इलामको सीमावर्ती बजार सुनसान

इलाम, चैत ४
सीमावर्ती बजार पशुपतिनगर यतिबेला सुनसान भएको छ । कोरोना भाइरसको त्रासले भारतसँग सीमा गाँसिएको बजार सुनसान भएको हो । बङ्गाली पर्यटकको घुइँचो लाग्ने पशुपतिनगर बजारमा हाल पर्यटकहरु आवतजावत गर्न छाडेका छन् । प्रायः पसलका सटरहरु पनि बन्द नै हुने गरेका छन् । कोभिड–१९ को प्रकोप फैलिनसक्ने भन्दै भारतको पश्चिम बङ्गाल सरकारले सीमामा ‘सिल’ गरेपछि इलामका सीमावर्ती बजारहरु सुनसान भएका हुन् ।

भारतीय पर्यटकको भीड लाग्ने पशुपतिनगर, मानेभञ्ज्याङ, छब्बिसे, जौबारी, सन्दकपुरलगायत सीमावर्ती बजार र पर्यटकीयस्थल प्रायः सुनसान भएका हुन् । भारत सरकारले आइतबार साँझसम्ममा नेपाल प्रवेश गरेका भारतीय र भारत प्रवेश गरेका नेपालीलाई आ–आफ्नो देश फर्किन निर्देशन दिएपछि पशुपतिनगर नाकाबाट आफ्ना घर फर्कन थालेका छन् । पशुपतिनगर नाका भएर भारत गएका पर्यटकलाई भने झापा काँकडभिट्टा नाकाबाट पठाउने भारतीय अधिकारीले जनाएका छन् । पशुपतिनगरका नेपाल प्रहरी प्रमुख रमेश राईले नेपालतर्फ सुरक्षित अवस्था रहे पनि उच्च सजगता अपनाइएको जानकारी दिए । अहिलेसम्म सात भारतीय नागरिकमा उच्च ज्वरो आएको देखिएकाले भारततिरै फर्काइएको छ ।

सूर्योदय नगरपालिकाले सञ्चालन गरेको सहायता कक्ष ‘हेल्प डेस्क’मा परीक्षण गराउँदा उनीहरुमा १०४ डिग्रीभन्दा माथि ज्वरो देखिएको थियो । पशुपतिनगरमा स्थापना गरिएको हेल्प डेस्कमा फागुन २२ गतेबाट हालसम्म सात हजारभन्दा बढीको स्वास्थ्य जाँच गरिएको नगरपालिका प्रमुख रणबहादुर राईले बताए । भारत प्रवेश गर्नेको भारततर्फ नै स्वास्थ्य जाँच गरिँदै आइएको छ । नेपाल प्रवेश गर्नेको नेपालतर्फ स्वास्थ्य जाँच गरिँदै आएको छ ।

दुवै देशको सीमा क्षेत्रमा हेल्प डेस्क स्थापना गरिएको सीमा क्षेत्रमा नगरपालिकाले पशुपतिनगर स्वास्थ्य केन्द्रमा चिकित्सकसहितको स्वास्थ्य टोली आकस्मिक सेवा दिने गरी तयारी अवस्थामा राखेको छ । त्रासकै कारण भए पनि बजार सुनसान बन्दा पसलको बैंकमा किस्ता तिर्न समस्या परेको व्यापारीहरुको भनाइ छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie