‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता 

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएसँगै सो लक्ष्य पूरा गर्नको लागि भन्दै ‘नेपाल भ्रमण वर्ष २०२०’ को सचिवालय स्थापना ग-यो । करिब दुई महिनाको समय बाँकी रहँदा सचिवालयले भ्रमण वर्ष मनाउनको लागि के–कस्ता तयारी गर्दैंछ तथा नेपालको पर्यटन क्षेत्रको विषयमा हामीले पर्यटन व्यवसायी तथा सचिवालयमा पर्यटन परामर्शदाताको रूपमा कार्यरत बच्चु श्रेष्ठसँग कुराकानी गरेका छौं । सोही कुराकानीलाई तल प्रस्तुत गरेका छौं :

भ्रमण वर्षको करिब पूर्वसन्ध्या वा नजिक हुनुहुन्छ, भ्रमण वर्षमा पर्यटक भित्र्याउनको लागि सचिवालयले कस्तो तयारी गरेको छ ?

भ्रमण वर्ष २०२० को पूर्वसान्ध्यमा यसको तयारी राम्रो रहेको छ । हामी अहिले पनि नेपालमा बढी भन्दा बढी अर्थात् २० लाख पर्यटन भित्र्याउनको लागि प्रवर्द्धनात्मक कार्यक्रम, प्रचार–प्रसार तथा बजारीकरणको कामलाई निरन्तरता दिएका छौँ । हामीले विदेशीस्थित नियोगहरूको साथ गैरआवसीय नेपाली (एनआरएन)हरूसँग मिलेर कार्यक्रमहरू निरन्तर गरेका छौँ । 

यसका साथै विभिन्न मुलुकहरूमा पुगेर मन्त्रालयका साथीहरूले भ्रमण वर्षको प्रमोशन गरिरहेका छन् । विभिन्न मुलुकका सहरहरूमा पुगेर भ्रमण वर्षको तयारी स्वरूप कार्यक्रम गर्ने, रोड सो गर्ने, पर्चा पम्पलेट वितरण गर्ने तथा त्यहाँका मानिसहरूलाई नेपालको बारेमा जानकारी गराई नेपाल आउने पर्यटकको संख्यामा बढाउँदै लैजाने प्रयासमा छौँ । यसका लागि हामीले नेपालको भौगोलिक बनोट, संस्कृति, जैविक विविधता, सांस्कृतिक सम्पदा, भाषा, जीवनशैली, सर्वोच्च शिखर सगरमाथा, भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी, जनकपुर मन्दिरलगायतका बारेमा जानकारी बाँडेका छौँ । विदेशमा प्रचार–प्रसारका साथै आन्तरिक तयारीमा समेत हामी जुटिरहेका छौँ । यी सम्पूर्ण तयारीहरूमा सरकार, ‘नेपाल भ्रमण वर्ष २०२०’ को सचिवालय, निजी क्षेत्रतर्फको पनि उत्तिकै सहभागिता र साथ रहेको छ ।

मुख्य पर्यटकीय गन्तव्यहरूमा देखिएको दुरावस्थाको कारण व्यवसायीहरू नै चिन्तित भएको समयमा आन्तरिक तयारीचाहिं कस्तो रहेको छ ? 

आन्तरिक तयारीको कुरा गर्दा मुलुकमा संघीयता आएपछि हामी तीनै तहको सरकारसँग मिलेर अघि बढ्ने तयारीमा लागेका छौँ अर्थात् लागिरहेका छौँ । जसरी केन्द्रीय सरकारले भ्रमण वर्ष मनाउने भनेर कार्यक्रम घोषणा गरेर आन्तरिक तयारीका साथै विदेशबाट बढीभन्दा बढी पर्यटक ल्याउने तयारीमा जुटेको छ । त्यस्तै केन्द्रको समन्वयमा बोर्डले प्रत्येक प्रदेशसँग मिलेर भ्रमण वर्षलाई सहज बनाउने तयारीमा जुटेको छ । प्रत्येक प्रदेशका मुख्यमन्त्री संयोजक रहने गरी भ्रमण वर्ष सफल बनाउन एउटा कार्यसमिति निर्माण गरेका छौँ । सो समितिले प्रदेशमा भएका पर्यटकीय स्थलको जानकारी गराउने प्रचार–प्रसार गर्नुको साथै पर्यटकीय गन्तव्यस्थलहरूको विकास गर्ने गर्दछ । सो स्थलहरूमा भ्रमण वर्षमा आएका पर्यटकहरू त्यहाँ पुगून् भन्ने हाम्रो उद्देश्य रहेको छ भने सोहीअनुसार तयारी समेत थालिएको छ ।

प्रदेशमा रहेका संस्कृति, जातजाति, धर्म, भाषाभाषीको बारेमा जानकारी दिई उनीहरूको कला र संस्कृति प्रदर्शन गरी पर्यटकलाई मनोरञ्जन दिने हाम्रो उद्देश्य रहेको छ भने चाडबाडको बारेमा प्रदर्शन गरेर पर्यटकलाई मनोरञ्जन दिने योजना रहेको छ । यसले गर्दा हिजो आइरहेका पर्यटकका साथै भ्रमण वर्षमा आउने पर्यटकलाई नेपाल आइरहन उत्पेरित गर्छ । यस्तै आन्तरिक तयारी स्वरूप पर्यटकलाई मनोरञ्जन दिने उद्देश्यका साथ माउन्टेन बाइक, आइस हक्की, स्काइ डाइभिङ, प्याराग्लाइडिङ, बन्जी जम्पिङलगायतको क्षेत्रहरू पनि तयार गर्दै छौँ ।

नेपालमा भित्रिने पर्यटकको अवस्था कस्तो छ र भ्रमण वर्षको लागि पर्यटकको संख्यामा कस्तो परिवर्तन चाहनुभएको छ ? 

पर्यटकको कुरा गर्दा नेपालमा पर्यटक नआएका भने होइनन्, हिजो पनि आएका थिए र भोलि पनि आउनेछन् । भ्रमण वर्ष २०२० मा भने २० लाख पर्यटक नेपाल भित्र्याउने सरकार तथा नेपालीहरूको चाहना हो । त्यसैले निरन्तर नेपाल आइरहेका पर्यटकको संख्यामा वृद्धि गर्नु भ्रमण वर्षको लक्ष्य हो भने अर्का कुरा भनेको नेपाल आउने पर्यटकको बजार वृद्धि गर्नु हो । विश्वका विभिन्न मुलुकका बजार अनुगमन गर्दै नेपाल आउने पर्यटकको बजार अध्ययन गर्नु हाम्रो उद्देश्य रहेको छ । 

भ्रमण वर्षबाट मध्यपूर्वको पर्यटकको संख्यामा वृद्धि गर्ने विचार रहेको छ । यसो भनेर अन्य महादेशहरूको पर्यटकलाई ध्यान नदिएको भने होइन । अन्य देशका पर्यटकलाई ध्यान दिएका छौँ, जस्तोः एसिया, युरोप, अमेरिका, अफ्रिकाका पर्यटक नेपाल भित्र्याउने सोचमा छौँ । मध्यपूर्वका पर्यटकलाई बढी जोड दिनुमा भने त्यहाँका पर्यटकहरू घुम्नुका साथै धार्मिक पर्यटक समेत धेरै हुन सक्ने भन्दै हामीले प्राथमिकतामा राखेका हौँ । त्यसैले हामीले संसारभरका पर्यटनक नेपालमा ल्याउने सोच गरेका छौँ । यस्तै गत वर्ष झण्डै १२ लाख पर्यटक स्थल र हवाई मार्ग हुँदै नेपाल आएका थिए । सो संख्यालाई पनि नजरअन्दाज गर्दै हामी भ्रमण वर्षको तयारीमा अघि बढेका छौँ । 

संसारभरबाट पर्यटक ल्याउने उद्देश्य राख्नुभएको छ, भौतिक पूर्वाधार तथा होटललगायतका पूर्वाधार पर्याप्त छन् ? 

मेरो विचारमा नेपालमा भौतिक पूर्वाधारलाई हेरेर पर्यटक नआउने तथा पर्यटकीय गतिविधि नबढ्ने विषयमा भने म असहमत छु । नेपालमा जति पनि भौतिकलगायतका अन्य पूर्वाधार छन् त्यो पर्याप्त छ । नेपालमा आउने पर्यटक चिल्ला सडक र ठूलाठूला भवनहरू हेर्नभन्दा पनि नेपालको अग्ला हिमालहरू हेर्ने, कुना कन्दरा जाने र त्यहाँको रहनसहन, जीवनशैली र संस्कृति हेर्नको लागि पर्यटक आउने हुन् । त्यसैले गर्दा यहाँ आउने पर्यटकहरू भनेको हिमाल हेर्न जाने, ट्रेकिङ जान आउने हुँदा यसका लागि हामी तयारी अवस्थामा छौँ । यसको साथै धार्मिक पर्यटकहरू पनि नेपालमा आउने हुँदा हाम्रा धार्मिक स्थल तथा सांस्कृतिक सम्पदाहरू हेर्न, घुम्नका लागि पर्यटकहरूलाई कुनै अवरोध छैन । 

जैविक विविधताको साथै जंगल, नदी, खोला तथा एक सय २५ जाति एक सय २३ भन्दा बढी भाषाभाषी भएका मुलकलाई हेर्न र बुझ्नका लागि पर्यटकहरू नेपाल आउने गर्छन् । मुलुकभर करिब पाँच सय ८५ वटा होटल रहेका छन् । जसमध्ये दशवटा पाँचतारे, चारतारे तीनवटा, तीनतारे ३१ वटा, ४३ वटा दुईतारे, ३३ वटा एकतारे र चारसय ६५ पर्यटकस्तरका चार सय ६५ वटा होटल रहेका छन् । यीमध्ये कतिपय सञ्चालनमा रहेको हामी पाउन सक्छौँ भने काठमाडौँमा मात्र २० लाख पर्यटक धान्न सक्ने सामर्थ्य रहेको तारे होटलदेखि अन्य होटेलहरू छ । काठमाडौँबाहेक पोखरा, चितवन, वीरगञ्जलगायतका क्षेत्रमा होटलहरू रहेको छ । होमस्टे, रेष्टुरेन्ट तथा होटलको संख्यामा समेत पछिल्लो समय वृद्धि भएको छ । होटलको संख्या वृद्धिकै कारण हाल अकुपेन्सी ४० प्रतिशतको हारहारीमा रहेको छ ।

यति भनिरहँदा अर्को एउटा कुरा भन्नै पर्ने हुन्छ सबै भू–भागमा सडक पुगेको छैन । यसलाई म स्वीकर गर्छु जसले गर्दा पर्यटकलाई केही असहज होला तर तपाईं हामीले सोचेजस्तो निकै ठूलो असर भने पार्दैन । सम्बन्धित क्षेत्र जोडिने सडक भएको भए पर्यटकलाई तथा अन्य मानिसहरूलाई सहज हुन्छ भन्ने मात्र हो । यस्तै विमानस्थलको कुरा गर्दा त्रिभुवन विमानस्थलमा भने सुधार गरिएको पाउन सकिन्छ भने भैरहवा विमानस्थल पनि सञ्चालनको तयारीमा छ । 

यस क्षेत्रका विज्ञ तथा व्यवसायीहरूले भ्रमण वर्षको लागि पूर्वाधार अपुग भइरहेको बताउँदा तपाईंहरूसँग बजेट नभएर पूर्वाधार पर्याप्त छ भन्नुभएको त होइन ? 

पहिलो कुरा त हामी अर्थात् सचिवालय संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले जति बजेट दिन्छ र जे निर्देशन दिन्छ सोहीअनुसार सञ्चालन भइरहेका छौँ । हामीले अर्थात् सचिवालयले हालसम्म कुनै शीर्षकमा बजेट माग गरेको छैन त्यसैले गर्दा पूर्वाधार पर्याप्त छ, छैन भनेर हामीलाई प्रश्न गर्नुभन्दा सम्बन्धित निकायलाई गर्दा राम्रो होला । तर यसो भनेर हाम्रो दायित्व छैन भन्न खोजेको चाहिँ होइन । यदि सम्बन्धित क्षेत्रबाट निर्देशन आएमा हामी सञ्चालन हुन हरबखत तयार छौँ । 

अर्को कुरा भनेको बजेटको अभावमा पूर्वाधारको विकास हुँदैन । त्यो विषयलाई म पनि मान्छु तर बुझनु पर्ने कुरा के हो भने नेपालमा पर्यटन आइरहेको समयमा भिजिट वर्षको लागि भनेर कुनै छुटै र नौलो पूर्वाधार बनाउन आवश्यक छैन । हिजो जुन संरचनामा पर्यटक आएका थिए भिजिट वर्ष मनाउँदा पनि सोही संरचनामा पर्यटक आँउछन् भन्ने हाम्रो बुझाइरहेको छ । बरु पर्यटकका लागि गुणस्तरीय सेवा दिनु आवश्यक छ यसका लागि व्यवसायी, सरकार, निजी क्षेत्र बसेर छलफल गरी निश्चित मापदण्ड बनाई अघि बढ्न सकिन्छ । 

यदि त्यसो हो भने पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्नेगरी अर्थात् पर्यटन क्षेत्रलाई सुधार हुनेगरी ऐन आउनु परेको भन्न खोज्नुभएको हो ? 

बहुमतको सरकार रहेको समयमा पर्यटनसम्बन्धी नीति तथा ऐनहरू निर्माण तथा परिमार्जन गुर्न आवश्यक रहेको छ । नीति तथा ऐनहरू तयार गर्दा निजी क्षेत्रलाई प्राथमिकतामा राख्नु जरुरी छ अर्थात् उनीहरूको मागबमोजिम सरकार र सर्वसाधारणलाई असहज नहुने गरी निर्माण गर्नुपर्छ । नीति निर्माण गर्दा पहिलो कुरा भनेको पर्यटकलाई दिने सेवामा गुणस्तरीय हुनु आवश्यक छ भने अर्को कुरा भनेको यस क्षेत्रमा लागेका व्यक्तिहरूका लागि उपयोगी र राम्रो हुनु पनि अत्यन्त आवश्यक छ ।

पर्यटन क्षेत्रमा काम गर्ने जति पनि व्यवसायी तथा सरोकारावालाहरू छन्, उनीहरूले पर्यटकका लागि प्रदान गर्ने सेवा गुणस्तरीय हुनु आवश्यक छ । त्यसैले गुणस्तरीय सेवा प्रदान गर्नको लागि नियमले बाँध्नु समेत आवश्यक छ । नियमले बाँधेमा सेवाग्राहीले बाध्य भएर गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने हुन्छ त्यसैले नियम आवश्यक छ भनेको हुँ । हामीले होटल, होमस्टे, रेष्टुरेन्ट जहाँसुकै पर्यटक बस्नु वा टे«किङ हिँड्नु, हिमाल चड्नेलगायतको क्रियाकलाप गर्दा समान सेवा गर्नु आवश्यक छ न कि देखावटी सेवा होइन । हामीले भ्रमण वर्षदेखि गुणस्तरीय सेवा प्रदान गरेमा आगमी वर्षहरूमा पर्यटकको संख्या वृद्धि हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ ।

अहिले पनि १२/१३ लाख मानिसहरू यस क्षेत्रमा लागिरहेका छन् भने पर्यटन उद्योग नेपालमा फस्टाएको उद्योगअन्र्तगत पर्छ । यो उद्योग विकास भएसँगै रोजगारी सिर्जना गर्ने, विदेशी मुद्रा नेपालमा भित्र्याउने तथा नेपाली मुद्रा समेत चलायमान बनाउन सहयोग गरेको छ । मुलुकमा पर्याप्त उद्योगधन्दा छैन त्यसैले राम्रोसँग सञ्चालन भएको पर्यटन उद्योगलाई सुधार गर्नु जरुरी छ यसमा सरकारले ध्यान दिनु जरुरी छ । होटेल, रेष्टुरेन्टलगायतका व्यवसाय भनेको पर्यटन उद्योगको एक भाग हो तर नेपालका सबै स्थानमा पर्याप्त होटल, रेष्टुरेन्ट भएको पाइँदैन भने यसमा काम गर्ने दक्ष जनशक्तिको समेत अभाव रहेको छ । 

पर्यटन उद्योगलाई विस्तार गर्दै लैजाने हो भने भोलिका दिनमा बैदेशिक रोजगारको अन्त्य गर्न सकिने हुँदा सरकार निजी क्षेत्र सबै मिलेर नियमसंगत तरिकाले अघि बढ्नु आजको आवश्यकता हो । स्थानीय तहमा पछाडि परेका मानिसहरूको जीवनस्तरसम्म पर्यटनबाट माथि उठाउन सकिन्छ भने उनीहरको आर्थिक रूपान्तरण समेत पर्यटनमार्फत् गर्न सकिन्छ । नेपालमा दुई सिजन मात्र पर्यटन व्यवसाय सञ्चालन हुन्छ यसलाई सदैव सञ्चालन गर्नु आवश्यक छ । यसका लागि अध्ययन र अनुसन्धान आवश्यक छ । 

हिजोको समयदेखि हामी पर्यटन भनेर कराइरहेका छौं, नीतिनियम पनि बनिरहेका छन् । पर्यटनबाटै मुलुकको आर्थिक समृद्धि सम्भव छ ? 

पहिलो कुरा भ्रमण वर्ष सफल बनाऔँ त्यसपछि गुणत्मक पर्यटनमा जोड दिऊँ अनि हेरौँ आर्थिक समृद्धि सम्भव छ, छैन ? मेरो विचारमा म मात्र होइन धेरैभन्दा धेरै नेपालीहरूले यो सम्भव देखेको कुरा हो । चाहे त्यो उच्च पदमा रहेका हुन् वा सर्वसाधारण जनता नै किन नहुन् । कुना कन्दारमा आर्थिक कारोबार हुन्छ र त्यसमा वृद्धि भएको छ भने पर्यटनले गर्दा हो । नेपालीको जीवनस्तर माथि उठेको छ भने त्यो पर्यटकले गर्दा हो त्यसैले यो कुरालाई नकार्न हामीले हुँदैन । 

अर्को कुरा भनेको पाँच वर्षमा देशको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पु-याउने लक्ष्य राखिएको छ । अहिले भने दुई दशमलव पाँच प्रतिशत योगदान रहेको छ । यो क्रम वर्षेनी बढ्दै जाने कुरामा म विश्वसत छु् । गत आर्थिक वर्षमा पर्यटन उद्योगको लागि भनेर करिब १०/११ अर्ब रकम लगानी गर्ने भन्दै स्वदेशी तथा विदेशी व्यवसायीहरू तयार रहेको पाइन्छ । आजका दिनमा सो लगानीलाई वृद्धि गर्नु समेत आवश्यक रहेको छ । 

हाल कृषि, हाइड्रोसँग पर्यटनमा समेत व्यवसायीहरूले ढुक्कसँग लगानी गर्न सक्छन् । किनभने मुलुक शान्त छ स्थायी सरकार छ अनि पर्यटन क्षेत्रमा लगानी वृद्धि, सेवाको गुणस्तरमा वृद्धि, तारे होटेल तथा रेष्टुरेन्टहरू वृद्धि हुदाँ आर्थिक क्रियाकलापमा वृद्धि देखिनु स्वाभाविक देखिन्छ जसले गर्दा भोलिका दिनमा पर्यटन क्षेत्रमा हुने आर्थिक वृद्धिदर बढ्छ भन्न सकिन्छ । 

थोरै सुरक्षाको विषयको कुरा गरौं । ठूलो संख्यामा पर्यटक भित्र्याउने भनी सबै तयारीमा लागेको अवस्थामा सुरक्षा अवस्था कस्तो छ ? 

पर्यटन व्यवसाय भनेको हिजो अर्थात् दश वर्षे जनयुद्ध(२०५२–२०६२)को दिनमा समेत निरन्तर सेवा दिइरहेको व्यवसय हो । जनयुद्धको समयमा समेत पर्यटनलाई कहीँ कतैबाट हानिनोक्सानी पुगेन भनेपछि नेपालमा पर्यटक र पर्यटन क्षेत्र सदैव सुरक्षित छ भन्न सहजै सकिन्छ । जसले गर्दा हिजोको दिनमा नेपालमा आएका पर्यटकले अहिलेको समयमा नेपाल न जाऊ भन्न सक्ने कुनै अवस्था छैन । यस्तै पर्यटक तथा पर्यटनको सुरक्षाको लागि सदैव नेपाल प्रहरी, नेपाली सेनालगायतका सुरक्षा निकायहरू सहयोगका लागि तयार भएको हामी पाउन सक्छौँ । यसका साथै पर्यटकको खोज, उद्धारजस्ता कामहरू पनि सुरक्षा निकायहरूबाट हुँदै आएको छ, त्यसैले गर्दा नेपालमा आउने पर्यटक तथा यस क्षेत्रमा संलग्न मानिसहरू सुरक्षालाई लिएर हिजोको दिनमा पनि चिन्तित थिएनन् भने भोलिका दिनमा पनि चिन्तित हुनु पर्ने कुनै कारण मैले देखेको छैन । त्यसैले बिनाहिच्चकिच्चाहट पर्यटकहरू नेपाल आउन सक्छन् र आउने पनि छन् भन्ने विषयमा हामी सबै ढुक्क छौँ ।

अन्त्यमा :- भ्रमण वर्षको तयारी स्वरूप अंग्रेजी पात्रोअनुसार डिसेम्बर ३० का दिन नयाँ वर्ष पूर्वसन्ध्या र भोलिपल्ट अर्थात् जनवरी १ का दिन भव्यताका साथ नयाँ वर्ष मनाउन लागेका छौँ । राष्ट्रपत्ति प्रमुख अथिति तथा प्रधानमन्त्री, मन्त्रीहरूको उपस्थितिमा जनवरी १ मा भ्रमण वर्ष सुरुवातको दिन स्वरूप राष्ट्रिय कार्यक्रम गर्ने भएका छौँ । राष्ट्रपति र प्रधानमन्त्रीको उपस्थितिमा सैनिक मञ्च टुडिखेलमा कार्यक्रम गर्नेछौँ भने काठमाडौँ, भक्तपुर र ललितपुरका तीनवटै दरबार स्क्वायर क्षेत्रमा एकैपटक कार्यक्रम गर्दै छौँ ।

नोट : भ्रमण वर्ष सन २०२० को घोषणा गर्नेमा भने स्व. पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यान मन्त्री रविन्द्र अधिकारी थिए । अधिकारीले २ चैत २०७४ मा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । कार्यभार सम्हालेपछिको पहिलो निर्णयस्वरूप उनले ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने र २० लाख पर्यटक भित्र्याउने घोषणा गरेका थिए । अधिकारीकै पहलमा सरकारले भ्रमण वर्ष कार्यक्रमलाई आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा समावेश गरेको थियो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस