महासंघ र एसोचेमबीच आपसी सहकार्य गर्ने सहमतिमा हस्ताक्षर

काठमाडौं, माघ १०
नेपाल उद्योग वाणिज्य महासंघ र दि एसोसिएटेड चेम्बर्स अफ कमर्स एण्ड इण्डष्ट्री अफ इण्डिया (एसोचेम)बीच संयुक्त सहकार्य गर्ने भएका छन् । सोसम्बन्धी सहमतिपत्रमा महासंघका महानिर्देशक धरणीधर खतिवडा र एसोचेमका महासचिव दिपक सुदले हस्ताक्षर गरेका छन् । एसोचेमद्वारा बिहीबारदेखि भारतको नयाँ दिल्लीमा आयोजना गरिएको जेम इन्टरनेशनल सस्टेन्याबिलिटी कन्क्लेभ एण्ड एक्स्पो २०२० मा उक्त सम्झौता भएको हो ।

सहमतिअनुसार नेपाल र भारतबीच उद्योग व्यवसाय, संयुक्त लगानी, प्रविधि आदान प्रदान तथा व्यावहारिक समस्या समाधानमा सहकार्य गर्ने उल्लेख छ । त्यसैगरी आर्थिक व्यावसायिक, नीतिगत विषय, लगानीका सम्भाव्य क्षेत्रहरूसम्बन्धी सूचनाको आदानप्रदान गर्ने, व्यावसायिक भेटघाट, बैठक छलफल तालिमको आयोजना तथा प्रतिनिधिमण्डलको आदानप्रदान, दुवै देशमा पालैपालो तथा आवश्यकताका आधारमा तेस्रो मुलुकमा समेत दुवै संस्थाको सहकार्यमा कार्यक्रमको आयोजना, उत्पादन तथा सेवाको गुणस्तर सुधार, मेला महोत्सवको आयोजनामा जोड दिइएको छ । हस्ताक्षरपश्चात् दुवै संस्थाबाट लामो समयदेखि हुँदै आएको संस्थागत सहकार्यलाई यो सहमतिपत्रले अझ बढी मजबुत बनाउने भन्दै सहमतिपत्रमा उल्लिखित बुँदाहरूलाई अक्षरशः पालना गरी दुवै देशका जनताको हितमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

जेम इन्टरनेशनल सस्टेन्याबिलिटि कन्क्लेभ एण्ड एक्स्पो २०२० मा नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक धरणीधर खतिवडाले भाग लिएका छन् । कार्यक्रममा महानिर्देशक खतिवडाले नेपाली निजी क्षेत्रको तर्फबाट सम्बोधन समेत गरे । कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने र मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने लक्ष्यसहित नेपाल अगाडि बढिरहेको र त्यसका लागि सरकारले निजी क्षेत्र समेतको सहयोगमा कार्य गरिरहेको जानकारी दिए ।

यतिखेर जलवायु परिवर्तनको विषयले विश्वकै ध्यानाकर्षण गराइरहेको अवस्थामा नेपालले पनि यसबाट आउन सक्ने चुनौतीहरूलाई सामना गर्दै दिगो आर्थिक विकासको गतिलाई निरन्तर अगाडि बढाउने तयारीहरू गरिरहेको उनको भनाइ थियो । यसका लागि सरकारले अगाडि सारेका नीति तथा योजनाहरू सफल पार्न निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था महासंघले ऊर्जा दक्षता, नवीकरणीय ऊर्जा, वातावरण संरक्षणमा सहयोग गर्ने औद्योगिक उत्पादनहरूको प्रवर्द्धनमा विशेष जोड दिइरहेको जानकारी दिए ।

दिगो विकास लक्ष्य हासिल गर्ने सरकारको अभियानमा सहयोग गर्न निजी क्षेत्रले सरकारसँग नजिकमा रहेर कार्य गर्दै आएको धारणा राख्दै खतिवडाले सरकारले अगाडि बढाएको ग्रिन क्लाइमेट फण्डको अभियानमा महासंघ सहभागी भई सहयोग गर्ने प्रतिबद्धता समेत जनाइसकेको स्पष्ट पारे । महानिर्देशक खतिवडाले मुलुकको समृद्धिको लागि नेपाली निजी क्षेत्र र सरकार समेत एकसाथ कार्य गरिरहेको अहिलेको अवस्थामा नेपालको आर्थिक विकासमा भारतीय सहयोग अपरिहार्य रहेको बताए । कार्यक्रममा सार्क क्षेत्रका उद्यमी व्यवसायीहरू, भारतीय सरकार तथा निजी क्षेत्रका पदाधिकारी, उद्यमी व्यवसायीहरूको सहभागिता रहेको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie