‘प्लाष्टिकमुक्त क्षेत्र बनाउनु नै हाम्रो मुख्य चाहना हो’

‘प्लाष्टिकमुक्त क्षेत्र बनाउनु नै हाम्रो मुख्य चाहना हो’

काठमाण्डौँ,फागुन १८
प्लाष्टिक आवश्यक मात्र नभएर नोक्सानी पनि हो । सरसामान राख्न नभई नहुने भए पनि सही सदुपयोग हुन नसकेको अवस्थामा यसले मानिसको जीवनमा पनि असर गर्दछ । यदि खेतबारीमा प्लाष्टिक फालियो भने त्यसले उत्पादनमा असर पारेको हुन्छ । जलाइयो भने त्यसले पृथ्वीमा कार्बनको मात्रा वृद्धि गरी जलवायु परिवर्तनमा नकारात्मक असर पार्दछ । फाइदाभन्दा नोक्सान बढी भएपछि पछिल्लो समयमा प्लाष्टिकको प्रयोग घट्दै जान थालेको छ । प्लाष्टिकको विकल्पको रूपमा अल्लो, जुट, कागजबाट झोला, गिलास, वस्तुहरू तयारीमा अग्रसरता बढ्दै गएको छ । नेपालको सन्दर्भमा नेपालमा पनि विस्तारै विस्तारै प्लाष्टिकका झोला, गिलासलगायत प्लाष्टिक सम्बन्धित अन्य सामग्रीहरूको प्रयोग घट्दै गएको छ । केही स्थानीय सरकारहरू खुला प्लाष्टिकमुक्त अभियानमा पनि लागेका छन् । प्लाष्टिकको विकल्पको रूपमा उत्पादन गर्ने उद्योगहरू पनि स्थापना हुँदै गएका छन् । सोहीमध्ये केही समयअघि सञ्चालनमा आएको उद्योग हो साङ्लो गु्रप एण्ड इण्डष्ट्रिज प्रालि । तिलोत्तमा नरपालिका–१४ मा स्थापना भएको उक्त उद्योगले हाल ननओभन झोलाहरू उत्पादन गरी बजारमा पठाउन सुरु गरेको छ । वातावरणीय सौन्दर्यमा नगरपालिकाको खुला शून्य पोलिथिनयुक्त नगरपालिका घोषणामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको साङ्लो ग्रुप एण्ड इण्डष्ट्रिज प्रालिका अध्यक्ष खिमानन्द भुषालसँग समसामयिक विषयमा रहेर जनमञ्च साप्ताहिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीः

प्लाष्टिकको वैकल्पिक उत्पादन गर्ने सोच कसरी बनाउनुभयो ?
उद्योग सञ्चालनका कारणहरू त धेरै छन् । नाफा कमाउने उद्देश्यदेखि सामाजिक सेवा, औद्योगिक विकास, रोजगारीका अवसरहरूको सृजना पनि त्यसमध्येकै हुन् । थोरै थोरै पुँजी भएको तर उक्त पुँजी प्रयोगमा ल्याउन नसकेको अवस्थालाई मध्यनजर गर्दै पुँजी एकीकृतरूपमा परिचालन गरी आर्थिकस्तर वृद्धिको लागि उद्योगको अवधारणा आएको हो । उद्योगमा लगानी गर्ने सबै लगानीकर्ताहरू यही क्षेत्रका हुनुहुन्छ । हाम्रो मुख्य उद्देश्य भनेको स्वरोजगार मात्र नभई रोजगारीका अवसरहरू सृजना गरी स्थानीय स्तरको विद्यमान बेरोजगारीलाई कम गर्नु पनि हो । पर्याप्त मात्रामा उद्योग कलकारखानाहरू खोलिन नसक्नु र विगतमा केही उद्योगहरूमा देखिएका समस्याहरूका बाबजुत पनि कत्ति विचल्ली नभई सक्छौँ र गर्छौँ भन्ने आँटले साङ्लो ग्रुप एण्ड इण्डष्ट्रिजको स्थापना भएको हो । जहाँसम्म उद्योगको उत्पादनको कुरा छ त्यो वातावरणीय सौन्दर्यमा महत्वपूर्ण भूमिका खेल्दै उत्पादनको बजारीकरणको लागि पनि सहज हुने हुँदा ननओभन झोलालाई प्राथमिकता दिएका हौँ ।

उद्योग सञ्चालन गर्ने अवस्थासम्म आउँदा लगानी कति भयो ?

जग्गा जमीनसहित करिब चार करोड लगानी लागेको छ । जुन सामूहिकरूपमा २५ जना लगानीकर्ताहरूको सक्रियताले थोरै–थोरै पुँजी संकलन गरी गरिएको हो । भविष्यका थप लगानीका क्षेत्रहरूको कुरा गर्दा केही समयभित्रै सञ्चालनमा ल्याउने गरी रिर्सोटको परिकल्पना पनि गरेका छौँ । त्यसको लागि ठाउँ खोज्ने कार्य भैसकेको छ । त्यस्तै नन्ओभन झोला उत्पादन गर्ने उद्योगहरू मिलेर कच्चापदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्ने अवधारणा अगाडि सारेका छौँ । त्यस सम्बन्धमा विभिन्न प्रकारका छलफलहरू चरणबद्धरूपमा हुँदै आएका छन् । धेरै जनाको लगानीले सञ्चालन भएको उद्योग हुँदा बजारीकरणको लागि हामीलाई धेरै सहज अवस्था छ । सानो–सानो छरिएर रहेको पुँजीलाई एकीकृत गरी परिचालन गर्दा यस क्षेत्रको विकासमा ठोस योगदान पुग्नेमा हाम्रो विश्वास छ । निरन्तररूपमा प्रभावकारी ढंगबाट कार्यसम्पादन गर्दा असफलता होलाजस्तो लाग्दैन ।

यहाँको स्थानीय सरकार शून्य खुला पोलिथिन युक्त नगरपालिका बनाउने अभियानमा लागेको छ, स्थानीय स्तरको एक मात्र उद्योग बजारीकरणको अवस्था कस्तो छ ?

खासगरी हामीले उत्पादन गर्दै आएको वातावरणमैत्री झोला तत्कालको लागि व्यापक हुने अवस्था नभए पनि दीर्घकालीनरूपमा यसको भविष्य निश्चित छ । उत्पादनसँगै बजारमा पनि राम्रो बिक्री वितरण भएको छ । हामीभन्दा पहिला यस्ता अन्य उद्योगहरूको स्थापना भए पनि हाम्रो गुणस्तरीय उत्पादनले द्रुत गतिमा बजार ओगट्न सक्ने अवस्था देखिँदै गएको छ । मुख्य समस्या भनेको अस्वस्थ प्रतिस्पर्धाको हो । हामीलाई जसले कच्चापदार्थ उपलब्ध गराउँछ सोही कम्पनीहरूले नै बजार बिगारेका छन् । जसले गर्दा हामीले कच्चापदार्थ उत्पादन गर्ने उद्योग खोल्ने योजना बनाएका हौँ । उद्योगहरूबीच बेला बेलामा छलफल भैरहेका छन् । उहाँहरू पनि सकारात्मक हुनुहुन्छ । सबै उद्योगहरूलाई पुग्नेगरी यही ठाउँमै उद्योगको स्थापना गरौँ भन्ने मोटामोटी कुराहरू भएका छन् । अब छिट्टै टुङ्गोमा पुग्दछ ।

लगानीमैत्री वातावरण नभएको उद्योगीहरूको गुनासो बढ्दै गएको समयमा उद्योग सञ्चालनमा चुनौती देख्नुभएको छैन ?

हामीले वातावरणमैत्री उद्योग स्थापना गर्न खोजिरहँदा आर्थिकदेखि अन्य विभिन्न खालका समस्याहरू चाङ नै छन् । समयसापेक्षताको कुरा गर्दा देश विकासको गतिमा अगाडि बढ्दै छ । जसरी नागरिकहरूले राज्यलाई सहयोग गर्न खोजेका छन् तर राज्यस्तरबाट त्यसको कदरको रूपमा प्रभावकारी सेवा प्रवाह गर्न नसक्नु नै मुख्य समस्या हो । दर्ता प्रक्रियादेखि हरेक कुराहरूमा न स्थानीय सरकार न प्रदेश र संघीय सरकार कुनैबाट पनि अपेक्षित सहयोग पाउन सक्ने अवस्था सृजना भएको छैन । पछिल्लो समयमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनलाई सहयोग पुग्नेगरी स्थापना हुनु र नगरपालिकाको वातावरणमैत्री अभियानमा भरपुर सहयोग पुग्नुले पनि केही सहयोग आउनेमा अपेक्षा गरेका छौँ ।

कसैको करछुट, कसैको अनुदान धेरैका धेरै अपेक्षा हुन्छन् राज्यसँग, यहाँहरूको अपेक्षा के होला ?

हामीसँग महत्वाकांक्षी चाहना त केही पनि छैनन् । तिलोत्तमा नगरपालिकाले वातावरणीय सौन्दर्यताका विभिन्न खालका योजनाहरू ल्याएको छ । हामीले सहयोगी भूमिका निभाएका छौँ । त्यस हिसाबले पनि नगरपालिकाले हामीलाई सोही दृष्टिकोणबाट हेर्नुपर्छ । राज्यस्तरबाट पनि उद्योग सञ्चालनमा ल्याउने बेलासम्म विभिन्न प्रकारका कठिनाइहरू आउने गर्दछन् । राज्यलाई कर बुझाउने कुरामा समेत नागरिकले दुःख पाउनु भनेको सबैभन्दा विडम्बनाको कुरा हो । बजारीकरणमा पनि अस्वस्थ्य प्रतिस्पर्धा धेरै छ । बजारीकरणमा पनि ध्यान दिनुपर्ने देखिन्छ । प्लाष्टिकमुक्त क्षेत्र भन्नेबित्तीकै हुने कुरा होइन । यसको लागि धेरै संघर्ष गर्नु पर्दछ । प्लाष्टिकको विकल्पमा यो छ है, यो उत्पादन प्रयोग गर्नुपर्छ भन्ने वातावरण सृजना गर्नुपर्ने देखिन्छ । जबसम्म सकारात्मक कुराहरूको विकास हुन सक्दैन तबसम्म हाम्रा योजनाहरूले सफलता पाउने अवस्था कम हुन्छ । प्लाष्टिकमुक्त अभियानमा विकल्पको रूपमा काम गरिरहेका क्षेत्रहरूको उत्थान नै अहिलेको मुख्य आवश्यकता हो । राज्यले ती क्षेत्रहरूको विकासमा जति धेरै सहयोग गर्छ त्यतिधेरै राज्यलाई नै आर्थिक, सामाजिक, रोजगारी तथा अन्य क्षेत्रहरूमा सहयोगहरू पुगिरहेको हुन्छ ।

नेपालको औद्योगिक क्षेत्रको विकासमा के–कस्ता समस्याहरू देख्नुभएको छ ?

मुख्य समस्या त दर्ता प्रक्रिया नै हो । दर्ता गरेर उद्योगी बन्ने प्रयास गर्दै उसको एक वर्ष बित्ने अवस्था छ । लाखौँ रूपैयाँ दर्ता प्रक्रियाले खाँदा कसरी लगानीकर्ताले उद्योगमा लगानी वृद्धि गर्न सक्छ । राज्यस्तरबाट दर्ता प्रक्रियाका झन्झटिला कुराहरूलाई समाधान गरी सहज वातावरणको सृजना गर्न सक्नुपर्छ । त्योबाहेक बिजुली, पानी, सडक फोहर व्यवस्थापनलगायतका अन्य धेरै समस्याहरू पनि विद्यामान समयमा देखिएका छन् । स्थानीयहरूको पनि उद्योगले यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ भन्ने कुरा बुझ्दाबुझ्दै उद्योगलाई समस्यामा पारेर कसरी लाभ लिने भन्ने गतल सोचको विकास हुनु पनि उद्योग क्षेत्रमा लगानीमैत्री वातावररण बन्न नसक्नुको आधार हो ।

आर्थिक क्षेत्रको विकासमा उद्योगको भूमिका कस्तो झल्किन्छ ?

अबको केही समयमा हामीले कच्चामाल उत्पादन गर्ने उद्योग स्थापना गर्ने योजना बनाएका छौँ । यस क्षेत्रमा कच्चामाल उत्पादन गर्ने उद्योगहरू नभएको अवस्था र विभिन्न समस्याहरूलाई मध्यनजर गर्दै उक्त योजना सुरु भएसँगै उद्योग क्षेत्रको विकासमा हाम्रो उपस्थिति थप मजबुत हुन्छ । बाहिरबाट वस्तु आयात गर्ने सन्दर्भमा उद्योग स्थापना भएसँगै भारत चाइनाबाट आयात गर्ने वस्तु आयात गर्नु पर्दैन । भारतमा पनि पूर्ण प्लाष्टिकमुक्त अभियान सञ्चालनमा आउने संकेत देखिएकोले हाम्रो उत्पादन पनि भारतमा निर्यात हुने अवस्था देखिन्छ ।

नेपाली उत्पादनले भारतीय बजारसँग प्रतिस्पर्धा गर्न सक्ला त ?

अवश्य पनि सक्छ । नेपालमा कच्चामाल उत्पादन गर्ने पेट्रोलियम पदार्थ भारतबाट नभई अन्य देशबाट आउँछ । नेपालमा आउँदा सस्तो पर्छ भने त्यही माल भारतमा महँगो पर्दछ । सस्तो मूल्यमा हामीकहाँ आएपछि त्यसबाट उत्पादित कच्चापदार्थको लागत मूल्य पनि कम पर्न जाने हुँदा तयारी सामानको पनि मूल्य कम भई नेपाली बजारमा भन्दा भारतीय बजारमा बढी बिक्री हुने अवस्था देखिन्छ ।

( राष्ट्रिय जनमञ्च साप्ताहिक )

प्रतिकृया दिनुहोस


Techie