यार्सा टिप्न रोक लगाएपछि खेती गर्न थाले स्थानीय

यार्सा टिप्न रोक लगाएपछि खेती गर्न थाले स्थानीय

बझाङ, जेठ ४
बझाङको सुर्मा गाउँपालिकाले यार्सा संकलनमा रोक लगाएपछि स्थानीय बासिन्दाहरू खेती गर्न थालेका छन् । यहाँका स्थानीयहरू वर्षौंदेखि बाँझो रहेको जमीनमा खनजोत गरेर अन्न तथा तरकारी लगाउन थालेका हुन् । यो सिजनमा यार्सा टिप्न लेकतिर जाने यहाँका स्थानीयहरू गाउँपालिकाले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै यार्सा टिप्न रोक लगाइदिएपछि बाँझो राखिएका जमिनहरू खनजोत गर्नमा व्यस्त छन् । जिल्लाको हिमाली क्षेत्रमा यार्सा संकलन गर्न लागेको झण्डै दुई दशक भयो । यार्सा संकलनबाट मनग्य आम्दानी हुने भएपछि स्थानीयहरूले पाखो जमीनमा अन्न तथा तरकारी लगाउन छोडेका थिए ।

सुर्मा गाउँपालिकाका वडा नम्बर ३ का स्थानीय ५५ वर्षीया तिख्या बोहराले भने, ‘यहाँका स्थानीयका पैसा कमाउने माध्यम भनेको यार्सा नै हो ।’ अहिले देशमा संकट भएकाले यार्सा टिप्न गाउँपालिकाले रोक लगाएपछि लामो समयदेखि बाँझो रहेको जमीन खनजोत गर्ने थालेको बोहराले बताए । गाउँपालिकाका सबै वडाका स्थानीय बासीन्दाहरू यतिखेर कृषि कार्यमा व्यस्त भएका छन् । वैशाख महिनाको पहिलो सातादेखि स्कुले विद्यार्थीदेखि सबैजना यार्सा टिप्न लेकतिर जाने गर्दथे । अहिले यहाँका स्थानीयहरूले बाँझो जमीन खनजोत गरेर कसैले आलु, कोदो, सिमी तथा फलफुल रोप्न थालेका छन् । सुर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराले सरकारले लकडाउनको घोषणा गरेकाले गाउँपालिकाभित्र पनि यार्सा संकलन गर्दा भीडभाड हुने हुँदा यार्सा संकलन कार्य बन्द गरिएकोे बताए । त्यसैगरी जिल्लाका अन्य गाउँपालिकाका स्थानीहरू बाँझो जमीन खनजोत गर्ने काममा जुटेका छन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie