निर्यातजन्य निटिङ निडल्स उद्योगीको व्यथा, दर्ता गर्न मात्र विदेशबाट पाँच पटक आउनुप-यो

मिर्जा राशिद बेग उद्योगी

निर्यातजन्य निटिङ निडल्स उद्योगीको व्यथा, दर्ता गर्न मात्र विदेशबाट पाँच पटक आउनुप-यो

नेपालमा स्थापना भएका उद्योगहरूमध्ये शत प्रतिशत निर्यात गर्ने उद्योग निकै कम होलान् । निर्यात अझै त्यो पनि युरोप र अमेरिकाको बजारमा । नेपाली समाजले पत्याउन गाह्रो हुने यो कुरा विशुद्ध सत्य हो । यसरी शत प्रतिशत निर्यात गर्न सक्षम उद्योग इम्बार्क इन्टरनेशनल हो भने कपिलवस्तुमा रहेको सो उद्योगका निर्माता हुन्, उद्योगी मिर्जा राशिद बेग । आफूलाई युवा उद्यमी भन्न रुचाउने बेग चीनमा व्यवसायीको रूपमा पहिचान बनाइसकेका छन् । मातृभूमिको मायाले नेपालमा उद्योग स्थापना गरी केही योगदान गर्न सकिन्छ भनेर नेपालको उद्योग क्षेत्रमा लगानी गरेको बताउँछन् । नेपाली उद्योगीभन्दा पहिला चीनको व्यवसायी भएका बेगसँग उनको उद्योग र नेपालमा औद्योगिक वातावरणको विषयमा कुराकानी गरेका छौँ । प्रस्तुत छ युवा उद्योगी बेगसँग आर्थिक दैनिकका लागि प्रवीण राउतले गरेका कुराकानी :

निटिङ निडल्स भन्नुभयो, हाम्रो समाजले यसलाई कपडा बुन्ने सुइरो भन्छ । यो भन्दा गलत होइन्छ ? युरोप र अमेरिकाको बजार नै किन ? नेपाली उपभोक्ता छैनन् र ?

नेपाली चलनमा भन्दा सुइरो नै हो, त्यसैले तपाईं गलत हुनुहुन्न । खासमा यसलाई जाल सुई भनिन्छ । हामी विदेशमा बसेका र विदेशीले पनि बुझ्ने हुँदा निटिङ निडल्स भन्छौँ । तपाईंले भनेजस्तै कपडा बनाउनको लागि हिजोका दिनमा हाम्रो समाजका केही पुरुषबाहेक महिलाहरूले कपडा बुन्ने गरेको सुइरो नै हो । मैले त्यही उत्पादन गरेको हुँ । जुन काठको हो, वातावरणमैत्री छ भने रकमको हिसाबले चाहिँ फलाम वा स्टिलको निडल्सभन्दा महँगो छ । एक पटक उत्पादन गरेपछि २० वर्षसम्म ढुक्कका साथ प्रयोग गर्न सकिन्छ । काम भनेको कपडा बुन्ने नै हो ।
युरोप र अमेरिकाको बजार नै किन भने यो नेपाली बजारमा पाइने निडलभन्दा फरक रहेको छ । नेपाली बजारमा रड वा स्टिलको निडल मात्र पाइन्छ । अर्को कुरा भनेको फलामको निडलभन्दा काठको निडलको मूल्य बढी हुन्छ जसले गर्दा नेपाली उपभोक्ताले प्रयोगमा ल्याउँछन्जस्तो लाग्दैन । तर, नेपाली बजारमा नल्याउने भने होइन माग भएमा नेपाली बजारमा सहजै बिक्री वितरण गर्छु ।

लामो समय प्रयोग गर्न सकिने रहेछ, यसको उत्पादन कसरी गर्नुहुन्छ ? अनि उद्योग स्थापनाको लागि लगानीचाहिँ कति गर्नुभएको छ ?

लामो समय प्रयोग मात्र होइन मेरो उत्पादन वातावरणमैत्री पनि छ । काठको निडल्स हुँदा प्रयोग गर्नेलाई कुनै असर गर्दैन र अर्कोतर्फ भन्ने हो भने युरोप र अमेरिकाको बजार भनेको गुणस्तरीय बजार हो । त्यसैले मैले निडल्स निर्माण गर्दा गुणस्तरलाई विशेष जोड दिएको छु । युरोप र अमेरिकाको बजार एसियाको बजारको गुणस्तरले चल्दैन । जसले गर्दा गुणस्तरमा ध्यान नदिँदा भोलिका दिनमा मलाई र मेरो कम्पनीलाई समस्या हुन सक्छ । गुणस्तरीय उत्पादनको लागि मैले यसमा प्रयोग गर्ने कच्चापदार्थ उत्तरतर्फको छिमेकी मुलुक चीन र रसियाबाट ल्याउने गरेको छु । यसको कच्चापर्दाथ भनेको काठ नै हो, जसको बारेमा म सार्वजनिक गर्न सक्दिन । निडल्स निर्माणको लागि विशेष किसिमको काठ प्रयोग गुर्नपर्ने हुन्छ जुन चीन र रसियामा पाउने हुँदा म त्यहाँबाट ल्याँउछु र त्यसको प्रयोग गरी निडल्स उत्पादन गर्छु । मैले वार्षिक ५० लाख जोडी निडल्स उत्पादन तथा निर्यात गर्दै आएको छु अर्थात् वार्षिक पाँचदेखि आठ करोड रूपैयाँबराबरको निडल्स निर्यात गर्दै आएको छु ।

लगानीको विषयमा कुरा गर्दा मेरो चाहना भनेको नेपालमा उद्योग स्थापना गर्नु थियो । त्यसको लागि सम्भव भएसम्म लगानीका लागि जति रकम आफूले जोहो गर्न सक्छु ती सबै लगानी गर्ने योजना बुनेको थिएँ । सोही योजनाअनुरूप हाललाई भने एउटा उद्योग मात्र स्थापना गरेको छु भने यसलाई वृद्धि गर्दै लैजाने मेरो सोच रहेको छ । निटिङ निडल्स उद्योग स्थापनको लागि मैले झण्डै पाँँच करोड रूपैयाँ लगानी गरेको छु । ठूलो जोखिम मोलेर लगानी गरेको हुँ । सामान उत्पादन गरेर युरोप र अमेरिकाको बजारमा लानु थियो त्यसैले जोखिम मोलेर नेपाल आएको हुँ । मेरो विचारमा म चीनलगायत अन्य मुलुकमा पनि सो उद्योग स्थापना गर्न सक्थेँ तर नेपालको मायाले आएको हुँ ।

विदेशमा उद्योग व्यवसायलाई नजिकबाट नियाल्नुभएको तपाईंले नेपालमा चाहिँ उद्योग स्थापनाको वातावरण कस्तो पाउनुभयो ?

म चीनमा बस्ने हुँदा नेपालको तुलनामा चीनमा उद्योग खोल्न सहज छ । अलिकति चीनको कुरा गरौँ । चीनमा आफ्नो नागरिक होस् वा विदेशी, उद्योग खोल्ने भनेपछि सम्पूर्ण सुविधाहरू सरकारले उपलब्ध गराँउछ । जस्तो कि तपाईंको उद्योलाई आवश्यक पर्ने सडक, बिजुली, पानीलगायतका भौतिक पूर्वाधार तथा उद्योग दर्ता सहजरूपमा हुन्छ । अझै कतिपय अवस्थामा त बजारसमेत देखाउने गरेको छ । तर, नेपालमा उद्योग दर्ता गर्नसमेत सहज नभएको पाएँ । उद्योग दर्ताको लागि नेपालमा भएका अधिकारीबाट सम्भव भएन र म आफैं आउनु प-यो ।

मैले सम्पूर्ण कागजातसहित नेपालमा रहेका ल फर्म वा अधिकारीहरूलाई जिम्मेवारी दिँदा पनि उद्योग दर्ता हुन सकेन । उद्योग दर्ताकै लागि म विदेशबाट आएँ, त्यो पनि पाँच–पाँच पटक र अन्त्यमा उद्योग विभागका महानिर्देशकसँग भेटेर आफ्नो उद्योगको बारेमा जानकारी गराएपछि मात्र उद्योग दर्ता भई स्थापनाको लागि म अघि बढेको हुँ । मलाई एकल बिन्दु सेवा केन्द्र आर्थात् एक ढोका सेवा व्यवस्थित नहुँदा समस्या भएको जस्तो लाग्छ । यसरी उद्योग स्थापना गर्नलाई नै धेरै समय लाग्दा आएको लगानीसमेत फर्किने सम्भावना हुन्छ ।

उद्योग दर्ताको क्रममा धेरै झन्झट भोग्नुभएछ, नेपालमा उद्योग स्थापनाको लागि भौतिक पूर्वाधार पर्याप्त पाउनुभयो ?

अहँ, पाइन्न । भौतिक पूर्वाधार उद्योग स्थापना गर्दा र उद्योग सञ्चालनपछि पनि पाउन सकिनँ । कच्ची सडकको प्रयोग गरी उद्योग स्थापना गरेको हाल निर्यात गर्दा पनि कच्ची सडक नै प्रयोग गरेको छु । यो दुःखको पाटो हो । सरकारले उद्योगीलाई सहयोग गर्ने मुलुकमा आर्थिक विकास गर्ने भनेको छ तर यस्तो वातावरणमा त्यो सम्भव नहोला । यी समस्याले गर्दा विदेशमा रहेका नेपाली उद्योगीहरू नेपाल आउनलाई हिच्किचाउने गरेका छन् ।

मैले उद्योग स्थापना गर्दा पक्की सडक थिएन, बिजुली, पानीलगायत वस्तुको सुविधा थिएन । मैले सम्बन्धित निकायमा आग्रह गर्दा उद्योगलाई आवश्यक पर्ने भौतिक पूर्वाधार प्राप्त गर्न सकिनँ । म आफैँ गएर बिजुलीको व्यवस्था गर्नुप-यो । सहजै बिजुली ल्याउन सकिनँ मने बिजुलीको ट्रान्सफर्मर आफैँ ल्याउनूँ भन्ने निर्देशन पाएँ । यस्ता किसिमका धेरै अप्ठ्यारा र असहज स्थितिमा मैले उद्योग स्थापना गरेँ । त्यसैले मुलुकको औद्योगिक विकास गर्ने हो भने सम्बन्धित निकायमा रहेका जिम्मेवार व्यक्तिले आफ्नो काम गर्ने प्रवृत्ति सुधार गर्नु अत्यन्त आवश्यक छ । सरकारले बोलेर मात्र बस्नुभन्दा काम गरेर देखाउनु आवश्यक छ । अझै शत प्रतिशत निर्यातजन्य उद्योगको हकमा सरकारले पूर्वाधार तथा दर्ता प्रक्रियालगायत अन्य सुविधामा सहज वातावरण मिलाउन सके लगानीकर्ताको संख्यामा वृद्धि हुनसक्छ, यो मेरो सरकारलाई सुझाव पनि हो ।

शत प्रतिशत निर्यातजन्य यस्ता उद्योगलाई सरकार अर्थात् उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियत प्रदान गर्छ । तपाईंलाई यस विषयमा जानकारी छ/छैन वा सहुलियत लिनुभएको छ ?

सहुलियत त मैलाई थाहा पनि छैन । अर्को कुरा नेपालमा उद्योग दर्ता गराउनसमेत गाह्रो रहेको मैले पाँए । म विदेशमा बस्ने व्यक्ति उद्योग दर्ताका लागि विदेशबाट नेपाल पाँच पटक आउनु प-यो । मैले नेपालमा रहेका अधिकारीहरूलाई जिम्मेवारी दिँदा उद्योग दर्ता गराउन सकेनन् । म स्वयम् आएर उद्योग विभागका महानिर्देशसँग भेटपछि मात्र काम अघि बढ्यो । त्यसअघि उद्योग दर्ताको लागि कहिले कुन कागजात नपुगको भन्दै मेरा अधिकारीहरू फर्किने गरेका थिए । एक ढोका अर्थात् एकल बिन्दु सेवा भने पनि त्यो कार्यान्वयन भएको जस्तो लाग्दैन । अब तपाईं आफू नै भन्नुस् सहुलियत पाउन कति गाह्रो होला ? अर्को कुरा भनेको यस विषयमा मलाई थाहा पनि नभएको हुँदा मैले चासो पनि दिएको छैन ।

त्यसो भए निर्याततर्फको वातावरणचाहिँ कस्तो पाउनुभएको छ ?

सरकारले आर्थिक समृद्धि गर्ने, देशमा औद्योगिक विकास गर्ने भने पनि त्यसलाई कार्यान्वयन गर्न सकेको छैन । मुलुकको आर्थिक विकास गर्न चाहने सरकारले कार्यान्वयन तहको पुरानो शैलीमा काम गर्ने वातवरणलाई पूर्णरूपमा बदल्नु आवश्यक छ । सरकारले भाषणमा वा मिडियामा प्रचारबाजी गरे पनि काम गर्ने वा कर्यान्वयनको पाटोमा एक प्रतिशत पनि काम गर्न सकेको छैन । अरु त के कुरा सरकार र यसका प्रतिनिधि तथा कर्मचारीहरूमार्फत सान्त्वनासमेत पाउन गाह्रो छ । मैले मेरो उद्योग हेर्नका लागि कति जनप्रतिनिधि तथा कर्मचारीहरूलाई आग्रह गर्दा पनि सुनेनन् । हामीजस्ता जो विदेशमा बसेर देशको बारेमा सोच्छौँ, उनीहरूलाई साथ र हौसला दिनुपर्नेमा सरकार तथा सम्बन्धित अधिकारीहरूले निराशा मात्र दिएका छन् ।

मैले निर्यातको कुरा गरेको तपाईं अन्तै पुग्नुभयो ?

होइन, निर्यातको कुरा गर्दा यी कुरा भन्न जरुरी छ कि तपाईंले उत्पादन गर्न हौसला, साथ सहयोग पाउनुभएको छैन । अनि निर्यातको कुरा कसरी अघि बढाउन सकिन्छ ? सरकारले नयाँ उद्योग खोल्ने नयाँ विचार भएका युवा तथा कुनै पनि उमेरका मानिसहरूलाई साथ दिएको छैन भने हामी कसरी उद्योग स्थापना गर्ने त्यसको उत्पादन बढाउने, उद्योग बढाउने भनेर सोच्न सक्छौँ । विदेशी मुलुकमा हेर्नुहुन्छ भने सबैभन्दा पहिलो प्राथमिकता भनेको आफ्नो नागरिकलाई दिन्छ । उद्योगको लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गरिदिन्छ । अझ निर्यातमा सहजीकरणसमेत गरिदिन्छ तर नेपालमा निर्यात गर्दासमेत मैले त समस्या झेल्नु प-यो ।

मलाई भन्सारका कर्मचारीहरूले धेरै ठाउँमा अप्ठ्यारो स्थिति पैदा गरे । किन पारे भन्ने विषयमा सायद समाज सबै जानकार छ होला । त्यसैले यस विषयमा म खुलेर बोल्न चाहन्न । जसले गर्दा निडल्सलाई हस्तकलाको सामग्री भनी निर्यात गर्नुप-यो । भन्सारका निर्देशकसँग समेत भेट्न प-यो । जुन जटिल स्थिति हो भन्ने मलाई लाग्छ । अहिले भने सहजै निर्यात गरिरहेको छु । सरकारले के भुल्नु हुँदैन भने हामीले करमार्फत मुलुकको आर्थिक विकासलाई सहयोग पु-याएका छौँ ।

यति अफ्ठ्यारो हुँदाहुँदै पनि उद्योग स्थापना गर्नुभयो, उद्योगबाट उत्पादित सामग्री निर्यात पनि गर्नुभएको छ । उद्योगसँगै नयाँ केही व्यावसायिक अनुभव ल्याउनुभएको छ ?

असहज हुँदाहुँदै नेपालमा निर्यातजन्य उद्योग भित्र्याउन केही मात्रामा भए पनि सफल भएजस्तो लाग्छ । अर्को कुरा भनेको उद्योगसँगै मैले उद्योगमा ल्याएको वातावरण यहाँको लागि नयाँ हुनसक्छ । मैले मेरो उद्योगमा कामदारका रूपमा रहने व्यक्तिमा महिलालाई प्राथमिकतामा राखेको छु भने एउटा श्रमिकले पाउनुपर्ने सम्पूर्ण सुविधासमेत दिएको छु । मेरो उद्योगमा ६० प्रतिशत कामदार महिला छन् । नेपालमा प्राविधिक नपाउँदा भारतबाट प्रावधिक ल्याउनु प-यो, जुन मेरो बाध्यता हो । किनकी म उद्योगमा सबै नेपाली राख्न चाहन्थेँ । १५ जना प्रावधिकबाहेक अरु सबै नेपाली छन्, जनसमा ६० प्रतिशत महिला छन् । यसले घर चलाउन अर्थात् उनीहरूले आफ्नो बालबालिकालाई अध्ययन गराउन सकेका छन् । अरुमाथि निर्भर हुुनु परेको छैन । बरु उनीहरूले सहयोग गरेका छन् । यो मैले हिजो देखेको नेपाली समाजको कारण पनि हुन सक्छ कि महिला आर्थिकरूपले सबल र सक्षम हुनुपर्छ भन्ने मेरो मान्यता हो ।

कोही कसैमाथि निर्भर हुनु राम्रो कुरा हो र ?

त्यो त होइन । कोही कसैमाथि निर्भर हुनु राम्रो होइन, चाहे त्यो पुरुष होस् वा महिला तर नेपाली समाजको भ्रम र यथार्थ भनेको महिला परिवारका अन्य सदस्यमा निर्भर भएको हुन्छन् भन्ने कुरा हामी सुन्छौँ र देख्छौ पनि । यस्तो अवस्थामा इम्बार्गमा काम गर्ने महिला श्रमिकमाथि भने श्रीमान् तथा परिवारका अन्य सदस्य निर्भर भएको पाएको छु । महिला अग्रसर भएर आफ्नो खुट्टामा उभिनु भनेको धेरै राम्रो काम हो जस्तो लाग्छ । यो कुराले मलाई सन्तुष्टि दिएको छ ।

अर्को कुरा भनेको मेरो उद्योगमा काम गर्ने श्रमिकको न्यूनतम समय काम गरेर एक मिनेट पनि बढी भएमा ओभरटाइम सुविधा छ भने म समय–समयमा स्वास्थ्य परीक्षण गराउन लैजानन्छु । मनोपरामर्श दिनेलगायतका काम पनि गरेको छु । रमाइलो कुरा भनौँ कि के भनौँ ? श्रमिकहरू स्वास्थ्य परीक्षण, मनोपरामर्शलगायतका सेवा लिन नपरे हुन्छजस्तो गर्छन् । त्यो समयमा म आफैँ गएर उहाँहरूलाई जोड दिने गरेको छु ।

अन्त्यमा, सहज/असहज वातावरणका बीच पनि उद्योग स्थापना तथा सञ्चालन गरी वस्तु निर्यात गरिरहनुभएको छ । थप उद्योग स्थापना गर्ने सोच छ कि छैन ?

उद्योग स्थापना तथा सञ्चालनको लागि सहज वातवरण बनाइदिन सरकारसँग मेरो आग्रह छ । उद्योग थप गर्ने सोचमा म अडिग छु । आगामी दिनमा पनि उद्योग थप गर्नेछु । अबको केही वर्षमा नेपालमा अर्को उद्योग थप गर्नेछु, त्यो पनि निडल्स नै हो तर त्योचाहिँ बाँसबाट बन्ने निडल्स हुनेछ । कच्चापदार्थको हकमा भने यसको लागि पनि चीनबाट आयात गर्नुपर्ने हुन्छ । हामी विदेशमा बस्ने नेपालीहरू नेपालमा उद्योग स्थापना गर्न इच्छुक छौँ तर यहाँको प्रक्रियागत झन्झट अझै भनौँ विनाकारण दुःख दिने प्रचलनले गर्दा विदेशमा बस्ने नेपाली आउन चाहँदैनन् । हामी विदेशमा बसेर विप्रेषण (रेमिट्यान्स) पठाउन सहज सक्छौँ तर आफ्नो मुुलुकमा आएर उद्योग स्थापना गरी रोजगारी सिर्जना गरी, नेपाली उत्पादन विश्वमा चिनाउँदा हामीलाई गर्व महशुस हुन्छ ।

मेरो उत्पादनलाई विदेशीहरूले प्रशंसा गर्दै हिमालयबाट आएको उत्पादन भन्छन् । त्यो सुनेर मैले यति गर्भान्वित महशुस गरेँ जुन कल्पनाभन्दा बाहिरको कुरा हो । त्यसैले सरकारले हामीजस्ता विदेशी मुलकमा रहेर पनि नेपालका लागि केही गर्नुपर्छ भन्ने सोच भएकाहरूलाई आफ्नो मुलुकमा ल्याउने वातावरण बनाई हौसला दिनुपर्छजस्तो मलाई लाग्छ । अनि म नेपालमा आर्थिक विकासको परिवर्तन चाहेर जोखिम मोलेर आएको हुँ । त्यसैले हामीलाई सरकारले वा सम्बन्धित निकायले सहयोग र हौसला प्रदान गरेमा हामीले नेपालको आर्थिक विकासमा केही सहयोग पु-याउन सक्छौँ भन्ने विश्वस रहेको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie