शिक्षा, समृद्धि र कोरोना सङ्कट

शिक्षा, समृद्धि र कोरोना सङ्कट

महान दार्शनिकद्वय प्लेटो तथा अरस्तुका अनुसार शिक्षाको उद्देश्य नागरिक जीवनका लागि आवश्यक ज्ञान आर्जन गर्नु हो, जसले आदर्श राज्य निर्माण गर्न सघाउँछ । नागरिक जीवनका लागि ज्ञान, सीप र स्वभाव चाहिन्छ । आधुनिक राज्य प्रणालीमा पनि शिक्षाका आधारभूत उद्देश्य परिवर्तन भएका छैनन्, परिमार्जित भएका छन् । शिक्षा शासकीय दर्शन र नागरिक आवश्यकताको सापेक्षमा परिमार्जन हुँदै जाने विषय हो । आधुनिक समयमा शिक्षाले जीवनपर्यन्तका लागि ज्ञान, नागरिक आवश्यकता पूरा गर्न व्यावहारिक सीप र क्षमता, जोखिम बहन सामथ्र्य, खास विषयमा दृष्टिकोण दिने खुबी, विश्लेषण र विवेचना क्षमता, सामुदायिकता बोध, सकारात्मकता र संयमजस्ता आधारभूत नागरिक गुण विकास गर्नु पर्दछ भन्ने मान्यता राखिन्छ ।

शिक्षामार्फत मानसिक क्षितिज उघ्रिन्छ । यसले सबै प्रकारको चेतनाको स्तरलाई फराकिलो पार्दछ ता कि व्यक्ति जागरुक, सिर्जनशील र विवेकशील बन्न सकोस् । राज्य प्रणालीको स्तर, मुलुकको समृद्धि, सामुदायिकता र सभ्यता सबै शिक्षाका परिणाम हुन् । त्यसैले असल तथा सीपयुक्त नागरिक उत्पादन गर्नु राज्यको प्राथमिक दायित्व हो । व्यक्तिमा अन्तरनिहित सम्भावनालाई उजागर गरी सीपयुक्त बनाउन राज्य र विश्वसंस्थाहरू क्रियाशील रहन्छन् । समाजको स्वरूप पनि शिक्षाले नै निर्धारण गर्दछ । विश्व एक्काइसौं सताब्दीमा प्रवेश गर्नैलाग्दा आउँदो सताब्दीको स्वरूप कस्तो हुने भन्ने अनुमान र अध्ययनमा फ्रेडरिको मायर, कोफी अन्नानहरू बेस्सरी लागि परेका थिए ।

एक्काइसौं अर्धसदीतिर पुग्दा के–कस्तो शिक्षा चाहिला भने युभल हरारी जस्ता दार्शनिकहरू अनुमान लगाइरहेका छन् । सर्वव्यापी शिक्षा, जीवनोपयोगी सीप र सिर्जनशीलता साझा निष्कर्ष हो । शिक्षाको उज्यालो घाम र सीप विकास गर्ने अवसर सवैलाई उपलव्ध गराई सबै प्रकारका अभाव, असमानता र विपन्न्ता निर्मूल पार्न सकिन्छ भन्ने मान्यतामा राज्यहरू निर्दिष्ट छन् । तर, अल्पविकसित मुलुकहरू आधारभूत शिक्षा साक्षरता, माध्यमिक शिक्षा सीप र उच्च शिक्षा प्रतिस्पर्धामुखी बनाउनेतर्फ खासै उपलब्धि दिन पछि परे । परिणामतः अभाव, विन्नता, वञ्चिती र बेरोजगारीको समस्यामा मुलुकहरू रहिरहे ।

नेपालमा शिक्षा विकासको दृष्टिकोण औपचारिक रहँदै आएको छ । शैक्षिक अनुष्ठानहरू नागरिक सीप र स्वभाव परिवर्तनका स्थल बन्न सकेका छैनन्, न त पाठ्यक्रम, पाठ् वातावरण र शिक्षण विधि नै त्यसअनुरूपको छ । राष्ट्रिय शिक्षा पद्धतिका नाममा २०२८ मा जीवनोपयोगी र व्यावहारिक शिक्षा दिने कार्यक्रम कार्यान्वयन गरिएको थियो । तर, रणनीतिगत सतहीपनका कारण यो परियोजनामा सीमित भयो, पद्धति बन्न सकेन । एक दशकपछि सूचनामुखी औचिारिक शिक्षा पद्धतिमा मुलुक पछिल्तिर मात्र फर्केन यसअघि स्थापित शैक्षिक मूल्य पनि विनास भयो, नया प्रणाली स्थापित भएन । त्यसपछि शैक्षिक अभिमुखीकरण उल्टो दिशातर्फ गयो, लगातार टेवुल मानिस बनाउने काम हुँदै आएको छ । चालीसको दशकपछि उदारीकरणका नाममा निजी विद्यालयहरू खुले, शैक्षिक विभेदीकरणको संस्थागत भयो, हुने र नहुने परिवारको शिक्षा छुट्टै भयो, शिक्षालयहरू व्यापारिक कम्पनी भए ।

विकेन्द्रीकरणका नाममा सार्वजनिक शिक्षाको सामुदायीकरण भयो, शिक्षकहरू राजनीतिकृत भए । शिक्षक र शिक्षार्थी दुवैमा अनुशासनहीनता बढ्न गयो । निजी विद्यालयहरू नियमन शृङ्खलामा समेटिएनन् । चार विषय अनुशासनमा प्राविधिक शिक्षा एवं व्यावसायिक तालिमका लागि ट्रेडस्कुल खोलिएका छन् । तर, अभिमुखीकरण र प्रशिक्षण सीपको कमजोरीका कारण यसले पनि स्वरोजगारी सिर्जना गर्ने जनशिक्त उत्पादन गर्ने उद्देश्य पूरा गरेन । डकारलगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा गरिएको प्रतिबद्धताले शिक्षा क्षेत्रमा लगानी भने व्यापक बढ्न गयो । आवश्यकताभन्दा सामाजिक–राजनीतिक उपभोगका लागि पनि विद्यालय सञ्चालनमा छन् । यी कारणले शिक्षाको व्यावहारिक उद्देश्य सीपयुक्त अनुशासित जनशक्ति उत्पादन गर्न शिक्षा प्रणाली असफल देखियो । शिक्षाले रोजगारी बनाएन, जागिर खोज्ने शिक्षा हाम्रो वास्तविकता बन्यो । शिक्षाले श्रमप्रति सम्मान गरेन, ज्ञान एवं जानकारीलाई प्रधानता दियो । सकारात्मक संस्कृतिलाई पनि आत्मसाथ गरेन, सामाजिक विशृङ्खलताले बढावा पायो । परिणाम न सीप, न संस्कार न सशक्तीकरण र समानताको अवस्था देखिन पुग्यो ।

बहुदलीय प्रजातन्त्रको पुनस्थापनादेखिका आँकडा हेर्ने हो भने शिक्षा लगायत सामाजिक क्षेत्रमा मुलुकले प्रगति गरेको सूचकाङ्कहरू हामीसँग छन् । प्राथमिक तहको खुद विद्यार्थी भर्ना दर (१ देखि ५ बर्ष) ९६ दशमलव ५ प्रतिशत, विद्यालय छाड्ने दर ३ दशमलव ६ प्रतिशत, विद्यालयमा रहने अवधि १२ दशमलव २ वर्ष र छात्र–छात्रा अनुपात एक सय दशमलव एक पुगेको छ । केही वर्षपछि मुलुक नै पूर्ण साक्षर हुने अभियानमा छ । यो राम्रो कुरा हो । तर, यतिले मात्र पुग्दैन । शिक्षा पद्धतिले जीवन पद्धति सुधार गर्न सक्नुपर्छ, जागिर खोज्ने शिक्षा होइन, जागिर बनाउने शिक्षा हुनुपर्दछ । शिक्षा प्रणालीले प्रत्येक व्यक्तिको सुरक्षित भविष्यको ग्यारेन्टी गर्नु पर्दछ । परापेक्षी होइन, स्वाधिन र सशक्त नागरिक भावना बोध हुने ज्ञान, सीप र स्वभाव दिनु पर्दछ । किनकी शिक्षा सबै प्रकारको पछैटेपन, भेदभाव र अभवा अन्त्य गर्ने एक मात्र शक्ति हो । जबसम्म शिक्षालाई व्यक्तिको सर्वाङ्गिण विकासको माध्यम बनाउन सकिँदैन, यसले सामाजिक समस्या हल गर्ने होइन, समस्याको सिर्जना मात्र गर्छ । समाजले खोजेको शिक्षा वास्तविक मानव विकासको आधार बन्न सक्ने शिक्षा हो, न कि अक्षरमार्फत ज्ञान र जानकारी मात्र लिने शिक्षा । जीवनपर्यन्त सीप र चेतना दिने शिक्षा नै एक्काइसौँ सताब्दीको माग हो । दिगो विकास लक्ष्यले पनि यसै कुरालाई जोड दिएको छ ।

कोभिड–१९ का कारण विश्व आक्रान्त छ । यसले समाज व्यवस्थामा थुप्रै प्रभाव पार्दै छ । त्यसमध्ये प्रमुख भार गरिब र विपन्नमाथि पर्दैछ । सामान्य गरिबीमा रहेकाहरू चरम गरिबीतिर धकेलिँदै छन्, न्यून वर्गीय परिवारमा गरिबीको सबै स्वरूप देखिँदै छ । किनकी आपूर्ति शृङ्खला टुटेको छ, रोजगारी खोसिएको छ, उत्पादनहरू महंगा भएका छन्, गतिशीलता एकदमै सीमित छ । आर्थिक समृद्धि र सामाजिक रूपान्तरण गर्ने अभियानमा यो गम्भिर चुनौती हो । अनेकौ यस्ता चुनौती भविष्यमा पनि नआउलान भन्न सकिन्न । यसर्थ शिक्षा प्रणालीलाई आमूल परिवर्तन गर्ने यो उपयुक्त समय पनि हो । जीवनोपयोगी शिक्षामार्फत नागरिक सशक्तीकरण गर्न शिक्षाका संरचनामा आमूल परिवर्तनको आवश्यकता छ । विज्ञका सुझावहरू फेरि ज्ञानमुखी र अव्यावहारिक हुनसक्छन्, जस्तो विगतदेखि नै देखिँदै आएको छ । सिंगापुरका नेता लि क्यान यूले सिंगापुर निर्माणको समयमा थोरै सिकाउने, धेरै जान्ने शिक्षामा जोड दिएथे, त्यो व्यवसायमूलक सीप दिने शिक्षा थियो । यसले के पुष्टि गर्दछ भने असल र सीपयुक्त शिक्षामार्फत नागरिकलाई सशक्तीकृत गरेपछि धेरैप्रकारका दैनन्दिनी आवश्यकता उसले आफैँ पूरा गर्दछ र राष्ट्र निर्माणको बाटो स्वचालित हुन्छ ।

शिक्षाको उल्लिखित उद्देश्य पूरा भएपछि सामाजिक गतिशीलतासँग अनुकूलित हुने क्षमता विकास हुने मार्ग प्रशस्त हुन्छ, व्यक्ति प्रतिस्पर्धी अनि नवप्रवर्तित हुँदै जान्छ । समाजलाई गतिशील बनाउनु र गतिशील समाजसँग अनुकूलित हँुदै जानु शिक्षाको नियम हो, विकासको सिद्धान्त हो । ज्ञान र प्रविधिको विष्फोट भैरहेको एक्काइसौँ सताब्दीमा त्यसैसँग अनुकूलित हुँदै जाने स्वचालित प्रणाली विकास गर्न नसकिएमा आजको पुस्ता मात्र होइन, आउने पुस्ता पनि गतावधिक र अस्वाभाविक बन्नेछ । यसखाले चुनौतीले रोजगारी, उपयोग, गतिशीलता, सामाजिक सम्बन्ध, व्यवहार, उत्पादन र आपूर्ति प्रणालीलगायत जीनको सबै पहलूलाई एकसाथ प्रभाव पार्ने निश्चित छ । भविष्य यस्तै हुन्छ भनेर भन्न सकिँदैन, तर यस्तो प्रवृत्तिबाट गतिशील छ र चुनौती यसखाले आउँदैछन् भन्न भने सकिन्छ । शिक्षाले स्वाभाविक रूपमा सबैखाले चुनौती सम्बोधन गर्ने सीप, सामथ्र्य र उत्साह सिर्जना गर्नुपर्दछ । अन्यथा त्यो शिक्षा प्रणाली नै गतावधिक बन्ने छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie