‘विकास खर्च गर्न सबै मन्त्रालय असफल’

रमेश खड्का, शिवीयोग साधक तथा कांग्रेस नेता

‘विकास खर्च गर्न सबै मन्त्रालय असफल’

रमेश खड्का नेपाली कांग्रेसका नेता तथा शिवीयोग साधक हुन् । केही समयअघि दिल्लीको छत्रपुर भन्ने ठाउँमा ८ दिनको शिवीयोग कार्यक्रममा सहभागी भएर आएका उनी अवधूत बाबा शिवानन्दजी महाराजको ज्ञान नेपाली भू-भागमा फैलाउने अभियानमा प्रमुख व्यक्तिको रुपमा रहेका छन् । कुनैपनि राजनीतिकर्मी तथा राजनीतिक नेताहरु जबसम्म आध्यात्मिक हुँदैनन् तबसम्म मुलुक समृद्ध बन्न सक्दैन विचार बोकेका उनै खडकासँग सरकारको कार्यशैली, नेपाली काँग्रेसको प्रतिपक्षको भूमिका, कालापानी, एमसीसी सम्झौतालगायत उनले प्रप्त गरेको ज्ञान शिवीयोगको बारेमा आर्थिक दैनिकले गरेको कुराकानीको सम्पादित अंश :

नेकपाको सरकारले सिंहदरबारको अधिकार गाउँ–गाउँमा भनेको छ । के सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुगेको छ त ?

मुुलुक संघीयता कार्यान्वयनको चरणमा छ । हिजोको शासकहरूले धेरै अधिकारहरू केन्द्रीकृत गरेका थिए । सिंहदरबारको अधिकार सिंहदरबारभित्रै थियो । मुलुक संघीयतामा गएपछि सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुग्ने ठानिएको थियो । तर, सोचेअनुसारको सिंहदरबारको अधिकार गाउँ–गाउँमा गएको छैन । हिजो भ्रष्टाचार सिंहदरबारभित्र थियो । दलाल, कमिसनखोर सिंहदरबारवरिपरि हुन्थे तर अहिले तिनीहरू गाउँ–गाउँसम्म आफ्नो मजबुत नेटवर्क बनाएर काम गरिरहेका छन् । सिंहदरबारको अधिकार गाउँ–गाउँमा पटक्कै पुगेको छैन । यद्यपि केही सेवाग्राहीका र केही विकासका काम भने भएको छ ।

तपाईं नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीको नेता हुनुहुन्छ । के नेपाली कांग्रेस पार्टी लोकतान्त्रिक संस्कारमा हिँडेको छ ?

नेपाली कांग्रेस विशुद्ध लोकतान्त्रिक पार्टी हो । यो मूल्य र मान्यता बोकेको पार्टी हो तर विगत केही समयदेखि पार्टीमा अराजक गतिविधि बढेको छ । गुट, उपगुटको श्रृङ्खला बढेको छ । पार्टीमा अन्तरविरोध बढ्नु, वैचारिक बहस हुनु, विभिन्न विचार समूहका बीच स्वस्थ छलफल हुनु सकारात्मक कुरा हो । त्यो लोकतान्त्रिक पार्टीको चरित्र हो । तर, त्यसको विपरीत हुनगएको छ । गुट उपगुटले पार्टीलाई बलियो बनाउनेभन्दा कमजोर र क्षतविक्षत बनाउँछ । त्यस्ता अराजक गतिविधि गर्नेलाई पार्टीले कारबाही गर्नुपर्छ । नेपाली कांग्रेसले मूलभूत सिद्धान्त लोकतन्त्र, राष्ट्रियता, विधिको शासन, आवधिक निर्वाचन, समाजवादजस्ता विचार छाडेको छैन । तर, वीपीको समाजवादी अवधारणा आफू सरकारमा भएको बेला विभिन्न कारणले गर्दा अवलम्बन गर्न सकेन । आगामी दिनमा नेपाली कांग्रेसले सरकार बनाउँदा नेतृत्वले समाजवादी धारणा लागू गर्नुपर्दछ । लोकतान्त्रिक समाजवादविना नेपाली कांग्रेस अपुरो हुन्छ ।

नेपाली कांग्रेस गुट, उपगुट र विभिन्न समूहरूमा विभाजित भएकोले पार्टी कमजोर भएको हो ?

नेपाली कांग्रेसको जनमत अहिले पनि घटेको छैन । समानुपातिक निर्वाचन प्रणालीमा पार्टीले पाएको प्राप्त मतले त्यसको पुष्टि हुन्छ । नेपाली कांग्रेस गुट, उपगुट र विभिन्न समूहमा विभाजित भएकोले सशक्त प्रतिपक्षको हिसाबबाट उठाउनु पर्ने मुद्दाहरू भने उठाउन नसेकेकै हो । भ्रष्टाचार, राज्यकोषको दोहन, कालाबजारी, महँगी, बलात्कार घटना, एनसेल काण्ड, वाइडबडी काण्ड, ललिता निवास काण्ड, कालापानीलागायतका थुप्प्रै विषयमा कांग्रेसले सशक्त आवाज उठाउन सकेको छैन । पार्टीलाई कमजोर पारेर, नेतृत्वलाई असक्षम बनाएर आफू माथि जाने दाउमा पार्टीमा थुप्प्रै नेताहरू छन् । जसको कारणले पार्टी कमजोर भएको कुरा सत्य हो । तर, आम नेपाली मतदातामा कांग्रेसप्रतिको भरोसा कायमै छ ।

नेपाली कांग्रेस पार्टीमा आदर्श, त्याग गरेका निष्ठावान कार्यकर्ताहरू किन पछि परिराखेका छन् ?

पार्टीमा गैरराजनीतिक र अराजनीतिक मान्छेहरूको भीडले निष्ठावान कार्यकर्ता केही पछि परेको सत्य हो । हाम्रोजस्तो गरिब मुलुकमा निर्वाचनमा चुनाव जित्न धेरै खर्च गर्नुपर्ने अवस्था कायम भएकोले त्यस्ता व्यक्तिहरूलाई पार्टीले टिकट दिने गरेको छ । यस्तो कुराको अन्त्य गर्नुपर्दछ । आदर्श र त्याग गरेका निष्ठावान कार्यकर्तालाई पछाडि पार्ने काम बढ्दै गयो भने पार्टीप्रति जनताको विश्वास घटेर जान्छ ।

नेपाली कांग्रेसमा टावरिङ पर्सानालिटीको अभाव खड्किएको छ ?

एकदम सत्य कुरा हो यहाँले भन्नुभएको । अहिले नेपाली कांग्रेसको टावरिङ पर्सानालिटीको अभाव खड्किएको छ । आदरणीय नेता शेरबहादुर देउवाले केही कुरा गर्न खोज्नुभएको थियो तर वहाँलाई चौतर्फी आक्रमण गरिएको छ । काम गर्न दिइएको छैन । खालि चाहिने/नचाहिने बखेडा मात्र झिकिएको छ । मैले यसो भनिरहँदा नेतृत्वको बखान गरेको अर्थ नलागोस्, पार्टीलाई बन्दी बनाएर नेतृत्वमा बसिरहने, काम नगर्ने प्रवृत्ति बढेर गएको छ । यस्तो गतिविधिको अन्त्य गर्नु पर्छ ।

सरकारको कार्यशैलीप्रति यहाँको टिप्पणी कस्तो छ ?

सरकार दुई तिहाइको दम्भमा अधिनायकवादी ढंगले अघि बढेको हो । राष्ट्रवादको खोल ओढी जनतालाई भ्रम पारिएको छ । देशभर रेल कुदाउने, जलमार्गको विकास गरी पानीजहाज कुदाउने, धेरै ठाउँमा छ र आठ लेनको सडक विस्तार गर्ने, दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने, पाँच वर्षभित्र रोजगारीका लागि विदेशिनुपर्ने अवस्था अन्त्य गर्ने, त्यति मात्र भएर नेपाली अहिलेको तुलनामा दोब्बर धनी हुने भनी घोषणा गरिएको छ । यी सबै हावादारी सपनाहरू हुन् । बजेट कार्यान्वयन पनि सरकार असफल भएको छ । बजेट कार्यान्वयन भएको ५ महिना बितिसक्दा पनि १० प्रतिशत पनि खर्च हुन सकेको छैन । विकास खर्च गर्नमा सबै मन्त्रालय असफल भएका छन् । अरु मन्त्रालयको त के कुरा गरौँ ३५ प्रतिशत विकास बजेट पाएको भौतिक मन्त्रालयको पुँजीगत विकास खर्च दुई प्रतिशत मात्रै छ । मूलतः विकास निर्माणसँग सम्बन्धित मन्त्रालयको खर्च निराशाजनक हुँदा सरकारको प्रतिबद्धता कागजमै सीमित भएको छ ।

संविधानमा नेपालको अर्थनीति समाजवाद उन्मुख भनिएको छ । के सरकारको अर्थनीति समाजवाद उन्मुख छ कि दलाल पुँजीवाद छ ?

अहिले मुलुकमा इतिहासकै बलियो कम्युनिष्ट सरकार छ । तर, कम्युनिष्ट पार्टीमा हुनुपर्ने आर्थिक प्रणालीको कुनै पनि झिल्का देखिएको छैन । कम्युनिष्ट आर्थिक प्रणालीको कुरा छोडौँ पुँजीवादी अर्थव्यवस्थामा हुनुपर्ने सामान्य सिद्धान्त प्रयोग गरिएको छैन । नेपाली कांग्रेसले लिएको आर्थिक नीतिलाई कार्यान्वयन गरेको भए पनि धेरै काम हुन्थ्यो । सरकारको अर्थनीति समाजवाद उन्मुख छैन । दलाल पुँजीवाद चारित्रको छ । हामीसँग भएका युवालाई रोजगारका नाममा विदेश पलायन गराउने र उनीहरूले पठाएको रेमिट्यान्सबाट देश चलाउने गलत परिपार्टीको विकास भएको छ । यो दलाल पुँजीवादको चरित्र हो । युवा निर्यात गरेर समाजवाद उन्मुख अर्थतन्त्र भन्नु यो ज्यादै लज्जाको विषय हो ।

मुलुक लोकतान्त्रिक यात्रामा हिँडेको १४ वर्ष भएको छ । के जनताले लोकतन्त्रको अनुभूति पाएका छन् ?

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता तथा समावेशीताजस्ता थुप्रै राजनीतिक उपलब्धीहरू नेपाली जनताले पाएका छन् । तर, नेपाली जनताले सोचेअनुसारको आर्थिक उपलब्धि पाएका छैनन् । आज धनी र गरिबबीचको खाडल बढ्दो छ । धनी झन्झन् धनी भएका छन् भने गरिब झन्झन् गरिब भएका छन् । संविधानमा समाजवाद उन्मुख अर्थतन्त्र भनिए पनि न कम्युनिष्टले समाजवाद लागू गरे न कांग्रेस सत्तामा हुँदा समाजवाद लागू गर्न सक्यो । नेपाली राजनीति आम नेपालीको जनजीवनसँग जोडिएको छैन । संविधानमा शिक्षा, स्थास्थ्य, रोजगार जनताको मौलिक अधिकार भने पनि आज ठूलो तप्का गाँस, बास, कपास, स्वास्थ्य र शिक्षाजस्ता आधारभूत आवश्यकताबाट वञ्चित छ । तसर्थ केही प्रतिशत जनताबाहेक अरुले लोकतन्त्रको पूर्ण अनुभूति गर्न पाएका छैनन् ।

भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरालाई गाभेर नयाँ नक्सा सार्वजनिक गरेलगतै मुलुकमा उत्पन्न भएको राजनीतिक तरङ्गलाई कुन रूपमा लिनुभएको छ ?

कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भू–भाग हो । यी भू–भागहरूलाई नेपालले जसरी पनि लिन सक्नुपर्छ । यो विषय कुटनीतिक तरिकाबाट भन्दा पनि दुई देशका सरकार प्रमुखको वार्ताबाट यसलाई हल गर्न सक्नुपर्छ । राजनीति तवरबाट हुल हुन नसके यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ । केही समयअघि सरकारले यो विषयमा भारतलाई प्रेस नोट पठाएको थियो । भारत सरकारले त्यो प्रेस नोटलाई अल्मल्याउने तवरबाट जवाफ पठाएको छ । उसले भनेको छ— सीमा विवाद ९८ प्रतिशत मिलिसकेको छ । अब मिल्न बाँकी २ प्रतिशत छ । त्यो मिल्न बाँकी रहेको विवाद उपयुक्त समयमा कुटनीतिक ढंगबाट हल गर्नुपर्छ भनेको छ । यसबाट के पुष्टि हुन्छ भने उसले नेपाललाई हेपाहा नीति अपनाई व्यवहार गरेको छ । मलाई लाग्छ यो विवाद वर्तमान केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले हल गर्न पनि सक्दैन अझ खुलेर भन्नुपर्दा उसले यो विषयलाई हल गर्न चाहेको छैन । आफ्नो सत्ता डग्मगाउला भनेर यसलाई अन्तर्राष्ट्रियकरण गर्न पटक्कै चाहेको छैन ।

तपाईं एउटा साधक हुनुहुन्छ । नियमित योग, प्राणायम र ध्यान गर्नुहुन्छ । राजनीतिककर्मीलाई यसको महत्व कत्तिको हुन्छ ?

तपाईंले यो प्रश्न गरिरहँदा म वैज्ञानिक प्लेटोको एउटा भनाइ राख्न चाहान्छु । जबसम्म शासकहरू दार्शनिक हुँदैनन् तबसम्म राष्ट्र र जनताको हित हुँदैन । राजनीतिककर्मी तथा नेताहरू जबसम्म अध्यात्मिक हुँदैनन् तबसम्म मुलुक समृद्ध हुँदैन । भौतिक सम्पन्नताले मात्र मुलुक समृद्ध हुँदैन । हरेक राजनीतिक नेताहरूलाई मात्र होइन । संसारका हरेक व्यक्तिलाई योग, प्राणायम र ध्यान आवश्यक पर्छ । अध्यात्मले मात्रै मान्छेलाई पूर्ण बनाउँछ ।

तपाईंको विचारमा नेपालको शिक्षा नीति कस्तो छ ?

तपाइँलाई एउटा सत्य कुरा बताउँछु जबसम्म मुलुकमा वेदको शिक्षालाई स्कुल, कलेजमा कोर्षको रूपमा राखिँदैन तबसम्म यो शिक्षाले मानिसलाई धन्य बनाउन सक्दैन । वचपन अवस्थादेखि नै वेद, योग, ध्यानको शिक्षा दिने हो भने हरेक मान्छे चरित्रवान, स्वस्थ्य तथा कार्यक्षमतामा बढोत्तरी आउने गर्दछ । सरकारले यो विषयमा गम्भीर भएर ध्यान दिनुपर्दछ । गृह प्रशासन र रक्षा मन्त्रालयमा मात्र खर्च गरेर मुलुकमा शान्ति अमनचयन कायम हुन सक्दैन ।

प्राचीन कालमा न कुनै सरकार थियो न कुनै सेना, प्रहरी, थिए त्यहाँ शान्ति, आनन्द थियो । गुरुकुल शिक्षा दिइन्थ्यो । मुलुक आदर्श राज्यको रूपमा थियो । आज संसारभरिका मुलुकहरूले झण्डै एक चौथाइ सेना, प्रहरी, हातहतियारमा खर्च गर्छन् तैपनि विश्वमा शान्ति छैन । कारण यही हो । देशमा ठूला–ठूला विद्यालय बने हाम्रा विश्वविद्यालयहरूले देशलाई चाहिने नेता, प्रशासक, न्यायाधीश, वकिल, डाक्टर, इन्जिनियर, शिक्षक, पत्रकार बनायो । तर, ती मानिसलाई चाहिने नैतिक शिक्षा वेदको शिक्षा, ध्यान योगको शिक्षा दिएनौ । देशले ती सबै मान्छे पायो, ती मान्छेबाट देशले केही पाएन ।

तपाईंले केही वर्ष अघिदेखि अवधूत बाबा शिवानन्द महाराजको शिवीयोगको साधन गर्दै हुन्छ भन्ने मैले सुनेको छु । यो कस्तो किसिमको साधना हो ?

नेपालमा शिवीयोगको विल्कुलै प्रचार भएको छैन । यो शिवीयोग साधना भारतमा प्रयोग भइरहेको छ गुरुले बताएअनुसार यो अत्यन्त दुर्लभ साधना हो । यो साधना शिव स्वयंले गर्नुभएको रहेछ । हाम्रो शास्त्र वेदमा लेखिएको रहेछ । शिव र शक्तिको जबसम्म मेल हुँदैन तबसम्म मानिस सफल हुनै सक्दोरहेनछ । यो शिव र महाभगवतीको साधना हो । यो साधन प्रत्येक मानिसको लागि अत्यन्तै उपयोगी छ । यो साधना गुरु शिष्य परम्परामा हुन्छ । यसले कुनै सम्प्रदाय पनि भन्दैन । कुनै नारी, पुरुष, उच्च, निच जाति पनि भन्दैन । यो साधना मैले सन् २०१५ को दिल्लीको छत्रपुरमा लिएको हुँ । भर्खरै मैले दिल्लीको ८ दिने कस्मिक थेरापी (हिलिङ्)को तालिम लिएर आएको छु । आफूले जानेर सिकेर आएको कुरा मानव कल्याणको लागि म खर्चिने छु । आगामी दिनमा नेपालमा शिवीयोगको कार्यक्रम बढाउने योजना छ ।

शिवीयोगअन्तर्गत कास्मिक थेरापी (हिलिङ)ले कस्ता–कस्ता रोगीको उपचार हुन्छ ?

डाक्टरले उपचार गर्न नसकेका तथा रोग पत्ता नलागेका थुप्रै रोगहरू कस्मिक थेरापी (हिलिङ)बाट निको हुँदोरहेछ । हिलिङ थेरापी भनेको वेदको मन्त्र उच्चारण गरेर शरिरको विभिन्न भागमा प्रेसर दिई गरिने उपचार विधि हो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie