बढ्दो खाद्यान्न सुरक्षाको चुनौती

बढ्दो खाद्यान्न सुरक्षाको चुनौती

केही दिनअगाडि नेपाल सरकारले ‘विश्व खाद्य दिवस’ मनाएको थियो । यसै सन्दर्भमा केही कुरा प्रकाश पार्न उपयुक्त देखिन्छ । संसारभर रहेका भोकमरी, गरिबी, अशिक्षा र कुपोषणबाट मानवलाई मुक्ति दिलाउने अभिप्रायले संयुक्त राष्ट्रसंघको एक महत्वपूर्ण अंग खाद्य तथा कृषि संगठनको स्थापना भएको थियो । यसरी तेस्रो विश्वका राष्ट्रहरूमा लगभग दुई अर्बभन्दा बढी जनता रहेका छन् । यसै सन्दर्भमा सन् १९७९ मा भएको कृषि सुधार तथा ग्रामीण विकाससम्बन्धी विश्व सम्मेलनमा एक सय ४७ राष्ट्रको सहमतिबाट १६ अक्टोवर १९८१ मा पहिलो विश्व खाद्य दिवस एक सय ५० राष्ट्रहरूमा विभिन्न कार्यक्रमसहित मनाइयो ।

यसै परिप्रेक्ष्यमा ‘पहिलो आवश्यकता खाद्य र सबै वर्गको लागि खाद्यान्न’ भन्ने विचारहरू विभिन्न सहभागी राष्ट्रहरूले व्यक्त गरेका थिए । त्यस्तै गरी हाल ३९औँ विश्व खाद्य दिवसको नारा ‘हाम्रो पहल ः स्वस्थ्य आहार, भोकमुक्त संसार’ भन्ने रहेको थियो । विश्वको दिनप्रतिदिन बढ्दो रूपमा रहेको जनसंख्याको भरण पोषणको लागि कृषिको चौतर्फी विकासको लागि कृषिको अहम् भूमिका रहेको हुन्छ । यसले होला यो वर्षको नारा तय गरिएको होे । संसारलाई हेर्ने हो भने अहिले कृषि विकासको माध्यमबाट ग्रामीण स्तरमा अर्थतन्त्रलाई प्रत्यक्ष फाइदा पु-याइरहेको छ ।

हाम्रा क्रियाकलापहरू नै हाम्रो भविष्य हो । संसारको लागि स्वस्थ आहार, स्वस्थ्यकर खानपिन नै शून्य भोकमरीको आधार हो । दशकौँदेखि संसारमा भोकमरीमा घटाउने प्रगति विश्वले गरिरहेको थियो । तर, आजभोली कुपोषणयुक्त मानिसहरूको संख्या बढ्न थालेको छ । यसर्थ कुपोषित मानिसहरूको संख्या बढ्दो क्रममा छ ।

अहिले विश्वमा सात अर्ब ७४ करोड जनसंख्यामध्ये आठ सय २० मिलियन मानिसहरू भोकमरीले ग्रस्त रहिरहेका छन् । यसलाई अर्को शब्दमा भन्नुपर्दा विश्वमा नौ जना मानिसहरूमध्ये एक जना अझै पनि भोकै रहेको अवस्था विद्यमान छ । हाल विश्वको खाद्य सुरक्षालाई अवलोकन गर्ने हो भने संख्यात्मकभन्दा गुणात्मक खाद्यान्नको विषयलाई बढी जोड दिनु पर्ने स्थिति रहेको छ ।

अस्वस्थ खाद्यपर्दाथले आजभोलि संसारभरि नै रोगव्याधीको पीडा खप्नु परिरहेको छ । यसलाई निराकरणको लागि बरु थोरै खाद्यपदार्थ उपयोग गर्दा त्यो खाद्यवस्तु गुणात्मक हुनु प-यो । जसले गर्दा जीवनयापन गर्न सजिलो हुन्छ । हालको अवस्थामा स्वस्थ र दिगो खानाको सरल, सर्वसुलभ बनाउनु टड्कारो आवश्यकता छ ।

विश्वमा बढ्दो जनसंख्याको कारणले गर्दा खाद्यान्नमा वृद्धि गर्नु एकातिर छ भने अर्कोतिर भोकमरी र गरिबी समस्यालाई निराकरणको लागि आवश्यक कार्यक्रमहरू कार्यान्वयन गर्न स्रोत साधनको व्यवस्था गर्नुपर्दछ । संसारमा हाल अनुमान गरिएअनुसार कुपोषणबाट पीडित मानिसहरूको संख्या ८५ करोडभन्दा बढी रहेको छ । अझ खाद्यको मूल्य वृद्धिले बढीभन्दा बढी भोकमरीको जोखिम बढाउने मात्र नभई यसले गरिबीको चाप अझ बढाउनेछ ।

विश्व खाद्य सुरक्षाका लागि हालै सम्पन्न उच्च तहको सम्मेलनमा उपभोग्य खाद्यको कम उपलब्धता, बढ्दो मूल्य र सम्बन्धित विविध सवालहरूको प्रभावमाथि विचार गरिएको थियो । विश्व अर्थतन्त्रलाई पुनः सबलीकरण गर्दै सम्पन्न अर्थतन्त्रलाई उकास्न खर्बौंको लगानी भइरहेको छ । तर, गरिबहरूको आर्थिकस्तर उकास्न ठोस पहल भइरहेको छैन ।

यस्तो परिस्थितिमा विगतका आर्थिक संकटहरूसँग जुध्न विभिन्न देशहरूले चालेको कदमबाट पाठ सिक्दै भोकमरी संक्रमणको जोखिममा रहेका ती गरिबहरूलाई सम्भावित भोकमरीको खतराबाट बचाउन र कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धिका लागि व्यापक लगानीको विस्तार गरी खाद्य संकट न्यूनीकरण गर्ने र खाद्यान्नको बढ्दो मूल्यलाई कम गर्नेतर्फ तत्काल पहलकदमी अत्यन्त जरुरी भइसकेको छ, किनभने न यो विश्वको पहिलो आर्थिक संकट हो न अन्तिम नै हुनेछ ।

विश्वमा हाल बीसभन्दा बढी मुलुकहरूमा खाद्य अनिश्चितताको स्थिति देखापरेको विभिन्न किसिमका सञ्चारमाध्यमहरूबाट थाहा हुन आएको छ । खाद्यान्न आयातका लागि एक सय ६४ अर्ब अमेरिकी डलर खर्च गरेको तथ्याङ्कले देखाएको छ जुन पहिलो वर्षको दाँजोमा २० प्रतिशतले बढी हो । यसर्थ यसको असरहरू न्यून आय भएका व्यक्ति अर्थात् साना कृषकहरूलाई पर्छ ।

संसारमा बीसौं शताब्दीदेखि धेरै मुलुकहरूले कृषि उत्पादनलाई भन्दा विलासितालाई प्रथम प्राथमिकता दिएको कारणले गर्दा खाद्यवस्तुहरूको उत्पादनमा कमी नै आयो । जसले गर्दा उत्पादन र बजारीकरणबीच तालमेल मिल्न सकेन । जसले गर्दा उपभोक्ताले चाहेअनुसारको खाद्यान्न प्राप्त गर्न सकेनन् । कृषि विकास गर्नको लागि आवश्यक पर्ने अनुसन्धान, प्रविधि, औजार तथा पूर्वाधार विकासमा बेवास्ता गरियो । यो हुनुको मुख्य कारण हो विभिन्न विकसित देशहरूले कृषिमा लगानी गर्दै आएकोमा हाल आएर ४३ प्रतिशत लगानी कटौती गरेको देखिन्छ । यही कारणले गर्दा नै हाल आएर खाद्यवस्तुको मूल्यमा वृद्धि भयो ।

विश्वमा प्रतिवर्ष करिब आठ करोडका दरले जनसंख्या वृद्धि भएको छ । यसको साथ साथै विश्व तापक्रममा वृद्धि र जलवायु परिवर्तनका कारणले गर्दा पनि खाद्यवस्तुको उत्पादन तथा उपलब्धतामा कमी हुनाले गर्दा खाद्यवस्तुको मूल्य अनिश्चित हुन अर्को मुख्य कारण यो पनि हो । खाद्य तथा कृषि संगठनले विश्व व्यापार संगठनमार्फत धनी देशहरूले कृषि क्षेत्रमा दिइरहेको अनुदान एवं व्यापारमा भएको हस्तक्षेपलाई अन्त्य गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यसले सरोकारवाला व्यक्ति वा निकायहरूलाई निर्णय गर्ने क्षमता अभिवृद्धि गर्न, अस्थिरता न्यूनीकरण गर्न, राष्ट्रिय वा क्षेत्रीय खाद्य सुरक्षा कायम गर्न, आपतकालीन अवस्थाको लागि खाद्य भण्डारण गर्न र खाद्य संकटको अवस्थामा खाद्यान्नमा असुरक्षित समूहलाई खाद्य सुरक्षामा सुनिश्चित गर्न सहयोग गर्छ । हाम्रो देशको कुरा गर्दा कुल भूमिमध्ये कृषियोग्य भूमि १८ प्रतिशत अर्थात् २६ दशमलव ५३ लाख हेक्टर जति छ ।

अन्त्यमा भन्नुपर्दा विश्वभरका भोक, रोग, शोकबाट पिल्सिएका मानिसहरूका समस्यालाई निराकरण गर्नको लागि कृषिसँग सम्बन्धित क्षेत्रहरू पहिचान एवं विकास गर्नुपर्ने आजको टड्कारो आवश्यकता एकातिर छ भने अर्कोतिर खाद्य असुरक्षाको पछिल्लो प्रतिवेदनमा राष्ट्रसंघीय संस्थाले २०१० देखि २०१२ को अवधिमा झण्डै ८६ करोड ८० लाख मानिस अर्थात् विश्वको कुल जनसंख्याको १२ दशमलव पाँच प्रतिशत भोकमरीबाट प्रभावित भएको उल्लेख गरेको थियो । यद्यपि सुरुमा गरिएको एक अर्बको प्रक्षेपण र १९९०/९२ को १८ दशमलव छ प्रतिशतको दाँजोमा कम थियो । स्वस्थकर जीवनका लागि निम्नानुसारका उपाय अवलम्बन गर्न सकिन्छः

स्वस्थ र रोगमुक्त जीवनको लागि पर्याप्त, सुरक्षित, पोषणयुक्त र विविध खानाहरू खानुपर्ने हुन्छ । मानवको शरीरको लागि खानेकुराहरूमा तरकारी, फलफूल, दाल, गेडागुडी, अण्डा, मासु, माछालगायत अरु अन्नहरू मिलाएर खानु पर्दछ । मानिसहरूको लागि चिल्लो, गुलियो र नुन धेरै भएको खानेकुराहरू भरसक कम खाने गर्नुपर्दछ । यी खाने कुराहरू खाँदा आफ्नो शरीरलाई पनि नियमितरूपमा व्यायाम गर्न भुल्नु हुँदैन । यसर्थ यी खानेकुराहरू खाँदा नियमित व्यायाम गरेनौँ भने हाम्रो शरीरको ब्यालेन्स नमिलेर बिरामी पर्ने सम्भावना बढी हुन्छ ।

सन् २०१५ मा विभिन्न देशहरूले दिगो विकासका १७ वटा लक्ष्यहरू अगाडि सारेका थिए । जसअन्तर्गत गरिबी र भोकमरी हटाउने, विश्वलाई भोकबाट कसरी हटाउने, सबैको लािग खाद्य समृद्धि सुनिश्चित गर्ने लक्ष्यहरू रहेका थिए । शून्य भोकमरीको लक्ष्यले भोकमरी मात्र हटाउने नभएर खाद्य सुरक्षालाई अभिवृद्धि गर्न पोषणयुक्त खाने कुरा र दिगो कृषि विकास प्रविधिको प्रयोग पनि त्यतिकै आवश्यक रहेको छ । अस्वस्थ आहारहरू अब विश्वव्यापी रोग र मृत्युको लागि एक प्रमुख जोखिम कारक भएको छ ।

स्वस्थ र दिगो आहारहरू किफायती र सबैको लागि पहुँचयोग्य बनाउन अत्यावश्यक भैसकेको अवस्था हाल विश्वमा विद्यमान छ । सकिन्छ भने विभिन्न स्थानीय स्तरमा प्राप्त हुन सक्ने खाद्यपदार्थहरूको बारेमा जान्न र त्यसको सेवनको लागि तयार हुनु नै सबैभन्दा बढी कल्याण रहेको कुराको विश्वव्यापी विज्ञहरूले सुझावहरू दिएका छन् । विश्व खाद्यान्न कार्यक्रम र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषले जारी गरेको प्रतिवेदनले कृषिमा व्यापक सुधार गर्न सकिए भोकमरी नियन्त्रण गर्न सकिने उल्लेख गरेको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस