लिपुलेक क्षेत्र नेपाली भूमि हो : राष्ट्रपति

लिपुलेक क्षेत्र नेपाली भूमि हो : राष्ट्रपति

काठमाडौं, जेठ ४
राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएकाले त्यसलाई प्राप्त गर्न तदनुकूल पहल गरिने बताएकी छिन् । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले छुटेको नेपालको भूमि समावेश गरी नयाँ नक्सा सार्वजनिक गरिने जानकारी दिए । लिपुलेक क्षेत्रमा अतिक्रमण गरी हालै भारतले सडक निर्माण गरेको थियो । नीति तथा कार्यक्रममा वर्तमान सरकार गठनपछि छिमेकी मुलुकसहित अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ आयाम स्थापित भएको पनि जनाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भने, ‘ऐतिहासिक सन्धि, नक्सा, तथ्य तथा प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट मित्रराष्ट्र भारतसँगको सीमा सम्बन्धमा विगत लामो समयदेखि बाँकी रहेका र समयसमयमा उठिरहेका विषयको समाधान गरिनेछ ।’ नेपाल सरकार देशको अन्तर्राष्ट्रिय सीमाको सुरक्षा र संरक्षण गर्न प्रतिबद्ध रहेको स्पष्ट गर्दै उनले अन्तर्राष्ट्रिय सीमा निरीक्षणको कार्यलाई निरन्तरता दिइने बताइन् ।

नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पुग्ने गरी आर्थिक कूटनीति सञ्चालन गरिने तथा नेपाली कूटनीतिक नियोगलाई व्यापार विस्तार, विकास सहायता र लगानी वृद्धि, प्रविधि विकास एवम् हस्तान्तरण, पर्यटन प्रवद्र्धन तथा सुरक्षित र मर्यादित वैदेशिक रोजगारीका लागि परिचालन गरिने राष्ट्रपतिले बताइन् । विदेशमा रहेका प्रतिभाशाली नेपाली तथा गैरआवासीय नेपालीले आर्जन गरेको ज्ञान र सीपलाई राष्ट्रिय विकास अभियानमा उपयोग गरिने बताउँदै उनले गैरआवासीय नेपालीहरुको पूँजी र प्रविधि देश विकासमा उपयोग गर्न प्रेरित गरिने बताइन् ।

नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चहरुमा प्रभावकारी, अर्थपूर्ण र सम्मानजनक सहभागिता जनाएको, सरकारको स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिले नेपालप्रति अन्तर्राष्ट्रिय समुदायको विश्वास र अभिरुचि बढेको तथा नेपालको प्रतिष्ठा वृद्धि भएको निष्कर्ष नीति तथा कार्यक्रममा समावेश गर्दै सरकारले अवलम्बन गरेका स्पष्ट र परिपक्व नीतिबाट छिमेकीहरुसँगको विश्वास, समझदारी र सहयोग अभिवृद्धि भई सम्बन्धले नयाँ उचाइ लिनाका साथै अन्य मित्रराष्ट्र एवं विकास साझेदारहरुसँगको समग्र सम्बन्ध थप सुदृढ भएको बताएको छ । रासस (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie