शैक्षिक सुधारका लागि प्रधानाध्यापकसँग कार्यसम्पादन

शैक्षिक सुधारका लागि प्रधानाध्यापकसँग कार्यसम्पादन

सोलुखुम्बु्, माघ १५
शैक्षिक सुधारका लागि सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले प्रधानाध्यापकहरूसँग कार्यसम्पादन सम्झौता गरेको छ । सामुदायिक विद्यालयको सवलीकरणका लागि मुक्लीमा आयोजित शिक्षा सम्मेलनको अवसरमा गाउँपालिकाले ५२ सामुदायिक विद्यालयका प्रध्यानाध्यापकसँग कार्यसम्पादन सम्झौता गरेको हो । सोमबार गरिएको सम्झौतामा एक महिना, ६ महिना र एक वर्ष भित्र गाउँपालिका र प्रध्यानाध्यापकले गर्नुपर्ने कामको फेयरिस्त उल्लेख गरिएको छ ।

२०७७ माघ मसान्तसम्मको अवधिमा सम्झौतापत्रमा उल्लेख बुँदाहरू कार्यान्वयनमा ल्याइसक्नुपर्ने प्रावधान राखिएको छ । एक महिनाभित्र प्रध्यानाध्यापकहरूले आफ्नो विद्यालयलाई पूर्ण सरसफाइ विद्यालय घोषणा गर्नुपर्ने, विद्यालयमा रहेका भौतिक संरचना, प्रयोगशाला, कम्प्यूटर ल्याव, पुस्तकालयको उचित प्रयोग गर्ने, शिक्षक, विद्यार्थी, अभिभावक आचारसंहिता निर्माण गरी लागू गर्नुपर्नेछ भने पठनपाठन र अतिरिक्त क्रियाकलापको योजना बनाई कार्यान्वयन सुरु गर्नुपर्ने, पोशाक अनिवार्य गर्ने, शिक्षकको कार्यविभाजन गर्ने, सहायक प्रध्यानाध्यापक नियुक्ति गर्नेलगायतका काम गरिसक्नुपर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

छ महिनाभित्र गर्नुपर्ने गरी सम्झौतामा विद्यालय सुधार योजना निर्माण गरी लागू गर्ने, व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र अभिभावकको भेला चौमासिक रूपमा डाक्ने र सार्वजनिक सुनुवाइ गर्ने, हरेक महिना स्टार्फ मिटिङ, हरेक २ महिनामा शिक्षक अविभावक संघको मिटिङ र विद्यालयको प्रगति विवरण गाउँपालिकामा बुझाउने, विद्यालयमा मद्यपान तथा धुम्रपानलाई बन्देज लगाउनेलगायतका काम गर्नुपर्ने गरी प्रध्यानाध्यापकसँग सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले जानकारी दिए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie