यतिबेला पारिजात बाँचिरहेकी भए के लेख्थिन् होला ?

यतिबेला पारिजात बाँचिरहेकी भए के लेख्थिन् होला ?

धर्मप्रति आस्था राख्ने मान्छे मलार्ई मन पर्छ । मनमा उज्यालो बोकेर हिँड्नेहरू आफैँ धर्मात्मा हुन्छन् र ईश्वरसँग उनीहरू नै नजिक हुन्छन् । कसैले देखेन ईश्वरलार्ई आजसम्म । न मैले न उसले न उनीहरूले । मन्दिर जाँदा ईश्वर होइन आफूलाई देख्छ मान्छे । ईश्वर बोकेर हिँड्ने ईश्वर सोचेर हिँड्ने र ईश्वर जपेर हिँड्ने त स्वयं मनुष्य हो नि । तर, ऊ भन्दै थिई ‘मैले ईश्वर देखेँ’ । मैले पहिलो पटक ईश्वर देखेँ भन्ने मान्छे भेटेँ । ईश्वर देखेँ भन्ने मान्छे हुन चारुमती चोककी शोभा । पेशाले उनी मन्टेश्वरी तालिम दिने प्रशिक्षक । चित्र पनि कोर्छिन् ।

आम नेपाली महिलाभन्दा अलिक फरक सोच छ उनको । महिला भन्नासाथ एकप्रकारको बिम्ब आउँछ हामी पुरुषमा । यो कथा लेख्दासम्म शोभा नै पहिले चिनेको त्यस्ती स्त्री हुन् जो आफूमा ईश्वर साक्षात भएको दाबी गर्थिन् । उनी र मेरो सङ्गत त्यति धेरै त होइन तर खोइ किन पो उनको शालिन जीवन व्यवहार देखेर उनीसँग मलार्ई एकप्रकारको सहजता महसुस हुन्थ्यो ।

शोभाजी तमाम स्त्रीभन्दा भिन्न कल्पनाले सम्पोशीत थिइन् । उनी र मेरो हरेक कफीगफमा नेपालप्रति एउटा दारुण चिन्ता र चिन्तन जाहेर गर्थिन् । नेपालको राजनीति र विकासप्रति उनको चासो रहन्थ्यो । त्यो उमेरका प्रायः स्त्रीहरू एउटा असल केटा पाएर घरजम गर्ने सोचाइमा हुन्छन् तर शोभामा त्यो सपना देखेको छैन मैले । मलार्ई याद छ हाम्रो पहिलो भेट एयरपोर्टको कान्तिपुर रेस्टुरेन्टमा भएको थियोे । साहित्य र सिर्जनालार्ई असाध्य मन पराउने उहाँको बानी असाध्य जिज्ञासु स्वभावको रहेछ । हाम्रो पहिलो भेटमा नै मैले उहाँको धेरै साहित्य र सिर्जनासँग सम्बन्धित प्रश्नहरूको सामना गर्नुपरेको थियो । नेपाली साहित्यमा अन्तर्राष्ट्रिय साहित्यको प्रभावका बारेमा उहाँको प्रश्न धेरै महत्वपूर्ण लागेको थियो । मलार्ई थाहा छैन उहाँको जिज्ञासा मैले मेट्न सकेँ कि सकिन ।

मेरो उपन्यास आर्याबाट उनी धेरै प्रभावित रहिछन् । आर्या अध्ययन गरिसकेपछि उनको मनमा एउटा जिज्ञासा पैदा भएछ कि यसको लेखकलार्ई जसरी भए पनि भेट्नुपर्छ भन्ने । नभन्दै जुरायो मैले आर्या उपन्यासको मेरो सिर्जनात्मक फ्यानलाई भेटेँ । सादा जीवन मन पराउने र कसैप्रति गुनासो नगर्ने एउटा अविवाहित केटीको सपनाहरूको बारेमा थाहा पाएँ मैले । उनी राम्रो लोग्ने पाउने, बिहे गर्ने, बच्चा जन्माउने आम स्त्रीहरूको साझा रोगभन्दा फरक रोग लिएर बाँचेकी केटी रहिछन् । त्योभन्दा धेरै फरक बरु राम्रा–राम्रा लेखक र सर्जकलाई भेट्न् इच्छुक पाएँ मैले ।

राष्ट्रकवि माधव घिमिरे, पल्पसा क्याफेका नारायण वाग्ले, व्यङ्ग्य लेखक खगेन्द्र सङ्ग्रौला, समर लभका सुविन भट्टराई, पारिजातकी बहिनी सुकन्याजस्तालार्ई भेट्न चाहँदिरहिछन् । माधव घिमिरेको सही ठेगाना थाहा रहेनछ । मसँग सोधिन् । भनिदिएको थिएँ । नभन्दै एकदिन उनी गैछन् । आशिर्वाद लिएको तस्बिर मलार्ई देखाइन् । म त जिल्ल परेँ । अरु केटीहरू फेसन फिलिम र लभ, ब्रेकपका कुरा गर्छन् । यिनी भने लेखकका कुरा गर्छिन् । अर्को दिनको हाम्रो कफीगफमा उनले पारिजातको बहिनी सुकन्या वाइबालाई भेट्ने इच्छा राखिन् र मलार्ई ठेगाना सोधिन् । अर्को दुई महिनापछिको हाम्रो भेटमा उनले सुकन्यालाई महेपिमा गएर भेटेको कुरा गरिन् ।

सुकन्यासँगको उनको भेटमा पारिजातको प्रगतिशील साहित्य र शून्यवादका बारेमा आफूले अलिक जानेको बुझेको कुरा गरिन् । मलार्ई त यस्तो लाग्यो यिनले स्वर्गमा रहेकी पारिजातलार्ई पो भेटेर आइन्जस्तो । शोभाभित्र शोभनीय रूपमा हुर्कँदै गएको साहित्यिक चासो र जिज्ञासाले बेला–बेलामा मलार्ई पनि साहित्यिक वादका बारेमा जान्नुपर्ने बुझ्नुपर्ने बाध्य बनायो । किनभने उनी अपर्झट साहित्यको रूप, बिम्ब, प्रतिक, आलङ्कार र यसको सौन्दर्य पक्षका बारेमा प्रश्न सोध्ने गर्थिन् । उनी आफैँ पनि कविता लेख्छिन् उनको कविताचेत अत्यन्तै उर्वर र युगीन बिम्ब बोकेर आएका प्रगतिका लाप्का हुन् । उनले एकदिन मलार्ई एक्कासी एउटा जिज्ञासा राखिन् ‘यतिबेला पारिजात बाँचिरहेकी भए के लेख्थिन् होला है ?’ ओहो उनको त्यो प्रश्नले मलार्ई एकछिन् त विचलित बनायो । म पनि एकछिन् त सोचमग्न भएको थिएँ । कस्तो जिज्ञासा हो उनको ? साँच्चै पारिजात यतिबेलासम्म जिवित रहेकी भए उनले लेख्ने विषय के हुन्थ्यो होला नि ? मैले आफूलाई पनि सोधेँ यो कुरा उनलाई थाहा नै नदिई आफैँभित्र सुटुक्क । उनको प्रश्नले एकछिन् मेरो मथिङ्ल हल्लाएको थियो ।

उनको प्रश्नमा पारिजातले धेरै कुराहरू लेख्न बाँकी नै थियो । उनले उनी बाँचेको युग मात्रै लेखिन् । उनी बाँचिरहेको युगमा फेसबुक थिएन । उनी साइबर युग नआउँदै अस्ताइन् । उनले आफूले जन्माउन नसकेको छोराको बारेमा लेखिन् । मानिसहरूको अतृप्ति र भोकका बारेमा लेखिन् । अहिले उनी बाँचिरहेकी भए साइबर अपराधमा जेल परेका छोराहरूको बारेमा लेख्थिन् होला । अहिले उनी बाँचिरहेकी भए मेसेन्जरबाट लाइभ भिडियो च्याट गरी बाँचिरहेका कृत्रिम सपनामा बाँचेका युवायुवतिका मनोरोगका अन्तर्य कथा लेखिरहेकी हुन्थिन् होला ।

अहिले उनी बाँचिरहेकी भए रेल र पानीजाहाजको सपना देखाउने सरकारको जलमग्न तराईमा बाढीले बगाइरहेका बच्चाहरूको अबोधता र अकाल मृत्युका बारेमा लेखिरहेकी हुन्थिन् होला । उनको हातमा एप्पलको अत्याधुनिक ट्याब हुन्थ्यो होला र मेसेन्जरमा उनी पनि शंकर लामिछानेसँग मध्यरातसम्म च्याट गर्थिन् होला । र आफ्नो अमर सिर्जना शिरीषको फूलको एक्काइसौँ संस्करणका लागि भूमिका लेखिदिन आग्रह गर्थिन् होला । उताबाट शंकर लामिछाने फिस्स हाँस्दै भन्थे होलान् “वसन्तपुर दरबार छेउमा रहेको आफ्नो क्युरियो सपभित्र वर्षाको पानी छिरेर कोठाभित्र आहाल जमेको छ । यो अहिले मेसेन्जरमा तिमी र मबीच जे–जे सम्वार्ता भो त्यही दुखाइ छापिदिनू, तिम्रो सयौँ संस्करणमा आउन लागेको शिरीषको फूलमा किनकी यहाँ संस्करण मात्रै नयाँ हुने हो । भित्रको कुराहरू जहिल्यै पुरानो हो पारिजात !

शंकर बाँचिरहेका भए कस्ता निबन्ध लेख्थे होलान् ? भूपी बाँचिरहेका भए कस्ता कविता सिर्जना गर्थे होलान ? शोभाजीमा यस्ता अनौठा विचार आउँदोरहेछ र हाम्रा हरेक भेटमा उनी मलार्ई प्रायः यस्तै प्रश्नहरू सोधपुछ गरिरहन्छिन् । जवाफ दिँदा पनि मलार्ई उनका यस्ता प्रश्नहरूले रोमाञ्चित बनाउँछ भूपीले आफ्ना कविताका माध्यमबाट त्यो युगको एउटा बिम्बलाई उतारेका छन् । भूपी अहिलेसम्म बाँचेका भए घुम्ने मेचमाथि अन्धो मान्छे होइन एउटा मुर्दा मान्छे बसेर ज्युँदाहरूमाथि हैकम चलाइरहेका कविता लेख्थे होलान् । नेपालमा ज्युँदाको भन्दा पनि मरेका मान्छेहरू पूजिने परम्परा छ । यहाँ मुर्दाहरूकै दासता चलिरहेको छ अझैसम्म । त्यसैले भूपी भूतकालकै कविता लेख्थे होलान् ।

मेरो जवाफ सुनेर शोभा वाल्ल परिन् । पारिजातले त्यतिबेला लेखेका कुराहरू अहिलेसम्म पनि अपरिवर्तित छ, थिए, रहनेछन् । उस्तै छ युग अभावको भुङ्ग्रोमा जलिरहेको । उस्तै छ मनुष्यको दारुण स्वभाव र निस्ता सपनाहरू । उस्तै छ आज हिजो जस्तो थियो उस्तै घाम उदाउने र अस्ताउने समय तालिका । फरक मैले मेरो बैँशमा मात्रै पाए । कालो थियो कपाल, अहिले हिउँ परेजस्तो फुसफुसाउँदै गएको छ । अनुहारको दिप्तीमा समयले नमीठो थप्पड हानेर गएको छ । हामीले गुमाएका कयौँ इतिहासका प्रत्येक्ष साक्षी त हामी आफैँ हौँ । आज पनि राणाकालमा जस्तै उस्तै छ सत्ताको खेल । आफूलाई धेरै प्रगतिशील सोच्नेहरूका आफ्नै घरमा तिनका स्वास्नीहरू विद्रोह गरेर चालकसँग पोइल जाने क्रम उस्तै छ र फेरि तिनै प्रगतिवादीहरू नारी स्वतन्त्रताका कुरा गरेर थाक्दैनन् । युगमा मात्रै क्रमभङ्गता आएर हुनेवाला केही छैन । क्रमभङ्गता व्यक्तिको सोच र उसले गर्ने कर्ममा आउनुपथ्र्यो जो हुन सकिरहेको छैन । फरक यति हो कि अलिकति हामी बुढा भयौँ, समयले छेउमा धकेल्दै छ । हामीले हामीपछि–पछि आएकाहरूलाई केही नयाँ दिन सकेनौँ भने तिनले पनि अर्को तिनका पछि आउनेहरूलाई केही दिन सक्तैनन् र युग मात्रै परिवर्तन भैरहन्छ हामी परिवर्तन हुन कहिले सक्तैनौँ ।

त्यो दिनको हाम्रो वार्तामा मैले शोभाजीलाई एउटा प्रश्न सोधेको थिएँ । कि तपाईं कहिले बिहे गर्नुहुन्छ भनेर । प्रतिउत्तरमा ‘मलार्ई एउटा खाइलाग्दो केटा खोजिदिनुस् न’ भनेकी थिइन् । त्रिभुवन विश्वविद्यालयमा मास्टर डिग्री पढ्दै गरेका एकजना मित्र छन् । के उनीसँग तपाईंको बिहेको बारेमा कुरा अगाडि बढाऊँ त ? भने मैले । उनले नाइँ भनिन् । मैले किन भनेँ । उनले धेरै पढेको केटा हुन्न भनिन् । ब्याचलर मात्रै गरेको खोज्नुस् न भनिन् । मैले हस भनें । केही दिनपछि आमालार्ई लिएर शोभा चारधाम गर्न जाँदै थिइन् । त्यो दिन मैले उनीलार्ई तीर्थ जाँदा मेरो पनि केही दक्षिणा चढाइदिनू है भनेर भेटीका रूपमा केही पैसा दिएँ । हाम्रो भेट अब एक महिनापछि है भनेर उनी बिदा भइन् । एक महिनापछि उनले नेपाल आइसकेको खबर गरिन् । तीर्थ गएर आएपछि त म अलिक फरक भएर आएको छु नि सर भनिन् । उस्तै छ मुहार, उस्तै छ बोली, उस्तै छ व्यवहार खोइ केही देखिनँ मैले तपाईंमा फरक । खोइ कुन मानेमा फरक भन्नुभयो मैले त बुझिन शोभाजी ? कफी उनलाई असाध्य मन पर्ने पेयपदार्थ हो ।

हामी सधैँजसो भेट्ने कान्तिपुर क्याफेमा आज उनलाई मैले फरक पाएँ । तीर्थयात्रापछिको उनको मुहारमा बेग्लै कान्ति झुल्केको थियो । उनी खुसी थिइन् । जिन्दगीमा एउटा पवित्र काम गरेँ नि सर मैले भनिन् । ‘हो आमाको दशधारा दुधको अभिभारा तिर्नुभो । आमाबाबुलार्ई प्रायः छोराहरूले मात्रै तीर्थ घुमाउन लैजाने परम्परालार्ई तपाईंले तोडफोड गर्नुभो नि’ मैले भने । कस्तो रह्यो यात्रा भनेर सोधेँ । उनले मोबाइलमा भएको सबै तस्बिरहरू मलार्ई एक–एक गरेर देखाइन् । फोटोहरू हेर्दै जाँदा मलार्ई पनि एकप्रकारको शान्ति मिलेजस्तो भयो । तीर्थ गएर आएको केही हप्तासम्म आमाछोरी दुवै बिरामी परेको खबरले एकछिन् मलार्ई कस्तो खिन्न लाग्यो । उनको मुहार हेर्दा त्यस्तो न्यास्रोपन केही देखिन्न । बिरामी भएको मानिस त अलिक मलिनो हुनुपर्ने हो तर उनमा त्यस्तै चमक र चैतन्य छ, जो हिजो थियो । मलार्ई एउटा उपहार ल्याइदिएकी रहिछन् । मैले प्रसादको रूपमा ग्रहण गरेँ । जुन होटलमा उनीहरू तीर्थ गर्न जाँदा दुई दिन बास बसेका थिए, त्यो होटलको एकजना नेपाली मेनेजरले उनीलाई मन पराएछन् । बिहे गर्ने प्रस्ताव पनि राखेछन् । त्यो कुरा शोभाले मलार्ई सुनाइन् ।

‘जिन्दगीमा बिहेको प्रस्ताव लिएर धेरै केटा आउँछन् । बिहे भनेको बैँस हो । प्रस्ताव गर्दैमा गर्नु जरुरी के छ र ? त्यसमाथि पनि नचिनेको अन्जान केटो कसरी बिहे गर्ने सल्लाह दिन सक्छु र म शोभाजी ?’ मैले भनेँ । एउटा शान्त मान्छेलार्ई बिहे गर्दा नि के, नगर्दा नि के । एउटा पहाडजस्तै निर्भय बाँचिरहेकी छिन् शोभा । मलार्ई लाग्छ उनमा बिहे नै गरिहाल्ने त्यस्तो उन्माद अब हराइसकेको छ । उनको पहिलो प्रेमी अहिले अमेरिकमा छन् । ऊसँगको त्यो असिम सानिध्य सपनाहरू उनको आँखाबाट हराएका छैनन् । सम्झनाहरू जुनकीरी बनेर उडिरहेका छन्, हरेक रातको निदसँगै र उनी तिनै मृदुलतामा पुलकित हुन्छिन् ।

शोभासँग एउटा मीठो अतीत छ प्रेमको र आजसम्म उनी त्यही अमिट आराध्य प्रेमको बैशाखी रङ्गमा फक्रिइरहेकी छिन् । त्यो प्रेमको बारेमा उनले भविष्यमा एउटा उपन्यास लेख्ने तयारी पनि गरिरहेकी छिन् । उनले भविष्यमा लेख्ने त्यो उपन्यासमा अतीतको त्यो प्रेमी मूल पात्र होला र उनले पूरा हुन नसकेको आफ्ना सबै रहरहरूको खण्डहरू त्यसैमा बिम्बित गर्लिन् हेर्न बाँकी नै छ । आखिर जिन्दगी भनेकै भोगाइको प्रतिबिम्ब हो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie