बिरामीको मृत्युपछि ब्लुक्रस हस्पिटलमा तनाव

बिरामीको मृत्युपछि ब्लुक्रस हस्पिटलमा तनाव

काठमाडौं, कात्तिक २२ 
गत असोज ९ गते हात दुखेको उपचार गर्न ब्लूक्रस अस्पताल त्रिपुरेश्वरमा आफैं सवारी चलाएर पुगेका कपनका शेरबहादुर खत्रीको एक महिनापछि निधन भएको खवर सार्वजनिक भएपछिको घटनाक्रमले अस्पतालमा तनाव चुलिएको छ । अस्पतालले खत्रीको कात्तिक १५ गते पौने ५ वजे निधन भएको घोषणा गरेको थियो । हात दुखेर जचाउन पुगेका खत्रीलाई अस्पतालले आइसीयूमा राखेर उपचार गरेको थियो । उनका परिवारजनलाई समेत भेट्न दिइएको थिएन र सीसा वाहिरबाट मात्र विरामी देखाउने गरेका थिए ।

मृत घोषणा भएपछि परिवारले घाँटीमा अप्रेशन गरिएको थाहा पाएपछि उनीहरु आन्दोलित बनेका थिए । तर अस्पताल व्यवस्थापनले मृतक खत्रीका परिवारसँग सम्झौता गरेर सबै घटनाक्रम र वास्तविकतालाई ढाकछोप गरेको छ । खत्रीको पुख्र्यौली घर ओखलढुंगा रहेको वुझिएको छ ।

अस्पताल व्यवस्थापनले मृत्युको कुरो नउठाउने सहमति गरेर उनको उपचारमा लिएको शुल्क ४० लाख रुपैयाँ फिर्ता दिएको, भर्ना हुँदा डिपोजिट गरिएको ४ लाख रुपैयाँ फिर्ता दिएको, विल भएको औषधीको रकम फिर्ता दिएको र मृतक खत्रीका ३ वर्षे छोरालाई दश कक्षासम्म अस्पतालले पढाई खर्च व्यहोर्ने सहमति गरेपछि मृतकका परिवार आन्दोलन गर्ने मुडबाट पछि हटेका थिए । यस सम्बन्धमा यस्तै भएको हो त भनी आर्थिक दैनिकका प्रतिनिधिले वुधवार टेलिफोन सम्पर्क गर्दा अस्पतालका सदस्य सचिव रजत श्रेष्ठले अस्पतालमा भर्ना भएका विरामी शेर वहादुर खत्रीको स्वाभाविक निधन भएको बताए ।

विरामी खत्री हात दुख्यो भनेर मोटरसाइकलको पछाडि वसेर आएर अस्पतालमा भर्नाभएका हुन्, उनको परिवारका सदस्यलाई पनि सबै थाहा थियो, केश जटिल रहेछ, उपचार गर्दा गर्दै निधन भयो । उनले भने– ‘त्यसपछिको अरुकुरा नाटक जस्तै हुन्, पैसा नतिर्न गरिएको मात्रै हो ।’ मृतकका परिवारसँग कुनै सहमति गरिएको पनि छैन भनेर प्रतिक्रिया दिए । उनले भने– ‘उनीहरुसँग लास उठाउने पैसा पनि थिएन, के को पैसा लिनु ?’ उनीहरुसँग कुनै सहमति नभएको उनले प्रतिक्रिया दिए पनि आर्थिक दैनिकले पीडित पक्ष र अस्पताल वीच भएको सहमति प्राप्त गरेको छ । उक्त सहमति पत्रमा स्वयम् रजत श्रेष्ठले पनि हस्ताक्षर गरेका छन् ।

यस सम्बन्धमा मृतककी छोरी देवी खत्रीसँग सम्पर्क गर्दा उनले आफ्नो वुवाको स्वाभाविक निधन नभएको वताएकी छन् । उनले असोज ९ गते स्कुटरमा गएर ओपीडीमा जचाउनु भएको १६ गते घाँटीको अप्रेशन गरिएको, अप्रेसनपछि होस आएको, १७ गते देखि होस् हराएको त्यसपछि निको हुन्छ भनेर हामीलाई झुक्याएको, सही जानकारी नदिएको, इण्डिया लान्छौं रिफर गरिदिनु भन्दा नगरेको, भेन्टिलेटरमा राखेको, ट्रयाकस्टोमी गरेको,सीभीपी लाइन गरेको, एमआरआई गरेको उनीहरुलाई जे मन लाग्यो त्यही गरेको र अन्त्यमा ४० दिनपछि मृत घोषित गरेको वताइन् ।

अप्रेसन गर्ने डाक्टर प्रज्वलमान पछाडिको ढोकावाट भागेको पनि उनले वताइन् । उनले आइसीयूमा ढोका थुनेर विरामीलाई थुनेर जानकारी नदिएपछि आफू जर्वजस्ती भित्र छिरेको वताइन् । त्यसपछि त्यहाँ आफूलाई किन आएको भनेर उनीहरुले हप्काए पनि आफूले चिच्याएर त्यो डाक्टर खै भनेपछि अप्रेसन गर्ने डाक्टरलाई पछाडिको ढोकाबाट भगाइएको बताइन् ।

अमेरिका र अष्ट्रेलियाबाट दिदी वहिनीले पैसाको चिन्ता नगर्नु, डाक्टरलाई हायर गर्नु परेपनि गर्नु भनेका थिए र पैसा नभएको भए क्याविनमा राखिने पनि थिएन भन्दै उनले यो सरासर वदमासी हो र सामाजिक न्यायाकालागि भएपनि नछाड्ने वताइन् । उनले भनिन्– अप्रेसन गर्दा अष्टमीको दिन डिस्चार्ज गर्ने भनेका थिए तर अप्रेसन गरेको भोली पल्टदेखि आइसीयूमा राखे, भेन्टिलेटरमा राखे, अन्त्यमा यस्तो गरिदिए । उनले भनिन्– मेरो वुवाको नर्मल निधन होइन । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस