इन्टरनेटको प्रयोगलाई सूचना, ज्ञान र कामको माध्यम बनाउन अझै सकिएको छैन

इन्टरनेटको प्रयोगलाई सूचना, ज्ञान र कामको माध्यम बनाउन अझै सकिएको छैन


काठमाण्डौं,चैत १६

विश्व बजारमा सन् २०१९ को अन्त्यसम्ममा बजारमा तीन दशमलव ४६ ट्रिलियन डलर बराबरको व्यापार अनलाइन कारोबारमार्फत भयो । विश्व बजारको कुल कारोबारको यो १६ दशमलव चार प्रतिशत हो । कुल व्यापारमा ई–कमर्शको हिस्सा प्रत्येक वर्ष बढ्दै गइरहेको छ । २०१८ मा दुई दशमलव ९३ ट्रिलियन डलरको कारोबार भएकोमा २०१९ मा १७ दशमलव नौ प्रतिशतले बढ्यो । त्यसैगरी सन् २०२१ मा यो कारोबार बढेर चार दशमलव आठ ट्रिलियल डलर, र सन् २०२४ मा छ दशमलव ५४ ट्रिलियल डलर पुग्ने इस्टाटिस्टा डटकमले प्रक्षेपण गरेको छ । यसरी हेर्दा अनलाइन कारोबारको वृद्धिदर चार वर्षमै दोब्बरले बढेको पाइन्छ । जबकी कुल व्यापार जम्मा तीन दशमलव ४ प्रतिशतले मात्रै बढेको छ । कुल व्यापारमा अनलाइन व्यापारको हिस्सा घटाउने हो भने यो वृद्धिदर शून्य दशमलव ९६ प्रतिशत मात्रै हुन्छ । कुनै बजारको वृद्धिदर एक प्रतिशतभन्दा कम हुन्छ भने त्यसलाई ‘स्टेगनेटेड मार्केट’ भनिन्छ । ‘स्टेगनेटेड मार्केट’ भनेको त्यस्तो मार्केट हो जहाँ बजारको वृद्धि प्राय ठप्प हुन्छ वा वृद्धिदर निकै सुस्त हुन्छ । अनलाइन व्यापारको वृद्धिमा विकासशील मुलुकको हिस्सा बढी छ भने अनलाईन बाहेकको व्यापारको हिस्सा नकारात्मक छ । अनलाइन व्यापारको बजार भने निकै उच्च दरमा बढ्दै गएको छ । भनिन्छ, अहिले विश्वका सबैभन्दा ठूला विक्रेतासँग न उद्योग छ, न त पसल नै । नयाँ जमानामा उद्योग र पसललाई सूचना प्रविधिले परिवर्तन गरिदिएको छ । विश्वको सबभन्दा ठूलो अनलाइन बजार अमेजनले सन् २००७ मा पाँच दशमलव ७६ विलियन अमेरिकी डलर खुद आम्दानी गरेको थियो । २०१९ को अन्त्यसम्म आइपुग्दा यो आम्दानी ८७ दशमलव ४४ विलियन अमेरिकी डलर पुगेको रिपोर्ट निकाल्यो । यी दुई समयबीचको औसत वार्षिक वृद्धिदर २५ दशमलव ४४ प्रतिशत हुन आउँछ । विकसित मुलुकहरूमा आम्दानीमा २५ प्रतिशतको चक्रीय वृद्धिदर हासिल गर्नु चानचुने कुरा होइन । उता चीनको अनलाइन ट्रेडिङ कम्पनी अलिबाबाले नोभेम्बर ११ का दिन १६ घण्टा ३० मिनेटको अवधिमा ३० दशमलव आठ विलियन अमेरिकी डलरबराबरको कारोबार गर्दै छोटो समयमै सर्वाधिक कारोबार गरेको इतिहास बनायो । नोभेम्बर ११ लाई विश्व किनमेल दिवस पनि भनिन्छ । सो दिन दिइएको आकर्षक अफरका कारण खरिदकर्ताहरू त्यसमा आकर्षित भएका हुन् । अनलाइन कारोबारहरूमा अफर तथा अन्य नीतिगत निर्णयहरूको प्रभाव पनि बढी हुन्छ । त्यसो त अनलाइन सपिङकै कारण अन्तर्राष्ट्रिय बजारमा कयौं सपिङ कम्प्लेक्सहरू बन्द हुन थालेका छन् । अघिल्लो वर्ष उत्तर अमेरिकामा मात्रै खुद्रा बिक्रीका लागि खुलेका ६०० भन्दा बढी मलहरू ‘भुत बंगला’ बनेका छन् । कतिपयले त्यसलाई आवासीय प्रयोजनमा प्रयोग गर्नेगरी पुनर्संरचना गरेका छन् । यो क्रम युरोप र एशियाली बजारमा पनि सुरु भइसकेको छ । ई–कमर्शका कारण विश्वमै परम्परागत व्यापार घट्दो छ । ई–कमर्श त एउटा उदाहरण मात्रै हो । अहिले अनलाइनसँग सम्बन्धित कयौँ त्यस्ता कारोबारहरू छन, जसले हाम्रो दैनिक जीवन सहजमात्रै बनाइरहेको छैन, विश्वलाई नै व्यापार तथा सेवा प्रवाहमा एकीकृत गरेको छ । विकास र समृद्धिको दिशामा ‘एक्सिलेसन’ गरिरहेको छ ।

नेपालमा अनलाइन सपिङको अवस्थाविश्वमा बढ्दै गएको सूचना प्रविधिको प्रयोगलाई नेपालले सहजरूपमा प्रयोग गर्न त परै जाओस, प्रयोग गर्न चाहनेलाई कानुनी मार्ग प्रशस्त गर्न सकिरहेको छैन । विश्वमै व्यापारको महत्वपूर्ण हिस्सा बनिसकेको अनलाईन व्यापार तथा सेवा नेपालमा अझै पनि कानुनी मान्यता प्राप्त गर्न सकेको छैन । दराज डटकम, टुटल, पाठाओजस्ता अनलाइन प्लेटफर्महरूले वस्तु तथा सेवा प्रवाह गर्दा बेला बेलामा कानूनी झमेला भोगिराख्नु परेको छ । तर, आम नागरीकले सर्वसुलभ सेवा, सुविधा प्राप्त गरेकाले नै छोटो समयमा यो प्रणाली निकै लोकप्रिय भएको हो । कानुनी मान्यता प्राप्त नगरी सञ्चालनमा रहेका केही अनलाइन प्लेटफर्महरूले उपभोक्तालाई ठगी गरिरहेको गुनासो पनि आइरहेका छन् । उजुरी परिरहेका पनि छन् । तर, त्यसरी ठगी गर्नेलाई कानुनी कारबाही गर्ने आधारसमेत सरकारसँग छैन । त्यस्ता व्यवसाय नियमन गर्ने निकाय तथा क्षमताको विकास जुनरूपमा हुन पथ्र्यो त्यो भएको छैन । नियमनमा जतिजति ढिला हुँदै जान्छ, उतिउति त्यसको नकारात्मक असरहरू थपिँदै जान्छ । मान्छेमा यस्तो बजारप्रतिको विश्वास गुम्ने अवस्था आयो भने विश्वास दिलाउनभन्दा गुमेको विश्वास फर्काउन दशौं गुणा अप्ठ्यारो हुन जान्छ । बजार र नियामकको सम्बन्ध गोठालो र वस्तुभाउजस्तै हुन्छ । बजार जहिले पनि अघि–अघि हिँड्छ, नियामक त्यसको पछि–पछि । तर, गोठालो धेरै पछि प¥यो भने चराउन लगेका वस्तुभाउ पनि अर्काको बालीमा पस्छ । हाम्रो अवस्था यस्तै छ । त्यसो त, हामीमा ई–सपिङको ट्रेन्डमा सकारात्मक परिवर्तन आउन सकेको छैन । अनलाइनबाट हुनसक्ने कारोबारलाई पनि ‘म्यानुअल’ सिस्टमबाट गर्ने हाम्रो बानी अझै हट्न सकेको छैन । विश्वमा भुक्तानी प्रणाली सुरु भएको ३ दशक पुगिसकेको छ । तर, हामीकहाँ रिचार्ज कार्ड घोटेर मोबाइल रिचार्ज गर्न जान्नेलाई समेत ‘ट्यालेन्ट’ मान्नुपर्ने बाध्यता छ । फेसबुकको भित्ता स्क्रोलिङ गर्नेहरूले गर्दा अनलाइन पहुँचको तथ्याङ्क बढेको देखिए पनि उपयोगिता बढ्न नसकेको तथ्यलाई नचाहेरै पनि स्वीकार गर्नैपर्ने अवस्था छ । अनलाइन कारोबारको महत्व तथा उपयोगितालाई आम लागरिकलाई बुझाउन सकिएको छैन । इन्टरनेटको प्रयोगलाई सूचना र ज्ञानको माध्यम बनाउन सकिएको छैन ।

हामीले बजार प्रणालीको अव्यवस्थाले अहिले पनि नेपालमा उद्यमशीलताको विकास हुन सकेको छैन । राजनीतिक अस्थिरताले उद्यमशीलता बढेन भन्नु आफैँमा गलत थिएन होला । तर, हामीले मुख्य समस्या पत्ता लगाउन नसकेकै हो । त्यो समस्या भनेको बजार हो । यहाँ उत्पादन गर्नेले बिक्री गर्न सकेको छैन । किन्न चाहनेले महँगो मूल्य तिर्नु परिरहेको छ । कहिलेकाँही त किन्न समेत नपाउने अवस्था पनि छ । यसका बाबजुद पनि गैरखाद्य वस्तुहरूको किनमेलमा भने अहिले सपिङ कल्चर फेरिएको छ । बजार गर्न जाँदा आफूले घरमै ब्राण्ड र मूल्यको तयारी गरेर जाने प्रचलन बढेकाले सपिङमा लाग्ने समय र झन्झट घटेको छ । ग्राहकले पनि ठाउँअनुसार भन्दा ब्राण्डअनुसार वस्तुको छनौट गर्न थालेका छन् । यही कारण महँगा र शानदार सपिङ मलहरूको रौनक अहिले घट्दै गएको छ । उनीहरूलाई पनि खर्च र लागत घटाउने चुनौती थपिँदै गएको छ । अहिले बजारको सबैभन्दा ठूलो समस्या भनेको सूचनाको दूरी (कम्युनिकेसन ग्याप) हो । यहाँ उत्पादकलाई आफ्नो उत्पादन कहाँ, कसले, कति किन्छ भन्ने थाहा हुँदैन । उपभोक्तालाई कहाँ र कति उत्पादन हुन्छ र बजार कहाँ छ भन्ने पनि थाहा हुँदैन । कुनै उत्पादनमा झन्झटिलो वितरण प्रणाली छ, कुनैमा विचौलियाहरू हावी छन् । धादिङमा उत्पादन हुने तरकारीले ५० किलोमिटर पार गर्दा ४ गुणा मूल्य बढ्छ उत्पादकले प्राप्त गर्ने मूल्यभन्दा दोब्बर मूल्य त बिचौलियाले बीचमा खान्छन् । माग र आपूर्तिको ‘मिसम्याच’ त्यही कम्युनिकेसन ग्यापले नै सिर्जना गरेको हो । यसको सबैभन्दा महत्वपूर्ण समाधानचाहिँ अनलाइन कारोबार नै हो । विश्वका मूल्यवान ब्राण्डहरूको बिक्री पनि अनलाइनबाटै हुन्छ । एप्पलका उत्पादनहरू आइफोन, आइप्याड र टेस्लाका कारहरू कुनै सोरुममा पाइँदैन केवन अनलाइनमा किन्न पाइन्छ । संसारमा दुईवटा कुराहरू कहिलै पनि नकार्न सकिन्न । संसार जतिसुकै विकसित किन नहोस्, क्याप्सुल खाएर हुँदैन, जीवन धान्न कृषि उत्पादन नै चाहिन्छ । अर्को, अहिले पनि सूचनाको महत्व कम भएको छैन । सूचनाको महत्व कम हुन्थ्यो भने शक्तिशाली देशहरूले ठूलो धनराशी खर्च गरेर प्रतिरक्षा प्रणाली बनाउनुपर्ने थिएन, गुप्तचरहरू राख्नुपर्ने थिएन । उद्योग प्रतिष्ठानहरूले अनुसन्धानको नाममा बजेट छुट्याउनु पर्ने पनि थिएन । प्रविधि परिवर्तन भए त्यसको लागतका तलमाथि होला तर महत्व कहिलै घट्दैन ।
अहिले चिठीपत्र आदानप्रदानको युग जसरी सकियो, क्यामरामा रिल लोड गर्ने प्रणाली जसरी ध्वस्त भयो, घडी, रेडियो र टर्चलाइट एउटै झोलामा हाल्ने जमानाबाट जसरी एउटै ग्याजेटमा पाइने जमानामा बदलियो, पेजरमा नम्बर हेरेर फोन गर्ने प्रणाली जब इतिहास बन्यो, साइबर क्याफेहरू जसरी बन्द उन्मुख भए, बजार प्रणालीमा यसप्रकारको परिवर्तन हुँदै जान्छ । हाम्रो विद्यमान बजार प्रणाली भूकम्पपछि चर्किएको भवनजस्तै रुग्ण बनेको छ । त्यसैले अबको लगानी सहरको कम्प्लेक्समा होइन, सूचना प्रविधिमा खर्च गर्नुपर्छ । अब नयाँ आधुनिक बजार प्रणालीको जग खन्नु जरुरी छ । त्यस्तो जग जहाँ कृषिलाई सूचना प्रविधिले जोडेको होस् । उत्पादक र उपभोक्ताबीचको भौतिक दूरी जति भए पनि ‘भर्चुअल दूरी’ शून्य होस् । कर्णालीमा फूल खेल्दै गरेको मार्सी धानले काठमाडाँैको गन्तव्य सुनिश्चित गरोस् । इलाममा मुना पलाउँदै गरेको चियाको बुटाले अमेरिका र युरोपको जिब्रोको स्वाद मेटाउने संकल्प गर्न सकोस् । भोजपुरमा धार लगाउँदै गरेको खुकुरी विश्वको कुनै कुनामा बस्ने पारखीको सौख पूरा गर्न पाओस् । सल्यानमा फलाइएको गोलभेँडाले कालीमाटीमा आएर भान्छामा पाक्न जाने कि ल्यान्डफिल्ड साइटमा कुहिने भन्ने अनिश्चय भोग्न नपरोस् । सडक बनेर मात्रै उत्पादनको मूल्य सस्तो हुने होइन । मुस्ताङको स्याउले काठमाडौँको बजार पाउने निश्चित भए कच्ची बाटो बाधक हुँदै होइन । त्यसैले हामीले बजार प्रणालीलाई यसरी ‘रिफर्म’ गर्नुछ जहाँ वस्तु खोजेकाले वस्तु पाउन सकुन, बजार खोजेकाले बजार । यो नै उद्यमशीलता विकासको उत्तम विकल्प हो र बजार सुधारको निर्विकल्प गन्तव्य पनि ।

(आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie