कोरोनाको भयले मातृभूमिको सम्झना गर्नेहरू बढ्न थाले

कोरोनाको भयले मातृभूमिको सम्झना गर्नेहरू बढ्न थाले

काठमाडौं, जेठ ४
कोरोना भाइरस महामारीको त्रासले विश्वको अर्थतन्त्र र जनजीवन पूरै चौपट बनाइदिएको छ । यो त्रासले कहिलेसम्म आम मानिसलाई सताइरहने हो यकिनरूपमा अहिले नै यसे भन्न सकिने अवस्था छैन । कोरोना भाइरस संक्रमण फैलिनु अगाडिको समयलाई नियाल्ने हो भने आम मानिसहरूमा एक किसिमको धनको घमण्ड नै थियो । प्रशस्त धन र सम्पत्ति भएपछि जीवन त्यसैगरी चलाउन सकिन्छ भन्ने आम मानिसको सोचाइ रहनु अन्यथा पनि होइन ।

तर, जीवन सधैंभरि आफूले सोचे जसरी अगाडि बढाउन सकिने रहेनछ भन्ने कुरा अहिले पूरै विश्वले भोग्नुपरेको कोरोनाको कहरले पाठ सिकाइरहेको छ । तर, अहिले पूरै विश्वलाई कोरोना भाइरसले सताएपछि आम मानिसभित्र रहेको त्यो अहमता र घमण्डपनमा केही कमी आएको हो कि भन्ने महसुस हुन थालेको छ । मै हुँ भन्नेहरूको घमण्ड तोडिएको अवस्था पनि छ । महामारीले आफ्नो मात्र नभएर परिवार, समाज, मुलुक र विश्वलाई नै सताउँदै त्रहीमाम बनाइदिएपछि मानिसभित्र रहेको त्यो अहमता र घमण्ड केही तोडिएको छ भन्दा फरक नपर्ला ।

यही अवस्था अझै केही महिना वा वर्षसम्म कायम रहिरहने हो भने हिजोको दिनमा आम मानिसहरूमा रहेको अमानवीय भावनामा पनि अवश्य सुधार आउनसक्ने अनुमान लगाउन सकिन्छ । अहिले मानिसमा दया, माया, करुणा र मानवता भन्ने कुरा हराएर गएको अवस्था छ । श्रद्धाभाव र निमुखालाई आदर र सहयोग गर्नुपर्छ भन्ने कुरा हराएर गइसकेको थियो । आफू, परिवार र नजिकका नातेदारहरूबाहेक अरु मानिस नै होइन भन्ने प्रवृति बढ्दो क्रममा रहेको पाइन्छ । मानिस–मानिसबीच विभेद छ । धनीले गरिबलाई मात्र होइन, धनी मुलुकले गरिब मुलुकलाई गर्ने व्यवहार पनि उत्तिकै निन्दनीय छन् ।

मानिसहरूले पशुलाई गर्नेजस्तो व्यवहार अहिले पनि विकसित मुलुकहरूले गरिब मुलुकहरूलाई कायमै राखेका छन् । प्रकृतिको पनि त्यसैगरी दोहन गरिएको छ । यही कारण वातावरण बिग्रिएर प्रकृति नै रोइरहेको अवस्था छ । कोरोना फैलन नदिने अभिप्रायले विश्वभरको हवाइ यातयात र सवारी साधन सञ्चालनमा आएको कमीले वातावरणमा अहिले केही सुधार हँदै गएको महसुस गर्न थालिएको छ । यसरी महामारी फैलनुमा प्रकुतिको विनाश र दोहन पनि कारण हुनसक्ने अनुमान गरिएको छ ।

मानिस–मानिसबीचको विभेद र प्रकृतिको दोहोनले यस्तो महामारी विश्वलाई पाठ सिकाउनका लागि आएको हुनसक्ने अड्कलबाजी हुन थालेका छन् । गत डिसेम्बर महिनाको अन्तिम हप्ता चीनको वुहान प्रान्तबाट कोरोना संक्रमण सुरु हुँदा कोही कसैले पनि यसले यो रूप लेला भन्ने कल्पना गरेका पनि थिएनन् । यो चीनको मात्र समस्या हो भन्दै विकसित मुलुकहरू भित्रभित्रै रमाइरहेको थिए । उनीहरूले यो समस्या भोलि आफूलाई पर्नसक्ने बारेमासमेत थोरै पनि कल्पना गरेका थिएनन् । कतिसम्म भने चीनमा कोरोना संक्रमणबाट मानिसको मृत्यु भइरहँदा मानवीय समवेदना दर्शाउने कामसमेत गरिएन र भएनन् । उल्टै संक्रमण रिसिवीले फैलाउने काम भइरहेको आरोप लगाउने काम गरियो । अरु त अरु आफूलाई विश्वको एक मात्र शक्तिशाली मुलुक भएको दाबी गर्दै आएको अमेरिकाले कोरोना संक्रमण विश्वभर फैलिँदै आफ्नै ढोका अगाडि आइपुग्दासम्म पनि राष्ट्रपतिले ‘चाइनिज भारस’ भन्दै गिज्याइ रहे । यदी उनमा अलिकति पनि मानवीय समवेदना श्रद्धाभाव थियो र हुँदो हो त यसलाई गम्भीररूपमा लिँदै दुःखमनाउ गर्न सक्थे ।

नेपालको गरिबीलाई लात मार्दै, आफ्नै मुुलुकमा अवसरलाई बेवास्ता गर्दै पराइको मुलुकमा राम्रो अवसर खोज्दै वर्षौं अगाडि विदेशीएहरू अहिले जन्मभूमिको सम्झना गर्दै विदेशी भूमिमा तड्पिरहेका छन् । हिजोको दिनमा उनीहरू नेपाल र नेपालका राजनीतिक दलका नेताहरूलाई विदेशी मुलुकको विकाससँग तुलना गर्दै निर्धक्कसँग सराप्ने गर्दथे । फलानो मुुलुकले यति वर्षमा यत्रो फड्को मा-यो । नेपालको अवस्था जहाँको त्यहीँ भनेर सत्तोसराप गर्दथे । तर, उनीहरूको भनाइलाई आधार मान्ने हो भने मुलुक विकसित र धनी हुँदैमा गर्व गर्नुको अर्थ रहेनछ भन्ने कुरा अहिले आएर कोरोना भाइरसले पुष्टि गरिदिएको छ ।

युरोप, अमेरिकाजस्ता विकसित र आर्थिक हिसाबले सम्पन्न मुलुक पनि कोरोना भाइरसका कारण त्राहीमाम भएका छन् । अहिले उनीहरू पनि अल्पविकसित मुलुकभन्दा बढी त्रासमा बाँच्न विवश भएका छन् । कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरूको संख्या तिनै मुलुकहरूमा बढी छ । विकसित र सम्पन्न मुलुकमा अवसर खोज्न गएकाहरू आफ्नो जन्मभूमि झलझल्ती सम्झेर नेपाल फर्कन आतुर छन् । नेपालीहरूलाई जे–जस्तो भए पनि आफ्नै मातृभूमि प्यारो लाग्न थालेको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie