गाउँपालिका फुटाउने एजेण्डामा कांग्रेसको आपत्ति

गाउँपालिका फुटाउने एजेण्डामा कांग्रेसको आपत्ति

दोलखा, कात्तिक २२ 
नेपाली कांग्रेस दोलखाले कालिञ्चोक गाउँपालिकामा प्रशासनिक केन्द्रको विषयलाई लिएर भएको विवाद र गाउँपालिका फुटाउनका लागि आवह्वान गरेको विशेष गाउँसभाप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ । कांग्रेसले बिहीबार एक विज्ञप्ति जारी गरी कालिञ्चोक गाउँपालिकाको वडा नम्बर ७, ८ र ९ लाई फुटाएर भीमेश्वर नगरपालिकामा गाभ्ने र १ देखि ६ नम्बरसम्मका बाँकी वडाहरू टुक्राउने एजेण्डा आफूहरूलाई मान्य नहुने बताएको छ ।

कांग्रेस दोलखाका सचिव सन्तोष रिमालद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टीभित्र उत्पन्न भएको विवाद मिलाउने नाममा र व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि गाउँपालिका फुटाउने काम विशेष गाउँसभाबाट पारित नगर्न भनिएको छ । गाउँपालिकाको केन्द्र निर्वाचित जनप्रतिनिधिहरूले विधि र प्रक्रियाबाट टुंगो लगाउनुपर्ने कांग्रेसको भनाइ छ । भूगोल फुटाउने र टुक्राउनेजस्तो जनविरोधी निर्णय भएमा त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी सम्बन्धित दल वा सम्बन्धित पक्षले लिनुपर्ने चेतावनी पनि दिएको छ । 

यता कालिन्चोक गाउँपालिकाको स्थायी केन्द्र निर्धारण, वडा नम्बर ७, ८ र ९ लाई भीमेस्वरमा गाभ्न सहमति प्रदान गर्ने तथा बाँकी रहेका वडाहरूको पुनर्संरचना गर्ने विषयमा गाउँपालिकाले बिहीबारका लागि विशेष गाउँसभा बोलाएको थियो । तर, गाउँसभा भने रोकिएको छ । स्थानीय जनप्रतिनिधिबीच सहमति नहुँदा स्थिति जटिल बनेको थियो । नेकपाबाट निर्वाचित जनप्रतिनिधिलाई पार्टीले निरन्तर छलफलमा राखेर वैकल्पिक प्रस्तावमा सहमत हुन निर्देशन दिँदै तत्काल गाउँसभा रोक्न निर्देशन दिएको हो । जिल्ला पार्टीले गाउँसभा रोक्न निर्देशन दिएसँगै विशेष गाउँसभा स्थगित भएको छ ।

गाउँपालिका अध्यक्ष बिनकुमार थामी र उपाध्यक्ष कालिका पाठकबीच गाउपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विवादले पालिकाको दैनिक कार्य समेत अहिले ठप्प भएको छ । अध्यक्ष थामी र उपाध्यक्ष पाठक दुवै नेकपावाट निर्वाचित जनप्रतिनिधि भए पनि विगत तीन वर्षदेखि गाउँपालिका केन्द्रको विषयमा विवाद बढिरहेको छ । पालिका उपाध्यक्ष पाठकको वडामा रहेको पालिकाको अस्थायी केन्द्रबाट दुई साताअघि कात्तिक ३ गते मध्यराति ताला फुटाएर पालिकाका महत्वपूर्ण कागजपत्र र सामग्रीहरू अध्यक्ष थामीको वडा लापिलाङको बन्देथली सारेपछि विवाद झन् चर्किएको छ । पालिकाको विवाद बढेसँगै अध्यक्ष थामीले उपाध्यक्षको वडासहित वडा नम्बर ७, ८ र ९ लाई भीमेस्वर नगरपालिकामा पठाइदिन भन्दै विशेष गाउँसभा बोलाएका थिए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस