‘अत्यधिक चिसो नै कृषि क्षेत्रको मुख्य चुनौती हो’

‘अत्यधिक चिसो नै कृषि क्षेत्रको मुख्य चुनौती हो’

रोल्पाका दशवटा स्थानीय तहहरूमध्येको एक स्थानीय तह हो थबाङ गाउँपालिका रोल्पा । विकट क्षेत्रको रूपमा चिनेने उक्त गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित जनप्रतिनिधिको रूपमा कार्यरत छन् बिर बहादुर घर्ती मगर । जनअधिकारका लागि विगतदेखि संघर्षरत मगर २०४४ सालको विद्यार्थी जीवनबाट अखिल क्रान्तिकारीको राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । २०४६ सालको जनआन्दोलनमा जनमोर्चामा आबद्ध भई नियमितरूपमा विद्यार्थी संगठनमा सक्रियता जनाउँदै अगाडि बढेका घर्ती मगरले २०४९ सालमा वाईसीएलमा आबद्धता जनाएका थिए । जनताका अधिकारहरूलाई स्थापित गर्न शक्ति संघर्षको रूपमा २०५२ सालमा सांगठनिकरूपमा जनयुद्धको घोषणा गरी भूमिगत बनेको तत्कालीन माओवादीमा स्वंसेवक दल, लडाकु दल, छापामार दलको विभिन्न सफल जिम्मेवारी सम्हालेका घर्ती मगर एक कुशल राजनीतिज्ञको रूपमा रोल्पामा परिचित छन् । २०६२÷६३ सालको जनआन्दोलनको समयमा जनमुक्ति सेनाको ब्रिगेट कमाण्डरको जिम्मेवारी सम्हालेका घर्तीमगरले शान्ति प्रक्रियापछिको सेना समायोजनमा स्वैच्छिक अवकास लिएर राजनीतिक धार समातेका थिए । तत्कालीन समयमा राज्य कमिटी सदस्य रोल्पा निर्वाचन क्षेत्र नं. १ को संयोजक भई पदीय पार्टीगत जिम्मेवारी सम्हालेका घर्तीमगर हाल नेकपाको जिल्ला कमिटी सदस्य पनि हुन् । जनप्रतिनिधि जनताकै भएकोले जनताका सबै प्रकारमा समस्याहरूको समाधान गर्नु मुख्य जिम्मेवारी रहेको बताउने वीरबहादुर घर्ती मगरसँग जनमञ्च साप्ताहिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको संक्षिप्त अंश :

विकास निर्माणमा थबाङ गाउँपालिकाको अवस्था कस्तो छ ?

कमजोर नै छ । सोचेअनुरूप हुनसकेको अवस्था छैन । हिजोको तुलानामा विकासले फड्को मारेको छ । वडा कार्यालयसम्म सडकको पहुँच, सबै वडाहरूमा स्वास्थ्य संस्था, विकट क्षेत्रहरूमा सामुदायिक स्वास्थ्य संस्थाहरू स्थापना भएका छन् । एक घर एक धाराको अवधारणाले द्रुत गति लिएको छ । कृषि र पर्यटकीय क्षेत्रको विकासको लागि आवश्यक योजनाहरू तर्जुमा गर्दै अगाडि बढेका छौं । शिक्षा क्षेत्र सुधार हुँदै गएको छ । यातायातको पहुँच बढ्दो छ । समग्रमा विकास निर्माणको क्षेत्रमा जग बसिसकेको छ । समयक्रम सँगै पूर्णता पाउनेमा आशावादी छौं ।

गाउँपालिकाका स्थानीयहरूको मुख्य आम्दानीको स्रोत के हो ?

कृषि नै प्रमुख हो । निर्वाहमुखी कृषि प्रणालीले गर्दा आयात नगरी जिविकोपार्जन हुँदैन । उद्योग कलकारखाना तथा अन्य रोजगारमूलक क्षेत्रहरू नहुँदा विदेशिनु पर्ने बाध्यता छ । प्रत्येक घरबाट एक वा सोभन्दा बढी दोस्रो र तेस्रो मुलुकमा रोजगारीको लागि गएको अवस्था छ । एक अर्थमा भन्नुपर्दा रेमिट्यान्सले धानिएको छ । चाहेर पनि कृषि क्षेत्रको विकास दु्रत गतिमा गर्न नसक्नु सबैभन्दा विडम्बनाको कुरा हो ।

कृषि क्षेत्रमा विकासमा अवरोध सृजना हुनुको कारण के हुन सक्छ ?

धेरै चिसो हुनु नै मुख्य समस्या हो । चिसोमा ढिलो उत्पादन हुने हुँदा उत्पादन लागत बढी हुन्छ । जसको कारणले खेती किसानीतर्फ आकर्षण बढ्न सकेको छैन । आकर्षण बृद्धिको लागि गाउँपालिमा चरणबद्धरूपमा छलफल पनि गर्ने गरेका छौँ ।

वैदेशिक रोजगारलाई कम गर्ने केही योजनाहरू कार्यान्वयनमा ल्याउनुभएको छ ?

छैन, कठिन छ । कृषि क्षेत्रमा लगाउने पर्याप्त आधारहरू छन् न त उद्योग कलकारखाना नै छन् । अलि ठूलो योजना बनाऔं भने पनि बजेटको पर्याप्तता छैन । भौगोलिक विकटता, यातायातको समस्याजस्ता केही कारणहरूले रोजगारीका अवसरहरू सृजना गर्नसक्ने अवस्था न्यून हुँदा समस्या देखिएको छ ।

के–कस्ता चुनौतीहरूका साथ योजनाहरू सञ्चालन गर्नुभएको छ ?

चिसोले कृषि क्षेत्रको विकास गर्ननसक्नु एउटा चुनौती हो भने, यातायात अर्को चुनौती हो । तीन चार महिना लगाएर सडक बनायो बर्खामा पहिरोले सबै मिहेनत बगाउँछ । प्याकेज बनाएर कृषि क्षेत्रको विकास र पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धनात्मक विकास नै एउटा आधार हो ।

चालू आर्थिक वर्षको कति बजेटमा कुन–कुन क्षेत्रका योजनाहरू कार्यान्वयनमा ल्याउनुभएको छ ?

कुलबजेट १८ करोड रूपैयाँ हो । त्यसमा संघीय सरकार, प्रदेश सरकारका विभिन्न शीर्षकका अनुदानहरू पनि रहेका छन् । उक्त बजेटको पुँजीगत बजेटबाट पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटनलगायतका क्षेत्रहरूका योजनाहरू रहेका छन् ।

१८ करोड रूपैयाँ बजेट त पर्याप्त छ होला नि ?

चालू खर्च र पुँजीगत खर्च गरी दुवै क्षेत्रमा लगाउनु पर्ने हुँदा विकास बजेट कम पर्छ । जनसंख्याको हिसाबले सानो देखिए पनि यहाँका आवश्कताहरू धेरै छन् । पहिल्यैदेखि पछाडि परेको क्षेत्र हुँदा अगाडि ल्याउनको लागि धेरै संघर्ष गर्नुपर्ने हुन्छ । त्यसमा पनि सीमित बजेट ब्रेकर बन्दछ । बजेट न्यून हुँदा आवश्यकताहरू स्वतः खुम्चिन्छन् जसले दु्रत गतिमा काम गर्नसक्ने सम्भावना पनि कम नै हुन्छ ।

मुख्य समस्याका क्षेत्रहरू के–के हुन ?

आफैँमा समस्याको विषय बनेको प्रमुख समस्या भौगोलिक विकटता हो । उज्वल भविष्यको निर्माण गर्ने शिक्षा क्षेत्रमा पनि उत्तिकै समस्या छ । अहिलेको समयमा पनि तीन÷चार घण्टाको यात्रा गरेर अध्यापन गर्न जानुपर्ने बाध्यतात्मक अवस्थाले साना–साना नानीबाबुको भविष्यप्रति हामी गम्भीर बनेका छौं । उज्यालोको समस्या पनि उत्तिकै छ । उक्त समस्यालाई समाधान गर्न सौर्य ऊर्जा प्रयोगमा ल्याउँदै राष्ट्रिय प्रसारण लाइन पनि जोड्नुपर्नेमा जोड दिएका छौं । सानो–सानो क्षेत्रफलमा खेती र छाडा चौपायाले पु¥याउने नोक्सानीहरू प्रमुख हुन् ।

गाउँपालिकामा साक्षरताको अवस्था कस्तो छ ?

सरदरमा ३०÷३५ प्रतिशत छ । अहिलेसम्म एक जनाले पनि खरिदारमा नाम निकालेर निजामति सेवामा सेवारत रहेको अवस्था छैन ।

विगतका दुई आर्थिक वर्षमा बजेट खर्चको अवस्था कस्तो रह्यो ?

राम्रै रह्यो । पहिलो वर्ष कार्यसम्पादनमा देखिएको केही अन्योलता, कर्मचारी अभाव, अनुभवी कर्मचारीको अभावले केही समस्या पारे पनि निर्धारित समयमै करिब ८५ प्रतिशतभन्दा बढी विकास बजेट खर्च गर्न सफल भयौँ । दोस्रो वर्ष ९५ प्रतिशत बजेट खर्च ग¥र्यौं भने चालू आवमा पनि ९५ प्लस खर्च गर्ने लक्ष्यका साथ अगाडि बढेका छौं ।

नीति नियम, निर्माणको अवस्था कस्तो छ ?

हालसम्म १७ वटा जति ऐन, नियम, कार्यविधि बनाएका छौं । मुख्य समस्या भनेको ग्रामीण क्षेत्रमा कर्मचारी आउन नमान्नु र आएका कर्मचारीले सिकाउलान्भन्दा सिकाउनुपर्ने हुँदा द्रुत गतिमा चाहेर पनि काम गर्न नसक्ने अवस्था छ । सबैले सुविधासम्पन्न क्षेत्र र सहर मात्र रोजाइमा पार्ने हुँदा ग्रामीण तथा पहाडी र हिमाली क्षेत्रको विकासको लागि सरकार बढी सक्रिय हुनुपर्ने देखिन्छ । जसले जता रोज्छ त्यही पठाउने गलत परम्पराको अन्त्य नहुँदासम्म पीछडिएका क्षेत्रहरूको विकास
हुन सक्दैन ।

नीति नियम ऐन कानुन तथा कार्यविधिहरू पर्याप्त छन् त ?

छैनन्, आवश्कताअनुसार निर्माण गर्दै जाने रणनीति बनाएका छौं । कर्मचारी अभावकै कारणले गर्दा सोचेजस्तो सफलता पाउन सकिएको अवस्था छैन् । काम गर्दै जाँदा एक दिन गन्तव्यमा पुग्न सकिनेमा आशावादी छौं ।

अन्त्यमा, यहाँले कल्पना गरेको थवाङ गाउँपालिका कस्तो छ ?

सबैका चाहना र आवश्यकताहरू त असीमित र महत्वाकांक्षी हुन्छन् । हामी पनि त्यसैका उदाहरण्ीय पात्रहरू हौं । सीमित स्रोत र साधनको बन्धनमा बाँधिनुपर्ने बाध्यताले सोचेजस्तो सफलता पाउन त कठिन नै हुन्छ तर पनि बलियो जग बसाल्ने गरी कार्यसम्पादन गरेका छौं । जग बलियो भएपछि त्यसभन्दा माथिको प्रक्रियामा जसले पनि अगाडि बढाउन सक्छ । जुनसुकै क्षेत्रमा पनि बलियो जगको आवश्यकता हुनेहुँदा जग बसाल्नु महत्वपूर्ण उपलब्धि हो । सम्भावनाहरूलाई कार्यान्वयन गर्दै स्रोत र साधनको अत्यधिक परिचालन गरेर अगाडि नबढेसम्म विकास निर्माणमा फड्को मार्न सकिँदैन । विकास हरेक क्षेत्रको आवश्यकता भएकोले विकास निर्माणमा एक भएर
लाग्नु पर्छ ।

प्रतिकृया दिनुहोस



विविध

Techie