बंगुरपालन व्यवसायको व्यवस्थापन

बंगुरपालन व्यवसायको व्यवस्थापन

बंगुरपालन कम समयमा धेरै आम्दानी दिने व्यवसाय मानिन्छ । पहिला रैथाने जाति प्रजातिका सुँगुर सुगर्नीहरू त्यो पनि खास जातिले मात्र पाल्ने गर्दथे तर वर्णशंकर प्रजनन द्वारा यिनको अनुवंशमा प्रर्याप्त अपेक्षित उन्नयन गरिँदै छ तथा वर्तमान अवस्थामा रैथाने जाति प्रजातिको ठाउँमा वर्णशंकर प्रजातिले ओगट्न पुगेका छन् ।

उत्तम जातको बंगुर मात्र छ हप्तादेखि ६ महिनाको उमेरमा उचित व्यवस्थापन एवं पोषण प्रकृयाका कारण ७० देखि ८० किलो ग्राम तौलका हुन पुग्दछन् । यसले अन्य पशुहरूले ग्रहण नगर्ने आहार तथा कृषिजन्य उपउत्पादनहरूलाई उपयोग गरी अति पौष्टिक मासुमा परिवर्तत गर्दछ । यसको मासुको उत्पादन प्रतिवर्ष बढिराखेको छ । यसको माग पनि दिनानुदिन बढ्दो अवस्थामा छ तथा निर्यातको मागमा पनि वृद्धि भइराखेको छ । यसको मासुबाट विभिन्न परिकार तयार गर्नका लागि डिब्बाबन्द मासु उपलब्ध गराइन्छ जुन विदेशी मुद्रा आर्जन गर्न सहयोगी हुन्छ ।

बंगुरपालन व्यवसाय स्थापनाका लागि आवश्यक कुराहरू सन्तुलित पोषण दाना एवं आहार सामग्रीको व्यवस्था, उत्तम नश्लहरूको चयन एवं प्रजनन योजना तथा उचित प्रबन्ध, उचित आवासीय व्यवस्था, पशुस्वास्थ्य एवं प्रभावकारी रोग नियन्त्रण व्यवस्थापनको सुनिश्चिता, न्यूनतम उत्पादन लागत एवं बिक्री तथा बजारीकारणको समुचित जानकारी आदि मानिन्छ । व्यावसायिक बंगुरपालनको स्थापनाको लागि खोर तथा गोठ निर्माण प्रथम आवश्यकता हुन्छ । ग्रामीण परिवेशमा सस्तो र पक्की खोर निर्माण गरिन्छ । किनकी त्यहाँ खुला ठाउँ प्रर्याप्त उपलब्ध हुन्छ । खोरको लागि ७ देखि ४० वर्गफिटकाो प्रतिपशु विभिन्न आयु र शारीरिक तौलअनुसार आवश्यक पर्छ ।

यसबाहेक बच्चा जन्माउने कोठा, पाठापाठी पाल्ने कोठा, भालेपोथी राख्ने खोर, दानापानी दिने डुँडसहित व्यवस्था गर्नुपर्छ । खोर हावादार, प्रकाशयुक्त, सुरक्षित, सरसफाइको हिसाबले पक्की भुइँतल निर्माण गर्नु आवश्यक हुन्छ । खोरमा पर्याप्त तथा निरन्तर पानीको व्यवस्था पनि उचित हुनुपर्दछ । ऋतुअनुसार उमेर एवं शारीरिक तौलअनुसार ५ देखि २० लि प्रतिपशुलाई पानीको आवश्यकता पूरा गर्नका लागि व्यवस्था गर्नुपर्दछ ।

आहारको लागि सुँगुर तथा बंगुरको खोरमा डुँड १० इन्च चौडा २० इन्च लामो वयस्क ठूला बंगुरका लागि तथा १२ इन्चदेखि १४ इन्च लामो, पाठापाठीका लागि प्रतिपशु व्यवस्था गरिन्छ । आहारको लागि दुई सय ५० ग्रामदेखि दुई दशमलव पाँच किलोग्राम पौष्टिक आहार प्रतिपशु विभिन्न आयु तथा शारिरीक तौलअनुसार दिइन्छ ।

बच्चासँगै भएका माउ बंगुरहरूलाई पाँच सय ग्राम दाना प्रतिपशु र प्रतिदान ६० दिनसम्म बढी दिइनु पर्छ । यसबाहेक हरियो पेपठिक घाँस, बरसीम, लुर्सन, इपिलिपी, मकै, चोरीजइ तथा तरकारी बजारमा पाइने अनउपयोगी हरियो तरकारी, आलु र होटल तथा रेस्टुरेन्टका रछ्यान अनि बधशालाका फाल्तु पर्दाथ राम्रोसँग पकाएर दिएमा दाना आहारमा हुने खर्च काम गर्न सकिन्छ ।

पाठापाठीहरूलाई जन्मेदेखि ६० दिनसम्म माउको दुध चुसाउनु पर्दछ । त्यसपछि यिनलाई छुट्याएर शिशु आहार दिएर पालिन्छ । आहारको मात्रा ५० देखि एक सय ग्राम प्रतिपाठापाठीबाट सुरु गरी विस्तारै बढाएर पाँच सय ग्राम पु¥याउने, त्यसपछि वयस्क हुने बेलामा एक केजीदेखि एक दशमलव पाँच केजी दिइन्छ । पाठापाठीको शारीरिक तौल १५ केजी हुँदासम्म शिशु आहार अनि १५ देखि ४५ केजी शारीरिक तौल हुँदासम्म वृद्धि आहार दिइन्छ । शारीरिक तौलअनुसार बैंश लागेपछि पोथी बंगुर ऋतुचक्रमा आउँछन् । जसलाई बंशावली तथा सन्तति परीक्षणबाट छानिएका स्वस्थ भाले बंगुर संसर्ग गराई प्रजनन गराइन्छ ।

गर्भवति पशुको गर्भकाल एक सय १४ दिनदेखि एक सय १८ दिनसम्म हुन्छ । गर्भवति पोथी बंगुरहरूलाई गर्भावधिको अतिम दिनहरूबाट समूहबाट बेग्लै राखी पालनपोषण गरिन्छ तथा ब्याउने बेला समुचित रेखदेख गरी राख्नु पर्छ । पाठापाठीहरूलाई ३० दिनभित्र आइरनको इन्जेकसन दिनुका साथै बेगौती दुधसँगै शिशु आहार दिएर हुर्काउन पर्छ । 

संक्रामक रोगहरू, स्वाइनफिवर, भ्यागुते, खोरेत, रोगका विरुद्ध खोप उपलब्ध छन्, उमेरतालिकाअनुसार दक्ष पशुचिकित्सकको सल्लाह र ऋतु परिवर्तनको साथसाथै पशुको स्वस्थ्य अवस्थाअनुसार नियन्त्रण गर्ने गर्नुपर्छ । प्रारम्भिक अवस्थामा बंगुुर फार्म स्थापना २ भाले वा ५ पोथी वा २ भाले १० पोथी बंगुर राखेर सुरु गर्न उचित मानिन्छ । भालेको छनोट पोथीभन्दा उमेरमा छ महिना बढी हुनुपर्दछ । यस्तो प्रयास हुनुपर्छ कि पोथीले पहिलो पटक बाली खोज्दा नै गर्भाधान होस् ।

बंगुरपालनका लागि सामान्य अनुसूचित, जनजाति एवं आदिवासी शिक्षित बेरोजगारहरूका लागि विभिन्न कार्यक्रममार्फत सरकारले सहुलिय ऋण एवं अनुदान दिने व्यवस्था गरेको छ । व्यावसायिक बंगुर पालनका लागि, इकाइ स्थापना गर्नका लागि उपलब्ध संसाधनहरूको सूची र त्यसपछि पाउन सम्भव हुने संसाधनहरूको सूची तयार गर्नुपर्ने हुन्छ । व्यावसायिक बंगुरपालन सुरु गर्नुभन्दा पहिले प्राभ्भिक तथा आधारभूत तालिम लिनुपर्छ । जसले सम्भावित हानिबाट बच्नका लागि सहयोगी भूमिका खेल्छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस