गीतलाई अर्थसँग जोड्ने युगीन गायक नारायणगोपाल

गीतलाई अर्थसँग जोड्ने युगीन गायक नारायणगोपाल

गीत गाएर पैसा लिनु भनेको नारायणगोपालको जमानामा अनौठो मानिन्थ्यो । रेडियो नेपालमा गायक गायिकालाई गीत गाउन महिनामा एउटा निश्चित डेट दिइन्थ्यो । त्यो डेट कलाकार स्वयं गएर लिनुपथ्र्यो र गीत गाएबापत एक सयदेखि दुई सय पचाससम्म दिने व्यवस्था थियो । तात्कालिक समयमा हिट भएका कतिपय गीतहरू नारायणगोपालले निजी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरेका थिए । त्यो बेलामा रत्न रेकर्डिङ र म्युजिक नेपाल थिए । अझ म्युजिक नेपाल त पछि नै स्थापना भएको थियो ।

जब नेपालमा नेपाली चलचित्र बन्न थाले अनि तत्कालीन समयका हिट गाएकगायिकाजस्तै नारायणगोपाल, प्रेमध्वज प्रधान, तारदेवी आदिका स्वरहरू चलचित्रका पाश्र्र्व गायनमा थपिए । चलचित्र कुमारी, माइतीघर, जीवनरेखा, बासुदेव, कन्यादान, बदलिँदो आकाश र चिनोसम्म आइपुग्दा पुराना तर स्थापित गायकले आफ्नो जीवन्त स्वर पस्केर गए । जब नेपाली चलचित्रमा पाश्र्र्व गायनको सुरु भयो तब नारायणगोपालले आफ्नो स्वरको मूल्य मागे । नेपालमा गायकगायिकाहरूले आफ्नो स्वरको मूल्य पाएको नारायणगोपालको युगदेखि नै हो ।

स्वरको मूल्य माग्ने र यस्का लागि राजदरबारसम्मलाई चुनौती दिने नेपालका प्रथम गायक नारायणगोपाल नै हुन् । सत्ता र साशकको प्रसस्ती गाएनन् नारायणगोपालले त्यो कारण पनि उनलाई घमण्डले भरिएको गायक पनि भने कतिले । वाद्ययन्त्रलाई युगअनुसार बुझ्नुपर्छ भन्ने कलाकार नारायणगोपाल नेपाली अर्केस्टा जगतका प्रथम गुरु भन्दा कुनै अप्ठ्यारो हुँदैन ।

नारायणगोपालले आफ्नो स्वरको मूल्य मागे । त्यो बेलासम्म कलाकार मूल्यहीन थिए। सित्तैमा गीत गाइदिन पर्ने अवस्था थियो । हामीले गाएको गीत हिट भएर जब चलचित्रकर्मीले पैसा कमाउँछ अनि रेडियो नेपालले तिनै कलाकारको स्वर बेचेर विज्ञापनबाट पैसा असुल्छ अनि कलाकारचाहिँ भोकै मर्नु पर्ने भन्दै नारायणगोपालले विद्रोह गरे । यहाँसम्म कि रेडियो नेपालसँग उहाँको पानी बाराबार भयो । त्यसपछि उनी रेडियो नेपाल कहिले पनि छिरेनन् ।

नारायणगोपाल भन्ने गर्थे ‘कलाकार कुनै भिखारी होइनन् । उनीहरूले आफ्नो स्वरको मूल्य पाउनुपर्छ र कलाको मूल्य नचिनेका मान्छे मान्छे होइनन्, ती निर्जीव काठ हुन्’ नारायणगोपालकै कारण आजका अन्जु पन्तहरूले आलिसान भवन जोडेका छन् । देशविदेश घुमेका छन् । नारायणगोपालकै कारण आज सत्यस्वरूपदेखि मेलिना राईसम्मले आफ्नो स्वरको युगीन मूल्य पाएका छन् । हिजो जसले बाटो निर्माण ग-यो त्यही बाटोमा निर्धक्कसँग हिँड्न् पाउनुलाई पनि गर्वका साथ लिनु आजका कलाकारको नैतिकता हो । तर, यहाँ नयाँले पुरानालाई भुल्ने परम्परा छ । नयाँहरू सोच्दछन् कि हामी आफ्नै बलबुताले उठेका । आफूलाई जन्माउने बाबुआमा भुल्ने सन्तान अन्ततः सुख पाउने छैन ।

प्रविधिले आज जसलाई पनि गाएक बनाइदिन सक्छ । आज गीत गाउन मीठो स्वरको जरुरत नै छैन । -याप गायकहरूले गाउँदेखि सहर थर्काइरहेको बेलामा आज नारायणगोपाल बाँचिरहेका भए पनि निरीह हुन्थे कि सायद । परिवर्तनलाई हाँसेर स्वीकार गर्नुभन्दा अरु विकल्प हामीसँग केही रहदैन । विस्तारै बिर्सिँदै गएका छन्, नारायणगोपाललाई युवा पुस्ताले । यो दुखको कुरा हो । आजका मिडियाबाट प्रायः विदेशी गीतहरूबाट चोरचार गरेका -याप र झ्याप पाराका गीतहरू प्रायः बजिरहन्छन् ।

नारायणगोपालका गीतहरूलाई बिस्तारै ओझेल पारिन लागेको छ । कला संस्कृति इतिहास पनि राजनीतिक पूर्वाग्रहबाट विमुख हुन सकेको छैन । २०४७ साल मंसिर १९ गते नेपाली सङ्गीतको एउटा युगको अन्त भएको अनुभूति गरे नेपाली सङ्गीतका स्रोताहरूले । तर, नारायणगोपालले छोडेर जानुभएको सङ्गीतको सगरमाथा भने कहिले पनि झुकेन, कहिले पनि चुकेन र कहिले पनि लत्रिएन । युगअनुसार गीतमा सङ्गीतमा र गायनमा परिवर्तन आउँछन् र आउनु पनि पर्छ । पहिले पहिले गीत सुन्ने विधाअन्तर्गत पथ्र्यो तर, अहिले गीत श्रव्यबाट दृश्यमा परिवर्तन भएको छ । गीत अहिले सुनिदैन हेरिन्छ । गीत रेकर्डिङ मात्रै गरेर धर छैन म्युजिक भिडियो अनिवार्य बनाउनुपर्छ ।

अब गाएक जो पनि बन्न सक्छ । स्वर राम्रो चाहिन्न सुर पनि चाहिन्न । बेसुरा गाइदिनुहोस् कम्प्युटरले सुर मिलाइदिन्छ । प्रविधिले प्रतिभाको गला रेटिरहेको छ । पहिले गीत हृदयले गाउँथ्यो, कानले सुन्थ्यो, छातीले अनुभूति गर्थ्यो । तर, अहिले गीत प्रविधिले गाउँछ, आँखाले हेर्छ, कानको काम छैन । गीतमा मोडेलको कम्मर हल्लाइ र नाङ्गो दृश्यले काम गर्छ । अहिले प्रायः यस्तै गीतका बोलवाला चलिरहेको छ । नारायणगोपालको युगमा गीतले मान्छे बाँचेको युगको प्रतिनिधित्व गर्थ्यो । पहिलाको गीतमा आँसुको कथा हुन्थ्यो अहिलेको गीतमा यौवन र यौनको रोमाञ्चकता छ । सायद यो पनि युगको माग नै होला भनेर भन्नुपर्ने बाध्यता छ ।

नारायणगोपालको गीती विशेषताको बारेमा केही भन्नुपर्दा
१. गीत छनोट र शब्द चयन क्षमता 
२. स्वरमा माधुर्यता र कर्णप्रियता
३. वाद्य सम्योजनमा नवीनता
४. स्वराभ्यास 
५. कलाकारमा हुनुपर्ने अनुशासन 
यी सबै गुणले वा विशेषज्ञताका हिमाल थिए नारायणगोपाल ।

त्यो युगले जन्माएका एक बहुप्रतिभासप्पन्न व्यक्ति थिए नारायणगोपाल । शब्दमा कति तागत हुन्छ त्यही तागतलाई त्यही कथाको मर्मलाई गायकले पछ्याउनु हो कलाकारको धर्म । तर, हिजोआज स्वर पैसामा बिकेको छ । अहिलेका कलाकारहरू पैसा गाउँछन्, गीत गाउँदैनन । अहिले कलाकारलाई राष्ट्रको गहना भन्न पनि लाज लाग्छ किनकि कलाकारमा अनुशासनको गरिबी छ । कलाकारमा अनुशासन भएन भने त्यो जति दुर्भाग्य केही पनि हुँदैन । अनुशासन सबैको जीवनमा चाहिन्छ तर कलाकारमा झनै चाहिन्छ ।

कलाकार राष्ट्रका गहना हुन् भन्न राष्ट्रलाई कुनै संकोच नहोस् । तर, पथभ्रमित पथभ्रष्ट र धर्म बेचुवा कलाकारको स्वरमा जादु नै भए पनि अन्ततः त्यस्ता कलाकारलाई बिस्तारै जनताले बिर्सिँदै जानेछन् । नारायणगोपालले धर्म बेचेनन् । आस्था बेचेनन् । सस्कार बेचेनन् । संस्कृति बेचेनन् । खोइ कतै विदेशमा गएर कला प्रस्तुत नगरे पनि उनी भोकले मरेनन बरु जिउँदो बनिरहेका छन् आजसम्म ।

भगवानले स्वर दियो भन्दैमा आफैँ देउता र भगवती बन्न खोज्ने परम्परामा खास गरेर नारायणगोपालको युगपछि भित्रियो । पहिलो शर्त देश, दोस्रो शर्त कलाकारिताको धर्म र बल्ल तेस्रो शर्त थियो कलाकारको पारिश्रमिक त्यो युगमा । तर, अहिले पहिलो शर्त पैसा, दोस्रो शर्त भिडियो र तेस्रो शर्त प्रचारप्रसार । यहाँ गायकगायिकाले आफ्नो धर्म निर्वाहा गर्दैनन् ।

पैसा लियो गायो । स्वराभ्यास पनि हुँदैन । केवल रेकर्डिङ हलमा गएर म्युजिक ट्रयाक सुनेका भरमा एक घन्टामा गाइन्छ हिजोआज गीत । अहिलेका श्रोतामै साङ्गीतिक सुझबुझ छैन । अहिले नाम चलेको एउटा गायक र गायिकाले दिनको चारवटासम्म गीत गाइदिन्छन् । उहाँहरूको कमाइको कुरा नगरौँ । नारायणगोपालमा पैसाप्रवृत्ति मात्र उनले स्वरको मूल्य मागेका थिए । त्यही कारणले पनि होला उहाँलाई युगले स्वरसम्राट बनायो ।

गीत गीतजस्तो छैन आजकल । गीत हेरिन्छ । गीत सुनिँदैन । गीतलाई मिडियामा पैसा पेलेपछि हिट हुन्छ । गीत मीठो र कर्णप्रीय गाउनु पर्दैन । नेपाली आधुनिक सङ्गीतका मोजार्ट हुन् नारायणगोपाल, नेपाली स्वर सन्सारका बिथोमिन हुन् नारायणगोपाल, नेपाली कलासंस्कृतिका कालिदास हुन् नारायणगोपाल । उनैले देखाएको बाटोमा हिँड्न सकियो भने मात्रै पनि उहाँप्रति गरिएको सच्चा श्रद्धाञ्जली हुनेछ । आजको दिनमा नेपाली सङ्गीतका एक युगीन व्याक्तित्व नारायणगोपाललाई सम्झिएर हामी एक युगलाई सम्झिएर अगाडि बढौँ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध