जिम्मेवारीलाई चुनौती भन्दा अवसरको रुपमा लिन सक्नु पर्दछ

जिम्मेवारीलाई चुनौती भन्दा अवसरको रुपमा लिन सक्नु पर्दछ

लक्ष्मी खनाल
उपाध्यक्ष, रिब्दीकोट गाउँपालिका पाल्पा


२०२६ सालमा गुल्मीको बलेटक्सारमा जन्मिएकी लक्ष्मी खनाल कर्मघर अन्र्तगतको क्षेत्र रिब्दीकोट गाउँपालिका पाल्पाकी उपाध्यक्ष हुन । सामाजिक काममा बढी सक्रियता देखाउने खनाल अरुका समस्याहरुलाई सहजै बुझेर समाधानको लागि आवश्यक कदम चाल्ने सानैदेखिको बानी हो । २०४०/४१ सालमा कम्यूनिष्टको राजनीतिमा सामान्य रुपमा लागेकी खनाल २०५० सालमा तत्कालिन एमालेको राजनीतिमा सक्रियता पूर्वक लागेकी थिईन । वार्ड कमिटी, गाउँ कमिटी, ईलाका कमिटी, क्षेत्रीय कमिटीको सिढीं चढ्दै जिल्ला कमिटी सदस्य सम्म बनेकी खनाल हाल नेकपाको जिल्ला कमिटी सदस्य छन् । महिलाहरुको अधिकारका लागि गाउँपालिकाका अधिकांस बैठक तथा गाउँसभामा आवाज उठाउने खनाललाई स्थानिय स्तरका महिलाहरुले प्रेरणाको श्रोत पनि मान्दछन् । आफ्ना लागि आफै परिश्रम गरेर खुट्टामा उभिनुपर्छ भन्ने मान्यता राख्ने खनालले महिला उद्यमशिलताको विकासको लागि महिलाहरुमा उत्प्रेरणा पनि दिने गर्दर्छिन । महिलाहरुलाई उनीहरुको अधिकार सम्पन्न नबनाएसम्म देश विकासको पथमा लम्किन नसक्ने धारणा राख्ने रिब्दीकोट गाउँपालिका पाल्पाकी उपाध्यक्ष लक्ष्मी खनाल सँग  पोसकान्त पोखरेलले गरेको कुराकानीको संक्षिप्त अंश ः


न्याययिक समीतिमा बसेर कार्यसम्पादन गर्न कत्तिको सहज छ ?


कुनै पनि फुटेका चिजलाई जोड्नु आफैमा सहज कार्य होईन । एक आपसमा बाँझिएर फाटेका मनलाई मेलमिलाप गराउन सक्नु नै चुनौती पछिको सन्तुष्ट अवस्था हो । काममा सहज र असहज दुबै परिस्थितीको सृजना हुनेभएतापनि मलाई त्यति कठिन लागेको छैन । २०४८÷४९ साल देखि विवाद हुने ठाउँ तथा कचहरीहरुमा सहजीकरणको काम गर्दथे । अहिले न्यायधिसको रुपमा भन्दापनि गाउँमा के कारणले विवाद बढेको हो फिल्डमै गएर मेलमिलाप गराउन धेरै सहज भएको छ । त्यसमा हामी कसरी चल्ने र के गर्ने, गर्न सक्ने वा नसक्ने भन्ने कुरा आफैमा निर्भर हुन्छ । न्याययिक समीतिमा परेका उजुरीहरुलाई सहज, सरल र न्यायिकसंगत ढंगबाट गरेका छौं । जिम्मेवारीलाई चुनौतीको रुपमा भन्दापनि अवसरको रुपामा लिएर काम गरेको हुँदा त्यसले धेरै सहज बनाएको छ । मुख्य कुरा के कति कारणले मन नमिलेको हो, त्यो कुराको सुस्म अध्यनपछि दिलाईने निष्पक्ष न्यायले मानवताको विकास गर्न भूमिका खेल्दछ । कुनैपनि काममा जिम्मेवारीपूर्ण तरिकाले ईमान्दार भएर गरिन्छ भने त्यो काम सफल पार्न धेरै सहज हुन्छ । बर्खाको भेलसरी आउने कू–तत्वहरुले क्षणिक रुपमा झिनो असर पारेतापनि दीर्घकालिन रुपमा सत्यको नै जीत हुन्छ ।


न्याययिक क्षेत्रमा विगतका दुई बर्ष र चालु आवको बर्तमान समय सम्मको मुद्दा दर्ताको संख्यात्मक अवस्था कस्तो छ गाउँपालिकामा ?


कार्यसम्पादनको पहिलो बर्ष अर्थात आर्थिक बर्ष २०७४/७५ मा जम्मा १३ वटा मुद्दाहरु दर्ता भएका थिए भने गत आर्थिक बर्ष २०७५/७६ मा पनि १३ वटै मुद्दाहरु दर्ता भएका थिए । त्यसैगरी चालु आर्थिक बर्षको आठ महिनामा दश वटा मुद्दाहरु दर्ता भएका छन् । दुबै आर्थिक बर्षका मुद्दाहरु सोही सोही आवमा निरुपण भएका छन् भने चालु आर्थिक बर्षमा दर्ता भएका दश वटा मुद्दाहरु पनि निरुपण गरिसकेका छौं । सरदरमा हेर्दा चालु आवमा पनि विगतका आर्थिक बर्षहरुमा जत्तिकै संख्यामा मुद्दा दर्ता हुने देखिन्छ ।


मेलमिलापको लागि विशेष गरेर के–कस्ता मुद्दाहरु दर्ता हुने गर्दछन् ?


धेरै अंशवण्डा सम्बन्धित मुद्दाहरु दर्ता भएका छन् । अंशवण्डा परिवारका सदस्यहरु बीच हुने भएतापनि परिवार भित्रैको कलहले पक्कै पनि राम्रो सन्देश दिंदैन । घर नसुध्री गाउँ, गाउँ नसुध्री जिल्ला, जिल्ला नसुध्री प्रदेश, प्रदेश नसुध्री देश नसुध्रीने हुँदा परिवार भित्र त्यस किसिमको कलह अन्त्य हुनु पर्छ भन्ने हाम्रो चाहना हो । त्यो बाहेक लेनदेन, श्रीमान श्रीमति बीचको झगडा र घरायसी झगडाहरु जस्ता प्रकृतिका मुद्दाहरु दर्ता हुने गरेका छन् ।


न्याययिक क्षेत्रमा बाहेक अन्य कुनकुन क्षेत्रमा गाउँपालिकाको उपाध्यक्षको बढी भूमिका हुन्छ ?


समग्रमा अध्यक्ष पछिको पद उपाध्यक्ष भएकोले कहिलेकांही अध्यक्षको अनुपस्थितीमा उपाध्यक्षले केही जिम्मेवारीहरु सम्हाल्नुपर्ने हुन्छ । न्याययिक क्षेत्रको जिम्मेवारी सहित राजश्व परार्मश, बजार अनुगमन, कार्यक्रम तथा योजनाहरुको अनुगमन, फरक क्षमता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण लगायतका कामहरु रहेका हुन्छन् । काममा व्यस्त रहिरहने अवस्था भएतापनि सिकेर प्रयोगमा ल्याउने अवसरपनि प्राप्त भएकोले थप सन्तुष्ट मिलेको छ ।


महिलाहरुको नेतृत्व गर्दै गाउँपालिकाको उपाध्यक्ष पदमा हुनुहुन्छ, समग्र रिब्दीकोटका महिलाहरु दैनिक दिनचर्या कसरी चलेको छ ?


सबैका आ–आफ्नै कामहरु छन् । कोही गृहणी हुनुहुन्छ त कोही व्यावसायी हुनुहुन्छ । कोही शिक्षक हुनुहुन्छ भने कोही अन्य जागिर गरेर पनि बस्नु भएको छ । सबैको आफ्नै तौरतरिकाबाट दिनचर्या चलेको छ ।


कमजोर आयश्रोत हुने महिलाहरुको आयश्रोत बृद्धिमा गाउँपालिकाले नयाँ खालका योजनाहरु ल्याएको छैन् ?


ल्याएको छ । हाम्रो लक्ष्य भनेकै आत्मनिर्भरताको बाटो देखाउनु हो । गाउँपालिकाका प्रत्येक नागरिक आफ्ना लागि आफै गर्न सक्नुपर्छ भन्ने चाहना अनुसारका विभिन्न कार्यक्रमहरु गर्दै आएका छौं । माग अनुसारका तालिम तथा प्रशिक्षणको व्यवस्था मिलाउने, क्षमताबृद्धिका आधारहरु खोजी व्यावहारिकतामा रुपान्तरण गर्ने । प्रोत्साहनमुखि व्यावसायिक कृषि प्रणाली लगायतका विभिन्न कार्यक्रमहरु गर्दै आएका छौं । पछिल्लो समयमा ग्रामिण क्षेत्रमा जनशक्तिको अभाव प्रमुख समस्याको रुपमा देखिएको छ । केही युवाशक्ति रोजगारीको लागि दोश्रो र तेश्रो मुलुक गएका छन् भने केही अन्य विभिन्न वाहनामा शहर तथा तराई पसेका छन् । गाउँमा महिला केटाकेटी र बृद्धबृद्धाहरु मात्र हुँदा ग्रामिण क्षेत्रको विकासमा केही अवरोध सृजना भएको छ । गाउँमा भएका खेतीयोग्य जमिनहरु बाँझिएका छन् । बाँझिएका खेतीयोग्य जमिनहरुमा व्यावसायिक कृषि गर्ने हो भनेपनि यहि राम्रो आम्दानी गर्न सकिन्छ । गाउँपालिकाले व्यावसायिक कृषिलाई जोड दिंदै विभिन्न प्रोत्साहनका कार्यक्रमहरु अगाडी बढाएका छौं । आय आर्जनका कामहरुमा बन्यजन्तुले सताएको अवस्था छ । पर्यटन पशुपालन र कृषिमा बढी सम्भावना छ ।


विशेष गरेर महिलाहरुका लागि के–कस्ता कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् ?


वर्तमान समयमा महिलालाई सक्षम बनाउन धेरै क्षेत्र समेट्नु पर्ने हुन्छ । क्षमता विकासको लागि क्षमता अभिबृद्धि गर्ने प्रकृतिका कार्यक्रमहरु, आयआर्जनको लागि व्यावसायिक क्षेत्रका पेशागत कार्यक्रमहरु, आत्मविश्वास बृद्धिको लागि विभिन्न योजनाहरु ल्याउनु पर्ने भएकोले सोही खालका कार्यक्रमहरुको साथ अगाडी बढेका छौं । ढाकाका सामाग्रीहरु बनाउने, सिलाई कटाई गर्ने, बुटिक, चुरापोते बुन्ने, परालका चप्पल बनाउने, बत्ति काट्ने जस्ता सीपमूलक तालिमको माध्यमबाट महिलाहरुले आयश्रोत बृद्धि गरी आत्मनिर्भर बन्न सक्ने आधारहरु बनाएका छौं । महिला दिदी बहिनीहरुलाई कृषि क्षेत्रमा आकर्षित गर्न समुहमा विभिन्न विउविजनहरु वितरण गर्दै आएका छौं ।


तालिम लिएर प्रयोगमा ल्याउने भन्दा नल्याउनेहरु धेरै हुन्छन् भन्ने सुनिन्छ नी ?


गाउँपालिका हुनुभन्दा पहिला धेरै तालिमहरु दिने गरिएको थियो । दश प्रतिशत बिनियोजित बजेटबाट विभिन्न तालिम, शसक्तिकरण कार्यक्रम र भ्रमण गरेर खर्च गर्ने गरिथ्यो । तर गाउँपालिका निर्माण भएसँगै सीपमूलक र क्षमता विकास मात्र नभई तालिम पश्चात उहाँहरुले कति प्रगति गर्ना सक्नु भयो भएन भनेर पनि हेरिने गर्दछ । एउटा कार्यक्रम गरिसकेपछि त्यो कार्यक्रमको बारेमा अनुगमन गरेर समीक्षा गरिसकेपछि मात्र अर्को कार्यक्रमको तय गर्दछौं । जसले व्यावहारिक पक्षलाई थप निखार बनाउन मद्दत गरेको छ । जुन अवस्थालाई सून्यमा झार्ने रणनीति अनुरुप सञ्चालित भएको हुँदा अवका दिनहरुको त्यसको अवस्था नगन्य रहन्छ ।


कृषि क्षेत्रमा महिलाहरुको उपस्थिती कत्तिको छ ?


यहाँ भएको धेरै कामहरु महिला दिदी बहिनीहरुबाट भएको छ । कृषि क्षेत्रमा पनि उहाँहरुको उपस्थिती प्रसंशनीय छ । तरकारी संकलन केन्द्रको स्थापना गरेर तरकारी बिक्री वितरणको व्यवस्था मिलाएका छौं । त्यसैगरी सहकारी मार्फत पनि तरकारी विक्री वितरण गर्नु भएको छ । क्रमश जिवनशैलीमा परिवर्तन हुँदै गएको छ । विकास र परिवर्तन भन्ने वित्तीकै एकैपटक बटन थिचेर हुने कुरा होईन । केही समय पर्खिनु त पर्छनै । विगतका बर्षहरुमा भन्दा धेरै फरकपन देखिएको छ ।


अन्त्यमा, गाउँपालिकाका महिला दिदी बहिनीहरुको अधिकार र हकहितका विषयमा के–कस्ता योजनाहरुको साथ अगाडी बढ्नु भएको छ ?


भविष्यका लागि व्यक्तिगत भन्दा सामुहिक रुपमा उहाँहरुको क्षमता बृद्धि कसरी गर्न सकिन्छ भन्ने योजनामा छौं । अब शसक्तिकरण र क्षमता विकासलाई सँग सँगै आयआर्जनको पाटोमा जोड्ने तयारीमा छौं । उहाँहरुको क्षमता, रुची अनुसार बस्ती स्तरबाटै योजना छनोट गरेर उहाँहरुलाई गाउँमै राख्ने वातावरण बनाउनु अहिलेको प्रमुख आवश्यकता पनि हो । आर्थिक बर्ष २०७७/७८ सालका योजनाहरु पनि सोही प्रकृतिका बनाउने योजना बनाएका छौं । कृषि, पशु पर्यटनमा उलेख्य प्रगति गर्नु समृद्ध रिब्दीकोट बनाउने एउटा आधार भएकोले ति क्षेत्रहरुको प्रवद्र्धनात्मक विकासमा गर्दै उत्पादनमा आधारित अनुदान दिने व्यवस्था मिलाएका छौं ।अग्नि परीक्षा राष्ट्रिय साप्ताहिक

 

प्रतिकृया दिनुहोस



विविध

Techie