सवा करोडको सडक योजना विवादमा

सवा करोडको सडक योजना विवादमा

काठमाडौं, माघ २०
रैनादेवी छहरा गाउँपालिका–२ तथा पाल्पा निर्वाचन क्षेत्र नं. २ (ख) को धजाबान्ने, सोमादी, सिद्देश्वर मनभाक जोड्ने करिब २० किलोमिटर सडकको नाम धजाबान्ने, तान्सिङ्गल, सोमादी, सिदेश्वर मनवाक भएपछि साविक ६ का स्थानीयहरु आक्रोशित बनेका छन् । प्रदेश सरकारको एक करोड ३१ लाख छ हजार बजेट परेको उक्त सडकमा बस्ती कम भएको ठाउँ बस्ती बढी भएको क्षेत्र दीग, छेउफान, तान्सिङ्गललगायत अन्य गाउँहरुलाई समेट्ने गरी सोमादी हुँदै मनभाक लैजाँदा प्रभावकारी हुने देखिएपछि प्रदेश सरकारले सोही बाटोलाई प्राथमिकता दिँदा साविक सोमादी ६ का केही स्थानीयहरु आन्दोलित भएका हुन् ।

साबिक ६ सोमादीका स्थानीय ठाकुर प्रसाद पोखरेलले धजाबान्ने, सोमादी, सिदेश्वर मनभाक नामाङ्कन भई रातो बुकमा चढेको माथिल्लो बाटोलाई परेको बजेट स्थानीयलाई जानकारी नै नगराई तल्लोबाटोमा राख्दा आक्रोशित भएको बताए । उनले शक्तिको आडमा नाम परिवर्तन गर्दा चेपुवामा परेको बताउँदै छलफलबाट चित्त बुझ्दो निकास निकाल्नुपर्ने धारणा राखे । पोखरेलले भने, ‘साविक सोमादी ६ का स्थानीयहरु चुप लागेर बस्ने अवस्था रहेन । स्थानीयलाई जानकारी नै नगराई वडा अध्यक्षले एकलौटी निर्णय गरेर सिफारिस पठाएर ठूलो गल्ती गर्नुभयो । हामीले भोट हालेर जिताएका हाम्रै जनप्रतिनिधिले हामीलाई जनता नगन्दा अन्यायमा परियो । हामी विकास विरोधीभन्दा गलत सिस्टमको विरोधी हौं । तान्सिङ्गलका गाउँलेसँग रहेको आत्मिय सम्बन्धलाई धमिलो बनाउने प्रयास गरिएको छ । न्यायोचित निर्णय गरेर अगाडी बढियोस त्यसमा हाम्रो केही आपत्ति हुनेछैन ।’

रैनादेवी छहरा गाउँपालिका–२ का वडा अध्यक्ष जीवनाथ पोखरेलले सबै सिफासिमा गाउँभेला गरेर गर्न थालियो भने एउटा सिफारिसलाई पाँच÷सात दिन लगाउनुपर्ने हुन्छ । वडा र गाउँपालिकाभन्दा माथिल्लो तह प्रदेश सरकारका माननीयले नाम छुटेछ थप्नुप¥यो भनेर सिफारिस दिन आग्रह गरेअनुरुप पूर्व गाविस अध्यक्ष, वडा सदस्य र स्थानीय बुद्धिजीवीको राय÷सुझावमा सिफारिस दिएको बताए । उनले कुरा नै नबुझी गाउँलेले अनयास्रै हंगामा मच्चाएको बताउँदै छुटेको नाम थपिँदैमा साबिक सोमादी ६ पछाडि पर्छ भन्ने गलत सोचको विकासमा नलाग्न आग्रह गरे । वडा अध्यक्ष पोखरेलले ठूला–ठूला ढुंगे पहराहरुको कारण माथिल्लो बाटो प्राविधिक हिसाबले कमजोर हुँदा बजेटको प्रभावकारी सदुपयोग गरी दीर्घकालीन लाभको लागि तल्लोबाटो उपयुक्त हुने देखिए पनि माथिल्लो बाटोको विकासका लागि गाउँलेलाई साथमा लिएर अगाडि बढ्ने प्रतिबद्ध रहेको जानकारी गराए ।

पूर्वगाविस अध्यक्ष चन्द्रकान्त पोखरेलले आफ्नै नेतृत्वमा साबिक सोमादीसम्म मोटरबाटो पु¥याएको र सोही बाटोबाट तान्सिङ्गल जोड्ने गरी निकास निकाल्न गरिएको प्रयास प्राविधिक समस्याले असफल भएपछि धजाबान्ने, दीग, छेउफान तान्सिङ्गललाई समेट्दै मोटरबाटो खोलेको बताए । उनले धजाबान्ने, दीग, छेउफान, तान्सिङ्गल, सोमादी हुँदै मनभाक जाँदा अधिकतम बस्ती समेटिने हुनाले प्रदेश सरकारको सो निर्णय उपयुक्त भएको बताए । पोखरेलले हाल कायम गरिएको मोटरबाटो साबिक सोमादीको ६ को तुवालैबाट जाने भएकोले यो विवाद अनावश्यक रहेको बताए । आफ्नै नेतृत्वमा सञ्चालन भएको माथिल्लो मोटरबाटोको विकासका लागि सधैँ प्रतिबद्ध रहेको पोखरेलले जानकारी गराए ।

पाल्पा क्षेत्र नं. २ ख का सांसद तुलाराम घर्ती मगरले त्रुटीबस तान्सिङ्गल छुट्न गएकोले सो बाटोको नामकरणमा तान्सिङ्गल मात्रै थपिएको बताए । उनले धजाबान्ने, दीग, छेउफान, तान्सिङ्गल हुँदै सोमादी मनभाक मोटरबाटो जाँदा सो क्षेत्रका अधिकतम बस्ती समेटिने हुँदा जनप्रतिनिधिले अधिकतम जनताको हित हुने निर्णय गर्नु उपयुक्त भएकोले सो निर्णय गरिएको जानकारी गराए । सांसद घर्तीले माथिल्लो बाटो निर्माण गर्नका लागि संघीय सरकारबाट १५ लाख बजेट परेको र सो बजेट नपुग भएमा उक्त बाटोलाई आवश्यक थप रकमको लागि व्यवस्था गर्न आफू प्रतिबद्ध रहेको जानकारी गराए । धजाबान्ने तान्सिङ्गल साविक सोमादी ६ हुँदै मनभाक जोड्ने उक्त सडक योजनामा तान्सिङ्गल थपिँदैमा विरोध गर्नुले एकातिर साउथ इण्डियन फिल्ममा जस्तो गाउँलेको आपसी वैमनश्यता गन्ध फैलिएको संकेत देखिन्छ भने अर्कोतिर विकास निर्माण निश्चित रुपमा ओझेलमा पर्छ । साविक सोमादी ६ को गाउँ सुरु भएको पहिलो घरबाटै मोटरबाटो जोडिने हुँदा विरोध गर्नुभन्दा छलफलको माध्यमबाट निकास निकाल्नुपर्ने स्थानीय बुद्धिजीवीहरुको राय छ ।                (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध

Techie