‘म आकाश भैरव अर्थात् नेपाल वायुसेवा निगम’

‘म आकाश भैरव अर्थात् नेपाल वायुसेवा निगम’

आजभन्दा ६१ वर्षअगाडि जन्मिएको म । नसोच्नुस् म बुढो भएँ । अब म झन् जवानी भएँ, किनभने जति सिर्जनाशक्ति र कार्यक्षमता अभिवृद्धि हुन्छ त्यति नै त्यो चिजको श्री चम्किन्छ । मभित्र त्यो दिव्य शक्ति छ जसको कारण म चम्किलो हुने दिन आउँदै छ । कसैले निभाउन खोजे पनि म निभ्नेवाला छैन । मलाई जसले गाली गर्छ, हेप्छ, तथानाम भन्छ, मलाई बिगार्न, भत्काउन खोज्छ मैले देखिरहेछु त्यस्ता मानिसहरूको अवनति भएको । मप्रति अलिकति पनि कसैले नराम्रो सोच्यो भने त्यो मानिस वा त्यस्तो समूह आफैँ सकिएका छन् । यसको इतिहास मसँग साक्षी छ । म ‘म’ नै हुँ । म राष्ट्रिय गौरव रास्ट्र ध्वजाबाहक हुँ । मलाई कसैसँग तुलना नगर्नू । 

यो दुनियाँमा एकसँग अर्को तुलना गर्नु भनेको एउटाको अस्तित्व अस्वीकार गर्नु हो । सबैले आ– आफ्नो जिन्दगी बोकेर आएका हुन्छन् । जब तिमी तुलनाको तराजुले जोख्न खोज्छौ, सबैको तौल कसरी बराबर हुन्छ र ? राम्रो स्याहार सुसार ग¥यौ भने मात्रै हो अरुभन्दा अब्बल हुने हो । भन तिमिले मलाई कति माया ग¥यौ र म हृस्टपुस्ट हुने ? हरेकले हरेक पटक मलाई थाइ एयरसँग तुलना गरे र धेरै होच्याउने काम गरे । हेर त आज थाइ एयरवेज पनि त आफैँ बिरामी पर्दै छ । साँचो अर्थमा भन्ने हो भने मलाई नाफामुखी होइन सेवामुखी बनाइयो सुरुवाति दिनदेखि नै ।

म रास्ट्रसँग जोडिएको छु, यसकारण हो मलाई सेवामुखी बनाइएको । एउटा पाँचतारे होटेलजतिको पुँजी नि थिएन मसँग र त्यही कम पुँजीमै म चलिरहेको छु । पुँजी वृद्धिका लागि मेरा सन्तानहरूले कति पहल गरे तर, सरकारले नै स्वीकृति दिएन । पुँजी वृद्धि नगर्दा म जुन गतिमा अगाडि बढ्न पर्ने हो त्यो नसक्नु मेरो दोष होइन । मेरा पछाडि मलाई सिध्याउने धेरै राष्ट्र खेलाडी हात धोएर पछि लागिपरेका थिए र छन् । हातखुट्टा बाँधेर कैद गर्ने अनि हिँड्न् सकेन भनेर खिस्याउने र प्रगतिको धुरी चढ्न सकेन भनेर गाली गर्ने परम्पराले मलाई पिरोलिरह्यो कयौँ वर्षदेखि । यी अवसादका बाबजुद पनि मेरो गति कहिले धुमिल भएन । तिमिलाई जन्माउने आमा अर्की आइमाईसँग तुलना गरेर हेर्न सक्छौ ? तिमीलाई यो सृष्टि श्रृङखलामा अवतरण गराउने पिताजी के अर्को पुरुषसँग तुलना गर्न सक्छौ र ? त्यसैत्तले जो कोही हुन मप्रति कुनै खराब सन्देह नराख्नू । 

नेपाल र थाइल्यान्डको तुलनात्मक अध्ययन गरेको छौ कहिले ? नेपालमा आठ सय सांसद छन् भने थाइल्यान्डमा तीन सय छन् । सांसदको संख्या बढी भएर देश समुन्नत हुने भए हामी एशियाको हिरो हुन्थ्यौँ होला । थाइल्यान्ड देश कति विकसित छ अनि हामीचैँ सधैँ संक्रमणकालमै अलमलिएका छौँ किन त ? तुलना त गर्ने तर कसरी तुलना गर्ने हो सोच्नुपर्ने हुन्छ ।

मलाई सधैँ थाइ एयरसँग तुलना गरियो ती तुलना गर्ने विद्वान महोदयले कहिले तुलना गरेनन् नेपाल र थाइल्यान्डलाई । तिनले कहिले तुलना गरेनन् पताया गनाउने बाग्मतीलाई । बाग्मतीको पानी किन गनाएको अनि बैंककको फौलादमा बहने ढल किन नगनाएको ? थाइ सांसद र मन्त्रीले कहिले भ्रष्टाचार गरेको समाचार आउँदैन अनि हाम्रा सांसदहरूचैँ किन भ्रष्ट भएका ? थाइल्यान्डमा खुला समाज खुला संस्कृति प्रगतिशील विचार मौलाएको छ, हामी अझैसम्म १६औँ सताब्दीका विचार र व्यवहार पालेर बाँचेका छौँ यो कुराको खोइ तुलना भएको ।

पहिलो पटक घाँसे मैदानमाथि मैले लडिबुडी गरेको थिएँ । कति रोमाञ्चित थिएँ म । मलाई हेर्न राजा महाराजाहरू आएका थिए । एउटा शान्त हृदय र सलिल मुस्कान बोकेर नेपालको गोधुली आकाशमा उड्नु मेरो सौभाग्य थियो । सगरमाथामाथि उड्नु मेरो गौरव थियोे । हिमालयको यो देशमा कुन कुराको कमी छ र ? तपाईंको उल्टो सोच र अरुको खुट्टा तान्ने प्रवृत्तिका कारणले हो तपाईंभित्र तुलना गर्ने बानिको विकास भएको । पौरखी ऊ आफैँ सम्पूर्ण हो । ऊ आफूलाई कोहीसँग तुलना गर्दैन ।

आफैँ अधुरो जन्मिएकाहरूले हो आफूलाई अरुसँग तुलना गर्ने । आफूसँग आँखा नहुनेले अर्काको पनि आँखा फुटे हुने भनेर कल्पिन्छन् रे । आफू लङ्गडो हुनेले अर्को सद्दे मान्छेको पनि खुट्टा भाँचिए पनि हुने भनेर विचार गर्छन् रे । वास्तवमा मलाई थाइ एयरसँग तुलना गराउनु पनि त्यस्तै हो । अपाङ्ग सोचाइ । शारीरिक अपाङ्गताभन्दा पनि मानिसिक अपाङ्गताले ग्रसित छ मानिस । अभावमा बाँचेकाहरू जो छन् यहाँ आफू पनि पौरख गर्दैनन् र अरुको प्रगति देखेर अशान्त बाँच्छन् ।

बिन्ती मलाई अरुसँग नदाँज । म आफैँ चन्द्रसूर्य अङ्कित राष्ट्रिय ध्वजाबाहक हुँ । एउटा शौचालय उपयोग गर्न नआइकन बाथटबमा नुहाउने सपना देख्नेहरूले हो मलाई सिध्याउन खोजेका । तर, ती सधैँ असफल भए र अन्ततः म जवानी भएरै छोडेँ ६१ वर्षको जवानी लक्का जवान । यो जवानी पाउनलाई मैले पूर्वको जापानदेखि पश्चिमको जर्मन, लन्डनसम्म अनि दक्षिणमा बाङ्गलादेश, म्यानमार, बैंकक हुँदै सिङापुरसम्म पुगेँ । म कहिले थाकिन । थाकेको छैन । नेपाल र नेपाली रहेसम्म म कहिले पनि थाक्दिन । म आकाश भैरवको शक्ति श्री पशुपतिनाथको भक्तिले परिपोषित छु । मलाई निभाउन खोज्नेहरू आफैँ अँगार हुन्छन् । मलाई दबाउन खोज्नेहरू आफैँ दबिन्छन् । मलाई माया गर्नेहरू आफैँ हिमालझैँ पवित्र छन् र तिनका सन्तान दरसन्तानको भलो हुँदै आएको छ ।

मसँग आबद्ध सबै कर्मचारीलाई आज यो शन्देश दिन्छु कि, म छु र पो तिमीसँग आबद्ध तिम्रा सकल परिवारको कल्याण भएको छ । मलाई माया गर । म तिमीलाई माया गर्छु । मलाई ठगेको मेरो आकाश भैरव बाहनले तिमीलाई हेरिरहेको हुन्छ । तिमीले काउन्टरमा यात्रु चेक इन गर्दा यात्रुले पाउने सुविधाभन्दा बढी भएको व्यागेजको एक्सेज व्यागेज नकाटी खुसुक्क पैसा खल्तीमा हालेको देखेको छु र त्यही दिन तिमी दुर्घटनामा परी हात भाँचिएको देखेको छु ।

पाइलटले जानाजान स्न्याग (ग्राउन्डेड) लेख्दैनन् तर इन्जिनियरले बेकारमा सानोतिनो समस्या पनि किन लगबुकमा लेखेको होला भनेर नेगेटिभ नसोच्नु किनभने जहाज त शतप्रतिशत सही ढंगमा उड्नुपर्छ । हाफ टिकट लाग्ने बच्चालाई नाबालक (इन्फेन्ट) बनाएर नउढाऊ कतिपय मैले त्यो पनि देखेको छु । बेइमानी कसैले नगरौँ । बेमान गरेर कमाएको धन त्यसैगरी सकिन्छ जसरी समय आएका मानिसहरू बिनारोग ढल्छन् । 

आमाको स्तनबाट दुध आएसम्म खाने हो तर दुध आएन भनेर स्तन नै काटेर रगतै पिउन खोज्नु आफैँ सकिनु हो । अफिस सार्दा अथवा स्टेशन बस्दा भारी बोक्ने भरियाको नाममा पैसा असुलेर खाने कर्मचारीलाई मैले पालेको छु । तिनले संस्थाको समृद्धि सोचेनन्, आफ्नो समृद्धि सोचे र आज ती आफैँ रोगी भएका छन् । अनेक लान्छना र प्रातडना झेलिरहेछन् । निगम सिध्याउन खोज्ने जोसुकै होस् ऊ आफैँ सिद्धिन्छ । मलाई सुधार । म सुध्रिनुपर्छ । म नुसुध्रिए तिमी सुध्रिने सम्भावना छैन ।

पटक–पटक राजनीतिक नियुक्ति लिएर आउने तर सोचाइचैँ तल्लो स्तरको राख्ने र आसेपासेका गुन्द्रुके कुरा सुन्ने ठूल्दाइहरूले यो संस्था बिगार्ने नियत लिएका छन् । सुदीर्घ र सिर्जनात्मक सोच राखेर सबैसँग मित्रवत व्यवहार गरी मेरो हित र कल्याणका लागि काम गर्ने असल कर्मचारीहरूको यतिबेला धेरै आवश्यकता छ मलाई । म आमा हुँ तिम्रो । 

आमालाई वृद्धाश्रमा राख्ने कि स्याहार र माया गरेर मेरो लामो आयुको कामना गरी मेरो कोमल काखमा रमाउने यो तिम्रो कुरा । मानिस चरित्रले पुजनीय हुने हो तर, चरित्र नै बेचेर खाएपछि कार्यलयभित्र शिर नुहाएर हिँड्नुको औचित्य रहँदैन । त्यसैले मेरा सन्तान हो, चरित्र नै पुँजी हो यसको हिफाजत गर । असल र योग्य कर्मचारी पाखा लगाउने र पार्टीको झन्डा बोकेर हिँड्ने पार्टीका झोले कर्मचारीलाई रातारात पदोन्नति गराई योग्य, सक्षम र क्षमतावान कर्मचारीलाई सिध्याउने यो चरित्र हावी भएको छ अहिले मेरा सन्ततिहरूमा । म चाहन्छु असल कर्मचारीले रुन नपरोस् । म चाहन्छु चाकरी, पार्टीको पावर र भन्सुनका भरमा कसैको प्रमोशन नहोस् । म चाहन्छु पैसा र राजनीतिक आडमा कोही विदेश पोस्टिङ नहुन् ।

एक्सेज व्यागेज काण्ड सुन काण्ड र टीभी काण्डमा मुछिएर पुलिसका नोटिसमा परेकाहरूले मेरो इज्जत फालेका छन् । त्यस्ता सन्ततिलाई निर्वादरूपमा पालेर बाँचेको छु । यस्ता कुराहरूले दुखी हुन्छु । काम गर्न नसक्ने असक्षम र कम योग्यता भएको व्यक्तिलाई यो संस्थाको दादा नबनाइयोस् । पद, पहुँच, पावर र पैसा यी कुराहरू धेरै चञ्चल छन् । यो सधैं तिमीसँग रहने छैन, त्यसैले पदमा हुँदा बाघ हुने र पदबाट बाहिरिएपछि मुसो भएर दुलोभित्र रहने चरित्रको विकास नगरौँ । पदबाट बाहिरिएर गएपछि पनि मेरो आँगन न्यूरोड गेटबाट भित्र छिर्दा तिम्रो सुगन्ध छाओस् कार्यालयभरि । सबै कर्मचारी दाजुभाइ दिदीबहिनीले तिमी र तिम्रो चरित्रलाई सम्मान गरून् । 

यो कुरा नसोच कि तिम्रो शिरमा सदैव पदको श्रीपेच रहन्छ भनेर । जुन दिनदेखि तिम्रो पदको भौतिक श्रीपेच भाँचिन्छ, त्यही दिनदेखि तिमलाई तिम्रो शरीरमा भएको जुम्राले पनि छाड्छन् । भौतिक श्रीपेच होइन इज्जत र स्नेहको श्रीले आफूलाई भरिभराउ बनाऊ । मानिस साना–साना कुराले खुशी हुन सक्छन् । सडकमा बेचेको पानीपुरी खाँदा जति आनन्द आउँछ त्यही कुरा पाँचतारेमा खादा कहाँ मिल्छ र ? यदि सडकमा रमाउन जानेनौ र पाँचतारेमा रमाइलो मान्नुमा तिमी अभ्यस्त छौ भने तिमिले पापको धनबाट आनन्द लिइरहेका छौ भनेर मैले बुझ्नेछु ।

पृथ्वी सूर्यबाट टुक्रिएर चिसिँदै बनेको एउटा सानो स्थुल ग्रह त हो नि । अनि मनुष्य त्यही ग्रहको एक कोषीय जीव हुँदै मान्छेको रूपमा परिवर्तन भएर बनेको मुटु भएको मान्छे हो । मुटुभन्दा पनि बलियो एउटा साहस छ मनुष्यसँग । यो मुटुको उपयोग त त्यतिबेला होला जब अर्को मुटुलाई परेको बेलामा मदत गर्ला । म नेपाल वायुसेवा निगम तपाईंको मुटु हँु । यदि शरीरमा सबैतिर रक्त प्रवाह गर्नुछ भने मुटुलाई माया गर्नुस् ।

म हिजोदेखि आजसम्म निरन्तर उडिरहेको छु । हिजोको दिनमा मैले लुक्ला दिनमा २२ फ्लाइट गरेको । एक हप्तामा एक ट्याङ्का डलर बोकेर म फर्किन्थेँ । तपाईंहरू जति हुनुहुन्थ्यो लुक्लाको आम्दानीले तलब खान पुग्थ्यो । आज अन्तर्राष्ट्रिय उडानलाई ध्यान दिनुभयो । समयअनुसार चल्नुपर्छ । म खुशी छु किनभने मलाई तपाईंले बचाउन हर प्रयास गरिरहनुभएको छ । लौडा धमिजा काण्डका ती धुमिल दिन अब म सम्झिन पनि चाहन्न । युग परिवर्तनशील छ । अब म कोरियाली आकाशमा उड्ने तयारी गर्दै छु । अब म अस्ट्रेलियाको सिड्नीमा आफ्ना पँखेटा फिँजाउने कोसिस गर्दै छु । अब म चाइनाको गोन्जाउमा पदार्पण गर्दै छु र तपाईंहरूको सपना साकार पार्दै छु । अब फेरि पनि भन्छु मलाई माया गर्नुहोस् । 

म आकाशमा उड्ने आकाश भैरव हुँ । म नेपाल र नेपालीको गौरव हुँ । म नेपालीहरूको सान, मान, गान र विमान हुँ । म तपाईंले देखेको एउटा मीठो सपना हुँ । मैले हजारौँ क्यान्सर पीडित नेपालीलाई सित्तैमा उडाएर उपचार गर्ने गन्तव्यमा पु¥याएको छु । म तपाईंहरूको दुःखको साथी त हुँ नि । अनि फेरि मलाई अरुसँग किन तुलना गरेको ? के आफ्नोपन त्यही होत ? हेर्नुस् त म चन्द्रसूर्य बोकेर सफा आकाशमा उडिरहेको छु । खुशी लाग्दैन तपाईंलाई ? कि यो मेरो देशको विमान, मेरो विमान मलाई बोकेर मेरो गन्तव्यतिर लैजाने विमान नेपाल वायुसेवा निगम ।  (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस