सेनामाथि प्रश्न !

नेपाली सेनाको इतिहास गौरवमय छ । नेपाली सेना विश्वमै राजनीतिक गन्ध नआउनेमध्येमा पर्छ । यसले जस्तासुकै राजनीतिक परिवर्तनलाई पनि सहज स्वीकार गरेर अगाडि बढेको छ । नेपालमा राजतन्त्र समाप्त हुँदा सेनाले विद्रोह गर्छ भन्ने एउटा त्रास थियो । त्यसमा पनि एउटा तर्क छ । नेपालको सेनालाई राजतन्त्रसँगै नेपालमा जन्मिएको विश्वास गरिन्छ । पृथ्वीनारायण शाहले सेना लिएरै नेपाल एकीकरण गरेका थिए ।

राणाकालमा पनि सेनाले राजालाई साथ दिएकै थियो । यद्यपि तत्कालीन शासक राणाविरुद्ध सेना थियो भन्न खोजेको होइन । सेनाले आफूलाई त्यतिबेला पनि सन्तुलनमा राखेकै थियो । नेपाली सेनालाई सन्तुलित संगठनको रूपमा लिइन्छ । त्यही भएर विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनका लागि नेपाली सेनाको सक्रिय सहभागिता रहँदै आएको छ ।

यो त भए नेपाली सेनाको सन्तुलित भूमिकाको सामान्य चर्चा । अर्को कुरा नेपाली सेनालाई धेरै बहादुर सेनाको रूपमा पनि लिइन्छ । नेपाली सेनाकै कारण नेपालमा बेलायती साम्राज्य खडा हुन सकेन । अंग्रेजहरूलाई नेपाली सेनाले परास्त गरेका विभिन्न घटनाले देखाउँछ । नेपाली सेना विश्वकै बहादुर सेनामध्येमा पर्छ । अहिले पनि ब्रिटिश गोरखा र भारतीय गोरखा सेना छन् ।

नेपालीहरू बहादुर हुने भएकाले बेलायत र भारत जस्ता शक्तिशाली देशहरूले नेपाली युवालाई आफ्नो संगठनमा लिएर भिन्नै रूप दिएका हुन् । नेपाली सेनाले देशभित्र मात्र होइन बाहिर पनि आफ्नो बहादुरी राम्रैसँग देखाएर नेपाललाई विश्वमा चिनाउने काम गरेको छ । यसलाई निरन्तरता दिने पक्षमा सेना छ । अर्थात् आफूमाथिको विश्वासमा कतैबाट पनि आँच ल्याउन नदिने पक्षमा सेनाको नेतृत्व चनाखो नै भएको देखिन्छ ।

सन्तुलित र बहादुरी भूमिकाको कारण नेपालभित्र पनि विभिन्न कठिनपूर्ण गैरसैनिक काममा समेत नेपाली सेना प्रयोग हुँदै आएको छ । सरकारले प्रयोग गर्दा सैनिक नेतृत्वले पनि त्यसलाई स्वीकार गरेको छ । नेपालको जटिल भौगोलिक अवस्था छ । जस्तासुकै भीरमा पनि मानव बस्ती छन् । ती बस्तीलाई यातायातको सुविधा दिलाउने काममा नेपाली सेनाको भूमिका रहँदै आएको छ । सेनाले धेरै जटिल भूगोलबाट पनि सडक निर्माण गरेर यातायात सहज बनाउने अनवरत प्रयास गरेको छ ।

सेनाले पूर्वदेखि पश्चिमका उत्तरी कडा चट्टानमा आफूलाई दह्रोसँग उभ्याएको कारण जटिल कामको लागि सेनाको माग हुने गरेको छ । हिजो नेपाली सेनासँग युद्ध लडेका नेता र कार्यकर्ता पनि अहिले सडक निर्माणका जटिल काममा नेपाली सेनाको भूमिका खोजिरहेका छन् । नेपाली सेनाको प्रयोगले नै जटिलभन्दा जटिल ठाउँमा पनि सडक निर्माणका काम भएका छन् । नेपाली सेनाको भूमिकाको कारण राजनीतिक दलका नेताहरूको विकासको आकांक्षा सहजरूपमा पूरा भएको छ ।

नेपालको गेमचेन्जर योजनाको रूपमा लिइएको देशको संघीय राजधानी काठमाडौँ र तराई जोड्ने काठमाडौँ–तराई–मधेश दु्रतमार्ग (एक्सप्रेस वे) को निर्माणको नेतृत्व गर्ने जिम्मा सरकारले नेपाली सेनालाई दिएको छ । नेपाली सेनाको विगत हेरेरै सरकारमा बस्नेले उक्त सडक सेनाको नेतृत्वमा बनाउन दिएका हुन् । त्यसमा तत्कालीन विपक्षी दलहरूसमेत सहमत थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काम गर्दा समयमा उक्त सडक निर्माण पूरा नहुने आँकलन गर्दै सरकारले समयमै निर्माण पूरा गर्न २०७४ साल वैशाखमा सेनालाई निर्माणको जिम्मेवारी दिने निर्णय गरेको थियो । त्यसपछि भौतिक मन्त्रालयले सोही वर्ष साउन २७ गते आयोजना नेपाली सेनालाई हस्तान्तरण गरेको थियो । सम्झौताअनुसार सेनाले सो सडक २०७८ साल चैत महिनाभित्रमा निर्माण पूरा गर्नुपर्ने छ ।

अहिलेको अवस्था हेर्दा दु्रतमार्गको निर्माण ०७८ को चैतमा नसकिने पक्का जस्तै छ । सेनाले जति नै तीव्ररूपमा काम गरे पनि खरिद प्रक्रियाका कानुन उसले उल्लंघन गर्न सक्तैन । त्यसमा सबै बाँधिनुपर्छ नै । अहिले अधिकांश पुलका काम सुरु नै हुन सकेको छैन । पुलको फेरि टेण्डर गर्नुपर्ने अवस्था छ । जग्गाका समस्या अझै पनि बाँकी छन् । सेना अहिले दु्रतमार्गमा जटिल अवस्थामा पुगेको छ । ऊ पनि एउटा सामान्य ठेकेदारजस्तो हुने हो कि भन्ने आशंका आम नागरिकले गर्न थालेको छन् ।

सेनाले सरकारसँग दु्रतमार्ग निर्माणसँग सम्बन्धित सबै कानुनी विषयमा पहिला नै कुरा टुंग्याउनुपर्ने थियो । डीपीआरलगायतका विषयलाई ख्याल गरेर सेनाले यो मितिमा काम सकिन्छ भन्ने प्रतिबद्धता गर्नुपर्ने थियो । सेना त्यसमा चुकेको छ । सेनाले ठूलो परियोजना हो, सरकारले दियो गर्ने हो भनेर त्यसरी हौसियर हात हाल्नुभन्दा अगडि गम्भीररूपमा अध्ययन र विश्लेषण गर्नुपर्ने थियो । त्यसमा सेना चुकेकै हो । सेनाले अध्ययन र विश्लेषण गरेर किन दु्रतमार्ग हात हालेन भनेर अहिले सेनामाथि प्रश्न उठेकै छ । यसमा सेनाले जसरी घुमाएर जवाफ दिने प्रयास गरे पनि चित्तबुझ्दो र सही जवाफ दिन सक्तैन ।

दु्रतमार्गको काम छिट्टोमा २०८० सालमा मात्र निर्माण पूरा गर्न सकिने प्राविधिकहरूको आँकलन छ । सेनाले सुरुमै दुई वर्ष थप गरेर भनेको भए सेनाको केही जाने थिएन । उसले वास्तविक अवस्था बोल्यो भनेर सेनाकै प्रसंशा हुनेथियो । यहाँ सेनाको प्रशंसाभन्दा पनि नेपाली सेनाको बारेमा विगतमा जति कथा थिए त्यसलाई जोगाउनको लागि उसले आफूलाई दु्रतमार्गको विषयमा सम्हाल्न नसकेकै हो । यसरी एकएक गरेर एउटा दुईवटा काममा सेना चुक्यो भने नेपाली सेनामाथि अरु पनि प्रश्न उठ्न सक्तछ । सैनिकजस्तो संगठनका कामको बारेमा प्रश्न उठ्नु सामान्य विषय होइन । सेना आइरन अनुशासनमा बस्नै पर्छ । अरुका निर्माण कार्यसँग सेनाको निर्माण कार्य दाँज्ने अवस्था आउनु स्वाभाविकरूपमा लिन सकिन्न । (जनमञ्च साप्ताहिकबाट)

प्रतिकृया दिनुहोस



विविध

Techie