तहमा समेत नष्ट हुन गई मानव जगतमा ठूलो हलचल र त्रासको स्थिति सृजना गरेको छ । दैनिक उपयोगमा ल्याइने काठ, दाउरा, कोइला, डढेलो सवारी साधन र अन्य अनेकौ भट्टीहरूबाट निस्कने धुँवामा कार्वनडाइअक्साइड अत्यधिक हुने हुँदा वायुमण्डलमा कार्वनको मात्रा बढेको हरितगृहमा समेत प्रभाव पार्दछ । अम्लीय वर्षासम्बन्धी अध्ययन गर्ने संगठनहरू र अमेरिकी अध्ययन दलहरूका अनुसार औद्योगिक चिम्नीबाट लगातार निष्कने धुँवा अम्लीय वर्षाको प्रमुख कारण हो । यदि औद्योगिक चिम्नीबाट निष्कने धुँवाको समस्या समाधान गर्ने स्थायी उपाए समयमा नखोले वा नअपनाए यस समस्याले विश्वव्यापी रूप लिने छ र यो एउटा संक्रमणको रूपमा देखा पर्नेछ ।

नयाँ औद्योगिक नीति, २०६७ मा उल्लेख गरिएअनुसार परम्परागत तथा अन्य घरेलु उद्योग परम्परागत सीप र प्रविधि प्रयोग गर्ने, स्थानीय कच्चा पदार्थ एवं स्थानीय प्रविधिमा आधारित औजार उपकरण उपयोग गर्ने, देशको कला र संस्कृतिसँग सम्बद्ध र १० किलोवाटसम्म विद्युत् शक्ति प्रयोग गर्ने उद्योग व्यवसायलाई परम्परागत तथा अन्य घरेलु उद्योग भनिन्छ । परम्परागत तथा अन्य घरेलु उद्योग भन्नाले निम्न शीर्षकहरू यसअन्तर्गत पर्दछन् । ह्यान्ड लुम, पेडल लुम, सेमी–अटोमेटिक लुम, कपडा वार्पिङ, परम्परागत प्रविधिबाट गरिने रंगाइ, छपाइ, सिलाइ तयारी पोसाकबाहेक) र बुनाइ । ऊन र रेशममा आधारित हाते बुनाइका राडी पाखी, गलैंचा, पस्मिना, पोसाक । हाते कागज र सोमा आधारित वस्तु ।

परम्परागत कलामा आधारित वस्तु परम्परागत मूर्तिकला तामा, पित्तल, ढलौट, काँस र जर्मन सिल्भरजस्ता धातुबाट हस्तनिर्मित भाँडावर्तन तथा हस्तकलाका सामान । फलामबाट बनेका हस्तनिर्मित भाँडा वर्तन तथा घरायसी प्रयोगका चक्कु, चुलेसी, खुकुरी, हँसिया, कुटो, कोदालोजस्ता परम्परागत औजारहरू । सुन, चाँदीबाट हस्तनिर्मित गरगहना, वस्तु, भाँडा वर्तनहरू (बहुमूल्य, अर्धबहुमूल्य तथा साधारण पत्थर जडान भएका समेत) । स्वदेशमा उपलब्ध किमति, अर्धकिमति तथा साधारण पत्थर कटाइ उद्योग । ग्रामीण ट्यानिङ/छालाबाट हस्तनिर्मित वस्तुहरू । जुट, सवाइ घाास, चोया, बाबियो, सुती धागो, अल्लो आदि प्राकृतिक रेशामा आधारित उद्योग । पत्थरकला (ढुंगा कुँदी बनाइएका सामानहरू) । पौभा, थांका चित्र र अन्य परम्परागत चित्रकला । मुकुन्डो तथा परम्परागत संस्कृति दर्शाउने पुतली र खेलौना । परम्परागत संस्कृति, बाजागाजा र कला दर्शाउने विभिन्न प्रकारका हस्तकलाका वस्तु । काठ, हाड, सिङ तथा माटो, चट्टान र खनिजका कलात्मक वस्तुहरू । सेरामिक्स तथा माटाका भाँडाकुँडा ।

नेपालको कृषि क्षेत्रमा यान्त्रीकरण गर्न औद्योगिक विकासले निकै मद्दत गर्दछ । कृषि कार्यको लागि आवश्यकीय औजारहरू पनि उद्योगबाट तयार गरिन्छन् । यसरी औद्योगिक विकासले कृषिको दु्रततर विकास गर्न सहयोग गर्दछ । ठूला उद्योगको विकासले आधुनिक किसिमबाट कृषि उत्पादन गर्नलाई चाहिने रासायनिक मल, आधुनिक कृषि औजारहरू, किटनासक औषधि आदिको उत्पादन गरी कृषि विकास कार्यमा सहयोग पु-याउने गर्दछ । नेपालको व्यापारघाटा वर्षेनी बढ्दै छ । यसले देशको आर्थिक विकासमा ठूलो समस्या खडा गरेको छ । निरन्तर बढ्ने नेपालको व्यापारघाटाको मुख्य कारण यहाँ दैनिक आवश्यकताका वस्तुहरूको पूर्ति पनि विदेशबाट पैठारी गरी पूरा गर्नु हो । अतः बढ्दो व्यापारघाटाको पूर्ति गर्न नेपालमा औद्योगिक विकासबाट मात्र सम्भव छ ।

नेपालमा विद्यमान पुँजी, सीप र साधनको सदुपयोग गर्नको लागि औद्योगिक विकास गर्नु आवश्यक छ । कृषि पेशामा रहेको निष्कृय पुँजी र श्रमको अधिकतम उपयोग उद्योग धन्दाको स्थापनाबाट मात्र सम्भव भएकोले नेपालमा औद्योगिक विकासको ठूलो महत्व छ । जनसंख्या वृद्धिले गर्दा एकातिर उपभोक्ताका वस्तुहरूको मागमा निरन्तर वृद्धि हुँदै गएको छ भने अर्कोतिर हामीलाई दैनिक उपभोग्य वस्तुको आवश्यकता पूरा गर्न विदेशको आयातमा निर्भर रहनुपर्ने हुन्छ । विदेशबाट उपभोग्य वस्तुहरूको पैठारीबाट देशको सोधनान्तर स्थिति समेत प्रतिकूल असर पर्न जान्छ र विदेशी मुद्राको अभावमा अरु क्षेत्रको विकासमा पनि बाधा पुग्न जान्छ । ठूलो उद्योगहरूको स्थापनाबाट उपभोक्ताहरूको माग आपूर्ति भई विदेशी पैठारीलाई समेत कम गर्न सकिन्छ ।

देशमा विद्यमान भएको स्थानीय पुँजी, शिल्प र साधन केही सीमित क्षेत्रमा मात्रै प्रयोग भएकोले यिनीहरूलाई ठूलो उद्योगहरूको विकासमा प्रयोग गर्दा देशको सर्वाङ्गिण विकास सम्भव हुनेछ । यसको साथै देशका पुँजी निर्माणमा पनि वृद्धि हुनेछ । ठूला उद्योगहरूको विकासले यातायात सुविधा र वाणिज्य व्यापारको विकास हुनेछ र औद्योगिकरणबाट देश बलियो हुनगई आफ्नो प्रतिरक्षा गर्नेछ र विश्वमा समेत आफ्नो प्रभावलाई कायम राख्न सक्दछ । नेपालमा ठूलो उद्योगको विकासमा अर्को समस्या नियमितरूपमा कच्चा माल नपाउनु हो । देशभित्र उपलब्ध हुने कच्चा माल निम्नस्तरको छ र विदेशबाट झिकाउने कच्चामालमा अनेकौं समस्याहरू देखिन्छ । राष्ट्रिय अर्थतन्त्रको सन्तुलित एवं समन्वयात्मक विकासमा ठूला उद्योगहरूले महत्वपूर्ण भूमिका खेल्दछ ।

हालको आर्थिक असन्तुलन निराकरण गरी राष्ट्रिय आयको सन्तुलित र समन्वयात्मक विकासमा यसले ठूलो सहयोग गर्दछ । जसबाट जनताको स्तर पनि माथि उठ्दछ । ठूला–ठूला उद्योगहरूको स्थापना भएपछि देशमा विद्यमान आर्थिक स्थितिको असन्तुलनको निराकरण गरी राष्ट्रिय आयको सन्तुलित एवं समन्वयात्मक विकास गर्दछ ।

औद्योगिक विकासले देशको आयात घटाएर निर्यातमा वृद्धि गर्दछ जसले गर्दा विदेशी मुद्राहरूको सजिलैसँग आर्जन गर्न सकिन्छ । यसैले वैदेशिक व्यापारमा सन्तुलन ल्याउँछ । विदेशी मुद्रा प्राप्तिको एउटा प्रमुख साधन श्रमलाई औद्योगीकरण गर्नु हो । औद्योगिक सरसामानहरू विभिन्न देशमा निर्यात गरी धेरै विदेशी मुद्रा कमाउन सकिन्छ । ठूला उद्योगबाट उत्पादित वस्तुहरूले देशलाई आत्मनिर्भर बनाउने हुनाले देशको अमूल्य धन खर्च गरी विदेशबाट वस्तुहरू आयात गर्नुपर्ने बाध्यतालाई कम गर्छ । साथै स्वदेशमा उत्पादित वस्तुहरू विदेशमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न समेत मदत मिल्छ ।

फलतः यसले विदेशी मुद्रा सञ्चय र वृद्धि गराउँछ । देशको विभिन्न भागमा विद्यमान शिथिल राष्ट्रिय साधनहरूको आर्थिक उपयोग पनि औद्योगिकरणले गर्दछ । यसले गर्दा देशको चौतर्फी विकास हुन्छ । नेपालमा जंगल, जलशक्ति, खनिज वस्तु आदि । धेरै किसिमका प्राकृतिक साधनहरू छन् । ठूला उद्योगहरूको विकासले ती सवै प्राकृतिक साधनहरूको राम्रो विकास गर्न सकिन्छ । राष्ट्रिय साधनहरू खेर जान पाउँदैन । औद्योगिकरणले आधुनिक हातहतियार निर्माण गर्दछ ।

अतः युद्धकालमा देशले शत्रुको सामना गर्न समर्थवान हुन्छ । देशलाई विदेशी आक्रमणबाट रक्षा गर्न पर्याप्त औद्योगीकरणको जरुरत छ । आधुनिक किसिमका शस्त्र–अस्त्र हात हतियार सबै औद्योगिक विकासबाट नै उत्पादन गर्न सकिन्छ । यसैले देशलाई बाहिरी आक्रमणबाट रक्षा गर्नको निमित्त पनि औद्योगिक विकासको जरुरत पर्दछ । देशको विकास कार्यको लागि नभई नहुने निर्माण सामग्रीहरू, मेशीन कलपुर्जाहरू तथा खानीको विकास साना उद्योगबाट सम्भव हुँदैन । तसर्थ ठूला उद्योगको विकासबाट सिमेन्ट, फलाम, विभिन्न खानीहरू, मेशिन कलपूर्जाहरू आदि किसिमको विकासका लागि चाहिने आधारभूत अत्यावश्यक निर्माण सामग्रीको उत्पादन गराई देशलाई विकास कार्यमा अगाडि बढाउँदछ । एकथरी अर्थशास्त्रीहरूको भनाईअनुसार अल्पविकसित देशले सबैभन्दा पहिले आधारभूत उद्योगहरूको विकासमा जोड दिने हो भने देशको आर्थिक विकास गर्न सुगम हुन्छ । आधारभूत उद्योगको स्थापना गर्दा भने ठूलो स्तरमा नै गर्नुपर्ने हुन्छ । अर्थात् आधारभूत वस्तुहरू देशमा उत्पादन गर्न मझौला तथा ठूला उद्योगहरूको आवश्यकता पर्दछ ।

आर्थिक वर्ष २०७५/७६ फागुनसम्म उद्योग संङ्ख्याको आधारमा ठूला, मझौला र विदेशी लगानीका साना उद्योगको हिस्सा क्रमशः १३ दशमलव ८ प्रतिशत, २१ दशमलव ७ प्रतिशत र ६४ दशमलव ५ प्रतिशत रहेको छ । कुल लगानीको आधारमा ठूला, मझौला र विदेशी लगानीका साना उद्योगको अंश क्रमश ८६ दशमलव ५ प्रतिशत, ८ दशमलव ९ प्रतिशत र ४ दशमलव ६ प्रतिशत छ । प्रतिउद्योग औसतमा ७५ रोजगारी सिर्जना हुने अनुमान छ ।

आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म दर्ता भएका उद्योगमध्ये प्रदेश न ३ मा दुई तिहाइ उद्योग रहेका छन् भने सबैभन्दा कम उद्योग कर्णाली प्रदेशमा छन् भने प्रदेश न ३ मा पाँच हजार दुई सय ९८ उद्योगहरू दर्ता भएको देखिन्छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम ३९ मात्र रहेका छन् उद्योगको लगानीको आधारमा सबैभन्दा बढी लगानी प्रदेश न ३ मा भएको छ भने सबैभन्दा कम सुदुरपश्चिम प्रदेशमा भएको छ । उत्पादनमूलक उद्योग, कृषि तथा वन्यजन्तु उद्योग, सेवामूलक उद्योग, ऊर्जा उद्योग, पर्यटन उद्योग र निर्माण उद्योग प्रदेश न ३ मा सबैभन्दा बढी दर्ता भएका छन् खनिज उद्योगको संङ्ख्या प्रदेश न ५ मा सबैभन्दा बढी छ । सूचना, प्रशारण तथा सञ्चार प्रविधिमा आधारित उद्योग कर्णाली र सुदुरपश्चिम प्रदेशमा दर्ता भएका छैनन् ।

आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म दर्ता भएका उद्योगमध्ये संख्याको आधारमा उत्पादनमूलक उद्योगको हिस्सा ३७ दशमलव ९ प्रतिशत रहेको छ । सेवामूलक उद्योगको अंश २७ दशमलव ८ प्रतिशत र पर्यटन उद्योगको अंश २१ दशमलव ८ प्रतिशत रहेको छ । भने बाँकी हिस्सा अन्य क्षेत्रका उद्योगको रहेको छ । आर्थिक वर्ष २०७५/७६को फागुनसम्म लगानीको प्रतिबद्धताको हिसाबले कुल औद्योगिक लगानीको ५५ दशमलव ९ प्रतिशत लगानी ऊर्जामूलक उद्योगमा र २३ दशमलव ८ प्रतिशत उत्पादनमूलक उद्योगमा छ । कुल लगानी प्रतिबद्धताको शून्य दशमलव ११ प्रतिशत सूचना, प्रसािरण तथा सञ्चारप्रविधिमा आधारित उद्योगमा रहेको छ । आर्थिक वर्ष २०७०/७१ देखि २०७२/७३ सम्म उद्योगको पुँजी लगानीको अवस्था घट्दो क्रममा रहे पनि आर्थिक वर्ष २०७३/७४ बाट बढ्दै गई आर्थिक वर्ष २०७५/७६ फागुनसम्म पुँजी लगानीको प्रतिबद्धता उत्साहप्रदरूपमा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म दुई सय १८ उद्योगहरूमा ११ अर्ब १८ करोड छ लाख ३० हजारको लगानी प्रतिबद्धता भई सात हजार नौ सय ५३ रोजगारी सिर्जना हुने अनुमान छ । आर्थिक वर्ष २०७४/७५ को फागुनसम्म एक सय ९४ उद्योगमा ३४ अर्ब ९१ करोड लगानी प्रतिबद्धता भएको र यसवाट सात हजार पाँच सय ४१ रोजगारी सिर्जना हुने अनुमान थियो । विदेशी लगानीमा सञ्चालन हुने उद्योगहरूको दर्ता बढ्दो क्रममा रहेको देखिन्छ । विदेशी लगानीमा स्थापना हुने उद्योगहरूमा प्रक्रियागत सरलताका लागि एकल बिन्दु सेवा सुरू भएको छ ।

आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म दर्ता भएका विदेशी लगानीका उद्योगहरूमध्ये सबैभन्दा बढी सेवामूलक उद्योगहरू रहेका छन् भने सूचना, प्रसारण तथा सञ्चार प्रविधिमा आधारित उद्योगहरू सबैभन्दा कम दर्ता भएका छन् । रोजगारी सिर्जनका आधारमा उत्पादनमूलक उद्योगहरू सबैभन्दा अगाडि रहेका छन् भने सूचना, प्रशारण र सञ्चार प्रविधिमा आधारित उद्योगहरूमा रोजगारी सिर्जनाको संङ्ख्या पनि सबैभन्दा कम रहेको छ । आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म दर्ता भएका विदेशी लगानीका उद्योग सबैभन्दा बढी प्रदेश न ३ मा ८१ दशमलव ५ प्रतिशत र सबैभन्दा कम करिब १ दशमलव शून्य प्रतिशत उद्योग सुदुरपश्चिम प्रदेशमा रहेका छन् । आर्थिक वर्ष २०७५/२०७६ को फागुनसम्ममा विदेशी लगानीको स्वीकृति पाएका कुल उद्योगहरूको संख्याको आधारमाा चीनको अंश ३१ दशमलव १ प्रतिशत र लगानीको आधारमा ३९ दशमलव ८१ प्रतिशत रहेको छ । यस्तो अशं भारतको क्रमशः १६ दशमलव ४ प्रतिशत र ३३ दशमलव ४ प्रतिशत रहेको छ ।

कुल विदेशी लगानीबाट स्थापित उद्योगहरूमा करिब दुई लाख ५२ हजार रोजगारी सिर्जना हुने अनुमान छ । उद्योग व्यवसाय सञ्चालन सहजताको अवस्था चित्रण गर्ने व्यवसाय गर्ने प्रतिवेदन २०१९ का अनुसार १९० देशमध्ये नेपाल एक सय १०औँ स्थानमा रहेको छ । सन् २०१९ मा एक सय पूर्णाङ्कमा ५९ दशमलव ६ अंक प्राप्त गरी व्यवसाय सञ्चालन सहजतामा सार्क देशमा नेपाल चौथो स्थानमा रहेको छ । सार्कका ८ मुलुकहरूको औसत ५६ दशमलव ७ भन्दा नेपालको अंक तुलनात्मकरूपमा राम्रो देखिएको छ । व्यवसाय गर्ने लागत सूचकांकमा नेपालको सुरूवातमा एक सय सात, साना लगानीकर्ताको सुरक्षमा ७२, सीमापार ८२, टाट पल्टिएको विवाद समाधानमा ८३, सम्पत्ति दर्तामा ८८, ऋण प्राप्तिमा ९९, विद्युत् उपलब्धतामा एक सय ३३, कर भुक्तानीमा एक सय ५८, करारको कार्यान्वयनमा एक सय ५४ र निर्माण अनुमतिमा एक सय ४८ स्थान रहेको छ । कम्पनी दर्ता, अद्यावधिक तथा खारेजी प्रक्रियालाई अनलाइन पद्धतिमा आबद्ध गरिएको छ ।

कम्पनी रजिष्टारको कार्यालयमा राजस्व संकलनको लागि एक लाखसम्मममा विद्युतीय भुक्तानी प्रणाली लागू गरिएको छ । बुटवल र इटहरीमा कम्पनी रजिष्टारको नयाँ शाखा कार्यालय सञ्चालनमा आएको छ । प्रदेशगत रूपमा आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म प्रदेश न ३ मा सबैभन्दा बढी करिब तीन चौथाई कम्पनी दर्ता भएका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा शून्य प्रतिशत कम्पनी दर्ता भएका छन् ।

औद्योगिक विकास मुलुकको आर्थिक विकासको दिगो र भरपर्दो आधारस्तम्भ हो । रोजगारीका लागि कृषि क्षेत्रमा रहेको निर्भरतालाई कम गर्दै विद्यमान बेरोजगारी, अर्धबेरोजगारी कम गर्न औद्योगीकरणको भूमिका महत्वपूर्ण रहन्छ । औद्योगिक लगानीले औद्योगिक उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, स्थानीय सीपको प्रयोग, स्रोतसाधनको उपयोग, आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनमा योगदान गर्दछ ।

औद्योगिक क्षेत्रमा निजी स्वदेशी तथा वैदेशिक लगानी आकर्षित गर्नको लागि औद्योगिक पूर्वाधार निर्माण गर्दै लैजाने, मौजुदा औद्योगिक पूर्वाधारहरूको प्रभावकारी उपयोग गर्ने, निर्यात प्रवर्द्धनमा जोड दिन विशेष आर्थिक क्षेत्रको निर्माण तथा सञ्चालन गर्ने र लघु, घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धनको माध्यमबाट गरीबी न्यूनीकरण गर्ने उद्देश्यका साथ औद्योगिक नीति २०६७ कार्यान्वयनमा रहेको छ । सार्वजनिक निजी साझेदारीको अवधारणाअनुरूप औद्योगिक समस्याहरूको समाधान गर्दै लैजाने उद्देश्यले नेपाल व्यवसाय मञ्च क्रियाशील हुनुका साथै उद्योग मन्त्रालयमा मञ्चको सचिवालय सञ्चालनमा आएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie