संसारको आर्थिक गति नै टक्क रोकिएको अवस्था

संसारको आर्थिक गति नै टक्क रोकिएको अवस्था

काठमाण्डौं,चैत २१
कोरोना त्रासदी सडक सुनसान छ । पसलहरू बन्द छन् । मानिसहरू एकान्तवासमा छन् । सन्त्रासले जलिरहेको छ सबैको मुटु । हरेक सूर्यास्तसँगै एक प्रकारको त्रास भित्रिन्छ दैलोबाट । बिहानीको घामसँगै एक दिन बाँच्न पाएकोमा भगवानलाई धन्यवाद दिनुपर्ने भएको छ । ग्यास सिद्धिँदै छ । चामलको बोरा रित्तिँदै छ । एक मुठी रायोको साग पचास रूपैयाँले पनि पाउन सकिन्न । हरियोपरियो नखाको धेरै दिन भो । गुन्द्रुकले पेटमा ग्यास बढाउन थाल्यो । दुध र फलफूल त धनीको घरमा पुगेका छन् रातारात । धनीहरूलाई कोरोनाको लकडाउनले केही असर गरेकै छैन । ग्यास भनेको पन्ध्र दिन भो । पसलेले पनि गरिबलाई नराम्ररी हेप्छन् । गाउँ जान पनि सकिएको छैन । गाउँ जाऊँ भने पनि बीचबाटोमै अलपत्र परिएला भन्ने त्रास । फेरि गाउँ जाँदा पनि गाउँलेले कोरोन्टाइनमा बस्न लगाउँछन् । गाउँले पनि यतिबेला त्रासमै छन् ।नयाँ मान्छे कोही देख्यो भने गाउँ प्रवेशमै रोक लगाएका छन् रे सहरमा बसु भने पनि कति दिनको लकडाउन हो केही टुङ्गो छैन एउटा कोठामा पाँच जानाको परिवार । घरपेटिको कचकच उस्तै छ । हातमा पन्जा र मुखमा मास्क नलागाए बाहिर निस्किने गेट नै खोल्दैन । गरिबले चामल किन्नु कि पञ्जा किन्नु । हरे शिव यो कोरोना भन्ने कस्तो भाइरस रहेछ । दिन दिनै कमाएर खानुपर्नेलाई त कोरोनाले भन्दा पनि भोकले पो लैजालाजस्तो छ । रोग त बरु सहिएला भोक खप्न नसकिने रहेछ । भोकभोकै बस्नुपर्ने दिन पनि आउँदो रहेछ । ज्याला गरेर खानेलाई राहत दिने कुरा त सुनियो तर खै दुईचोटी धाइयो सम्पर्क कार्यलय कोरोनाको त्रासले अध्यक्ष नै गुमनाम छन् रे । ग्यास भोलिसम्मलाई पुग्ला जेनतेन । चामल सकिए पनि मकै भुटेर त खान हुन्थ्यो नि । दाउरा बाल्न पनि पाइन्न । घरबेटीले कोठा कालो हुन्छ भन्छ । घरपेटिको चुलोमा पाँच पाँचवटा भरिएका ग्यास सिलिन्डर छन् । माग्ने आँट पनि गर्न सकेको छैन मैले । बोल्दा त राम्रोसँग नबोल्नेले ग्यासको सिलिन्डर देलान् भन्ने कसरी आश गर्नु र । धनीकै घरमा चामलका बोरा । धनीकै घरमा १० वटा भरिएका सिलिन्डर । धनीकै घरमा खाना फालाफाल ।निजी डाक्टरले दिनदिनै स्वस्थ चेक जाँच । अलिकति पातलो दिसा आउन हुन्न डाक्टर दौडिएर उनकै घरमा आउँछन् । हामी गरिब । हामीले देख्दैनौँ डाक्टर र मैलेत भगवानसँग एउटै वर मागेको छु कि यो डाक्टरको अनुहार जिन्दगीमा कहिले पनि हेर्न नपरोस् ।अबको आर्थिक गतिविधिहवाइसेवा बन्द छ । स्कुल कलेज बन्द छन् । ठमेलका प्रायः सबै ट्राभल एजेन्टहरू बन्द छन् । सहरको यो कोरोना कहरले खर्लप्पै निलेको छ मध्यम परिवार र गरीबहरूको खुसी  कतिका जागिर गए ।

कतिका जागिर जाँदै छन् । कतिका बन्द ब्यापार नउठ्ने गरी थला पर्दै छ । नेपालमा ‘नेपाल’ गरिब हो व्यक्ति धनी छन् । भ्रष्टाचार गरेर कमाउनेलाई एक वर्ष लकडाउन भए पनि केही खुत्लिने होइन । आखिर मर्ने गरिब गुरुवा हुन् । देशमा अब आर्थिक मन्दी लाग्दै छ । उत्पादन र निर्यात ठ्याक्कै बन्द भएको अवस्था छ । कुखुरा पाल्नेहरू पनि गुनासो गर्न थालेका छन् मासु बिक्री हुन छोड्यो । अब आन्तरिक पर्यटन पनि दुई तीन वर्षका लागि लकडाउनजस्तै हुनेछ । सरकारले जस्तोसुकै आर्थिक प्याकेज ल्याए पनि त्यो निम्नमध्यम वर्गका लागि लक्ष्यित हुनुपर्छ । ऋण लिएर गर्ने के त? प्रश्न यहाँनीर उठ्छ । भारतबाट आयात हुने चीजबीजमा बन्देज लगाउनुपर्छ र नेपालभित्र उत्पादन भएका सबै चीजबीज नेपाली उपभोक्ताले नै उपभोग गर्ने वातावरण सिर्जना हुनुपर्छ ।कोरोनाको सन्त्रासका कारण हवाइ यातायात सेवा नराम्ररी थला पर्दै छ । अर्बांै ऋण गरेर ल्याएका जहाजहरू घाम ताप्न बाध्य छन् । बैंकहरूजस्तै हवाइ सेवाका सस्थाहरू पनि एक आपसमा मर्जमा जानु अनिवार्य छ । अन्तर्राष्ट्रिय उडानलाई प्रमुख आधार मानेर अहिलेसम्म टिकिरहेको नेपाल वायुसेवा निगमको यो अवस्थालाई सुधार गर्न दुई संस्थाबाट लिएको करिब ४० अरब ऋण सरकारले पुँजीकृत गरेन भने भोलि यो संस्था बन्द हुनेछ ।अन्य निजी हवाइ सेवा सञ्चालकहरूका कठिनका दिनहरू आइरहेका छन् । अब नेपालमा भएका निजी हवाइ सेवाहरू पनि मर्जमा गयो भने सम्भवत बाँच्ने र बजारमा टिक्नसक्ने सम्भावना रहला । अब नेपालको आर्थिक भविष्य भनेको कोरोनाको कम प्रभावमा निहित छ । नेपालमा जति कम कोरोनाको प्रभाव हुन्छ त्यति नै यो देशको भविष्य उज्यालो हुन्छ । मिडियाका साथीहरूले पनि कोरोनासम्बन्धी अफवाह फैलाउने काम नगरुँ किन भने यसको प्रत्यक्ष असर अन्ततः तपाईंलाई पनि पर्छ । कोरोनाको कारण संसारको सबैभन्दा शक्तिशाली देश अमेरिका त आफैँ धराशायी हुँदै छ । त्यहाँको आर्थिक मन्दीका बारेमा अहिले कसैले पनि आँकलन गर्न सकिरहेको छैन । यो विश्व र विश्वका मानवजाति अहिले नराम्रो अवस्थाबाट गुज्रिरहेको छ । संसारको आर्थिक गति यतिबेला टक्क रोकिएको अवस्थामा छ । नेपाल जति कोभिड (१९ बाट बच्यो त्यति नै नेपाल विश्वको घुम्न लायकको स्थानमा चुनिनेछ ।
पर्यटन र रेमिट्यान्समा अब निर्भर नरहुअहिलेसम्म हामीले कुनै पनि नेपालीलाई कोरोनाका कारण गुमाउन परेको छैन । र जो–जो हस्पिटलमा हुनुहुन्छ उहाँहरूको पनि स्वस्थ राम्रो स्थितिमा रहेको कुरा जानकारीमा आएको छ । कोरोनालाई जति पराजित गर्न सकियो त्यति नै नेपालको आर्थिक वृद्धिदरमा खास त्यस्तो ठूलो असर नगर्ला । नेपालको पर्यटन व्यवसाय अब केही वर्ष सुस्त गतिमा अगाडि लम्किनेछ, किनभने कोरोनाको त्रासदी कोरोनाको अन्तर्राष्ट्रिय प्रभाव कस्तो रहन्छ अबको लकडाउन पनि त्यस्मै निर्भर रहनेछ । नेपालको पर्यटन व्यावशाय युरोपेली जनताको भ्रमणबाट लगभग टिकिरहेको अवस्था हो । अब युरोपेलीहरूको भविष्य एउटा अँध्यारो गर्तमा धकेलिएको छ । युरोपेलीहरू अब केही वर्ष नेपाल घुम्न आउने सम्भावना नै छैन । राज्यहरू रोगका कारण धराशायी बनिरहेका छन् । बेरोजगारीको संख्या अत्यन्तै चुलिएको छ । यतिबेला त्यहाँका सरकारले जतिसुकै गुलियो आर्थिक प्याकेज ल्याए पनि छिटो त्यहाँको जनजीवन सामान्य अवस्थामा आउनेवाला छैन ।
युरोपमा कोरोनाको त्रास यो सताब्दीभरि नै रहिरहनेछ । इटालीको इतिहासमा अहिलेको कोरोना त्रासदी विसौँ वर्षसम्म रहिरहने छ । कोरोनाको इपिसेन्टर अब अमेरिकामा फर्किएको छ ।

नेपालको पर्यटन व्यवसाय अब छिटो तैरिनेवाला छैन । रेमिटान्सबाट बाँचिरहेको यो मुलुक अब रेमिट्यान्स बन्दको अवस्था हो । कोरोनाको महामारीका कारण नेपालीहरूले दोस्रो÷तेस्रो मुलुकमा भोगिरहेको पीडाले पनि अब विदेश जुनसुकै मुलुक पनि सुरक्षित छैन भन्ने अभिबोध भएको छ । अब पहिलेको गतिमा पुग्नका लागि यो विश्वले धेरै त्याग गर्न पर्नेछ । यो पुस्ताको विलयपछि दोस्रो पुस्तामा गएपछि मात्रै यो त्रासदी मेटिनेछ । आशाको किरणकोरोनालाई नेपालले एउटा अवसरका रूपमा लिनुपर्छ किनभने नेपालको अहिलेको युवा पुस्ता प्रायः विदेशिन बाध्य थिए । गाउँ युवाविहीनको अवस्थामा छ । बाबुआमाहरू एक्लिँदै गएका छन् ।कोरोनाले नेपाली परिवारलाई एकप्रकारले जोडिदिएको अवस्था पनि हो । अब विदेश जानु भनेको दुःख पाउनु हो भन्ने कुरा सबै युवाहरूलाई बोध भएको छ । अबका युवाले कृषि प्रधान देश नेपाललाई कृषिकै माध्यमबाट समृद्ध बनाउने छन् । अब सहरमा होइन गाउँमा जानी हो । सहरमा कुनै पनि चुल्हो निभ्न सक्छ तर गाउँमा ग्यास नपाएर कोही भोकै मर्ने छैन । अब सहरको चुलो निभ्दै छ । गाउँमा उज्यालो आउँदै छ । उत्पादन क्षेत्रमा राज्यले लगानी गर्नुपर्छ । अबको भविष्य हाइड्रोपावर र कृषि नै हो । आफूलाई कृषिप्रधान देश भन्ने नेपाल अब कृषिका सबै उत्पादनमा आत्मनिर्भर हुनुपर्छ । गाउँ जानुपर्छ । अहिलेसम्म बन्झर रहेका खेतीयोग्य जमीनलाई हराभरा बनाउनुपर्छ । आशाको किरण अब क्षितिजमा देखिएको छ । गाउँ जाऊँ । गाउँ बनाऊँ । गाउँमा नै फूल्दै छ अब समृद्धिको सपना ।(आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie