फोहोरमैला व्यवस्थापन र जनस्वास्थ्य

फोहोरमैला व्यवस्थापन र जनस्वास्थ्य

भन्नलाई लाज मान्न पर्दैन, काठमाडौँलगाएत विभिन्न सहरका फोहोरमैला व्यवस्थापनमा डम्पिङ साइट बेला–बेलामा बन्द वा समस्या आउँदा पनि सम्बन्धित निकायले समस्या निराकरण गर्न नसकी फोहोरमैला व्यवस्थापन राष्ट्रिय समस्याको रूपमा खडा भएको छ । नेपालका सहरहरूमा फोहोरमैला व्यवस्थापन भोग्नेलाई भोगिनसक्नु, बुज्नेलाई बुझिनसक्नु छ । बेलाबखत विभिन्न प्रकारका निहुँ तथा कारणले गर्दा सहरहरूको फोहोरमैला उठ्न नसकी सहर दुर्गन्धित बन्दै आइरहेको छ । सो कारणबाट काठमाडौँ उपत्यकालगाएत अन्य सहरी क्षेत्र दूषित भई सहरभरि सडक, गल्ली र चोकमा थुप्रिएको फोहोरमैला नउठी, उच्च तापक्रम र अविरल वर्षाको समयमा सहरी क्षेत्रमा दुर्गन्धित भई जनस्वास्थ्यमा प्रतिकूल असर परी हजारौँ व्यक्ति झाडापखाला, विषम ज्वरो, हैजा, उच्च रक्तचाप आदिबाट ग्रसित भई अस्पताल भर्ना हुने अवस्था सिर्जना भएको पाइन्छ ।

प्रकृतिले सिर्जना गरेको हावा, पानी, पहाड, नदीनाला, वनजंगल आदि सहरीकरणको तीव्र चापले गर्दा ह्रास भएको छ । जसको फलस्वरूप आदिम कालदेखि मानवसहित पर्यावरण सम्पूर्ण सजीव तथा निर्जीव वस्तुहरूको सन्तुलन विनाश भएको छ । सो विनाशको फलस्वरूप लाखौँ नागरिक आकस्मिक समस्या भोग्न बाध्य भएका हुन् । मुख्य समस्याका रूपमा श्वासप्रश्वास, प्रदूषण, सार्वजनिक स्थल विनाश, शारीरिक यातना एवं मृत्यु समेत छन् ।

नेपालको प्रमुख सहर काठमाडांँको सन्दर्भमा वातावरणको मुख्य समस्याको रूपमा छ । काठमाडौँमा वायु प्रदूषणको मुख्य कारकको रूपमा सवारी साधनको बढ्दो चाप, जनसंख्या वृद्धि, प्राकृतिक स्रोतको दोहन, समन्वयको अभाव, आधुनिक प्रविधिको जथाभावि प्रयोग, वनजंगल विनाश, अव्यवस्थित सहरीकरण, औद्योगीकरण, अव्यवस्थित फोहोरमैला, अनुगमनको अभाव, ऐन कानुनको कार्यान्वयन नहुनु, जनचेतनाको कमी, अवैज्ञानिक सडक विस्तार, भूकम्पबाट विनास भएका भौतिक संरचनाहरूको निर्माण तथा मर्मतले गर्दा काठमाडौँलगाएत देशको अन्य सहरी क्षेत्रमा फोहोरमैलाको समस्या तथा धुलो र धुवाँकोे प्रदूषण उच्च विन्दुमा छ ।

फोहोरमैला पारिवारिक तथा आर्थिक क्रियाकलापको उपज हो । काठमाडौँ महानगरपालिका, ललितपुर, भक्तपुर, बनेपा, विराटनगर, वीरगञ्ज र पोखरा, भरतपुरलगाएत देशका विभिन्न सहरहरूमा फोहोरमैलाको व्यवस्थापन समस्याको रूपमा रहेको छ । काठमाडौँ उपत्यकामा हाल दैनिक निष्काशन हुने करिब छ सय मेट्रिक टन फोहोरमैला व्यवस्थापन प्रमुख समस्या भएको देखिन्छ । विभिन्न वाहनामा फोहरमैला डम्पिङ गर्न नदिई काठमाडौँलगाएत अन्य सहरमा जताततै फोहोरमैलाले वातावरण प्रदुषण भई जनस्वास्थमा तीव्र असर पारेको छ । साथै ट्राफिकमा समेत अस्तव्यस्त तुल्याएको छ ।

राजधानी काठमाडौँ समेत देशका अन्य पालिकाहरूमा फोहरमैलाले दुर्गन्धित हुँदा पनि सरकारले सो समस्या स्थायीरूपमा हल गर्ने खासै योजना नल्याई देशको अस्तित्व र पहिचान संकटमा परेको छ । तिनै विभिन्न कारणले साधारण जनताको जीवन थप कष्टकर बनाएका छन् । ठूलो धनराशी लगानी हुँदा पनि सहजरूपमा फोहोरमैला व्यवस्थापन गर्न बेला–बेलामा अवरोध हुनुमा कसको कमजोरी त ? सरकार, कर्मचारी, सम्बन्धित निकायहरू या स्थानीय बासिन्दा आदि कुराको निक्र्यौल गरी त्यसको जवाफ नेपाली जनतालाई दिने समय आएको छ । किनभने जनस्वास्थ्यका हिसाबले यो ठूलो खेलवाड हो । यस्तो समस्या आउनु ज्यादै दुःखको कुरा हो । अतः राजधानीवासी र देशका अन्य सहरमा सर्वसाधारणको जनस्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी छिटोभन्दा छिटो फोहोरमैला व्यवस्थापनको उचित व्यवस्था स्थायीरूपमा हुनुपर्ने समयको माग हो ।

फोहोरमैलाको उचित व्यवस्थापनको बाधक तत्वहरू निम्नानुसार छन् :- कानुनको कार्यान्वयन नहुनु, फोहोरमैला व्यवस्थापनमा संस्थागत भूमिकाको अभाव, दक्ष जनशक्तिको कमी, नगरपालिकाको प्रमुख प्राथमिकतामा नपर्नु, यसको सन्दर्भमा दीर्घकालीन योजनाको अभाव, पर्याप्त रकमको अभाव, यससँग सम्बन्धित आवश्यक भौतिक पूर्वाधारहरू जस्तैः पुनः प्रयोगशाला, ल्याण्डफिल साइटको अभाव, फोहोरमैला व्यवस्थापनमा जनचेतना अभिवृद्धि कार्यक्रमहरू प्रभावकारीरूपमा सञ्चालन गर्न नसक्नु, समुदाय र निजी क्षेत्रसँगको साझेदारी कार्यक्रममा न्यून सहभागिता, आधुनिक मेशिन तथा उपकरणको अभाव, फोहोरमैला व्यवस्थापनसम्बन्धी तथ्याङ्क र अध्ययनको अभाव, तथ्याङ्क र अध्ययनको अभाव, नियमित अनुगमन र मूल्याङ्कनको अभाव, यसमा लुकेको निहित स्वार्थ, राजनीतिक खिचातानी, देशमा चलेको अशान्ति र द्वन्द्वको प्रभाव, अन्तरनगरपालिका समन्वयको अभाव, फोहोरमैला प्रवन्ध तथा स्रोत परिचालन केन्द्रको संस्थागतरूपले तालिम तथा विकास हुन नसक्नु, फोहोरमैला व्यवस्थापन सेवामा नगरपालिकाहरूको प्रतिबद्धता र प्राथमिकता निर्धारण हुन ढिलाइ हुनु, कमजोर संस्थागत अभ्यास, फोहोरमैलालाई स्रोतको रूपमा परिचालन गर्ने दृष्टिकोणको अभाव हुनु आदि । यी र यस्तै किसिमका कारणबाट काठमाडौँ उपत्यकामा फोहोरमैलाको व्यवस्थापन उचित नभएको ध्रुवसत्य हो ।

फोहोरमैलाको समाधानको सबैभन्दा उत्तम उपाय नगरपालिकाले फोहोरमैला व्यवस्थापन कार्यलाई उच्च प्राथमिकता राखी सोसम्बन्धी दिर्घकालिन योजना बनाई काम गर्नुपर्ने, प्रत्येक नगरपालिकाले आफ्नो संगठन तालिकामा फोहोरमैला व्यवस्थापन शाखाको स्थापना गरी फोहोरमैला व्यवस्थापनसम्बन्धी दक्ष जनशक्ति तयार गर्नको लागि कर्मचारीलाई आवश्यक तालिम उपलब्ध गराउनु पर्ने, फोहोरमैला व्यवस्थापनको तथ्याङ्कलाई वैज्ञानिक ढङ्गले अद्यावधिक गरी राख्ने, फोहोरमैला व्यवस्थापनको लागि पूर्वाधारको बिकास गर्ने, फोहोरमैला व्यवस्थापनमा नगरपालिकाहरूले समन्वय गरी छाता अवधारणको विकास गर्ने, नगरवासीहरूलाई फोहोरमैला व्यवस्थापनको मुख्य पक्ष (घच् .च्भमगअभ, च्भगकभ, च्भअथअभि० लगायत आदि कार्यको जनचेतना अभिवृद्धि गरी सो व्यवस्थापनमा सहभागी गराउने, फोहोरमैला व्यवस्थापनमा निजी क्षेत्रलाई आकर्षित गर्न नगरपालिकाहरूले विषेश कार्ययोजना बनाई अगाडि ल्याउन आवश्यक छ ।

यस्तो कार्ययोजना बढी पारदर्शी तथा नगरपालिकाहरूबाट निजी क्षेत्रलाई उपलब्ध गराउने सेवा सुविधा स्पष्टरूपमा उल्लेख हुनुपर्दछ, नगरक्षेत्रको फोहोरमैला व्यवस्थापन बढीभन्दा वढी मात्रामा समुदायमा आधारित संस्था, गैरसरकारी संस्था, सरकारी संस्थाहरूलाई स्पष्ट कार्ययोजनाका साथ परिचालन गर्न सकिएमा फोहोरमैला व्यवस्थापनको सञ्चालन खर्चमा न्यूनीकरण गर्न सकिन्छ ।

फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन हुन नसकेको स्थितिमा मानव संशाधान विकास गर्न, फोहोरमैला न्यूनीकरण गर्ने घरेलु उपायहरू अवलम्बन गर्न र नगरपालिका उपयुक्त प्रविधि भित्र्याई आवश्यक व्यवस्थापन गर्ने नगरपालिकाले अल्पकालीन तथा दीर्घकालीन फोहोरमैला व्यवस्थापनमा योजना तर्जुमा गर्नुपर्ने, उपयुक्त प्रविधिको पहिचान गरी सहीरूपले कार्यान्वयन गर्ने, नगरपालिकाकै ल्याण्डफिल्ड साइडको व्यवस्था गर्ने, पब्लिक—प्राइभेट साझेदारी कार्यक्रमलाई अनुकूल बनाउँदै लैजाने, फोहोरमैला व्यवस्थापनसम्बन्धी विद्यमान कानुनले फोहोरमैला व्यवस्थापनका लागि विभिन्न निकाय, संस्था तथा व्यक्तिको जिम्मेवारी, कर्तव्य र दायित्वको विषयमा स्पष्ट व्यवस्था नगरेकोले कतै निकायगत जिम्मेवारीमा दाहोरापना र कतै कर्तव्य र दायित्व स्पष्ट नभएको अवस्था हुँदा फोहोरमैला व्यवस्थापनसम्बन्धी काम गर्ने निकाय, संघसंस्थाको जिम्मेवारी र कर्तव्यको स्पष्ट व्यवस्था हुनेगरी विद्यमान कानुनहरूलाई परिमार्जन गरिनुपर्ने, प्राङ्गारिक मलको नमुना कारखाना खोल्न आवश्यक पहल गर्ने ।

यी माथिका कुराहरू कार्यान्वयन भएमा पक्कै पनि काठमाडौँं उपत्यका र देशका अन्य सहरको फोहोरमैला व्यवस्थापन प्रभावकारी भई नेपाली जनताको स्वास्थ्य गुणस्तरीय हुनेछ । काठमाडौँ उपत्यकाका साथै देशका सबै नगरपालिका र अन्य स्थानमा फोहोरमैला व्यवस्थापन भई स्वच्छ वातावरण, स्वस्थ्य गुणस्तरीय जीवन कायम गरिनु आजको आवश्यकता हो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस