स्वाभिमानी मान्छेले मात्र कृषि पेशा अंगाल्छ

शशि पौडेल, सञ्चालक लुम्बिनी एग्रो प्रोडक्ट्स एण्ड रिसर्च सेन्टर प्रा.लि.

स्वाभिमानी मान्छेले मात्र कृषि पेशा अंगाल्छ

दुई/तीनवटा भैंसी, पाँच/सातवटा बाख्रापालन गर्ने पर्वतका एक कृषकका छोरा हुन् शशि पौडेल । वि.सं. २०२४ सालमा पर्वतमा जन्मिएका पौडेलको परिवार २०४२ सालमा रुपन्देहीको शंकरनगरमा बसाइ सरी आएको हो । रुपन्देहीको तिलोत्तमा १४ टिकुलीगढमा पौडेलको ठूलो नमूना गाईफार्म लुम्बिनी एग्रो प्रोडक्स एण्ड रिसर्च सेन्टर प्रालि छ । पौडेलको रिसर्च सेन्टरमा हालसम्म हजारौं स्वदेशी तथा विदेशी नागरिकहरुले अवलोकन गरिसकेका छन् ।

सहकारी, शैक्षिक संस्था, औद्योगिक तथा व्यापारिक प्रतिष्ठान, कृषि प्रतिष्ठानलगायत अन्य धेरै संघ/संस्थाहरुको अवलोकन तथा अनुसन्धानको केन्द्रको रुपमा विकसित बन्दै गएको पौडेलको कृषि तथा पशुपालन क्षेत्रको उदाहरणीय मात्र नभएर अनुकरणीय फार्म पनि हो । माध्यमिक तहको अध्ययन पर्वतमै गरेका पौडेलले उच्च शिक्षा रुपन्देहीबाट लिएका थिए । बिकम र सोसियोलोजीमा मास्टर गरेका पौडेल भद्र स्वभावका छन् । उनी मिहिनेती कृषक हुन् । पौडेलले नेपाल सरकारबाट प्रदान गरिने विकास रत्न र जनसेवाश्री मानपदवी पाइसकेका छन् । उनै पौडेलसँग कृषि क्षेत्रको समसामयिक विषयमा रहेर आर्थिक दैनिकका पोसकान्त पोखरेलले गरेको कुराकानीको सम्पादित अंश :

कृषि क्षेत्रमा कहिलेबाट लाग्नुभयो ?

सानैबाट लागियो । हामी त पहाडमा जन्मेका मान्छे घरका दुई/तीन वटा दुहुना भैंसी, पाँच/सात वटा बाख्रा, एक हल गोरु, एक/दुईवटा लोकल गाई, पाँच/सात जोडी परेवा कहिल्यै टुट्दैनथे । गोवर सोत्तर ग-यो, बाख्रा चरायो, घाँस काट्यो, स्कुल गयो पढ्यो, त्यही नै दिनचर्या थियो । त्यो अवस्थाले कृषि क्षेत्रमा पाखुरामा अलिअलि बल आउन लागेपछि लागियो । आफ्नै घरमा उत्पादन गरेको शुद्ध दूध, दही, अर्गानिक तरकारी लगायतको स्वच्छ खानपानले नै कृषि क्षेत्रमा लालायित बनाएको हो ।

लुम्बिनी एग्रोको सुरुवात कहिलेबाट गर्नुभएको हो ?

२०६५ सालबाट भौतिक संरचना निर्माण गर्न सुरु गरेका हौं । २०६७ वैशाखदेखि गाईपालन सुरु गरेका हौं । त्यति बेलाको भौतिक संरचना नै पाँच सयवटा गाई पाल्ने गरी निर्माण गरेका थियौं । तत्कालीन समयमा पाँच सय गाईबाट सुरु गर्ने हाम्रो योजना भए पनि विभिन्न कारणले उक्त संख्या पु-याउन नसक्दा तीन सय ५० गाईबाट सुरु गरेका हौँ । अहिले यहाँ भएजति सबै यहीँ जन्मेका हुन् । वर्षमा तीन सय गाई बेच्छौं पनि ।

कुन–कुन जातका कति गाईहरु छन् त फर्ममा ?

होलिस्टन क्रिजन र जर्र्सी जातका गाईहरु छन् । सेतो, कालो र पाटे गाईको जात होलिस्टन क्रिजन हो भने रातो वा एउटै रंगको गाई जर्सी हो । हाल बाच्छाबाच्छी दुहुना सबै गरेर पाँच सयको हाराहारीमा छन् ।

फार्मको सुरुवात एक्लै गर्नुभएको हो कि साझेदारीमा ?

लुम्बिनी एग्रो एण्ड प्रोडक्ट रिसर्च सेण्टर प्रालिको नामबाट कम्पनी बनाएर पाँच जनाको लगानीबाट सुरु गरेका हौँ । दुई जना साथीहरु फर्म दर्ता भएर नसकिँदै छोड्नुभयो । तीन जनाले सुरु ग¥यौँ अरु दुई जना साथीहरुको लगानी एकदमै कम भएको र उहाँहरुले समय पनि दिन नसक्ने कारणले तीन/चार वर्षपछि तपाईं एक्लै गर्नुस् हामीलाई हाम्रो लगानी दिनुस् भनेर लगानी लिएर छोड्नुभयो । त्यसयता एक्लै सञ्चालन गर्दै आएको छु ।

सुरुको लगानी कति थियो र अहिलेको लगानी कति छ ?

सुरु गर्दा २५ करोड जति लागेको थियो भने अहिले एक सय ५० करोडभन्दा बढी पुगेको छ । पछि खेत थपेर २४ बिघा पु¥यायौं । जसले लगानी थप वृद्धि भएको हो ।

दुहुना र बाच्छाबाच्छीहरुको संख्या कति छ ?

दुई सयभन्दा बढी दुहुना गाईहरु छन् भने बाच्छाबाच्छीलगायत सबै गर्दा पाँच सयजति छन् । यो संरचनाले पाँच सयभन्दा बढी थेग्न नसक्ने हुँदा अर्को संरचना निर्माण नहुँदासम्म संख्यात्मक हिसाबले वृद्धि गर्नसक्ने अवस्था छैन । गाई बिक्री भएनन् र थपिने अवस्था भयो भने गोठ निर्माण गरेर राख्नुपर्छ ।

पहाडमा दुई/चारवटा गाईभैंसी, बाख्रापालनमा रमाएको कृषकको छोरालाई तराईमा आएर त्यो बेलामा पनि व्यावसायिक पशुपालन गर्ने दूरदर्शी सोच कसरी आयो ?

हामी त बाहुनका छोराछोरी पहाडमा बस्दा पनि खेती किसानी गरेको तराईमा झरेपछि खेती किसानी गरेर आफ्नो लागि आफैँ उत्पादन गरेर खानुपर्छ भन्ने मान्यता राख्छौँ । कृषिलाई व्यवसायीकरण गर्ने भन्दै भाषणहरु गरेका र लेखेका धेरै देखियो । तर व्यवहारमा कसैले ल्याएको देखिएन । अरुले सुरु गरेको किन हेर्ने आफैँ सुरु गरौँ भनेर सुरु गरेका हौं । तत्कालीन समयमा मानिसहरुले कृषिको महत्व बुझेको अवस्था थिएन । त्यो समयमा सुरु गर्दा भविष्यमा सबैले कृषिको महत्व बुझेर स्वःस्फुर्त रुपमा आफैँ आउनेछन्, अहिलेलाई हामीले सुरु गरौं भनेर व्यावसायिक रुपमै सुरु गरेका हौं ।

सुरुवात गर्दाको अवस्थाबाट वर्तमान अवस्थामा आउनको लागि कति संघर्ष गर्नुभयो र हिजोको बजारीकरणको अवस्था कस्तो थियो र अहिले कस्तो छ ?

त्यति धेरै संघर्ष केही गरेको छैन । २०६५ सालमा सुरु गर्दा पनि यहीँ घाम तापी तापी सुरु गरेको हुँ र अहिले पनि घाम तापेरै बसेको छु । कुनै संघर्ष पनि गरेको छैन र अप्ठ्यारो पनि त्यस्तो छैन । सामान्यतया कहिलेकाहीँ राज्यका कारणले हुने अप्ठ्याराहरु ती अलग कुरा भए । अहिलेको कुरा गर्दा गाईलाई चाहिने दाना लोकल मिलहरुबाट ल्याउँथ्यौँ, अहिले मिलहरु चलेका छैनन् । उनीहरुको बजारमा बिक्रीवितरण ठप्प छ । मिल नचल्दा गाईहरुलाई राम्रोसँग दाना खुवाउन पनि पाइएको छैन । यो राज्यको कारणले हो भने कहिलेकाहीँ राजनीतिक कारणले हुने बन्द हड्तालले दूध बिक्रीवितरणमा समस्या आए पनि अन्य धेरै ठूला समस्याहरु केही छैनन् ।

दैनिक दूध उत्पादनको अवस्था कस्तो छ ?

दुई हजार दुई सय लिटर छ । समयमा दाना पाउन सकिएन भने दैनिक तीन चार सय लिटर कम हुन्छ । दुई सय गाई दुहुँदा दुई÷दुई लिटर बढे पनि चार सय लिटर बढ्छ । त्यसैले दाना गाईहरुलाई नभई नहुने खाद्यान्न हो ।

बजारीकरणको अवस्था सहज छ ?

राम्रै छ । त्यस्तो तात्विक असर पार्ने समस्या केही पनि छैन । हामी हाम्रो गोठबाट उत्पादन भएको दूध आफै बेच्छौं । हाम्रो दूधको गुणस्तर पनि एकपटक खाएपछि पटक–पटक खान खोज्ने र हाम्रो पाएसम्म अरुको नखाने खालको छ । बिहानको बुटवलमा लगेर बेच्छौं भने साँझको भैरहवा लगेर बेच्छौं । २५/३० जनाले आवासीय सुविधासहित रोजगारी पाएका छन् । सबै खुसी छन्, म पनि खुसी छु ।

फार्मको आम्दानीको अवस्था कस्तो छ ?
दैनिक सवा लाख रुपैयाँको दूध बिक्री हुन्छ । सामान्य रुपमा ६०/७० प्रतिशत खर्च आउँछ । अरु बचत हुन्छ । गाई बेच्छौं, गोबर बेच्छौं राम्रै आम्दानी छ ।

कृषि क्षेत्रमा काम गर्ने किसानहरुलाई बेला–बेलामा राज्यले अनुदान दिन्छ भन्ने सुनिन्छ । तपाईंले अहिलेसम्म कति अनुदान पाउनुभएको छ?

त्यो कसले दिने हो, कहाँबाट पाइने हो, राज्यका त्यस्ता निकायहरुसँग हजुरहरु जस्ता पत्रकारहरुले प्रश्न गर्दा ठीक होला । अनुदान कहिले कसरी कहाँबाट कसले दिन्छ भन्ने कुरा हामी किसानहरुलाई थाहै हुँदैन । मुख्य सडकबाट यति टाढा छ कि यहाँसम्म त्यो अनुदान कसरी आओस् !

देशकै सर्वोत्कृष्ट दुग्ध कृषकले अहिलेसम्म एक पैसा अनुदान पाएको छैन भन्नुहुन्छ, तपाईंभन्दा साना व्यावसायिक कृषि गर्ने हजारौं कृषकहरु छन्, के उनीहरुले राज्यले दिने सुविधाहरु लिएका छन् होला त ?

त्यो उहाँहरुको कुरा हो । मेरो विचारमा कृषि क्षेत्रको अनुदान रकमले मन्त्री र कर्मचारीको खल्ती भर्ने काम गरेको छ । किसानकहाँ अर्थात् काम गर्ने मान्छेहरुमा गएको छैन । कृषकलाई दिने अनुदान कताबाट बगेको छ कता भाँडो थाप्दा कृषकहरुका भाँडा भरिन्छन् भनेर मुहानकै मुखियालाई सोध्दा अझ बढी प्रष्ट हुन्छ ।

राज्यले दिएन, गरेन भन्ने कुरामा हीनताबोध हुन्छ कि हुँदैन ?

हुँदैन । मेलै कसैको आश गरेर सुरु गरेको होइन । संसारका कुनै पनि देशको कुरा गर्नु चाहे त्यो समाजवादी होस्, चाहे साम्यवादी होस् या जुनसुकै वादी भए पनि राज्यले सहयोग नगरी अगाडि बढ्ने व्यवसाय होइन । अमेरिकामा पनि दिएको छ । कोरियामा पनि दिएको छ । युरोपमा पनि दिएको छ । मित्रराष्ट्र चीनले पनि दिएको छ । उनीहरुको सोच कस्तो छ भने कृषि समग्र प्राणीको लागि आवश्यक हो भन्ने उनीहरुले बुझेका छन् र त्यहीअनुसारको व्यावसायिक कृषि फस्टाउँदै गएको छ । हामीकहाँ त्यो धारणा छैन । भए पनि जहाँ जानुपर्ने हो त्यो लक्षित वर्गसम्म पुगेको छैन । त्यो सीमित नारामा, सीमित सिद्धान्तमा अड्किएजस्तो लाग्छ । वास्तवमा पैसा दिने प्रणालीले कृषि क्षेत्रको विकास होला जस्तो देखिँदैन । राज्यको काम भनेको उचित मूल्यसहितको बजारको ग्यारेन्टी गर्नुका साथै कृषकहरुका समस्याहरुलाई समाधान गर्नेतर्फ केन्द्रित हुनुपर्छ ।

बेला–बेलामा कृषकहरुकै मुखबाट सुनिने गरेको कुरा कृषकहरुलाई तल्लो दर्जाको नजरले हेरिन्छ, हेपिन्छ भन्ने पनि सुनिन्छ, यहाँले त्यस्तो अवस्था आएको छ वा छैन र वास्तवमा त्यो के हो ?

मलाई अहिलेसम्म त्यस्तो अवस्था आएको छैन र महसुस पनि गरेको छैन । बरु मैले राज्यको खाएर बसेकाहरुलाई तत्लो दर्जाको ठान्छु । कृषक र कृषिमा लाग्ने मानिसहरु भनेका स्वाभिमान मान्छेहरु हुन् । स्वाभिमानी मान्छले मात्र कृषि पेशा अंगालेको हुन्छ । आफ्नो स्वाभिमानमा बसेको मान्छेलाई कसैले तल्लो दर्जाको देख्छ भने त्यो उसको कुरा हो । त्यस्ता मान्छेहरुलाई मेरो भन्नु केही छैन । संसारको सबैभन्दा तल्लो काम पशु पाल्ने र त्यसको पनि गोबर सोहोर्ने काम गरेको त्यसमा हीनताबोध नभई गर्व गर्छु ।

गाईहरुले बाच्छीभन्दा बाच्छाहरु जन्माए भन्ने गाईपालक कृषकहरुको गुनासो सुन्न पाइन्छ, तपाईंलाई त्यो अवस्थाले कत्तिको प्रभाव पारेको छ ?
समग्र पशुपालक किसानलाई पर्ने प्रभाव मलाई पनि परेको छ । पछिल्लो समयमा जे आवश्यकता प-यो त्यही जन्माउने प्रविधि आएको छ । त्यो प्रविधि अलि बढी खर्चालु भएकोले सामान्य कृषकहरुसँग नपुगेको हुनसक्छ । राज्यले सहजीकरण यस्तै यस्तै कुराहरुमा गर्नुपर्ने देखिन्छ । तर त्यहाँसम्म राज्य पुग्नसकेको छैन ।

देशकै ठूलो बायोग्यास प्लान्ट राख्ने प्रक्रिया कहाँ पुग्यो र त्यसको उद्देश्य के हो ?

योजना त मैलै फर्म सुरु गर्ने बेलामै बनाएको हो । सबै आफैँले बनाएका योजनाहरुले नहुँदो रहेछ । योजनालाई सफल बनाउन कसैको सहायता तथा आधार लिनुपर्ने रहेछ । चार वर्षअगाडि सुरु हुनुपर्ने काम अबको १५/२० दिनभित्र निर्माण सम्पन्न हुन्छ । ठेकेदारले ठेक्का लिएपछि भाग्दा मुख्य समस्या आएको थियो । हिजो बायोग्यास र बिजुली मात्र निकाल्ने योजना थियो । तर आज बोटलिङ, पाइपिङ र बिजुली निकाल्ने तिनै प्रकारका काम गर्ने गरी तयारीमा लागेको छु । यहाँ आवासीय सुविधासहित कार्यरत कर्मचारी, नजिकका छिमेकीहरुलाई पाइपलाइनबाट ग्यास वितरण हुन्छ भने टाढा–टाढाको लागि बोटलिङ विधि अपनाउँछौँ । ग्यास निकालेर फ्याँकिएको गोबरलाई प्राङ्गारिक मल बनाएर बजारमा बिक्रीवितरण गर्छौँ । पानीलाई घाँस हुने क्षेत्रमा सिँचाइ र मलको रुपमा प्रयोग गर्ने मुख्य उद्देश्य हो ।

राज्यले समृद्ध नेपाल निर्माणको अवधारणा अगाडि सारेको छ । दुग्ध क्षेत्रमा पूर्ण निर्भर भई अर्थतन्त्रलाई थप सुदृढ बनाउन कृषकहरुका के–कस्ता समस्याहरु समाधान गर्नुपर्ला ?

धेरै ढुङ्गे पहाडै फोड्नुपर्ने भवसागरको कुनै कुरा छैन । दर्शन जान्नुपर्ने दर्शन पढ्नुपर्ने आवश्यक पनि छैन् । राज्यले सानो–सानो कुराबाट सुरु गरे हुन्छ । धान खेती गर्नेलाई धानको बीउ दिने, मकै खेती गर्नेलाई मकैको, माछा पाल्नेलाई माछाको, गाई पाल्नेलाई गाईको ब्रिड दिने जसले जस्तो प्रकारको खेती किसानी गरेको छ, त्यसैको बीउ अथवा ब्रिड दिए पुग्छ । नेपालमा नार्क छ, म त्यसलाई नर्क भन्छु । संसारमा सबैले रिसर्च गरिसके हामीलाई अहिले रिसर्च के जरुरी छ । करोडौं खर्च गरेर उनीहरुले गरेको रिसर्चलाई हामीले कपि पेष्ट गरे हुन्छ । हाम्रो माटो र वातावरणीय अनुकूलता हेरेर सहयोग गर्न भने जुनसुकै देशले गरिहाल्छन् । चीनले एक कठ्ठामा सात मुरी धान फल्ने बीउ बनायो । कोरियाले एउटै कुखुरा ४०/५० किलोको बनाइसक्यो । इजरायलले ४० लिटर दूध दिने गाईबाट उत्पादन सुरु ग-यो । उनीहरुको त्यो प्रविधि ल्याएर राज्यले दिनुप-यो । अनावश्यकको राज्यको व्ययभार थप्ने नार्क चाहिँदैन । कृषिमा मात्र नभएर समग्र देशको विकास मोडल विदेशी राष्ट्रहरुको अनुसार हुनुपर्छ । हामीकहाँ हुने सबै चिज संसारको कुनै पनि एउटै देशमा हुँदैन र संसारको सबै देशमा हुने कुरा हामीकहाँ हुन्छ । त्यस्तो देशमा नानाभाती कुरा गरिरहनुपर्ने अवस्था नै देखिँदैन । खुरुक्क किसानहरुलाई बीउ ल्याएर दिने किसानले काम गर्छ, ब्युरोक्रेसीका मान्छे र नेताले गफ गरेर बसे भइगायो नि !

अन्त्यमा, कृषि क्षेत्रमा आउन चाहनेहरुको लागि तपाईंको सुझाव के छ ?

गेटभित्र पस्नेबित्तिकै धेरैले के भन्नुहुन्छ भने यहाँ त धेरै अनुदान आएको होला । सुको पाएको छैन, मैले पनि आउँदैन नभनेर चाहिनेजति राज्यले दिन्छ । हल्काफुल्का आफैँ गर्छु भन्छु । तपाईं पनि नबुझी सुरु गरेर पत्याउँदा केही पनि नपाएपछि मसँग आएर कराउनुहुन्छ । तँ ठूलो मान्छे सिधै लिएको होलास् भन्नुहुन्छ । त्यसपछि विस्तृत रुपमा बताउँछु । काम आफ्नै हो, राज्यले गर भनेर जबर्जस्ती गराएको पनि हैन । मैले स्वेच्छाले गरेको कामलाई राज्यले दिएन भनेर गुनासो गर्दिन । काम सुरु गर्नेभन्दा पहिला राज्यले सकेसम्म मलाई असहयोग गर्छ, राज्यले दिने होइन लिन्छ । त्यस्तो अवस्थामा पनि म आफ्नो कामबाट पछि हट्दिन भन्ने आत्मविश्वासका साथ लागियो भने अवश्य पनि सफल हुन सकिन्छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie