‘फोरजी सेवा विस्तार गर्न खोज्दा दबाब झेल्दै छु’

‘फोरजी सेवा विस्तार गर्न खोज्दा दबाब झेल्दै छु’

काठमाडौं, माघ २३
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपाल टेलिकमको फोरजी सेवा विस्तार गर्न खोज्दा अनेक दबाब र उल्झन झेल्दै आइरहेको बताएका छन् । उनले मंगलबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १५औं वार्षिकोत्सव समारोहमाउक्त कुरा बताएका हुन् । मन्त्री बाँस्कोटाले टेलिकमको फोरजी परियोजना रोक्न प्रपञ्च गरिरहेको जनाए । सञ्चारमन्त्री बाँस्कोटाले टेलिकमलाई जोगाउने हो भने यसलाई सुदृढ गर्न व्यवधान सिर्जना गर्न नहुने बताए । उनले भने,‘पटक–पटक तर्साएको छ, हल्लाएको छ, कि यो संस्थाको आवश्यकता छैन भनिदिनुप-यो, छ देशको सम्पत्ति हो भने रक्षा गर्नुप¥यो, सुदृढ गर्नुप-यो, बलियो बनाउनुप-यो, यहाँ केको लेनादेनाको कुरा छ ।’ फोरजी परियोजना अघि बढाउन खोज्दा राति–राति फोन गरेर तर्साइएको उनले बताए ।

टेलिकमलाई डुबाएर कसैको निजी हितमा सम्झौता नगर्ने मन्त्री बाँस्कोटाको भनाइछ । उनले अगाडि भने, ‘यो संस्थाको हितको लडाइँमा म कोहीसँग पनि घुँडा टेक्दिन, मैले यही कसम खाएको छु ।’छानबिनका नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्ष झुलाएको भन्दै उनले पछिल्लो समय विभिन्न संसदीय समितिले समेत अनावश्यक रोकतोक गर्न खोजेको समेत बताए । मन्त्री बाँस्कोटाले भने,‘ दुनियाँलाई थाहा छ, एउटा फोरजी परियोजना अल्झेको वर्षदिन भयो, पाना पल्टाई–पल्टाई अख्तियारले छानबिन गरिहाल्यो, एउटै विषयमा अनेक समितिले बोलाएको छ ।’ निजी क्षेत्रका कम्पनीले फोरजी विस्तार गरिसक्दा पनि सरकारी स्वामित्वको नेपाल टेलिकमले उस्तै गतिमा काम गर्न नपाएको उनले दाबी गरे।फोरजी विस्तार परियोजनामा अनियमितता भएको भए दोषी जेल जाने उनले बताए । टेलिकमकै कर्मचारीले फोरजी परियोजना अघि बढ्न नदिन चलखेल गरेको मन्त्री बाँस्कोटाको आरोप छ ।
यसैबीच, नेपाल टेलिकमले पोष्टपेड फोनमा मात्र दिँदै आएको सुविधा अबदेखि प्रिपेड फोन प्रयोगकर्ताहरुले समेत प्रयोग गर्न पाउने भएकाछन् । पोष्टपेड सिम प्रयोगकर्ताले रोमिङसहितको आफ्नो नम्बर विदेशमा समेत चल्ने व्यवस्थालाई फराकिलो बनाई प्रिपेड सिम प्रयोगकर्ताले पनि विदेशमा चल्ने व्यवस्था टेलिकमले मिलाएको छ । टेलिकमको १५औं वार्षिक साधारणसभाको अवसरमा सो योजना सार्वजनिक गरेको हो । यसअघि पोस्टपेडका प्रयोगकर्तालाई मात्रै टेलिकमले यस्तो रोमिङ कलको सुविधा प्रयोग गर्न पाउने व्यवस्था मिलाएको थियो । टेलिकम १६ वर्ष प्रवेश गरेको उपलक्ष्यमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा प्रिपेड फोनमा पनि रोमिङ कलको सुरुवात गरेको जनाएको छ । सो सेवालाई सूचना तथा सञ्चारमन्त्री बाँस्कोटाले शुभारम्भ गरेका हुन् ।

प्रिपेड फोन प्रयोगकर्ताले धरौटी नराखी रोमिङ सेवा प्रयोग गर्न पाउने व्यवस्था मिलाएको टेलिकमका प्रबन्धनिर्देशक डिल्लीराम अधिकारीले बताए । मोबाइलमा जति ब्यालेञ्स छ सोही बराबरको सेवा उपयोग गर्न पाउने गरी नेपाल टेलिकमले प्रिपेडका प्रयोगकर्तालाई रोमिङको सुविधा दिएको उनले बताए । 
पोस्टपेडका प्रयोगकर्ताले सुरुमा ३० हजार धरौटी राख्नुपर्ने बाध्यतालाई घटाएर १० हजार रुपैयाँ धरौटी राखेर रोमिङ सेवा लिन पाउने बनाइएको छ । नेपाल टेलिकमले सन् २००१ बाट पोस्टपेडमा रोमिङ सेवा सुरु गरेको थियो । यसका लागि आज आउटबोण्ड रोमिङ सफ्ट सार्वजनिक गरेको हो। टेलिकमले वार्षिक उत्सवको अवसर पारेर माघ २२ देखि फागुन २२ सम्म एनटी मोबाइल एप डाउनलोड तथा रजिष्ट्रेसनमा निःशुल्क १० एमबी डाटा उपलब्ध गराउने समेत जनाएको छ । जीएसएम पोष्टपेड ग्राहकलाई ९०० रुपैयाँको प्याकेजमा प्रतिमहिना दुई जीबी डाटा र ५०० रुपैयाँको निःशुल्क रिसोर्स उपलब्ध गराउँदै आएकोमा अब प्रतिमहिना अल टाइम डाटा ३.३ जीबी र ५०० रुपैयाँको रिसोर्स उपलब्ध हुने भएको छ । यता, माघ २३ देखि फागुन ८ सम्म रजिष्ट्रर हुने नयाँ जीएसएम पोष्टपेड मोबाइल ग्राहकलाई ३ महिनासम्म प्रतिमहिना अल टाइम डाटा एक जीबी र १०० मिनेट अल टाइम भ्वाइस बोनस उपलब्ध हुनेछ । माघ २२ देखि ९० दिनसम्म दैनिक, साप्ताहिक र मासिक चाइना कल प्याकेजअन्तर्गत क्रमशः ३५ रुपैयाँमा १० मिनेट, १५० रुपैयाँमा ४५ मिनेट र ५०० रुपैयाँमा १६५ मिनेट उपलब्ध हुने प्रबन्धनिर्देशक अधिकारीले बताए।

फागुन ८ गतेसम्म रजिष्ट्रर हुने नयाँ जीएसएम पोष्टपेड मोबाइलका ग्राहकलाई तीन महिनासम्म प्रतिमहिना अल टाइम डाटा १ जीबी र १०० मिनेट अलटाइम भ्वाइस बोनस उपलब्ध गराउने जनाएको छ । टुरिष्ट प्याकेजअन्तर्गत ५०० मा ५ जीबी डाटा र नेपाल टेलिकमको नेटवर्कमा ५० मिनेट भ्वाइस ५० एसएमएस तथा १०० रुपैयाँको अन्तर्राष्ट्रिय कल समेत गर्न सकिने अवसर रहेको छ । यसैगरी १००० रुपैयाँमा १० जीबी डाटा र टेलिकमको नेटवर्कमा १० मिनेट भ्वाइस र १०० एसएमएस तथा २०० को अन्तर्राष्ट्रिय कल समेत गर्न सकिने अफर रहेको छ । टेलिकमले ९० दिनका लागि दैनिक, साप्ताहिक र मासिक चाइना कल प्याकेजअन्तर्गत क्रमशः ३० रुपैयाँमा १० मिनेट, १५० मा ४५ मिनेट र पाँच सय रुपैयाँमा १६५ मिनेट उपलब्ध गराउने जनाएको छ । टेलिकमले वार्षिकोत्सवको अवसरमा २०७४ असार मसान्तसम्म बक्यौता तिर्न बाँकी रहेका सर्वसाधारणले आगामी २०७६ असार मसान्तसम्म तिरेमा सबै जरिवाना मिनाहा गर्ने जनाएको छ ।एफटीटीएच माइग्रेसन योजनाअन्तर्गत एक वर्षदेखि नियमित एडीएसएल सेवा लिएका ग्राहक तथा ३ महिनाको उक्त प्याकेज खरिद गर्ने नयाँ ग्राहकहरुलाई एफटीटीएच सीपीई निःशुल्क उपलब्ध गराउने टेलिकमका प्रबन्धनिर्देशक अधिकारीले बताए । उनले नेत्रहीन संघको सिफारिसमा नेत्रहीन व्यक्तिहरुबाट प्रयोग भइरहेको जीएसएम र सीडीएमए मोबाइलमा ५०, २०० र ३०० रुपैयाँको अलटाइम डाटा प्याकेज खरिदमा शतप्रतिशत बोनस र २०० को अलटाइम भ्वाइस प्याकेज खरिदमा ५० प्रतिशत बोनस दिने जनाए । यो योजना ९० दिनका लागि लागू हुनेछ । टेलिकमले मोबाइल प्वाइन्ट अफ सेलको माध्यमबाट कम्पनीको सेवाहरुमा रिचार्ज तथा भुक्तानी गर्दा पाँच प्रतिशतका दरले ग्राहकलाई बोनस दिने जनाएको छ । यो योजना भने ६ महिनासम्म लागू हुनेछ ।

यसैगरी, टेलिकमलेमोबाइल पोइन्ट अफ सेल्स अर्थात् एमपीओएसबाट टेलिकमका सेवाहरुमा रिचार्ज तथा भुक्तानी गरेमा ग्राहकहरुले पाँच प्रतिशत बोनस उपलब्ध गराउने भएको छ । रिचार्ज तथा भुक्तानी सहज बनाउनका लागि एमपीओएस सिम वितरण गर्दै आएको हो । मोबाइल, ल्याण्डलाइन, इन्टरनेट, सीडीएमए फोनलगायतका टेलिकमका विभिन्न सेवाहरुमा भुक्तानी सहज बनाउने उद्देश्यले टेलिकमले विभिन्न फर्म तथा पसलहरुलाई एमपीओएस सिम वितरण गर्दै आएको जनाएको छ । एमपीओएस सिमलाई कहीँ कतै मास्टर सिम भनेर पनि चिनिन्छ । विभिन्न बैंक तथा भुक्तान एपहरुमार्फत भुक्तानी तथा रिचार्ज गर्ने सुविधा थप हुनुअघि ग्राहकहरु ब्यालेन्स ट्रान्सफरका लागि एमपीओएस सिम भएको ठाउँमा गई ब्यालेन्स राख्नुपर्दथ्यो । बैंक तथा अनलाइन भुक्तानी गर्न मिल्ने विभिन्न माध्यमहरुको विकाससँगै एमपीओएस सुविधाको प्रयोगमा कमी आएपछि टेलिकमले यसलाई प्रोत्साहन गर्नका लागि बोनस योजना ल्याएको हो । यो योजना छ महिनासम्म कायम रहने टेलिकमले जनाएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध

Techie