कोरोना महामारी र सरकारी अस्पताल

कोरोना महामारी र सरकारी अस्पताल

नेपाल सरकारका स्वामित्वमा रहेका सरकारी अस्पताल र तिनीहरूले प्रवाह गर्ने सेवाप्रति आम मानिसहरूको धारणा खासै सकारात्मक रहनेगरेको छैन । ‘बिरामी अस्पताल’, ‘रोगी अस्पताल’ ‘फोहोरी अस्पताल’ ‘रेफर अस्पताल’ ‘डाक्टरविहीन अस्पताल’ आदि अनेक उपमाहरू यी अस्पताललाई चिनाउनमा प्रयोग गर्ने गरिन्छ । तर, जब देशमा संकटको अवस्था देखापर्दछ, संकटको साथी र आम नागरिकहरूको भरोसाका रूपमा यिनै अस्पतालहरू नागरिक सेवाप्रवाहमा तल्लीन बन्ने गर्दछन् ।

हाल देखापरिरहेको कोभिड १९ को महामारीको समयमा नेपालका सरकारी अस्पतालहरूले आम जनताको भरोसाका रूपमा निर्वाह गरिरहेको भूमिकाले यिनीहरूको प्रभावकारिता घटेको र निकम्मा बनेको भन्ने भनाइलाई गतिलो जवाफ दिइरहेका छन् । कोभिड १९ का शंकास्पद र संक्रमित बिरामीहरूको उपचार व्यवस्थापनमा सरकारी अस्पतालहरूले खेलिरहेको भूमिकाबाट सरकारी अस्पतालको आवश्यकता र सान्दर्भिकताको पुनः पुष्टि भइरहेको छ ।

गत डिसेम्बरमा चीनको हुवेई प्रान्तको राजधानी वुहानबाट फैलिएको कोरोना भाइरसले हालसम्म विश्वका दुई सय १० वटा देशहरूमा प्रभाव जमाइसकेको छ । यो लेख तयार पार्दासम्म विश्वभरमा ३६ लाख ८६ हजार बढी मानिसहरू कोरोना भाइरसबाट संक्रमित बनिसकेका छन् भने दुई लाख ५२ हजार बढी मानिसहरूको यही कारण मृत्यु भइसकेको छ ।

नेपालभित्रको तथ्यांक हेर्ने हो भने लेख तयार पार्दासम्म ८२ जना संक्रमितहरू फेला परेका, तीमध्ये १६ जना उपचारपश्चात संक्रमण मुक्त भई घर फर्केका र ६६ जना संक्रमित बिरामीहरू देशका विभिन्न अस्पतालहरूमा उपचाररत रहेका छन् । नेपालमा हालसम्म संक्रमित बन्नपुगेका कुनै पनि बिरामीहरूको मृत्यु नभएको र संक्रमणकै कारण जटिल अवस्थामा नपुगेको सुखद पक्षसमेत रहेको छ । यहाँनेर स्मरणीय तथ्य के छ भने हालसम्म कोभिड १९ का संक्रमित बिरामीहरूको उपचार व्यवस्थापन नेपाल सरकारको स्वामित्वमा रहेका सरकारी अस्पतालहरू बाट मात्रै भइरहेको छ । काठमाडौं उपत्यकालगायत देशका विभिन्न प्रदेशहरूमा रहेका सरकारी अस्पतालहरूले संक्रमित बिरामीहरूलाई आईसोलेसनमा राखेर सहजरूपमा उपचार व्यवस्थापन गर्दै आइरहेका छन् ।

सरुवा तथा संक्रामक रोगको एकमात्र केन्द्रिय अस्पतालका रूपमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले मात्रै हालसम्म ३ जना संक्रमित बिरामीहरूको सफलतापूर्वक उपचार गरी डिस्चार्ज गरेको छ । यसबीचमा यो अस्पतालले करिब चार सय हाराहारी कोभिड १९ का शंकास्पद बिरामीहरूलाई आईसोलेसन र क्वारेण्टाइनमा राखेर उपचार व्यवस्थापन गर्नुका साथै फिभर क्लिनिकमार्फत हजारौँ शंकास्पद बिरामीहरूलाई सेवाप्रवाह गरिसकेको छ । यही किसिमको सेवामा देशका अन्य सरकारी अस्पतालहरू समेत जुटिरहेका छन् ।

सरकारी अस्पतालहरूले कोरोना भाइरसबाट संक्रमित एवं शंकास्पद बिरामीहरूको उपचार व्यवस्थापनमा यसखालको तदारुकता देखाइरहँदा देशभर ठूलो संख्यामा रहेका निजी अस्पताल र स्वास्थ्य संस्थाहरूको व्यवहार भने केही अनपेक्षित रहन पुग्यो । जतिबेला नेपालमा कोरोना संक्रमित र शंकास्पद बिरामीहरू देखापर्न थाले, निजी अस्पताल र स्वास्थ्य संस्थाहरूले विभिन्न बहानामा जुनसुकै प्रकृतिका बिरामीहरू पनि चेकजाँच गर्न र भर्ना लिन अस्वीकार गर्न थालेको तथ्य तत्कालीन समयमा सञ्चार माध्यमहरूले सार्वजनिक गरेका थिए ।

लकडाउनको सुरुवात हुनअघि नै सानातिना मात्र हैन कतिपय ठूला भनिएका निजी अस्पतालहरूको गेटसमेत बिरामीहरूका लागि बन्द भएका थिए । विश्व स्वास्थ्य संगठनले कोभिड १९ का शंकास्पद बिरामीहरू पहिचानका लागि निर्धारण गरेको मापदण्डभन्दा बाहिर सामान्य रुघाखोकी र ज्वरो आएका बिरामीहरूलाई जाँच गर्नसमेत निजी अस्पतालहरू हच्किएका देखिन्थे । अन्य समयमा सरकारी अस्पतालबाट बिरामी तान्न विभिन्न हर्कत गर्ने आरोप लाग्नेगरेका निजी अस्पतालहरूले कोभिड १९ को संक्रमण देशभित्र भित्रनासाथ आफ्नो गेटमा आएका बिरामीहरूलाई गेटबाटै सरकारी अस्पतालहरूमा रेफर गरिरहेको दुर्लभ दृष्य यसपटक देख्न पाइयो ।

नेपालमा कोभिड १९ को महामारी देखापर्ने बितिकै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सय शैयामाथिका निजी अस्पतालहरूलाई समेत कोरोनाको शंकास्पद बिरामीहरूलाई उपचारको व्यवस्था मिलाउन आह्वान गरेको थियो । निजी अस्पतालहरूले सरकारको यस्तो आह्वानको बेवास्ता गर्दै बिरामीहरूलाई सरकारी अस्पतालमा मात्रै रिफर गर्ने सिलसिला चलेपछि पुनः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुनसुकै अस्पतालहरूले कोरोनाका बिरामीहरूको आफै उपचार गर्नुपर्ने, सरकारीमा पठाउन नपाउने धारणा सार्वजनिक गरेको थियो । यसबीचमा केही निजी अस्पतालहरूसँग शंकास्पद बिरामी भर्ना नलिनुको कारणबारे मन्त्रालयले स्पष्टीकरणसमेत सोधेको समाचारहरू सार्वजनिक भएका थिए ।

पछिल्ला दिनसम्म आइपुग्दा केही निजी अस्पतालहरूले फिभर क्लिनिक सञ्चालन गरी सामान्य चेकजाँच गर्न थालेका समाचारहरू आएका छन् । केही अस्पतालहरूले कोभिड १९ का बिरामीहरू आइहालेमा आइसोलेसन र आईसीयू कक्षसमेत तयार रहेको भनाइहरू पनि सार्वजनिक गरेका छन् । तथापि, हालसम्म निजी अस्पतालहरूकै आइसोलेसनमा राखेर कोरोना संक्रमित बिरामीहरूको उपचार गर्नेसम्मको उदारता र सेवाभाव यस्ता अस्पतालहरूले देखाउन सकेको पाइँदैन ।

आफ्ना चिकित्सक र स्वास्थ्यकर्मीहरूका लागि पीपीईलगायतका सुरक्षा सामग्रीहरू सरकारले उपलब्ध नगराएको लगायतका विभिन्न बहानामा निजी अस्पतालहरूले शंकास्पद बिरामीहरूको उपचार व्यवस्थापन गर्नबाट पछि हटेका थिए । निजी अस्पतालहरूको छाता संगठन ‘अफिन’ले सुरक्षा सामग्रीको अभावमा शंकास्पद बिरामीहरूलाई निजी अस्पतालमा उपचार गर्न नसक्ने धारणा तत्कालीन समयमा सार्वजनिक गरेको थियो । यद्यपि, पीपीईलगायतका सुरक्षा सामग्रीहरू अभावको स्थितिबाट सरकारी अस्पतालहरू पनि पहिले र अहिले समेत गुज्रिरहेकै छन् । यस्तो अवस्थामा सुरक्षा सामग्रीहरू जोहो गर्ने दायित्व सरकारलाई मात्रै पन्छाएर उन्मुक्त बन्नसक्ने स्थिति देखिँदैन । यी यावत् घटनाक्रमहरूबाट अघिपछि चर्को शुल्क असुल्दै जुनसुकै रोगको उपचार व्यवस्थापनमा तम्सिने निजी अस्पतालहरू यसपटक चुकेकै देखिन्छन् ।

बृहत्तर रूपमा हेर्दा, नेपालको स्वास्थ्य सेवा प्रवाहमा सरकारी क्षेत्रसँगै सामुुदायिक र निजी तवरबाट सञ्चालित अस्पताल एवं स्वास्थ्य संस्थाहरूको योगदान महत्वपूर्ण रहँदै आएको छ । देशले अपनाएको उदारीकरणको नीतिसँगै निजी अस्पताल एवं स्वास्थ्य संस्थाहरूले सेवाप्रवाहमा सरकारसँगै हातेमालो गर्दै आइरहेका छन् । तथापि, पछिल्लो समयमा कोरोना भाइरसको महामारीले नेपाललाई प्रभावित गरेसँगैको सुरुवाती चरणबाटै यो हातेमालो केही खुकुलो बनेको महसुस आम नागरिकहरूले गरिरहेका छन् । हुनत, लोककल्याणकारी राज्यले शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवाका क्षेत्रहरूमा सेवाप्रवाहको जिम्मेवारी निजी क्षेत्रलाई दिइनु नहुने तर्क बेलाबखत उठ्नेगरेको छ ।

हाम्रो सन्दर्भमा तत्कालिन समयमा राजनीतिक परिवर्तनसँगै मुलुकले अपनाएको उदारीकरणको नीतिले यस्ता क्षेत्रहरू निजी क्षेत्रलाई सुम्पिएर राज्यले बहन गर्नुपर्ने दायित्व र स्वार्थहीन सेवाको क्षेत्रलाई व्यापार गर्ने माध्यम बनाइएको बहससमेत हुनेगरेको छ । यसरी हेर्दा, आधारभूत सेवाको क्षेत्रलाई व्यापारको क्षेत्र बनाइनुको नीतिगत गल्तीकै कारण संकटको समयमा निजी अस्पतालहरू जिम्मेवारीबाट पन्छिने स्थिति देखापरेको त होइन भन्ने प्रश्न उठाउन सकिने ठाउँ बाँकी नै रहेको देखिन्छ ।

सरकारी अस्पतालहरूले कोरोना संक्रमित र शंकास्पद बिरामीहरूको उपचार व्यवस्थापनमा वर्तमानमा खेलिरहेको भूमिकाबाट बिपत्तीको समयमा सरकारी संयन्त्र आमरूपमा सोचेजति निकम्मा नरहेको पुष्टि भएको छ । चौतर्फीरूपमा नै सरकारी अस्पतालहरूलाई बेवास्ता भइरहेका बेला अहिलेको महामारीले गतिलो पाठ पढाएको छ । महामारीबाट शारीरिक एवं मानसिकरूपमा पीडित बनेर आएका बिरामीहरूलाई सरकारी अस्पतालहरूले गुणस्तरमा सम्झौता नगरिक नै स्तरीय सेवा उपलब्ध गराएका छन् ।

यसबीचमा, सरकारी अस्पतालबाट उपलब्ध सेवा नपाएको वा कम गुणस्तरको सेवा पाएको भन्ने सिकायत अहिलेसम्म सुनिएको छैन । त्यसैले, हालको महामारीमा आम जनताको भरोसा बनेका सरकारी अस्पतालहरूको साख घट्न नपाउँदै यस्ता अस्पतालहरूलाई उपचारात्मक स्वास्थ्य सेवा प्रवाहको दरिलो खम्बाका रूपमा स्थापित गरिन जरुरी छ । अस्पतालहरूको आवश्यकता विपत्ति र महामारीमा मात्र पर्ने हैन । अत्यावश्यक आधारभूत सेवा भएकाले नागरिकलाई आवश्यकता परेको जुनसुकै बखत अस्पतालको सेवा उपलब्ध हुने प्रत्याभूति गरिनुपर्दछ ।

आशा गरौं, हाल विश्वव्यापीरूपमा देखापरेको कोभिड १९ महामारीको संक्रमण र सन्त्रासबाट चाँडै मुक्ति पाइनेछ । अहिलेको समयमा के सरकारी के निजी भएका सम्पूर्ण स्रोतसाधन कोभिड १९ को महामारीबाट आम नागरिकलाई बचाउनतर्फ प्रभावकारी उपयोग गर्नुको विकल्प छैन । यो तथ्यलाई मध्यनजर गर्दै निजी अस्पताल र स्वास्थ्य संस्थाहरूले समेत कोभिड १९ सम्बद्ध बिरामीहरूको उपचार व्यवस्थापनका लागि आफूलाई तम्तयार राख्नुपर्ने देखिन्छ । सँगसँगै, सरकारी अस्पतालमा देखिने गरेका कमजोरीहरूमा सुधार गर्दै भौतिक पक्षका साथै स्रोत व्यवस्थापनलगायत समग्र व्यवस्थापनमा राज्यले उचित ध्यान पु-याउनै पर्छ । यसो हुनसकेमा हाल महामारीका समयमा प्रदर्शित उच्चस्तरको प्रशंसनीय सेवाले सदैव निरन्तरता पाउनसक्ने आशा गर्न सकिन्छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie