कोभिड–१९ को मारमा होटल व्यवसाय र मजदुरहरू

कोभिड–१९ को मारमा होटल व्यवसाय र मजदुरहरू

वास्तवमा विश्वमा हालसम्म एउटा मात्रै उद्योग यस्तो छ, जसलाई विश्वभरि नै धुवाँरहित उद्योग भनेर चिनिन्छ , त्यो हो ‘होटल उद्योग’ । यसरी हेर्दा विगत लामो समयदेखि विश्वभरि नै होटल उद्योगलाई धुवाँरहित उद्योगको मान्यता छ । अर्थात् होटल उद्योगलाई ‘धुवाँरहित उद्योग’ भनेर चिनिन्छि/बुझिन्छ । तापनि नेपालमा भने अझैसम्म पनि होटललाई उद्योगभन्दा पनि व्यवसायको रूपमा मात्रै चिन्ने गरिएको अवस्था छ ।

त्यसो त नेपालमा समग्र पर्यटन उद्योगलाई नै नै उद्योग मानेको, यसका लागि अलगै मन्त्रालय गठन भएको त्यति लामो इतिहास छैन, अन्य देशको तुलना गरेर हेर्दा । कटेज, रिसोर्ट, गेस्ट हाउस, लज, होमस्टे, पदयात्रा अर्थात् ट्रेकिङ, पर्वतारोहण अर्थात् माउन्टेनियरिङ, भ्रमण अर्थात् ट्राभल, जलयात्रा अर्थात् -याफ्टिङ, बरफ आरोहण (एकदमै जमेको हिउँ जो नीलो... देखिन्छ) अर्थात् आइस क्लाइम्बिङ, वन घुम्ने अर्थात् जंगल सफारी, निकुञ्ज, बन्जी जम्पिङ, चरा अवलोकन अर्थात् बर्ड वाचिङ, खेल पर्यटन अर्थात् स्पोर्ट टुरिज्म, फिसिङ, शिकार पर्यटन, हट एयर बालुनिङ, जिप फ्लाइएर, चट्टान आरोहण अर्थात् रक क्लाइम्बिङ, कायाकिङ, साइक्लिङ, मोटर बाइकिङ, हाइकिङ, स्काइ डाइभ, माउन्टेन फ्लाइट, सांस्कृतिक भ्रमण अर्थात् कल्चरल टुर, औषधोउपचार अर्थात् मेडिकल टुर, ध्यान पर्यटन अर्थात् योगा टुर, गाउँ अवलोकन भ्रमण (यस्तो भ्रमण कुनै जाति विशेषको बसोवास भएको ठाउँमा गरिन्छ) अर्थात् भिलेज टुर, सहर अवलोकन भ्रमण अर्थात् सिटी टुर, सम्पदा अवलोकन भ्रमण अर्थात् हेरिटेज टुर आदिलाई बुझिन्छ ।

तर, यहाँ पर्यटनको मेरुदण्डमध्ये एक होटल उद्योगको बारेमा केही चर्चा गरिएको छ । कुनै पनि मान्छेले आफ्नो घर छाडेर २४ घण्टा वा एक रात बिताउने गरी दोस्रो ठाउँ वा देश जाने बित्तिकै उसलाई सबैभन्दा पहिले बस्ने व्यवस्थाकै आवश्यक्ता पर्छ । त्यसपछि मात्रै उसले खाने–पिउनेको व्यवस्था मिलाउँछ । त्यसका लागि उसलाई होटलको आवश्यक्ता पर्छ । फेरि अर्को महत्वपर्ण कुरो के हो भने, जसले एक रात आफ्नो घर वा देश छाडेर बाहिर बिताउँछ, उसलाई मात्रै पर्यटक (आन्तरिक र बाह्य दुवै) मान्ने भन्ने संयुक्त राष्ट्र संघसँग आबद्ध ‘विश्व पर्यटन संगठन (युएन डब्लूटीओ)’ को मान्यता वा भनौं परिभाषा छ ।

यसरी हेर्दा भारतीय सीमा क्षेत्रको होटल वा लजमा बसेर दिउँसो एकै छिन (३÷४ घण्टा) नेपाल घुमेर बास बस्न भारततिरै जाने विदेशी (विशेषतः बौद्ध धर्मावलम्बीहरू) पर्यटकहरूलाई पर्यटक मान्ने कि नमान्ने ? खास गरी हाल विश्वभर अस्तित्वमा रहेका विभिन्न भगवानहरूमध्ये एक मानिएको र सिद्धार्थ गौतम (गौतम बुद्ध) धर्मका प्रवर्द्धक गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्न एक छिन नेपाल आउने र सोही दिन भारततिरै फर्किने विदेशी पर्यटकहरूलाई पर्यटक मानेर पर्यटकको सूचीमा राख्ने कि नराख्ने ? यसबारेमा पनि अबका दिनमा हामी नेपालीहरूले गम्भीर भएर बहस र छलफल गर्ने हो कि ? यस बारेमा केही न केही सोच्न ढिला नगर्ने हो कि ?

जे भए पनि (कोभिड–१९) को संक्रामक भाइरसले विश्वभरि नराम्रोसँग आक्रमण गर्नुअघिसम्म विश्वमा जसरी पर्यटन उद्योग चकाचक थियो, त्यसरी नै नेपालमा पर्यटन उद्योगको चकाचक थियो । अझ नेपाल सरकारले त सन् २०२० लाई ‘नेपाल भ्रमण–२०२०’ वर्ष घोषणा गरेको थियो । ‘नेपाल भ्रमण–२०२०’ घोषणा गरेको मात्रै होइन कि, सन् २०२० मा अहिलेसम्मकै धेरै विदेशी पर्यटकहरू नेपाल भित्रिएको कीर्तिमान कायम गर्न चाहन्थ्यो । त्यसका लागि सरकारले २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको थियो । सायद (कोभिड–१९) को संक्रामक भाइरसको महामारीले विश्वभरि रौद्ररूप नलिएको भए आज हामीले बितेको लगभग ४ महिनामा नेपालमा कम्तीमा ५ लाखदेखि साढे पाँच लाख वा छ लाख विदेशी पर्यटक भित्रिएको तथ्यांकहरू प्रस्तुत गरी रहेका हुने थियौं ।

तर, यसरी (कोभिड–१९) को संक्रामक भाइरसको महामारीले विश्वभरि नराम्रोसँग आक्रमण गर्नुअघिसम्म होटल उद्योगमा ‘दिन दुई गुणा रात चौगुणा’ले उन्नति भई रहेको स्थिति थियो । खासमा होटल मालिकहरूले टन्न नाफा कमाइरहेका थिए भन्ने आधारमा होइन कि, नेपालको समग्र पर्यटन र होटल उद्योगको आधार–स्तम्भ खडा गर्नका लागि होटल उद्योगहरूले जग बसाल्दै थियो भन्न अर्थमा यसो भनिएको हो । यसो भन्दा अतिशय नहोला भन्न सकिन्छ । किनभने, विगत ४–५ वर्षदेखि नेपालमा विदेशी चेन होटलका शाखाहरू पनि खुल्ने क्रम बढेको थियो÷छ । हुन पनि लगभग दुई वर्षअघिको तथ्यांक सम्झने हो भने, नेपालको होटल उद्योगमा लगभग १० खर्ब नेपाली रूपैयाँ लगानी भैसकेको थियो । त्यो आधारमा हेर्दा हालसम्म १२/१३ खर्बभन्दा बढी नै नेपालको होटल उद्योगमा लगानी भैसकेको हुनु पर्छ ।

तर, यसैबीच सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको हुपेई प्रान्तको राजधानी वुहानमा ‘नोभेल कोरोनाभाइरस निमोनिया’को प्रकोप आकस्मिकरूपमा सुरु भयो । जसलाई सुरुमा ‘नोबेल कोरोनाभाइरस’ (एनसीभी) नाम दिइयो भने, हाल ‘कोरोनाभाइरस डिजिज–२०१९’ को छोटकरी नाम (कोभिड–१९) ले चिनिन्छ । यसरी (कोभिड–१९) रोगको संक्रामक महामारीको भाइरस चीनबाट औपचारिकरूपमा सुरु भई हाल विश्वभरि नै फैलिएको अवस्था छ । सोबारे अरु बढी लेखिरहनु परेन । यसरी (कोभिड–१९) ले महामारीको रूप लिएपछि सबैभन्दा बढी असर विश्व पर्यटन क्षेत्रमा प-यो । फलतः स्पेन, फ्रान्स, इटाली, जर्मनी, रुस, नेदरल्यान्ड, अमेरिका, चीन, क्यानडा, जापान, थाईल्यान्ड, हङकङ, सिंगापुर, अष्ट्रिया, रोमानिया, बेल्जियम, हंगेरी, मेक्सिको, मलेसिया, इन्डोनेसिया, नेदरल्यान्ड आदि देशहरू पनि मारमा परेको छ भने, त्यसमा नेपाल मात्रै नपर्ने त कुरै भएन ।

फलतः नेपालका अधिकांश होटल उद्योगी–व्यवसायीहरूले केही समयका लागि बन्द गरेको होटल हाल समय तोकेरै ६ महिनाका लागि बन्द गरेको जनाउ दिएका छन् । यसले होटल उद्योगी व्यवसायी र होटल मजदुरहरूबीच विवाद ल्याएको छ । किनभने, होटल बन्द गर्ने होटल उद्योगी व्यवसायीहरूले ६ महिना (होटल बन्द रहेसम्म) सम्म साढे १२ प्रतिशत मात्रै मजदुरहरूलाई तलब दिने भनेको छ भने, होटल मजदुरहरूले पनि होटल उद्योगी–व्यवसायीहरूको ६ महिना (होटल बन्द रहेसम्म) सम्म साढे १२ प्रतिशत मात्रै तलब दिने भनी गरेको निर्णय नमान्ने, आन्दोलनमा उत्रने भन्दै छ । होटल उद्योगी व्यवसायीहरू झन् के कम, उनीहरू त होटल मालिक पो हुन् त । त्यसैले सो निर्णय नमान्ने होटल मजदुरहरूलाई कामबाट स्थायीरूपमै निकाल्ने बताएका छन् ।

हेरौं, होटल उद्योगी व्यवसायी र होटल मजदुरहरूबीचको यो भाले भीडन्तमा सरकारले कस्तो भूमिका खेल्ने हो ? किनभने, सरकारभन्दा ठूलो त होटल उद्योगी व्यवसायी पनि होइनन् न त होटल मजदुरहरू नै हुन् ! हुन त सतहीरूपमा हेर्दा होटल मालिकहरू नभएको भए होटल मजदुरहरूले काम पाउने थिएनन् ! त्यो पक्कै हो । तर, अर्को पक्षबाट हेर्दा होटल मजदुरहरू नभएको भए होटल उद्योगी व्यवसायीहरूको व्यवसाय पनि त चल्दैन थियो होला । आफ्नो होटल नचलेपछि नाफा कहाँबाट आउँथ्यो होला र ? त्यसैले हाल ६ महिना (होटल बन्द रहेसम्म)सम्म होटल मालिकहरूले होटल मजदुरहरूलाई दिने भनिएको साढे १२ प्रतिशत तलब केही प्रतिशत बढाएर र त्यसमा सरकारले पनि केही प्रतिशत थपेर कम्तिमा होटल मजदुरहरूको बाँच्ने आधार खडा गरिनु पर्छ । अहिलेको जस्तो विषम परिस्थितिमा होटल मालिकहरू, होटल मजदुरहरू र सरकारबीच ‘विन–विन’को समाधान निकाल्नुपर्ने देखिन्छ । यसका लागि सरकारको तालुकवाला मन्त्रालय वा सरकार मातहत रहेको विभागले जति सक्दो चाँडो पहल लिनुपर्ने देखिन्छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie