केपिलासगढी गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर

केपिलासगढी गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर

खोटाङ, कात्तिक १९
जिल्लाको केपिलासगढी गाउँपालिकाका सबै वडाहरुमा सुरक्षित बर्थिंङ सेन्टर सञ्चालनमा आएको छ । गाउँपालिका अन्तरगतका सबै वडामा बर्थिङ सेन्टर स्थापना गरिएसँगै गाउँपालिकामा पूर्णरुपमा बर्थिङ सेन्टरको सुविधा पुगेको छ । सातवटा वडा रहेको गाउँपालिकाका फेदी, खार्तम्छा, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङदेलमा यसअघि नै बर्थिङ सेन्टर स्थापना पछि सेवा प्रवाह भईरहेको छ । बाँकी रहेको बाँस्पानीस्थित स्वास्थ्य चौकीमा पनि बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएपछि गाउँपालिकामा बर्थिङ सेन्टरको सहज पहुँच पुगेको हो ।

बास्पानीमा स्थापन गरिएको बर्थिङ सेन्टरको शनिबार प्रतिनिधिसभा सदस्य विशाल भट्टराई र प्रदेश सभा सदस्य राजन राईले संयुक्त रुपमा उद्घाटन गरे ।अमेरिकी संस्था डि.टु.एन फाउन्डेसनको ५८ लाख र २० प्रतिशत स्थानीय जनश्रमदानवाट आठ कोठे बर्थिङ सेन्टर भवन निर्माण गरिएको छ । स्थानीय सरकार कार्यान्वयनपूर्व बाक्सिलामामात्र बर्थिङ सेन्टर रहेको गाउँपालिकामा स्थानीय सरकार कार्यान्वयनपछि सबै स्वास्थ्य चौकीमा तालिमप्राप्त प्रसूतिकर्मी, सुत्केरी गराउने साधन, आवश्यक औषधि व्यवस्था गरेर बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस