स्वास्थ्यको लागि शाकाहारी भोजन

स्वास्थ्यको लागि शाकाहारी भोजन

मानिसलाई स्वस्थ राख्ने प्रमुख आधार नै खाना हो । स्वस्थ बनाउनको लागि तागत वा शक्ति दिने खानेकुराको त्यतिकै महत्व हुन्छ । सोको लागि शाकाहारी खानाको भूमिका महत्वपूर्ण हुन्छ । जस्तैः उसिनेको, हकुवा, ताइचिन र मन्सुरी चामललाई स्वस्थ खानाको रूपमा लिइन्छ । त्यस्तै गहुँ, मकै, कोदो, तितेफापर, जुनेलो, जौ, शखरखण्ड, तरुल, पिँडालु, गिठ्ठा, आलु, चिउरा, फलफूललाई स्वस्थ्य भोजनकोरूपमा लिन सकिन्छ । शरीरको तामक्रम र सन्तुलन बनाइराख्न, मांशपेसी बलियो बनाउन, शरीरको मुख्य अंगहरू (मिर्गाैला, मुटु, फोक्सो, मष्तिष्क)लाई निरोगी राख्न एवं विभिन्न समस्याहरू निराकरण गर्न यी शाकाहारी खाना नै हुन् ।

स्वास्थ्य समस्याहरू निराकरण गर्न नाथ्रो भएको वा नफलेको अन्नले शरीरको विकासमा सन्तुलनको लागि चाहिने प्रोटिन, भिटामिन विशेष गरेर ‘बी’ रगत राम्रो बनाउने तत्व, शरीरबाट काम नलाग्ने वस्तु बाहिर हटाउने र शक्ति प्रदान गर्दछ । तरकारीको रूपमा प्रयोग गरिने आलुबाट भिटामीन ‘सी’ प्राप्त हुन्छ । यसले घाउ निको पार्न र बलियो बनाउन सहयोग पु¥याउँछ । खानामा भएको तत्व पचाउन शरीरलाई शक्ति दिन्छ । आलुमा प्रशस्त प्रोटिन हुन्छ जसले शरीरको वृद्धि गर्न र यसलाई सन्तुलित राख्न मदत गर्दछ । कम चिल्लो प्रयोग गरी आलु बोक्रासहित पकाउनाले स्वास्थ्यलाई फाइदा पु-याएको कुरा विभिन्न अध्ययनले जनाएको छ ।

यसैगरी कोदोमा शरीर विकासका लागि चाहिने उत्तम प्रोटिन पाइन्छ, यसबाट दाँत र हाड बलियो बनाउने क्याल्सियम पनि पाउन सकिन्छ । मानिसलाई ताप वा शक्ति दिने खानाको कमी भएमा दुब्लाउँछ, सो कारणबाट मांशपेशी कमजोर हुनगई जाँगरसमेत निम्न हुन्छ । थकाई छिटो लाग्छ, जाडो भएको महसुस भई जीउ काँप्छ । शरीरको विकास र यसलाई सन्तुलित राख्न शाकाहारी खाना मुख्य हो । यो गेडागुडी र अन्य वस्तुबाट प्राप्त गर्न सकिन्छ । मास, भटमास, राजमा, सिमी, गहत, रहर, बकुला, तील, मुगी, मुसुरो, चना, बोडी, केराउ, मस्याङमा प्रशस्त प्रोटिन पाइन्छ । फर्सीको बियाँ, लट्टेको गेडा, ओखर, ज्वानो आदिबाट पनि प्रशस्त शरीर रक्षा गर्ने प्रोटिनको मात्रा पाइन्छ ।

अतः शरीरको विकास र दीर्घ जीवनका लागि माथि उल्लिखित प्रोटिनयुक्त शाकाहारी खाना खानु पर्दछ । प्रोटिन कपाल, हाड, मांशपेशी र रगतलाई स्वस्थ राख्न आवश्यक तत्व हो । यसले शरीरको मुटु, मिर्गौला र कलेजोलाई करिब दुई हप्तासम्म जीवित राख्न सहयोग गर्दछ । छाला, हाड र मांशपेशीका कोषहरू ६/७ महिनासम्म जीवित राख्दछ । प्रोटिनले घाउ छिटो निको गर्न मदत पु¥याउँछ । केही प्रोटिनयुक्त खानेकुराले शरीरलाई आवश्यक पर्ने तत्व क्याल्सियम पनि प्रदान गर्दछ । प्रोटिन र भिटामिन खाएनौँ भने खानामा भएको तत्वहरू सबै शरीरले पचाउन सक्दैन र त्यस्ता तत्वहरू दिसामा बगेर खेर जान्छन् ।

अन्नबाट शरीरलाई चाहिने ७० देखि ९० प्रतिशत प्रोटिन पूर्ति हुन्छ । खानामा प्रोटिन र कार्बोहाइड्रेड समान अनुपातमा हुनु अति महत्वपूर्ण हुन्छ । प्रोटिनयुक्त खानेकुरा शक्ति दिने र भिटामिन दिने खानेकुराहरूसित खायौँ भने शरीरले पूरा मात्रामा खानामा भएको पौष्टिक तत्व पचाउन सक्दछ । त्यसैले विभिन्न किसिमका खानेकुराहरू मिलाएर खानु फाइदाजनक हुन्छ । जस्तैः दालभात, साग, गेडागुडी, दूध, मोही, घिउ फरकफरक खायौँ भने खानामा भएका पौष्टिक तत्वहरूको सही उपयोग हुँदैन ।

शरीरलाई आवश्यक मात्रामा चाहिने प्रोटिनयुक्त खाना नखाँदा उमेरअनुसार उचाइ बढ्दैन, केटाकेटीहरू ख्याउटे, दुब्लो र कमजोर हुन्छन् । उनीहरूको छाला पनि बुढो मान्छेको जस्तो चाउरी परेको हुन्छ । कपाल पातलो र खैरो हुन्छ । शरीर सुन्निने पनि हुन्छ । कपाल फुस्रो र जिङ्ग्रिङ्ग परेको हुन्छ । कहिलेकाहीँ छालामा दाग पनि देखिन्छ । घाउ भयो वा खटिरा आयो भने निको हुँदैन । घाउ छिटै पाक्ने हुन्छ । अतः प्रोटिनयुक्त खानेकुरामा सबभन्दा असल स्रोतहरू भएको खानेकुरा शाकाहारी खानाबाटै पाइन्छ । जस्तैः भटमास, मह, सागसब्जी राम्रो स्रोतको रूपमा प्रयोग गर्नुपर्ने हुन्छ ।

दूध, दही शरीर बढाउने प्रोटिनयुक्त उत्तम खानेकुरा हुन् । आमाको दूध बच्चाको लागि अमृतसरह हुन्छ । यदि आमाले बच्चा गर्भमा छँदा र जन्मेपछि प्रोटिन पुग्दो मात्रामा खान्छिन् भने त्यस आमाको दूध खाने बच्चा पुष्ट र स्वस्थ हुन्छ । आमाले मिश्रित खाना सेवन गर्दा आमाको दूध प्रशस्त मात्रमा आउँछ । हाम्रो शरीरलाई आवश्यक पर्ने तत्वहरू गाढा हरियो रंगको तरकारीमा भिटामिन र खनिज पदार्थ हुन्छन् । जसले रोगका किटाणु र सरुवारोग र कमजोरी हुनबाट बचाउँछ । फर्सी, गाजर, बकुला र उमारेको गेडागुडीहरूमा प्रशस्त शरीरलाई आवश्यक पर्ने तत्वहरू हुन्छन् साथै सामान्यतयाः भिटामिन ए शरीरको निम्ति अति आवश्यक हुन्छ । शारीरिक विकास, राम्रो आँखा, आँखाको तेज, स्वस्थ छाला, बलियो दाँत र हाडहरू बनाइराख्नको लागि भिटामिन ए आवश्यक हुन्छ ।

भिटामिन बीले नशासम्बन्धी रोगबाट बचाउँछ । भिटामिन सीले शरीरका कोषहरू बलियो बनाउँछ । विशेषगरी जोर्नीहरू, मुख र गिजालाई फाइदा पु-याउँछ । यसबाहेक यसले घाउ चाँडो निको हुने र शरीरलाई फलामको मात्रा वृद्धि गर्न पनि मदत गर्दछ । फलाम भएका खानाले रगत बनाउन सहयोग गर्दछ । क्याल्सियमयुक्त खानाले हाड र दाँत बलियो हुन्छ । बोक्रा वा त्यान्द्रा भएका खानाले दिसा खलास गराउँछ । हाम्रो समाजमा अज्ञानका कारण केही साना बालबालिका र वयस्क व्यक्ति पनि गाढा हरियो सागपात खाँदैनन् अतः गाढा हरियो सागपात नखाएर भिटामिन ‘ए’को कमी हुन्छ । भिटामिन ‘ए’ आँखाका लागि अति आवश्यक हुन्छ । यसको कमीले रतन्धो रोग हुन्छ । यसकिसिमको समस्या विशेषगरी केटाकेटीमा पाइन्छ । त्यस्तै आँखा ज्यादै दुख्ने समस्या हुनसक्छ । सानो बालक छ भने आँखा मिचिरहन्छ त्यसैगरी आँखामा सेतो थोप्ला देखिन थाल्छ । आँखाको नानी नरम र घाउ भएको हुन्छ । सेतो भागको आकार असाधारण हुन्छ । आँखाको सबै कालो भाग सेतोले ढाक्छ अनि आँखा देख्न सक्दैन र अन्धो हुन्छ ।

भिटामिन ‘ए’ कमी भएका व्यक्तिलाई केही हप्तासम्म भिटामिन ‘ए’ भएका फलफूल, जस्तैः गाढा हरियो सागपात, पाकेको फर्सी, आँप, गाजर आदि ख्वाउनु पर्छ । यदि यस्तो व्यक्तिलाई प्रशस्त हरियो सागपात दिइन्छ भने केही हप्तामा नै आँखाको समस्या हटेर जान्छ । तर, उसले निको नभएसम्म सधैं हरियो सागपात खानुपर्दछ र जीवनभर हरियो सागपात प्रयोग गर्नु अति उत्तम हुन्छ । गाढा हरियो सागसब्जीमा लौहतत्व पाइन्छ । लौहतत्वको अभावले रगतको कमी हुने रोग लाग्छ । अतः यस्तो खानेकुराहरू खानु आवश्यक छ ।

नेपालमा धेरैजसो सुत्केरी आमामा रगतको कमीको रोग हुन्छ । यसकारण उनीहरूले प्रशस्त हरियो सागपातको तरकारी खानु पर्दछ । आमा कमजोर हुनु नै बच्चा कमजोर हुनु हो । बालकहरू र बढ्ने केटाकेटीहरूलाई पनि गाढा हरियो सागपात राम्रो रक्तचापको निम्ति चाहिन्छ । सागपातलाई सफा पानीले राम्रोसँग पखालेर हातले चुन्ने र त्यसलाई पकाउँदा कम मात्रामा चिल्लो पदार्थ र नुन, पिरो हाल्नु पर्दछ । सागलाई धेरैबेर पकाएमा भिटामिन नष्ट हुन्छ । सागपात काट्दा पनि भिटामिन नष्ट हुन्छ । त्यसैले सकेसम्म होशियारी साथ सागपात खानयोग्य बनाउनु पर्दछ । हाम्रो शरीर रक्षा गर्ने शाकाहारी खानेकुरा आँप, हलुवावेद, खुर्सानी, सुन्तला, मेवा, गोलभेंडा, सागपातहरूमा कर्कलो, लट्टे साग, खोसे साग, फर्सीको मुन्टा आदि पर्दछन् । यी फलफूल तथा सागसब्जीमा पनि भिटामिन ‘ए’ प्रशस्त पाइन्छ । यस्तै अम्बा, मेवा, भुइँकटहर, अमिलो जातका फलफूलहरू पर्दछन् । काँक्रो र आलुमा पनि भिटामिन ‘सी’ पाइन्छ ।

गुणस्तरीय जीवनका लागि शाकाहारी खानाको आवश्यक हुन्छ भने मांशाहारी खाना अति हानिकारक हुन्छ । आजभोलि यदाकदा पशुबलिलाई प्रशय दिएर मांशाहारी खानामा जोड दिई गुणस्तरीय जीवन अस्वस्थकर बनाई सुस्वास्थ्यको वातावरण विनाश गरेको पाइन्छ । यस सन्दर्भमा मान्छेले आफ्नै अस्तित्वलाई संकटमा पारिरहेको छ । मानिसले बुद्धि र विवेक सन्तुलनमा नराखी हिंसात्मक पशुबलि गरेको देखिन्छ । जतिजति पशुबलिलाई प्रशय दिने मान्छेका सम्बन्धमा उसका अविवेकी क्रियाकलाप सोच्दै गयो भने उतिउति यस अनौठो प्राणीको चरित्रले रन्थनाउँछ । सृष्टिको सबैभन्दा महत्वपूर्ण प्राणी भएर पनि निहित स्वार्थको पशुबलिमा लागि मानवले आफूले आफूलाई चिन्न सकेन । आफ्नो सहयोगीको महत्व बुझ्न सकेन । कहिले आउला मानिसले पशुबलि पूर्ण रोक गरी पशुपंक्षी पूजा, सबैको समान बाँच्ने अधिकारको अवस्था अनि स्वच्छ वातावरण र पूर्ण शाकाहारी खाना गुणस्तर जीवन । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie