दोलखाका प्रजिअमाथि घुस लिएको आरोप !

दोलखाका प्रजिअमाथि घुस लिएको आरोप !

दोलखा, मंसिर २०
दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले एक स्थानीयको मुद्दामा एक लाख रुपैयाँ लिएर ९० हजार रुपैयाँ आफूले राखी दश हजारको मात्रै नगदी रसिद काट्न लगाएको तथ्य सार्वजनिक भएको छ । प्रमुख जिल्ला अधिकारी रिजालले दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ४ का कुमार लामा मोक्तानसँग सार्वजनिक मुद्दामा एक लाख रुपैयाँ मागेर दश हजार रुपैयाँ मात्रैको नगदी रसिद दिएको तथ्य सार्वजनिक भएको हो । सीडीओले रकम मागेको कुरा पीडित लामाले नगदी रसिद देखाउँदै रिजालकै कार्यकक्षमा सीडीओसँगै रहँदा बताएका हुन् ।

लामालाई २४ दिनअगाडि सार्वजनिक कसुर मुद्दामा जिल्ला प्रहरी कार्यालय दोलखाले नियन्त्रणमा लिएको थियो । थुनछेक बहसपछि लामाको श्रीमती रेणु तामाङले बुधबार प्रहरीको कष्टडीमा रहेका आफ्ना श्रीमान्लाई बाहिर निकाल्न एक लाख रुपैयाँ प्रजिअ रिजाललाई दिएकी थिइन् । तर पछि दश हजारको मात्रै नगदी रसिद दिएको उनले बताइन् । प्रजिअले ९० हजार रुपैयाँ लिएर राखेको बुझेपछि रेणु तामाङले बिहीबार बिहान सीडीओसँग बाँकी रकमबारे सोधेकी थिइन् । तामाङका अनुसार सीडीओले बाहिर हल्ला नगरिदिनु भनी तामाङको फोन समेत अफ गर्न लगाएको उनले बताइन् । 

तामाङले नमानी पत्रकार सम्मेलन गरेर उक्त कुरा जानकारी गराउने भनेपछि प्रजिअ रिजालले आफ्नो क्वार्टरमा लगेर हल्ला नगरिदिन भन्दै ९० हजार रुपैयाँ फिर्ता गरेको उनले बताइन् । उनले दोलखाका कालिञ्चोक गाउँपालिका वडा नम्बर १ का उदिम तामाङ र इन्द्र बहादुर तामाङबाट पनि मंगलबार सार्वजनिक सुरक्षा कसुरको थुनछेक बहसमा १४ हजारको नगदी रसिद दिएर ३५ हजार रुपैयाँ लिएको तथ्य बाहिर आएको छ । पीडितहरुले आफूले सामान्य मुद्दामा पनि सीडीओ कार्यालय जस्तो ठाउँमा घुस दिनुपरेको भन्दै दुःखेसो पोखे । 

प्रजिअ रिजालले उक्त रकम सोही मुद्दामा पीडित भनिएकालाई क्षतिपूर्ति दिन लिएको बताए । त्यस्तै रिजालले रेणु तामाङको ९० हजार रुपैयाँ आफैँले राखेर र भोलिपल्ट माग्न आएपछि क्वार्टरमा लगेर दिएको बताए । त्यसैगरी कालिञ्चोक १ का दुई स्थानीयहरुको पनि रकम फिर्ता गरेको उनले बताए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie