“महिला अधिकार नारामा मात्र होईन व्यावहारमा पनि हुनुपर्छ”

“महिला अधिकार नारामा मात्र होईन व्यावहारमा पनि हुनुपर्छ”


चेतकुमारी थापा
उपाध्यक्ष, रैनादेवी छहरा गाउँपालिका पाल्पा

चेतकुमारी थापा रैनादेवी छहरा गाउँपालिका पाल्पाकी उपाध्यक्ष हुन । शैक्षिक पेशाबाट राजनीतिमा प्रवेश गरेकी थापा एक कुशल लोकप्रिय गायिका समेत हुन । दर्जनौं गीत संगितमा आवाज दिईसकेकी थापा २०४० सालमा पाल्पाको दोभानमा जन्मिएकी हुन । शिक्षा संकायबाट आईएड गरेकी थापाले १८ बर्षको कलिलो उमेरमै शैक्षिक पेशा अंगालेकी थिईन । दुई बर्ष निजी श्रोतमा शैक्षिक संस्थामा अध्यापन गराएकी थापाले २०६० सालमा स्थायी शिक्षकको अध्यापन अनुमति पत्र (लाईसेन्स) पाएसँगै प्राविको दरबन्दीमा निमावि सम्म अध्यापन गराएकी थिईन । २०७४ सालको स्थानिय तहको निर्वाचनमा भाग लिन शैक्षिक पेशाबाट अवकास लिई राजनीतिमा प्रवेश गरेकी थापा राजनीतिक आधारमा भन्दा लोकप्रियताको आधारमा नेपाली काँग्रेसको टिकट पाउन सफल भएकी थिईन । गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भई जनप्रतिनिधीको रुपमा काम गर्ने अवसर पाएकी थापा महिलाहरुको हकहितको विषयमा अक्सर आवाज उठाउने गर्दछिन । महिला अधिकारको सवालमा शब्द एकातिर र व्यवाहारिक पक्ष अर्कोतिर रहने गरेको बताउने रैनादेवी छहरा गाउँपालिका पाल्पाकी उपाध्यक्ष चेत कुमारी थापा सँग जनमञ्च साप्ताहिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको संक्षिप्त अंश ः


पेशा नै परिवर्तन गरेर राजनीतिमा आउनु भयो यसको कारण के होला ?

आफ्नो लगनशिल कार्य र चाहनाले त मान्छेलाई सफल बनाउँछ नै त्यसमा अरुको पनि चाहना र भावना समेटियो भने त्यसले जिवनलाई फरक क्षेत्रमा पनि सफल बनाउने हैसियत राख्दछ । बुवाको म प्रतिको सानैदेखिको शिक्षक बनाउने चाहनालाई उच्च सम्मान गर्दै शिक्षकको रुपमा १६ बर्ष सम्म कार्यरत रहेभने बुवा आमा लगायत स्थानिय आमाबुवा दाजुभाई दिदीबहिनीहरुले म जनप्रतिनिधी भएर काम गरेको देख्न चाहेको हुँदा उहाँहरुकै चाहना अनुसार राजनीतिमा प्रवेश गरे । पारिवारिक पृष्ठभूमि र म बाट समाजमा सुरु देखि नै भएको सकारात्मक सन्देश प्रवाहले राजनीतिमा स्थापित गराउने आधार सृजना गरेको हो । सिङ्गो गाउँपालिकामा पार्टीले मलाई योग्य, सक्षम, ईमान्दार देखेर उपाध्यक्षको निर्वाचनमा समावेश गराउनु र स्थानियले मतदान गरेर निर्वाचित गराउनु मेरा लागि सबै भन्दा खुशीको कुरा हो । पहिले त राजनीतिमा लाग्छु भन्ने केही सोच नै थिएन । तर अहिले लागिसकेपछि जनताको बीचमा रहेर जनताका कामहरु गर्ने निधो गरेकी छु । स्थानियहरुमा पनि म जनप्रतिनिधी भएर काम गर्दा रौनक देखिएको छ । उहाँको रौनकलाई यथावत राख्न उहाँहरुलाई परेका पीरमर्काहरुमा मल्हम लगाउनको लागि राजनीतिमा थप सक्रिय हुनुपर्ने आवश्यकता देखेकी छु ।


शैक्षिक पेशाबाट त पूर्ण रुपमा अवकास लिनु भयो अब सांगितिक क्षेत्रप्रतिको सोच कस्तो छ ?

राजनीतिमा आएपछि सांगितिक पेशा केही ओझेलमा परेको छ । पहिला जस्तो सक्रिय हुन सकेको अवस्था छैन । निर्वाचित जनप्रतिनिधी भएपछिको पहिलो जिम्मेवारी जनसेवा भएकोले त्यसबाट बचेको समय नै सांगितिक क्षेत्रका लागि उपयोग गर्ने गर्दछु । मनोरञ्जनात्मक तरिकाले सामाजिक रुपान्तरणमा गीत संगितको भूमिका पनि महत्वपूर्ण हुने हुँदा बचेको समयलाई सदुपयोग गरेर समाजमा सकारात्मक सन्देशको प्रवाह गर्ने गीत गाउनु राम्रो पक्ष हो जस्तो लाग्छ । अहिले बर्षमा एक दुईवटा विकृति र विंसंगति न्यूनिकरण गर्ने प्रकृतिका गीतहरु गाउँदै आएकी छु । जुन निरन्तर नै रहन्छ ।


स्टेज कार्यक्रमहरुमा कत्तिको उपस्थिती जनाउनु हुन्छ ?

पहिला जस्तो छैन् । ठुला–ठुला राष्ट्रिय र अन्तर्राष्ट्रिय सांगितिक कार्यक्रम मेला महोत्सव बाहेक अन्य सानातिना कार्यक्रमहरु ओझेलमा परेका छन् । कतिपय अवस्थामा प्रमुख अतिथी भएर बसेको कार्यक्रममा कलाकार भएर गीत गाउनु सोभनीय नदेखिने हुँदा सानातिना कार्यक्रममा कार्यक्रम सम्पन्न पछि गीत गाएर कला प्रस्तुत गर्ने गरेकी छु । निश्चयपनि पहिला जस्तो छैन नै ।


प्रमुख अतिथी भएर कार्यक्रमको आतिथ्यता गरिरहेको समयमा गीत गाउन असहज भएजस्तो हुँदैन ?

हुँदैन । वास्तवमा कला र गला अथवा आफू सँग भएको क्षमता लुकाउनु भनेको आफूले आफैलाई गरेको अपराध हो । क्षमता छ, कला छ, देखाउन के अप्ठ्यारो मान्नु प-यो र ! बरु त्यही कलालाई सामाजिक क्षेत्रको विकास सँग जोडेर प्रस्तुत गरियो भने त्यसले झन प्रभावकारीता निभाउँछ ।


न्याययिक समीतिको संयोजक अर्थात गाउँपालिकाको न्यायधिसको रुपमा रहने उपाध्यक्ष पदमा रहेर कार्यसम्पादन गर्न चुनौतीहरु आउँछन् ?


खासै त्यस्ता चुनौतीहरु त आएका छैनन् । तरपनि न्याय दिलाउनु भनेको आफैमा चुनौतीपूर्ण कुरा हो । प्रत्येक वडा कार्यालयहरुमा मेलमिलाप केन्द्रहरु छन् । ति केन्द्रहरुले मिलाउन नसकेको अवस्थामा मात्र गाउँपालिकामा आउँदछन् । सबैपक्षहरुलाई समावेश गरेर मसिनो भन्दा मसिनो कुराहरुलाई केलाएर निष्पक्ष रुपमा काम गरिने हुँदा अदालत जानुपर्ने केशहरु बाहेक सबै गाउँपालिकामै मिल्ने गरेका छन् ।


धेरैजसो विवादहरु कुन क्षेत्रका आउँछन् ?

घरेलु हिंसाका विवादहरु धेरै हुन्छन् । चेतनाको कमीको कारणले हुने घरेलु हिंसाहरुलाई न्यूनिकरण गर्न गाउँपालिकाले विभिन्न जनचेतनामूलक कार्यक्रमहरु पनि गर्दै आएको छ । पछिल्लो समयमा घरेलु हिंसाको दर घट्दै गएको छ । नागरिकहरु सचेत बन्दै जानु र स्थानिय सरकारले चेतनाको बृद्धि गर्नु पनि हिंसात्मक गतिविधीको अन्त्य गर्ने प्रमुख आधार हो ।


हालसम्म गाउँपालिकामा दर्ता भएका मुद्दाहरुको संख्यात्मक र फस्र्योट अवस्था कस्तो छ ?

धेरै विवादहरु मेलमिलाप केन्द्रबाट हुने हुँदा गाउँपालिकामा जम्मा आठ वटा मुद्दाहरु दर्ता भएका छन् । दर्ता मुद्दाहरु सबै फस्र्योट भएका छन् भने ति मध्ये अधिकांस घरेलु हिंसा सम्बन्धित छन् ।


महिला नेतृत्वको गाउँपालिकाको सबैभन्दा दोश्रो ठुलो पदीय जिम्मेवारीमा हुनुहुन्छ, महिलाहकहीतमा गाउँपालिकाबाट के कस्ता कार्यक्रमहरु भएका छन् ?

अवश्यपनि एउटा महिलाले अर्को महिलाको समस्या बुझ्न सक्दछन् र बुझ्नु पर्दछ । देशमा महिला अधिकारहरुको संरक्षण गर्नको लागि राजनीतिमा महिलाहरुलाई दिएको अधिकार इतिहासकै कोशेढुङ्गा सावित हुनेछ । पछिल्लो समयमा महिलाहरु घरको चुल्हो चौखोभन्दा बाहिर आएर बाहिरी संसार देख्न सक्ने वातावरणको सृजना भएको छ । जिवनस्तर उस्किएको छ । स्टजमा आएर दुईचार शब्दहरु मन्थन गर्न सक्ने वातावरण बनेको छ । आत्मनिर्भर बनेर आफ्नो खुट्टामा उभिनुपर्छ भन्ने चेतनाको विकास भै व्यावहारिक पक्ष पनि सोही अनुसार परिवर्तन हुँदै गएको छ । स्थानिय सरकारबाट भएका प्रोत्साहनमूलक तथा सीपमूलक कार्यक्रमहरुले जिवनस्तर उकास्ने वातावरणको सृजना भएको छ । रैनादेवी छहरा गाउँपालिकाले पनि महिला लक्षित कार्यक्रमहरु अन्र्तगत सिलाईकटाई गर्ने, बुटिक बनाउने, परालको चप्पल बनाउने, ढाका बुन्ने, चुरापोते बनाउने जस्ता सीपमूलक तालिमहरुको व्यवस्था गर्दै आएको छ । जसले महिलाहरुमा छुट्टै खालकको हिम्मत आएको हामीले महसुस गरेका छौं ।


स्थानिय सरकारले दिने धेरै तालिमहरु आदर्श र लोकप्रियताका लागि मात्र भए व्यावहारिक पक्ष कमजोर भयो भन्ने सुनिन्छ नी ?

केहीहद सम्म यहाँले भनेको कुरा सत्य छ । हामी पनि त्यो विषयमा धेरै चिन्तित छौं । हाम्रो उद्देश्य एक हुन्छ तर तालिमकर्ताले त्यसको वास्तविकता नबुझ्दा समस्या देखिएको हो । शतप्रतिशतमा त्यो समस्या नभएतापनि केहीमा त्यो समस्या देखिएकोले हामीले त्यसको समाधानको उपाय खोजिरहेका छौं । तालिम लिएपछि तालिमको उद्देश्य अनुरुप चल्नुपर्छ भनेर वारम्बार दोहो-याउँदै आएका छौं । कहिंकतै पारिवारबाट पनि उद्देश्यपुर्तीको लागि बञ्चित गरिएको छ भने कतै स्वम् तालिमकर्ताको चाहना तालिम लिएर मात्र बस्ने हुँदा शतप्रतिशत व्यावहारिक पक्ष समात्न सकेको अवस्था देखिंदैन । कतिपय त तालिम लिईसकेपछि प्रशिक्षकको रुपमा पनि स्थापित हुन सफल हुनु भएको छ जुन हाम्रा लागि खुशीको कुरा हो । उत्पादनको बजारीकरणको जिम्मा गाउँपालिकाले गर्दछ, तपाईहरु उत्पादन बढाउने तर्फ केन्द्रित हुनुपर्छ भन्दै आएका छौं । पछिल्लो समयमा महिला उद्यमीको संख्या बृद्धि हुँदै गएको छ । आश गरौं अबको दुई÷चार बर्षमा गाउँपालिकाका महिला दिदीबहिनीहरु आफ्नो खुट्टामा आफै उभिन सक्ने हुनुहुन्छ । गाउँपालिकाको लक्ष्य पनि त्यही हुँदा लक्ष्य प्राप्तीको लागि परिश्रम त गर्नु नै पर्छ । परिश्रम गरिसकेपछि नहुने भन्ने हुँदैन । ढिलो चाँडो अवश्य हुन्छ ।


अन्त्यमा, महिला अधिकार सम्बन्धी राज्यको नीतिमा यहाँका धारणाहरु के–कस्ता छन् ?

पछिल्लो समयमा महिला अधिकार सम्बन्धी राज्यको नीति एकदमै राम्रो छ । तर नीतिको त विकास भयो व्यावहारिक पक्षको विकास हुन नसक्दा समस्या देखिएको हो । भन्दा ५० प्रतिशत अधिकार भन्ने तर दिंदा १०÷१५ प्रतिशत पनि नदिने परम्परागत सोच नै दुभाग्र्य हो । हो, विभिन्न क्षेत्रहरुमा महिलाहरुको उपस्थिती बढ्दै गएको छ । तर जुन रुपमा बढ्नु पर्ने हो त्यो रुपमा बढ्न सकेको छैन । महिलाहरुलाई जिम्मेवारी नदिएर सक्दैनन् भनेर पन्छ्याउनु भन्दा जिम्मेवारी दिएर सक्छन् कि सक्दैनन् भनेर हेर्नु पर्दछ । त्यसैले नारामा मात्र सीमित हाम्रो देशको महिला अधिकारलाई व्यावहारमै उतार्न सकेको अवस्थामा मात्र समृद्ध नेपाल बन्न सक्छ । जनमञ्च साप्ताहिकबाट

 

 

प्रतिकृया दिनुहोस



विविध

Techie