‘शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको महत्वपूर्ण योगदान’

‘शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको महत्वपूर्ण योगदान’

काठमाडौं, माघ २७
ललितपुरको सैंबु, बुङ्गमतीमा अवस्थित आदर्श सौलः युवक माध्यमिक विद्यालयले आइतबार स्वर्ण महोत्सव मनाएको छ । ५० वर्ष पुगेको अवसरमा विविध कार्यक्रमसहित स्वर्ण उत्सव मनाएको विद्यालयका शिक्षक टंक आचार्यले जानकारी दिए । स्वर्ण उत्सवको प्रमुख अतिथि रहेका उपराष्ट्रपति नन्द बहादुर पुनले विद्यालयले ५० वसन्त पार गरेकोमा विद्यालय परिवारको प्रशंसा गरेका छन् ।

‘सामुदायिक विद्यालयले मुलुकको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको छ’, उनले भने, ‘मुलुकमा रहेका अन्य विद्यालयहरु पनि आर्दश सौल जस्तो गुणस्तरीय शिक्षा प्रदान गर्न सक्नुपर्छ । आर्दश सौल गुणस्तरीय शिक्षाका लागि नमुना विद्यालयको रुपमा रहेको हुदाँ यसको सिको अन्य विद्यालयले समेत गर्नु आवश्यक छ ।’ आगामी दिनमा निजी विद्यालयबाट विद्यार्थीहरु अध्ययनका लागि सामुदायिक विद्यालयमा आउने खालको वातावरण बनाउनुपर्नेमा उनले जोड दिन मुलुकभरका विद्यालयलाई आग्रह गरे ।

कार्यक्रममा सांसद पम्फा भुसालले मुलुकको विकासको लागि शिक्षा अपरिहार्य रहेको बताइन् । मुलुकको विकासको लागि शिक्षा अत्यन्त आवश्यक रहेको भन्दै हालको शिक्षालाई परिमार्जन गरी अघि बढ्नु आवश्यक भएको बताईन् । हरेक विद्यालयमा इलोक्ट्रोनिक पुस्तकालय, विषयअनुसारको प्रयोगशाला, शिक्षक/शिक्षिकाको लागि उपयुक्त सेवा सुविधा लगायतको उचित व्यवस्थापन हुनुपर्ने उनले बताइन् । आदर्श सौलले यति लामो समयसम्म उपत्यकाको मात्र नभएर अन्य जिल्लाका बालबालिकालाई शिक्षा प्रदान गरेर जुन योगदान गरेको छ त्यो अत्यन्त प्रशंसानीय रहेको उनले बताइन् । आदर्श सौलको आजको दिनसम्म आइपुग्नुमा स्वर्गीय पूर्णबहादुर खड्का र २७ वर्षसम्म प्रधानाध्यापकको रुपमा कार्यरत स्वर्गीय भीम प्रसाद सापकोटाको योगदान अविस्मरणीय रहेको छ । प्रधानध्यायपक सरोजभक्त आचार्यले बालबालिकाको सुनौलो भविष्यको आधार भनेको गुणस्तरीय शिक्षा भएको बताए ।

विद्यालयका अध्यक्ष बाबुकृष्ण महर्जनले आदर्श सौलले गुणस्तरीय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा समेत ध्यान दिँदै आएको बताए । हाल आदर्श सौलमा अध्यापन गरिरहेका शिक्षकहरु केशव शर्मा तथा निरोज श्रेष्ठले आफूहरुले विद्यार्थीको चाहनाअनुरुप शिक्षा प्रदान गर्न सकेको बताए । शर्माले आफूलाई परिष्कृत गर्दै विज्ञान र प्रविधि युगका विद्यार्थीलाई व्यावहारिक ढंगबाट शिक्षा प्रदान गर्ने गरेको बताए । यस्तै श्रेष्ठले कक्षाकोठामा मात्र अध्ययन कार्यलाई सीमित नगरी बाह्य तथा प्रयोगात्मक ढंगबाट शिक्षा प्रदान गरेको बताए । शिक्षिका नीरु पाण्डे खत्रीले विद्यार्थीको भावना बुझेर पढाउने गरेको बताइन् । विद्यार्थीको चाहनाअनुरुप मल्टिमिडियाको प्रयोग गरी बुझ्ने तरिकाले पढाउने गरेको बताइन् ।

शिक्षिका ममता शाक्य, ललिता विष्ट, सविना मर्हजन, रुपा महर्जन लगायतका शिक्षिकाहरुले भौतिक, आर्थिकलगायतको अभावको बीचमा पनि गुणस्तरीय शिक्षा दिन सफल भएको बताए । २०२६ साल माघ २६ गते स्थापना भएको सो विद्यालय आइतबार ५० वर्ष पुगेको उपलक्ष्यमा स्वर्ण महोत्सव मनाएको हो । कार्यक्रममा ललितपुर क्षेत्रका राजनीतिक नेतृत्व, सामाजिक व्यक्तित्व तथा पूर्व तथा वर्तमान शिक्षक/शिक्षिका तथा आर्थिक सहयोग प्रदान गर्ने व्यक्ति, उत्कृष्ट विद्यार्थीलगायतलाई सम्मान गरिएको थियो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie