सञ्चालनमा आएको एक महिनामा नपुग्दै बर्थिङ सेन्टर बन्द 

सञ्चालनमा आएको एक महिनामा नपुग्दै बर्थिङ सेन्टर बन्द 

दोलखा, कात्तिक २०
कर्मचारीको अभावका कारण दोलखाको शैलुङ गाउँपालिका ४ को मागापौवामा सञ्चालनमा रहेको बर्थिङ सेन्टर बन्द भएको छ । गत भदौबाट सञ्चालनमा आएको बर्थिङ सेन्टर एक महिना नपुग्दै असोजको पहिलो साता नै बन्द भएको छ । कार्यालयमा काम गर्ने कर्मचारी अभावका कारण बन्द गर्न बाध्य भएको वडा नम्बर ४ का वडा अध्यक्ष भरतप्रसाद ढुङ्गेलले जानकारी दिए । बर्थिङ सेन्टरमा रहेका दुई जना अनमी कर्मचारी समायोजनबाट सरुवा भई गएकाले दशैँ अघिबाट नै सार्वजनिक सूचना जारी गरी बर्थिङ सेन्टर बन्द गरिएको छ । 

वडामा बर्थिङ सेन्टर अति आवश्यक भएकाले गत भदौमा सञ्चालन गरिएको भए पनि कर्मचारी अभावका कारण बन्द गर्नुपरेको मागापौवा स्वास्थ्य चौकीका प्रमुख टपेन्द्र शाहले दुःखेसो पोखे । कर्मचारी नभएकै कारण बन्द गरिएको बर्थिङ सेन्टर कर्मचारी समायोजनमार्फत आए तत्काल सञ्चालन गर्ने तयारीमा रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु कार्कीले जानकारी दिए । 

स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर नहुदाँ मागपौवाका महिलालाई घरमा नै प्रसूति गराउनुपर्ने बाध्यता रहेको थियो । गाउँपालिकाको आर्थिक सहयोग र वडाको सक्रियतामा बर्थिङ सेन्टर सञ्चालन गरिएको थियो । गाउँपालिकामा रहेका पाँचवटा बर्थिङ सेन्टरमध्ये अन्य चारवटा पनि जनशक्ति अभावका कारण कार्यालय नै बन्द गर्नुपर्ने अवस्था रहेको छ । कर्मचारी अभावका कारण प्रभावकारी रुपमा सेवा दिन नसकिएको गाउँपालिकाले जनाएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस