चीन–अमेरिका व्यापारिक तनाव हट्ने संकेत

निश्चित अवधिमा कर हटाउन सहमत भयौं : चिनियाँ वाणिज्य मन्त्रालय

चीन–अमेरिका व्यापारिक तनाव हट्ने संकेत

बेइजिङ, कात्तिक २२
चीन र अमेरिका निश्चित समयावधि तोकेर एकअर्का देशका वस्तुविरुद्ध थप गरिएको भन्सार कर हटाउन सहमत भएका छन् । महिनौँ लामो व्यापार युद्धको अवस्थापछि दुवै देशले उक्त निष्कर्ष निकालेको चिनियाँ वाणिज्य मन्त्रालयले जनाएको छ । यद्यपि समयतालिकाबारे भने केही भनिएको छैन ।

यसलाई दुई देशबीच भएको अन्तरिम व्यापार सम्झौताका रुपमा हेरिएको रोयटर्सले जनाएको छ । चीनको यस्तो भनाइपछि डिसेम्बर १५ मा अमेरिकाले १ खर्ब ५६ अर्ब अमेरिकी डलरका चिनियाँ वस्तुमा कर थप्ने प्रस्तावित योजना रद्द गर्ने अपेक्षा गरिएको छ । चिनियाँ मन्त्रालयका प्रवक्ता गाओ फेंगले कर रद्दको निर्णय व्यापार सम्झौताको लागि महत्वपूर्ण हुने बताउँदै दुवै देशले पहिलो चरणमा भएको सम्झौताअनुसार कर रद्द गर्नलागेको जानकारी दिए ।

‘व्यापार युद्ध करसँगै सुरु भएको थियो, अब यो रद्द गर्नैपर्छ’, गाओले नियमित पत्रकार सम्मेलनमा भने । यसलाई दुई देशबीच भएको पहिलो सम्झौताका रुपमा हेरिएको छ । तर कति वस्तुमा लगाइएको कर रद्द गर्ने भन्ने विषया आपसी छलफलबाट तय हुने उनले बताए । ‘फरक अवधिमा कर रद्द गर्न दुवै देश सहमत भएका छन् र यसमा प्रगति पनि भएको छ’, उनले भने । यसको समयतालिकाबारे भने उनले केही पनि बताएनन् ।

यसले व्यापारिक वृत्तमा आशाको सञ्चार गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले बिहीबार जनाएको छ । विकसित घटनाक्रमसँगै चिनियाँ भन्सार कार्यालय र कृषि मन्त्रालयले अमेरिकी पोल्ट्री आयातमा लगाएको प्रतिबन्ध फुकाउने तयारी गरेको छ । चीनले पूरै अमेरिकी पोल्ट्री र अण्डा सन् २०१५ को जनवरीदेखि नै प्रतिबन्ध लगाउँदै आएको छ । कर रद्द गर्ने चीनको पछिल्लो निर्णयसँगै युरोपेली सेयरबजार बिहीबार चार वर्षयताकै उच्च दरमा बढेको छ ।

यसअघि नै चिनियाँ छलफलमा सहभागीहरुले अमेरिकाले सेप्टेम्बर १ देखि १ खर्ब २५ अर्ब डलरबराबरका वस्तुमा लगाएको १५ प्रतिशत कर रद्द गरोस् भन्ने चाहेको स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । चीनले सबै वस्तुमा थोपरिएको कर अमेरिकाले जतिसक्दो चाँडो हटाओस् भन्ने चाहेको छ ।

पहिलो चरणको सम्झौतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिंगले यसै महिना हस्ताक्षर गर्ने भनिए पनि ठाउँको टुंगो लागिसकेको छैन । यही नोभेम्बरको मध्यतिर चिलीमा आयोजना हुने भनिए पनि रद्द भएको एसिया प्रशान्तका नेताहरुको सम्मेलनमा दुई देशले व्यापार सम्झौतामा हस्ताक्षर गर्ने बताइएको थियो । उक्त सम्मेलन नै रद्द भएपछि सो कार्यक्रमलाई असर पुगेको थियो ।

रोयटर्सले सम्झौतामा हस्ताक्षरको लागि लण्डनलाई मुख्य मानेको बताएको छ । आउँदो डिसेम्बर ३ र ४ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नाटो सम्मेलनमा जाने भएकाले लण्डनमा सम्झौतामा हस्ताक्षर हुनसक्नेछ । सन् २०१७ मा ट्रम्पले कार्यभार सम्हालेयता चीनमाथि व्यापारमा दबाब सृजना गर्दै आएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस