बैंक अफ काठमाण्डूको ऋण दुरुपयोग आरोप लागेका छ जना पक्राउ

बैंक अफ काठमाण्डूको ऋण दुरुपयोग आरोप लागेका छ जना पक्राउ

काठमाडौं, कात्तिक २२
नक्कली कागजात तयार गरी चार करोड ६० लाख ठगी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । राजमार्गसँग जोडिएको जग्गा देखाएर खोलाको बगर धितो राखी ठगी गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरू बैंक अफ काठमाण्डू (बीओके)को ऋण दुरुपयोग गर्ने समूहका थप छ जना हुन् । नक्कली कागजात बनाएर काठमाडौं ३१ का सुरेन्द्र श्रेष्ठले सञ्चालन गरेको स्वर्णिम एण्ड श्रीजन कम्पनीको लागि बैंकबाट चार करोड ६० लाख रुपैयाँ कर्जा निकालिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

पक्राउ पर्नेमा सुनसरी इटहरीका एभरेष्ट कन्सल्टेन्सीका इञ्जिनियर भेषराज खत्री, मोरङ बेलबारी–३ का इञ्जिनियर कर्ण चामलिङ, मकवानपुर हेटौंडा–४ घर भई काठमाडौं–३१ नयाँ बानेश्वरमा बस्दै आएका सुरेन्द्र श्रेष्ठ, काठमाडौं–३ महाराजगञ्ज चक्रपथका भुपेन्द्र श्रेष्ठ, चितवन भण्डारा–९ घर भई हाल काठमाडांै नयाँ बानेश्वरमा बस्दै आएका ऋषिश्वर थपलिया, उदयपुर गाईघाट घर बताउने हाल काठमाडौं–७ चाबहिलमा बस्दै आएका कृष्ण कार्की रहेका छन् ।

‘बैंकिङ कसुर र सरकारी छाप कीर्ते गरी नक्कली कागजात तयार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो’, प्रवक्ता श्रेष्ठले भने, ‘राजमार्गसँगै जोडिएको जग्गाको नक्कली नक्सा बनाएर खोलाको बगर धितो राखेको पाइयो ।’ उनीहरुले झापा कन्काई–९ स्थित कित्ता नं ३५९६ को ०–२–१० बिघा र कित्ता नं ३२७१ को ०–२–० बिघाको जग्गाको कीर्ते नक्सा तयार गरी खोला बगरको जग्गालाई राजमार्गमा जोडिएको जग्गा देखाएर ठगी गरेको उनले बताए । उनीहरुविरुद्ध गत असोज ६ गते जिल्ला प्रहरी कार्यालय झापामा मुद्दा दर्ता भएको थियो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यही ऋण दुरुपयोग आरोमा बीओकेका पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठलगायत पक्राउ परिसकेका छन् । रासस (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस