‘सबै क्षेत्रका योजनाहरू कार्यान्वयनमा ल्याउनुपर्छ’

तामानाथ पाण्डेय वडा अध्यक्ष, तिलोत्तमा–१, रूपन्देही

‘सबै क्षेत्रका योजनाहरू कार्यान्वयनमा ल्याउनुपर्छ’

प्रवेशिका परीक्षा ‘एसएलसी’मा तीन पटकसम्म फेल भए पनि पढाइलाई निरन्तरता दिई ६५ प्रतिशत नम्बर ल्याएर उत्तिर्ण गरी व्यावस्थापन संकायमा मास्टर्स गरेका तामानाथ पाण्डेय तिलोत्तमा नगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष हुन् । २०४३ सालमा १३ वर्षको उमेरबाट राजनीति यात्रा सुरु गरेका पाण्डेय अखिल पाँचौँबाट यात्रालाई अगाडि बढाएका हुन् । जिल्ला स्तरको राजनीतिमा दख्खल राख्ने पाण्डेय राजनीतिकै क्रममा मध्यरातमा लालटिन बालेर खोल्सामा गई सिस्नोको पातमा कलम र तारको झण्डा बनाएर कसम खाई राजनीति गरेको स्मरण गर्दछन् ।

प्रधानपञ्चहरूको हेपाह प्रवृत्तिको अन्त्य गर्नको लागि गाउँमा २१ वर्षको युवालाई प्रधानपञ्च बनाउन समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका पाण्डेय २०४६ सालमा रूपन्देहीमा बसाइसरेर आएको बताउँछन् । २०४६ सालको जनआन्दोलन र त्यसपछिको चुनावमा सक्रिय भूमिका निर्वाह गरेका उनले २०४९ सालको चुनावमा मतदान प्रतिनिधि भई सक्रिय भूमिका निर्वाह गरेका थिए । गाउँमा अध्ययन गर्दा घाँस दाउरा र छोटो उमेरको राजनीतिले शिक्षाको नतिजामा असफलता भोगेका पाण्डेयले रूपन्देहीको सारदा माविमा पुनः नौ कक्षामा भर्ना भई शिक्षालाई अगाडि बढाएका थिए ।

नौ कक्षामा अध्ययन गर्दा प्रारम्भिक कमिटीको अध्यक्ष भई कार्यभार सम्हालेका उनी काठमाडौँमा विज्ञान संकायमा पढ्ने चाहना भए पनि पारिवारिक कारणले बुटवलमै व्यवस्थापन संकाय पढ्न बाध्य भएका थिए । २०४९ देखि २०५६ सम्म तीन कार्यकाल वाणिज्य क्याम्पस निर्वाचन गराउन सफल भएका पाण्डेय क्याम्पसको प्रारम्भिक कमिटीको सचिवमा रही क्याम्पसमा शौचालय अभावदेखिका धेरै समस्याहरूको समाधान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । तत्कालीन नेकपा एमालेको राजनीतिमा गाउँकमिटीको सदस्य, उपसचिव, सचिवलगायतका पदहरूमा सफलतापूर्वक कार्यसम्पादन गरेका पाण्डेय दुई कार्यकाल क्षेत्रीय सचिवालय सदस्य रहनुका साथै साविक शंकरनगर गाउँपालिककाको इन्चार्ज र सर्वदलीय समितिको सदस्य भई कार्यभार सम्हालेका थिए । दुई/चार क्षेत्रहरूको विकासले समृद्धिको सपना साकार हुन नसक्ने कुरामा विस्वस्त रहेका वडा अध्यक्ष तामनाथ पाण्डेयसँग जनमञ्च साप्ताहिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको संक्षिप्त अंश :

यहाँको निर्वाचान क्षेत्रमा विकासको अवस्था कस्तो छ ?

तिलोत्तमा नगरपालिकाका अन्य वडाहरूको तुलनामा १ नम्बर वडाको विकासको अवस्था राम्रै छ । बढ्दो शहरीकरण र अव्यवस्थित बसोबास यहाँको मुख्य समस्या हो । जुन समस्याको समाधानका लागि आवश्यक योजनाहरू कार्यान्वयनमा ल्याएका छौँ । जीर्ण र अव्यवस्थित सडक तथा पूर्वाधारको संरक्षण, प्रवर्द्धनको लागि नगरपालिका, प्रदेश र केन्द्र सरकारबाट पनि बजेट परेको छ । पार्कहरू, खेलकुद मैदान व्यवस्थित गर्ने लगायतका कामहरू पनि भैरहेका छन् । तत्कालको समयमा पानी निकासको लागि मुख्य समस्या देखिएकोले अब बन्ने सडकहरू नालीसहित हुनुपर्नेमा जोड दिएका छौँ । अचार, गुडिया, बुटिक, पुष्पखेतीलगायतका सीपमूलक तालिमहरूले सर्वसाधारणहरूलाई आत्मनिर्भर बनाउने योजनाहरू पनि कार्यान्वयनमा ल्याएका छौँ ।

वर्षमा तीन/चार वटा स्वास्थ्य शिविरहरूको साथै आयआर्जन वृद्धिको लागि विभिन्न उद्यमशिलताका तालिमहरूलाई विशेष प्राथमिकतामा राखेका छौँ । सानोबाट ठूलो बन्ने सबैको चाहना हुने हुँदा उक्त चाहनालाई मध्यनजर गर्दै उद्योग व्यवसायमा सफल कहलिएका सफल उद्योगी एवं व्यावसायीहरू सम्मलित उत्प्रेरण मिल्ने गोष्ठीको आयोजना गर्नुको साथै जनताको जीवनस्तर उकास्ने र ‘ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा’को अवधारणाअनुसारका विभिन्न कार्यक्रमहरूको साथ अगाडि बढेका छौँ ।

सर्वसाधारणहरूका आम्दानीका स्रोतहरू के–के हुन् ?

मुख्य पेशा र आम्दानीको स्रोत कृषि भए पनि घरेलु तथा साना उद्योग, मझौला उद्योग, व्यापार व्यवसायहरू पनि आयका स्रोतहरू हुन् ।

यहाँ के–कस्ता कृषि उत्पादनहरू हुने गर्दछन् ?

विशेष गरेर तरकारी खेती, पुष्प खेतीलगायत धान, गहुँ, दलहन, तेलहनलगायतका खेतीपातीहरू हुनेगरेका छन् । पशु, कुखुरा, गाईपालनलगायतका फर्महरू पनि सञ्चालनमा आएका छन् ।

यहाँको वडालाई पर्यटकीय वडाको रूपले पनि चिनिन्छ । वडाको पर्यटकीय अवस्थाको बारेमा बताउनुहोस् न ।

हो, तिलोत्तमा नगरपालिकाका अन्य वडाहरूको तुलनामा १ नम्बर वडामा पर्यटकको आगमन धेरै नै हुनेगर्दछ । वडालाई मात्र नभएर नगरपालिका र जिल्लाको एक पर्यटकीय स्थलको रूपमा चिनाउन सफल सकरनगर वन विहार अमूल्य गहना हो । वार्षिक हजारौँको संख्यामा आन्तरिक पर्यटकहरूले भ्रमण गर्ने उक्त वनबाटिकामा पछिल्लो समयमा म्यानमार, थाइल्याण्डलगायतका देशका बाह्य पर्यटकहरूको उपस्थिति पनि बाक्लिँदै गएको छ । बाटिकाभित्रको बुद्धकालीन महत्वले यस क्षेत्रलाई थप आकर्षित बनाउन सफल भएको छ । जसले बाह्य पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा मिलेको छ । रमणीय पार्क, चिडिया घर, वनभोजको लागि उपयुक्त स्थान, बाल उद्यानलगायतले आन्तरिक पर्यटनको विकासमा टेवा पु-याएको छ ।

थप विकासको लागि के–कस्ता योजनाहरू कार्यान्वयनमा ल्याउनुभएको छ ?

भर्खरै मात्र निर्माणाधीन दश तले भ्यू टावरमा पाँचौ तलाको काम अन्तिम चरणमा पुगेको छ । पाल्पाको श्रीनगरलगायत लेन्सबाट सेरोफेरोका दुरदराजसम्मका धेरै स्थानहरूको अवलोकन गर्न सकिने टावरको निर्माणसँगै पर्यटकीय विकासमा थप चमक आउनेछ । उक्त पर्यटकीय क्षेत्रको विकासको लागि स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकारसम्मको ध्यान केन्द्रित भई पर्यटकीय विकासको लागि बजेट विनियोजन हुँदा थप पर्यटकहरूको गन्तव्यस्थल बनाउन महत्वपूर्ण योगदान पुग्नेमा हामी विस्वस्त रहेका छौँ । सरसफाइ आवश्यक साजसज्जा, शुद्ध खानेपानी, व्यवस्थित शौचालय, विजुलीबत्तीको व्यवस्थालगायतका आवश्यक कार्यहरूलाई व्यवस्थित गर्दै अगाडि बढेका छौँ ।

वार्षिक कति जति पर्यटकको आगमन हुनेगरेको छ ?

यति नै भनेर काउण्ट गरेको अवस्था नभए पनि कम्तीमा पनि एक/ढेड लाख पर्यटकको आगमन हुने अनुमान छ ।

कार्यसम्पादनको दुई आर्थिक वर्ष बितिसकेको यो यो अवस्थामा के–कति कामहरू गर्न सफल हुनुभयो ?

बितेका दुई वर्षमा क्षमताअनुसारको कार्यसम्पादन गर्न सफल भएका छौँ । हिलोमुक्त तिलोत्तमाको योजनाअर्न्तगत सडक कालोपत्रे गर्ने, ग्राभेल गर्ने, सडहरूको स्तरोन्नतिसम्बन्धी कामहरूको साथै शिक्षा, स्वास्थ्य, खानेपानीलगायत वडाको आवश्यकता र जनचाहनाअनुसार चौतर्फी क्षेत्रका कामहरू गरेका छौँ ।

बितेका दुई आर्थिक वर्षमा बजेट कार्यान्वयनको अवस्था कस्तो रह्यो ?

पहिलो आर्थिक वर्षमा आठ÷दश लाख बजेट खर्च गर्न नसक्ने अवस्था भए पनि दोस्रो आर्थिक वर्षमा ९९ प्रतिशत बजेट खर्च गर्न सफल भयौँ भने चालु आर्थिक वर्षमा शतप्रतिशत विकास बजेट खर्चको लक्ष्यका साथ अगाडि बढेका छौँ ।

चालु आर्थिक वर्षमा वडाको बजेटको अवस्था कस्तो छ ?

चालु आर्थिक वर्षका लागि एक करोड ७० लाख नगरपालिकाबाट, एक करोड प्रदेशबाट र ५० लाख केन्द्रबाट विनियोजन भएको छ ।

एउटा वडाको सानो संयन्त्रमा तीन करोड २० लाख बजेट खर्च गर्न कत्तिको कठिन होला ?

कठिनभन्दा पनि बजेटको आकार अझै सानो भयो । तीन करोड होइन तीनतीना उचित व्यवस्थापनका साथ खर्च गर्ने क्षमता छ हामीसँग । साविकका तीनवटा गाविसहरूको मिलनपछि बनेको वडा भएकोले यहाँका आवश्यकताहरू धेरै छन् । जहाँका आवश्यकताहरू धेरै हुन्छन् त्यहाँ बजेटको आकार पनि ठूलो हुनु जरुरी हुन्छ ।

अन्त्यमा कार्यसम्पादनको पाँच वर्षमा के–कस्ता विकास निर्माणका कामहरू गर्ने योजनाहरूमा सञ्चालित हुनुहुन्छ ?

योजनाहरू त धेरै छन् । ती योजनाहरूमा कति सफल हुन्छन् कति असफल हुन्छन् त्यो समयले बताउने कुरा हो । म फरक सोच राख्ने व्यक्ति भएकोले चौतर्फी क्षेत्रको विकास नै मेरो मुख्य चाहना हो । सडकलगायत अन्य दुई/चार क्षेत्रको विकास मात्र समृद्धि ल्याउने आधार होइन । समृद्धिको लागि हरेक क्षेत्रको विकास उत्तिकै आवश्यकताको विषय हो । पूर्वाधार, स्वास्थ्यलगायतका केही क्षेत्रहरूको विकास देखिने प्रकृतिको विकास भए पनि सामाजिक विकास, भ्रष्टाचार निर्मूललगायतका अन्य क्षेत्रहरू पनि उत्तिकै महत्वपूर्ण विषयहरू हुन् । ‘ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा’ नगरपालिकाको नगर अभियानसँगै ‘समृद्ध नेपाल सुखी नेपाली’को राज्यको अभियानलाई पनि सार्थकता दिने अभिप्रायका कामहरू गर्ने योजनाका साथ अगाडि बढेको छौँ । (जनमञ्च साप्ताहिकबाट)

प्रतिकृया दिनुहोस