नैतिकता, सदाचार र इमानदारितामा राज्यको भूमिका

नैतिकता, सदाचार र इमानदारितामा राज्यको भूमिका

‘नीतिले कमाऊ, रीतिले बाँच र प्रीतिले बाँच्न देऊ’ यो पूर्वीय दर्शनको मूल मान्यता हो । यस्ता नीति दर्शनहरू हिजोआज हामी भुल्दै जान लागेका छौँ र त हाम्रो सामु ठूला–ठूला समस्याहरू देखा पर्दैछन् । मानिसमा हुनुपर्ने प्रमुख गुण भनेकै नैतिकता, सदाचार र इमानदारिता नै हो । यसैबाट सामााजिक, आर्थिक, राजनैतिक जीवन शुद्ध हुने गर्छ । असल समाज निर्माणमा सबै व्यक्ति, समूह, समाज सदाचारी हुनुपर्छ । हाम्रो मुलुकले सदाचार, नैतिक, इमान्दार र सुशासनको नारा लिएको वर्षौँ भइसक्यो । तर सदाचारको उल्टो भ्रष्टाचार घट्नुको सट्टा बढेको छ । विगत दुई/चार हप्ताको देशको सिङ्गो मुहार हेर्दा लाजमर्दो स्थिति देखा परेको छ । सभामुख प्रकरण, अफ्ताभ आलम प्रकरण मात्रै होइन दर्जनौँ परिदृश्यहरूले अहिले नेपालीहरूको मुहार निहुरिएकोे छ । चीनका राष्ट्रपतिले त मुख खोलेरै भने जनताप्रतिको इमानदारिता, प्रतिबद्धता र सुशासन ।

विश्वव्यापी एक सय ८० मुलुकहरूसँगै ट्रान्सपरेन्सी इन्टरनेशनलले केही समयअघि जारी गरेको एक प्रतिवेदनअनुसार हाम्रो मुलुक साविक एक सय २२औँ स्थानबाट एक सय २४औँ स्थानमा पुगेको छ । विश्वमा अतिकम भ्रष्टाचार हुने मुलुक डेनमार्क हो । यता सोमालियाको स्थान अति उच्च छ भ्रष्टाचारमा । कम भ्रष्टाचार हुनेमा भुटानको स्थान २५औँ, बंगलादेशको एक सय ४९औँ, अफगानस्थानको एक सय ७२औँ, पाकिस्तानको एक सय १७औँ, छिमेकी चीनको ८७औँ र माल्दिभ्स एवं नेपालको एउटै स्थान देखाएको छ ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्ययनले ।

शासक भनौँ या नेताहरू कानुनी शासन पद्धतिको भाषण गरेर कहिल्यै थाक्दैनन् । भ्रष्टाचार म पनि गर्दिन अरुलाई पनि गर्न दिन्न भन्छन् । तथापि भ्रष्टाचार घटेको होइन मौलाएको छ । स्थिर र बहुमतप्राप्त जननिर्वाचित सरकार भनिए पनि भ्रष्टाचाको रोग निदान हुन नसक्नु लाजमर्दो कुरा छ । आम निर्वाचनपछि पनि सार्वजनिक क्षेत्रमा भ्रष्टाचार हुनु, व्यापार व्यवसायमा अतिरिक्त खर्च गर्नु, पदीय अधिकारको दुरूपयोग भइरहनु, यस क्षेत्रमा अनुगमन पक्ष कमजोर हुनु विगतदेखिका दीर्घकालीन समस्या ज्यूँका त्यूँ रहनुले हाम्रो समस्या यथावत भएको भान हुन्छ ।

सबै सरकारी अंगहरू क्रियाशील हुँदा पनि, ताजा जनादेश हुँदा पनि सुधार र सुशासन भएन भने आम जनताले सुशासन कहिले अपेक्षा गर्ने । खासगरी ठेक्कापट्टामा, सार्वजनिक सेवा प्राप्त गर्दा, कर भुक्तानीमा, छिटो न्याय पाउने कुरामा भ्रष्टाचारको सम्भावना अधिक रहने गर्छ । राजनैतिक भ्रष्टाचार अन्य सामान्य भ्रष्टाचारभन्दा कडा खालको हुन्छ यो त लिसोजस्तो टाँसिइरहन्छ । हिजोआज सबैतिर खर्च बढेको स्थिति छ । चुनाव पनि कम खर्चिलो छैन । फेरि अर्को उपनिर्वाचन आउँदैछ । अभ्यासै त हो नि शून्य खर्चमा चुनाव सम्पन्न गरेर हेरे कसो होला ?

दिनदिनै हामीकहाँ सदाचारका कुरा आउँछन्, भ्रष्टाचार निवारणका कुरा पनि आउने गरेका छन् । भ्रष्टाचारका केसहरू पनि बाहिर आएका छन् । स्वरूपमा फरक छ, कहीँ न कहीँ यसको संलग्नता छ नै । मुद्रा वा वस्तु लेनदेन नभए पनि समयको भ्रष्टाचार सबैतिर छ । उत्पादनमूलक काम छोडेर हामी आफ्नाले बोलाउनासाथ रिबन काट्नै भए पनि दौडिहाल्छौँ । अख्तियारका आयुक्त पाठकसम्मकै केस बाहिर आउँदा त संसार अचम्मित हुने नै भयो ।

हिजोेआाज हामी पानीजहाज र रेलकोे कुरा गरेर नथाक्ने भएका छौँ तर, औद्योगिक सम्भावना प्रशस्तै बोकेका हाम्रा बालाजु कपडा उद्योग, हरिसिद्धि इँटा टायल कारखाना, काठमाडौँ भक्तपुर ट्रलिबस सेवा, बाँसबारी छाला तथा जुत्ता कारखाना, भृकुटी कागज कारखाना, वीरगञ्ज चिनीमिल, हेटौंडा कपडा उद्योग भएभरका कौडीका मोलमा बेचेर ५५ डिग्री सेल्सियस तापक्रमका खाडी मुलुकमा नेपालीहरूलाई श्रम गर्न पठाउँदा हामीलाई कति पनि लाज लागेन । नाना, खाना र छानाका सामग्री सबैजसो हामी विदेशबाट ल्याउछौँ र त हाम्रो व्यापारघाटा उच्च छ । संघीयता ल्याइयो भने मुलुक हराभरा हुन्छ भनियो, देश कायापलट हुन्छ भनियोे, जनताले पत्याए पनि तर असह्य करको पीडा बोकेर मुटुमाथि ढुङ्गा राखेर सहिरहेका छन् । शिक्षा, स्वास्थ्य अति महँगो छ ।

काठमाडौँको ट्राफिक जाम, सडकको अवस्था, फोहोरको डङ्गुर, महामारीकोे सङ्केत महानगर कर उठाउनमै व्यस्त देखिन्छ । नेताहरूलाई अन्तर्राष्ट्रिय भ्रमणमै ठिक्क छ । विदेशी आउँदा बाटो टालटुल पार्ने, एयरपोर्ट र तीनकुनेलाई नयाँ बेहुलीझैं सिँगारिदिने, आफू भने २० मिनेटको बाटोलाई हेलिकप्टर हुइँक्याउने, जनताको छोराछोरी भन्ने अनि बाटाघाटाको प्रदूषित वातावरणबाट भने टाढा रहन खोज्ने यी सबै परिवेशले के देखाउँछ भने नेपालमा संघीयता झन्झन् महँगो हुँदैछ । स्थानीय जनप्रतिनिधि भनेका समाज सेवाका लागि हुन्, समाज सेवामा लागेकाले पारिश्रमिकको मोह राख्नु हुँदैन, जागीर खाने हो भने लोकसेवा दिन जानुप-यो । हालै सर्वोच्च अदालतले स्थानीय जनप्रतिनिधिलाई तलब दिन बनाएको कानुन असंवैधानिक छ भनिदिएको छ तैपनि उनीहरूलाई तलब भत्ता चाहिन्छ भन्ने जिकिर गर्न खोजिँदै छ ।

परिवेश राम्रो भए सबै ऋतुमा फूल फुल्छन् । शिशिरको चिसो सहजै पार हुन्छ, वर्षाको भेल सजिलै पाखा लाग्छ, गृष्मको उराठमा बसन्त आउँछ । केवल चाहियो नयाँ बिहानी, नयाँ किरण, नयाँ पालुुवा, नयाँ जवानी अनि नयाँ उत्साह, नयाँ परिवेश नयाँ उमङ्ग । जहाँ शीतलता छ त्यहाँ शान्ति छ, जहाँ कोमलता त्यहाँ भावुकता पनि । मन्द मुस्कान, सुगन्धित पवन अनि आकाशमा ढल्कनै लागेका सूर्यले पनि छड्के किरणले नै किन नहोस् भोलि बिहानको नयाँ आशा लिएर आउने संकेत छोड्न बाध्य हुन्छ । हरेक नागरिकका कलिला ओठहरूमा मन्द मुस्कान छाउन राज्यको सोच सधैँ नवीनतम हुनुपर्छ । देशवासीमा त्यतिकै स्वर्गीय आशा फैलिँदैन जबसम्म देशले देशवासीलाई शान्त र आनन्दित बनाउँदैन । हरेक व्यक्तिलाई अभयी, निर्भयी बनाउनु राज्यको न्यूनतम दायित्व हो यो ।

सृष्टिको उषाकालमा राज्य व्यवस्था थिएन । हालको जस्तो सामाजिक परिवेश थिएन । भनौं समाजको बनौट नै थिएन । इतिहासको सुदूरपूर्वमा न आजका जस्ता कानुन न आजका जस्ता जनता नै थिए । दण्ड, सजाय, दण्डाधिकारी केही कोही थिएन । धर्मको आधारमा समग्र परिवेश आफैँ परिचालित थियो, भनौँ वैदिक परम्परा, ईश्वरीय एक मात्र सत्ता विस्तारै समूह र समाज निर्माण हुँदै आयो । समाज निर्माण हुँदै आउँदा कर्तव्य अकर्तव्यको पनि बोध हुँदै आयो ।

कालान्तरमा समाजमा नैतिक ह्रास हुन थाल्यो । हाल त पदको प्रतितष्ठाको दुरूपयोग गरेर सत्ताको आडमा दलको भ-याङ चढेर मोजमस्ती गर्नेहरूरुको जमात धेरै भइसकेको छ । यो कुरा सबैतिर जगजाहेर नै छ । सामान्य मूल्य र मान्यताविपरित कामहरू हुन थाले । नीतिले शासन व्यवस्था चल्न छाड्यो । ‘नीतिले कमाऊ, रितिले बाँच्न र प्रीतिले बाँच्न देऊ’ भन्ने हाम्रो परम्पराले निर्माण गरेको मूल नारा बिर्सन लागियो । मानवताको उद्देश्य अभीष्ट धर्म, अर्थ, काम र मोक्षको बाटो बिर्सिइयो । जीवन सञ्चालनार्थ कृषि, गोरक्षा र सत्यको प्रतीकात्मकता वाणिज्यको परिकल्पनालाई छोडेर कमिसन त्यो पनि ठूलो कमिसनतिर समाज डोहारिन थाल्यो । संसारमा मोहको क्षय हुँदै मोक्षको उन्नयन, प्रणयनको दायरा फराकिलो बन्दै आउनु पर्नेमा झन्झन् साँघुरिन थाल्यो ।

आजको परिवेश नितान्त बेग्लै छ । आजको युग विज्ञानको रे, विनलादेनको रे, ट्वीन टावरको रे, सेप्टेम्बर एघारको रे, नागासाकी अनि हिरोसिमाको रे ! एटमिक इनर्जीको रे, अनि सुक्ष्मयन्त्रको रे, परमाणु अनि एटमबमको रे, सन्त्रासको रे, घटनै घटनाको रे, दुर्घटना नै दुर्घटनाको रे, अल्वर्ट आइन्सन्टाइनको रे, ग्यालिलियोको रे ! राइट दाजुभाइहरूलाई टवीनटावरमा गिज्याउने लादेनको रे । बम र बारुदका धुँवाले मुस्लिएर आकाश ढपक्क छ, आज सन्त्रासै सन्त्रास छ ध्वनि र वायु प्रदुषणले । अन्तःकरणमा पाइने खुशी बजारमा हाँसिरहेछ । महान् अध्येता महापुरुषहरू विज्ञानबाट थाकेर आध्यात्मिक खोजतर्फ अग्रसर हुन थालेका छन् । अन्तःकरणमा खुशी छ । शान्ति आफैभित्र छ, मृगतृष्णाले बाहिर भौतारिएको छ, असल संस्कार आज हराइरहेको छ । विकासको नाममा पृथ्वीको काँचुली फेरिएको छ तर धर्र्र्र्तीप्रतिको बर्बरताले धर्तीमाता रोइरहेकी छिन् । जीवनको सारतत्व अथवा उहिलेको महर्षिहरूको भाषा स्थितप्रज्ञ मानिसले बुझेकै छैन ।

आजको समाजले बहादुरी सम्झेको छ, कहालिलाग्दो अनि अनगिन्ती हिंसालाई र प्रतिहिंसालाई बहादुरी बोकेर । तर, के थाहा हिंस्रकहरूलाई जीवनको उत्तरार्द्धमा गएर चरम आत्मग्लानी हुन्छ भनेर । बलको तुजुक, चरम लापरवाही, ओठे भक्ति, जताततै सन्नाटा आजको राज्य नेतृत्वले लिएको सुशासन र विश्व शान्ति गोहीको आँसु खोइ त आजको संसारमा हामीले कल्पना गरेको शान्ति र समृद्धि ? इँटा भट्टामा इँटट पो पाोल्नु पर्ने मान्छे हो र ? कस्तो क्रुरता, १२ वर्षसम्म ढाकछोप हुने कस्तो पारदर्शिता हाम्रो । हामीले विश्वास गरेका संवाहकहरूबाट हामीलाई प्राप्त उपहार यस्तो छ अहिले ? धेरै परिवर्तन भए । भूगोल परिवर्तन हुने कुरो भएन । सीमा संकुचनमा हाम्रो ध्यान जाँदैन । बाटाघाटा ठूला भए ।

गाउँ बस्तीमा डोजर दौडाएर भए नभएको पैसा रोपेर बाढी, पहिरोको समस्या थपियो, प्राकृतिक डाँडापाखा पखेरीहरूमा डोजरहरू गुडे, गाउँका मान्छे खाडीतिर भास्सिए, अन्नपातमा कमी भयो । मोटा चामल खान छोड्यौँ, विदेशी मसिना चामलमा मन गयो, धन पनि गयो, बारीका पाटामा मकैका घोगा देखिन छोडे । कोदो, बोडी, भटमास देखिन छोड्यो, गाउँको बाटो साँघुरो भए पनि मेला पर्म, साग, घाँसपात, वन, बुटेन, काँक्रा, फर्सी, भारो पर्म, तल्ला घरे, माथिल्लो घरे, आगो पानी साटासाट, ऐँचोपैचो, गहुँका रोटी, गाईवस्तु गोठ, गोबर, गहुँत के–के हो, के–के, सबै प्राङ्गारिक सबै अर्गानिक थिए । जातपातको केही समस्या थिएन । एउटा गाउँमा सबैथरी बस्थे । एकलाई अर्काको खाँचो पथ्र्यो, सबैले सबैको सम्मान र स्यावासी गर्थे । अहिलेजस्तो पानी बाराबारको स्थिति थिएन । हाल अधिकांश खेतबारी बाँझैं छन् । बाँझो जमीन राख्नेलाई कडै खालको कानुन पनि सरकारले ल्याउन लागेको भनिन्छ । कानुन मात्रै समस्या समाधानको बाटो होइन, जग्गा बाँझो हुने परिस्थिति सिर्जना किन र कसरी भयो त्यो सबैलाई थाहा पनि छ । निराकरणको उपाय दिनुप-यो पहिले । राज्य, समाज सबै मिलेर फेरि एकपटक हामीले सोचेजस्तो असल समाज निर्माणतर्फ अग्रसर पनि हुने हो कि ? 

जनअनुमोदित सरकारले जनताकै हितमा काम गर्नुपर्ने हुन्छ । घोषणापत्रअनुसार जनताको मन जितेर जनप्रतिनिधि आएका हुन्छन् । तिनले गरेका बाचा पु-याउन नसके अर्को चुनावमा उनीहरू जनताद्वारा नै बहिस्कृत हुन्छन् । त्यसले गर्दा पनि जनप्रतिनिधि सक्रिय हुनुपर्छ । जनप्रतिनिधि सक्रिय भएझैँ व्यवस्थित कानुनअनुसार निजामती कर्मचारी पनि सक्रिय हुनु जरूरी हुन्छ । हाजिर गरेपछि तलब पाक्छ, काम गरेबापत अमुक सुविधा आवश्यक हुन्छ भन्ने मान्यतालाई निजामती कर्मचारीले पनि ‘मेरो गोरूको बाह्रै टक्का’जस्तो गर्नु हुँदैन । जनता सचेत भएका अवस्थामा कर्मचारी पनि सक्रिय हुनु जरूरी छ । संगठनको आफ्नो संस्कृति हुन्छ, कर्मचारीको आफ्नो अवस्था, संस्कृति, वातावरण हुनसक्छ ।

हो मानिसलाई मेसिनरीझैं सञ्चालन गर्न सकिन्न, उनीहरूको पारिवारिक संस्कृति, क्षमताको पनि संगठनलाई प्रभाव परेकै हुन्छ । सार्वजनिक प्रशासनका अगुवाहरू लुथर गुलिक, मास्लोजस्ता विद्वान्हरूले भनेका थिए– नाना, छाना, खाना भने न्यूनतम हुनैपर्छ । सुरक्षा, स्वास्थ्य, इज्जत, भविष्यप्रतिको चिन्ताबाट मुक्ति, कर्मचारीको बीमा, यातायात, केटाकेटीहरूको अध्ययन, धेरै विषयहरू हुन्छन्, यसबारे राज्य मौन बस्न मिल्दैन । भोको पेटले कर्मचारी काम गर्न असमर्थ हुन्छ । कामप्रतिको लगनशीलता, उत्प्रेरणा, इमानदारिता, जवाफदेहिताजस्ता विषय पनि संगठनले भनौँ राज्यले सोच्नुपर्ने हुन्छ । हैकम लादेर आजको समस्या समाधान हुनेवाला छैन । बहाना बनाएर कर्मचारी फुत्कन पनि मिल्दैन । नम्र व्यवहार, सकारात्मक सोच, मुस्कान सहितको सेवा प्रवाह आजको आवश्यकता हो ।

सार्वजनिक प्रशासनको सेवा छिटोछरितो, कम लागतको, झन्झटमुक्त र परिणाममुखी हुनु जरूरी छ । सेवाग्राहीको सन्तुष्टि नै राजनीतिबीचको सह–सम्बन्ध, नेतृत्ववर्गले लिने नैतिक आचरण, राजनीतिक प्रणालीप्रतिको सर्वस्वीकार्य भाव, नवीन कार्य, नवीन अवधारणा, सिर्जनशीलता, जोखिम कर्म गर्न सक्ने खुबी एवं क्षमताको विकास यी केही तत्वहरू राजनीति र प्रशासन दुवैले सोच्ने विषयहरू हुन् ।

निजामती सेवामा वा अन्य आकर्षक पदमा प्रवेश गर्नासाथ अतिरिक्त सुविधाको भोको हुने गर्नाले विगतमा धेरै समस्या देखियो । स्वतःस्फूर्तरूपमा सेवा सञ्चालन हुन सकेन । आदेश दिएको काम बल्लतल्ल गर्ने, आफूले खोजेर काम नगर्ने परम्परा पनि निजामती प्रशासनमा नदेखिएको होइन । काखा र पाखाको संस्कृति बोकिरहँदा यसो हुन गएको हो । कर्मचारीहरू अनुचित आयआर्जनमा लागेका खबरहरू पनि बाहिर आएका छन् । हाम्रो समाजको संस्कृति पनि कमाउनेलाई सम्मान गर्नेगरेको संस्कृति हो । जसले गर्दा आफूले गर्ने जिम्मेवारी र उत्तरदायित्वभन्दा पनि कमाऊ संस्कृतितिर कर्मचारी लाग्ने वातावरण बन्ने गरेको हो । अब सहीरूपमा यसो हुन नदिन राजनीतिक आडलाई प्रश्रय नदिन राजनीतिक नेतृत्व पनि भ्रष्टाचारमुक्त हुनुपर्छ । राजनीति र प्रशासन दुवै कर्तव्यनिष्ठ बन्न पनि ।

वैज्ञानिक र भरपर्दो सर्भेक्षण तथा व्यवस्थापन आजको आवश्यकता हो । प्रदेश एवं स्थानीय तहमा जान नचाहेको कारण पत्ता लाउनु पर्छ, केवल प्रोत्साहन भत्ता वा ग्रेड थपले मात्र प्रणालीको विकास हुन सक्दैन । डर र त्रासले भन्दा सबै वातावरण परिवर्तनमैत्री हुन सके बेस हुन्छ । कोही दुर्गम बसिरहने, कोही कोही केन्द्रमा हालीमुहाली गरिरहने हुनु हुँदैन । कर्मचारीले सेवा प्रवेश गर्दै कहाँ कुन समय कति बस्ने, के–के काम गर्ने, बढुवा कुन तहमा कहिले हुने पूर्वानुमानसहितको कार्यविवरण समेत दिई कर्मचारी पदस्थापन हुन सके दिगो, भरपर्दो र वैज्ञानिक हुनसक्छ । किनभने कर्मचारी प्रशासन भनेको स्थायी सरकार हो । सरकार बदलिँदैमा कर्मचारी परिवर्तन हुनु हुँदैन । अर्कोतिर ठूला पद, सार्वजनिक पद, संवैधानिक पदहरू कोटा दलीय कोटा प्रणालीमा नियुक्ति हुने पद्धति रहुन्जेल सदाचार स्थापना र भ्रष्टाचार निवारणको कल्पना गर्नु निरर्थक हुन्छ ।

समाजको साथसाथै राज्यको परिकल्पना र राज्यको कण्टकशोधन (विद्रोही दमन)का लागि नेता, राज्यका सेना आवश्यक परेका हुन् । राज्यमा शान्ति स्थापना, शत्रु शोधन, विध्वंसको नियन्त्रणजस्ता बहुआयामिक अवधारणाहरूको विकास हुँदै आएको हो । खराब नेतृत्व भए सत्य युगमा बेनले राज्य गर्दा आम जनतालाई तीव्र शोषण गरेको बुझेर विद्वानहरूको सभाले बेनलाई पदच्यूत गरिदियो । पदच्यूत मात्रै होइन उसको दायाँ अंगलाई मथेर उसको शरीरबाट पृथुलाई उत्पन्न गराएर राज्य नेतृत्वमा राखेको चर्चा पाइन्छ । ज्ञानी, सदाचारी, सत्पुुरुषहरूको मार्गनिर्देशनमा सबैको भलो हुन्छ, सुशासनमा सबैले विजय भएको महसुस गर्न सक्छन् सबैको उद्धार हुन्छ, रामराज्य हुन्छ । कोही भोका, नाङ्गा हुन्नन्, कतै चोरी हिंसा हुन्न, यहाँसम्म कि क्रोध, कुण्ठा, ईष्र्या, वैमनस्यता, आवेग र तनाव, अनिकाल र आधिव्याधि, घटना र दुर्घटना कहीँकतै हुँदैन । राज्य व्यवस्था वैदिक साम्यवादको रहन्छ । समतामूलक समाज सबै उपकारी हुन्छन् । लोभी, लालची र पापी त कोही हुँदैन ।

नम्र व्यवहार, सकारात्मक सोच, मुस्कानसहितको सेवा प्रवाह आजको आवश्यकता हो । सार्वजनिक प्रशासनको सेवा छिटोछरितो, कम लागतको, झन्झटमुक्त र परिणाममुखी हुनु जरूरी छ । सेवाग्राहीको सन्तुष्टि र राजनीतिबीचको सह–सम्बन्ध, नेतृत्ववर्गले लिने नैतिक आचरण, राजनैतिक प्रणालीप्रतिको सर्वस्वीकार्य भाव, नवीन कार्य, अवधारणा, सिर्जनशीलता, जोखिम कर्म गर्न सक्ने खुबी एवं क्षमताको विकास, यी केही तत्वहरू राजनीति र प्रशासन दुवैले सोच्ने विषयहरू हुन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस