‘दुई वर्षभित्र कर्णाली उज्यालो बनाउछौंं’

‘दुई वर्षभित्र कर्णाली उज्यालो बनाउछौंं’

सल्यान, कात्तिक २२ 
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले अँध्यारोमा रहेको कर्णालीलाई आगामी दुई वर्षभित्रमा झिलिमिली बनाउने बताएका छन् । सल्यानमा आयोजित एक कार्यक्रममा उनले सरकारले समृिद्धको सपना बोकेर काम अगाडि बढाइरहेको भन्दै अबको दुई वर्षपछि कर्णाली प्रदेशका कुनै पनि नागरिक अँध्यारोमा बस्नु नपर्ने बताए । 

सरकारले कर्णाली प्रदेशका सबै बस्तीमा विद्युत पु-याउनका लागि युद्धस्तरमा काम गरिरहेको उनको भनाइ थियो । कर्णाली प्रदेशका ६१ प्रतिशत नागरिक अहिले पनि विद्युतको पहुँचबाट बाहिर रहेका छन् । सरकारले विद्युतीकरणलाई प्राथमिकता दिएर काम अगाडि बढाइरहेकोले अब कुनै पनि नागरिक विद्युत सेवाबाट वञ्चित हुनुनपर्ने मन्त्री पुनले बताए । 

अहिले कर्णालीका सबै बस्तीमा विद्युत पु¥याउनका लागि संघ, प्रदेश र स्थानीय सरकारले बजेट विनियोजन गरी काम अगाडि बढाइरहेको उनले जानकारी दिए । मन्त्री पुनले कर्णाली प्रदेशभित्रका नदीनालाबाट पनि बहुउद्देश्यीय आयोजना निर्माण गर्न सक्ने सम्भावना रहेकाले त्यस्ता योजनाको अध्ययन गरिने बताए । सल्यानकै कालीमाटी गाउँपालिकामा– ९३ मेगावाटको जलाशययुक्त विद्युत निर्माणका लागि अध्ययन भइसकेको उनले बताए । 

गाउँपालिकाको असहयोगका कारण प्रतिवेदनसमेत बुझ्न नसकिएको उनको भनाइ थियो । प्रतिवेदन बुझिसकेपछि योजना बनाउन सम्भव या असम्भ के हुन्छ प्रभावित क्षेत्रका बासिन्दालाई के गर्ने भन्ने कुरा पछि गर्ने भएकोले प्रतिवेदन बुझाउने वातावरण तयार गराउन सबैले सहयोग गर्न मन्त्री पुनले अनुरोध गरे । 

‘विद्युतीकरणमा विगतका वर्षमा बजेट विनियोजन गर्दा रकम फ्रिज भएर जाने गर्दथ्यो, अब त्यो अवस्था आउने वातावरण सिर्जना नगर्नुस् । आफ्ना नागरिकलाई उज्यालो दिन सबै स्थानीय तहले अभियान सञ्चालन गर्नुस्’, उनले भने । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशले विद्युतीकरणलाई पहिलो प्राथमिकता दिएको जानकारी दिए । 

‘कर्णालीका धेरै बस्ती विकट छन् । त्यहाँ विद्युतीकरण गर्न सजिलो छैन । तर पनि हामी अबको दुई वर्षमा विद्युत पु¥याएरै छोड्छौं’, उनले भने । विद्युत पुगेपछि अन्य धेरै सम्भावनाका ढोका खुल्ने भएकाले प्रदेश सरकारले पनि विद्युतीकरणलाई प्राथमिकतामा राखेको जानकारी दिए । कर्णाली प्रदेशमा विद्युतीकरणका लागि विद्युत प्राधिकरणको प्रदेशस्तरीय कार्यालयको स्थापना गरिसकेको भन्दै मन्त्री ज्वालाले प्रदेशभित्र पनि सम्भावित जलविद्युत आयोजनाको अध्ययन गरिने बताए ।

बुधबार संघीय सरकारमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले जिल्लाको दार्मा गाउँपालिकामा बिजुलीको उद्घाटन गरेका थिए । योसँगै जिल्लाका १० वटै स्थानीय तहका केन्द्रसम्म विद्युत पुगेको छ । सल्यानमा हालसम्म ३५ प्रतिशत नागरिक विद्युतको पहुँचभित्र रहेको विद्युत प्राधिकरण सल्यानका प्रमुख अर्जुनकुमार पोखरेलले जानकारी दिए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस