श्रम मन्त्रालयमा सेवासुविधाको माग राख्दै ज्ञापन

अन्ना क्यासिनोका मजदुरद्वारा होटल व्यवस्थापनलाई सात दिने अल्टिमेटम

श्रम मन्त्रालयमा सेवासुविधाको माग राख्दै ज्ञापन

काठमाडौं, माघ २५
दरबारमार्गस्थित रहेको होटल अन्नपूर्ण अन्तर्गत क्यासिनो अन्नाका मजदुरद्वारा सम्पूर्ण सेवासुविधा र तलबभत्ता सात दिनभित्र उपलब्ध गराउन होटल व्यवस्थापनलाई अल्टिमेटन दिएका छन् । काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १ दरबारमार्गस्थित होटल डेला अन्नपूर्ण परिसरमा अवस्थित अन्नपूर्ण इन्टरनेशनल प्रालिद्वारा सञ्चालित क्यासिनो अन्नामा कार्यरत नौ सय २२ जना मजदुरहरुको भेलाले सो अल्टिमेटम दिएका छन् । सोबारे बिहीबार श्रममन्त्रीलाई ज्ञापनपत्र पेस बुझाउँदै सो अल्टिमेटम दिएको क्यासिनो अन्ना मजदुर संर्घष समितिका संयोजक गोपाल राईले बताएका छन् । संयोजक राईका अनुसार यस क्यासिनो अन्नामा सञ्चालकहरु एवं स्वामित्व परिवर्तन भए पनि हामी श्रमिकहरुले पाउनुपर्ने तलब, भत्ता, सञ्चयकोष रकम, कर्मचारी कल्याणकारी कोष, उपदान, अवकाश प्राप्त गर्ने कर्मचारीले प्राप्त गर्नुपर्ने रकमसहित अन्य रकमहरु २०७० साल भदौ महिनापश्चात् विभिन्न समस्या देखाउँदै हामी बहालवाला श्रमिकहरुलाई आजको मितिसम्म पनि उल्लिखित कर्मचारी मजदुरहरुले प्राप्त गर्नुपर्ने रकम उपलब्ध नगराएको र सो उपलब्ध गराउन माग गरेका छन् । 

अन्नपूर्ण इन्टरनेशनल प्रालिले क्यासिनो सञ्चालनको दायित्व २०६८ सालबाट लिँदै आई २०७० साल भदौ महिनादेखि हामी मजदुरहरुको पाकेको सेवा सुविधा उपलब्ध नगराएको कारण श्रम कार्यालय टेकुमा माघ २२ गतेका दिन विधिवत् उजुर गरी सो बमोजिम श्रम कार्यालयबाट २०७१ वैशाख १६ मा श्रम कार्यालय, काठमाडौंले अन्नपूर्ण इन्टरनेशनलका व्यवस्थापकका नाउँमा फरफारक गर्नुपर्ने रकमलगायत सेवा निवृत्त एवं भूतपूर्व कर्मचारीहरुलाई उपलब्ध गराउन परिपत्र गरे पनि सो पत्रको कार्यान्वयन नभएको समेत सो ज्ञापन पत्रमा उल्लेख गरिएको छ । सो होटल व्यवस्थापनले श्रम कार्यालयको निर्णयविरुद्ध क्यासिनोका सञ्चालकले श्रम कार्यालयको निर्णयउपर पुनरावेदन गरेकोमा श्रम अदातलले २०७१ वैशाख १६ को निर्र्णय सदर गरी पीडित श्रमजीवीहरुको हकहितमा कानुनबमोजिम निर्णय गरे पनि बेवास्ता गरेको समेत पत्रमा उल्लेख गरिएको छ । 

श्रमिकहरुले प्राप्त गर्नुपर्ने पारिश्रमिक समेतको रकम विभिन्न प्रपञ्च गरी फैसलाबाट प्राप्त हाम्रो कानुनी हक अधिकारमा कुठाराघात गर्दै श्रम ऐन, २०७४ को दफा १४८/१४९ समेतमा व्यवस्थित श्रमिकहरुको हकको चरम उल्लंघन गरेको ठहरसमेत गरिएको छ । श्रमिकहरुको उपर्युक्त समस्याको समाधान गरिदिन होटलसँग सम्बन्धित सरोकारवाला निकायहरुसँग समन्वयकारी भूमिका निर्वाह गरी समस्या समाधान गरिदिन हुन यस मन्त्रालयसमक्ष जोडदार माग गरेको संयोजक राईले बताएका छन् । सो ज्ञापन पत्रमार्फत माग विधिवत् रुपले उचित समयमा पूरा हुन नसकेमा क्यासिनो अन्ना मजदुर संघर्ष समितिमार्फत संगठित रुपमा अदालतको फैसला कार्यान्वयन गराउन विभिन्न खालका संघर्षका कार्यक्रमहरु सञ्चालन गर्न बाध्य हुने र सो बाट सृजित सम्पूर्ण दायित्वको जिम्मेवारी हाल उक्त क्यासिनोको दायित्व बहन गरी क्यासिनो सञ्चालन गर्दै आएको होटल डे ला अन्नपूर्ण र सो का सञ्चालकहरु समेत हुने जनाएको छ ।                      (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie