‘चुनौतीहरू क्रमशः घट्दै गएका छन्’

गणेश न्यौपाने वडाअध्यक्ष तिलोत्तमा १३, रुपन्देही

पछिल्लो समयमा सात सय ५३ स्थानीय तहहरूमा पहिलो पटक लगानी सम्मेलन गरेर चर्चामा आएको तिलोत्तमा नगरपालिका रूपन्देही १७ वटा वडामा विभाजन भएको नगरपालिका कुशल निर्वाचित जनप्रतिनिधि र मिहेनती कर्मचारीका कारण दिन/प्रतिदिन विकासको गतिमा लम्किएको छ । नगरपालिकाका सबैजसो वडाका वडा अध्यक्षहरू जनसेवामा आफूलाई बढी केन्द्रित गरेको पाइन्छ । जनताका काममा दिनरात नभन्ने गणेश न्यौपाने तिलोत्तमा नगरपालिका–१३ रूपन्देहीका वडा अध्यक्ष हुन् ।

प्राय हँसिलो र रसिलो मुद्रामा देखिने न्यौपानेले २०४९ सालबाट राजनीतिक यात्राको सुरुवात गरेका थिए । विद्यार्थी जीवनमा शैक्षिक संस्थामा इकाइ समितिको सचिव भएर कार्य अनुभव सँगालेका न्यौपाने आठ/नौ वर्षको उमेरदेखि नै मुलुक परिवर्तन गर्नुपर्छ भन्ने कम्युनिष्टहरूको नारा उचित लागेर एमालेको राजनीतिमा लागेका थिए र एमालेकै राजनीतिबाट वडा अध्यक्षमा निर्वाचित हुन सफल भए । २०५६ सालमा प्रवेशिका परीक्षा दिइसकेपछि क्याम्पसमा अनेरास्ववियूमा आबद्ध भई क्याम्पसस्तरको राजनीति गरेका न्यौपाने एमालेमा रहँदा गाउँकमिटी सदस्य, सह–सचिव, उपाध्यक्ष र कार्यवाहक अध्यक्षको समेत जिम्मेवारी सम्हालेलिसकेका छन् । सबैलाई खुशी राख्दै कार्यसम्पादन गर्न सक्षम गणेश न्यौपानेसँग जनमञ्च साप्ताहिका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको संक्षिप्त अंश :

बितेका दुई वर्षमा के–कति विकासनिर्माणका कामहरू गर्न सफल हुनुभयो ?

दुई वर्षमा सबै काम गरियो भन्न सक्ने अवस्था नरहे पनि गर्व गर्न लायक कामहरू गर्न सफल भएका छौँ । गरिएका कामहरू दीर्घकालीन महत्व राख्ने प्रकृतिका छन् । वडाको विकासको लागि विनियोजित बजेटमा खर्चको अवस्था शतप्रतिशत हुँदा कार्यसम्पादन र योजना कार्यान्वयनको अवस्थालाई यहाँले सिधै अनुमान गर्न सक्नुहुन्छ । यो समयावधिमा देखिने प्रकृतिका कामहरूमध्ये थारु होमस्टे सञ्चालन, वडा कार्यालयको भवन निर्माण, सडक मर्मत, कालोपत्रे, ग्राभेललगायतका सडकसम्बन्धी कामहरूको साथै अव्यवस्थित भैलोभूजका नहरहरूलाई एकीकृत व्यवस्थापन गर्दै सडकलाई व्यवस्थित गर्ने काममा लागेका छौँ ।

यहाँको वडाका दुई महत्वपूर्ण योजना प्रादेशिक बसर्पाक र होमस्टेको कार्यसम्पादन अवस्था कस्तो छ ?

प्रदेश नं. ५ स्तरीय प्रादेशिक बसपार्कको काम अगाडि बढिसकेको छ । एक अर्ब १२ करोड अनुमान गरिएको बसपार्कको पूर्णरूपमा डीपीआर तयार भैसकोको अवस्था छैन् । केही दिनअघि मात्र एउटा प्राविधिक टोलिले फिल्डमा गएर वास्तविक नाप लिइसकेकोले अबको छ महिनाभित्र पूर्ण योजनासहितको प्रादेशिक बसपार्कको डीपीआर तयार हुन्छ । १३ नम्बर वडाकै अर्को महत्वपूर्ण योजनाअर्न्तगतको थारु होमस्टेमा पनि पर्यटकहरूको आगमन सुरु भैसकेको छ । हालसम्म ७ वटा भवनहरू निर्माण भैसके पनि औपचारिकरूपमा शिलान्यास भएका छैनन् । उपयुक्त समय हेरेर निर्माण सम्पन्न भैसकेका ७ वटा भवनहरूको शिलान्यास र बाँकी ६ वटाको निर्माण प्रक्रिया अगाडि बढाउने गरी योजनाबद्धरूपले लागेका छौँ ।

प्रादेशिकस्तरको बसपार्क यहाँको वडामै बन्ला त ?

प्रादेशिकस्तरको बसपार्क कार्यान्वयन हुनेमा हामीहरू पूर्णरूपमा विश्वस्त छौँ । पहिला त हाम्रो योजना असफल हुन्छ कि भन्ने शंका भए पनि अब कुनै शंका मान्नु पर्ने अवस्था छैन । किनकी प्रक्रिया अगाडि बढिसकेको छ । बुटवल भैरहवामा सवारी साधनको चाप उच्च हुँदा अहिले पार्किङको समस्या उच्च छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल बेलहिया ६ लेन सडक निर्माण, तामनगर बेथरी ४ लेन सडक विस्तार, तिनाउ करिडोर निर्माण र बुटवल भैरहवा क्षेत्र मिलेर महानगरको परिकल्पनाको कारणले गर्दा मध्यभागमा पर्ने तिलोत्तमा प्रादेशिकस्तरको बसपार्कको लागि उपयुक्त स्थान पनि हो । अर्को ३३ विगाह क्षेत्रफल जमिन अहिलेको समयमा जहाँकही भेट्टाउन मुस्किल पर्ने हुँदा हरेक हिसाबले प्रादेशिक बसपार्कको लागि तिलोत्तमा उपयुक्त छ ।

वडालाई चिनाउने आधारहरू के–के छन् ?

सरकारका एक सय पर्यटकीय स्थलहरूमध्ये एक बाउन्नकोटी सामुदायिक वन हाम्रै वडामा पर्दछ । त्यसैगरी मोक्षधाम मन्दिर पनि धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ । देशकै ठूलो गाईफर्म पनि यही वडामा अवस्थित छ भने, अहिले उक्त गाईफर्म देश विदेशीहरूका लागि अध्यनको केन्द्र बनेको छ । त्यसैगरी यस क्षेत्रकै सभैभन्दा ठूलो पाँचतारे होटल टाइगर प्यालेस रिर्सोट पनि यही वडामा अवस्थित हुँदा तिलोत्तमा १३ लाई चिन्ने आधारहरू धेरै छन् ।

चालू आर्थिक वर्षमा कति बजेटमा के–कस्ता योजनाहरू कार्यान्वयनमा ल्याउनुभएको छ ?

कुल दुई करोड ६५ लाख नगरपरिषदबाट विनियोजित बजेटमा भैलोभूजका नहर व्यवस्थित गरी एकतर्फ नहर एकतर्फ सडकको विस्तर गर्ने । जनताको तटबन्धन अर्न्तगत तिनाउ नदीमा तटबन्धन गर्ने ।, प्रादेशिकस्तरको बसपार्क निर्माण प्रक्रियालाई अगाडि बढाउने ।, होमस्टे सञ्चालन गरी पर्यटकीय आकर्षणको केन्द्र बनाउनुका साथै पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य, हरियाली प्रवर्द्धन, कृषिलगायतका क्षेत्रहरूमा वडा तथा नगरपालिकास्तरका योजनाहरू अगाडि सारेका छौँ ।

चालू आवमा हालसम्मको कार्य प्रगतिको अवस्था कस्तो छ ?

शून्य छ । नगरपालिकाको आयोजनामा भएको लगानी सम्मेलन र महान चाडपर्वहरूको कारणले गर्दा चालू आवका कुनै पनि योजनाहरू कार्यान्वयनमा ल्याउन सकेका छैनौँ । अब सुरुवाती चरणमा रहेकोले छिट्टै योजनाहरू कार्यान्वयनमा ल्याउँदै छौँ ।

कार्यसम्पादनमा चुनौतीहरू कत्तिको आउने गर्दछन् ?

सामान्यरूपमा चुनौती नहुने र नआउने भन्ने कुरा हुँदैन, आइरहन्छन् । पहिलो वर्षभन्दा दोस्रो वर्ष र दोस्रो वर्षभन्दा तेस्रो वर्ष कम चुनौतीहरू आएका छन् । सबैमा चेतना भैसकेकोले विकास निर्माणमा विरोधभन्दा समर्थन जरुरी भएको आम नागरिकको बुझाइ छ । जसले चुनौतीहरू विलय हुँदै गएका छन् ।

पाँच वर्षे कार्यकालमा कस्तो वडाको रूपमा विकास गर्दै हुनुहुन्छ ?

पाँच वर्षे कार्यकालमा बजेटले भेट्ने र वडालाई आवश्यक सम्पूर्ण कामहरू निष्पक्षरूपमा सम्पन्न गर्ने मेरो मुख्य योजना हो । हरियाली तथा सौन्दर्यताले भरिएका कालोपत्रेसहितका व्यवस्थित सडकहरू ।, त्यसैगरी गौरवको कार्यक्रमअर्न्तगत होमस्टे सञ्चालनमा आएर पर्यटकीय प्रवर्द्धनमा हुनेछ । जसले वडाको आम्दानीको स्रोतलाई थप वृद्धि गर्न मदत गर्दछ । त्यसैगरी क्षेत्रीयस्तरको बसपार्क पनि निर्माण, पत्थरडाँडा तिनाउ सडकको स्तरोन्नति, सबै भैलोभूजका नहरहरू व्यवस्थित गरी एक छेउ नहर र एक छेउ सडकको रूपमा व्यवस्थित गरी सडक सञ्जाललाई व्यवस्थित गर्नेलगायत शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको विकासमा पनि उल्लेख्य प्रगति गर्ने योजना रहेको छ । (जनमञ्च साप्ताहिकबाट)

प्रतिकृया दिनुहोस