विद्यार्थी मनोविज्ञान र एसईई परीक्षा

विद्यार्थी मनोविज्ञान र एसईई परीक्षा

अन्ततः यसपालिको माध्यमिक शिक्षा परीक्षा (एसईई) रोकियो । चैत्र ६ गते विहान ८ बजेदेखि सुरु हुनेगरी तय भएको सो परीक्षा रोकिएको खबर रातको झण्डै १२ घण्टाअघि मात्र बाहिर आयो । चैत्र ५ गते बेलुकी ६ बजेको खबर प्रसार हुँदासम्म सबै परीक्षा केन्द्रहरूमा परीक्षा अवधिभर हेल्थ डेस्क स्थापना गर्नेगरी सञ्चालन हुने भनिएको सो परीक्षा ठीक १ घण्टापछि ७ बजेको खबर बाहिर आउँदा सबै अचम्मित भए । एसईई परीक्षा मात्र होइन विश्व विद्यालय, कलेज भनौँ सबै परीक्षाहरू हाललाई स्थगित भएको जानकारी मिल्न गयो । दूरदराजमा रहेका सबैले सोही समयमा जानकारी पाए पाएनन्, त्यो आफ्नो ठाउँमा होला तर अकस्मातको त्यो खबरले विद्यार्थीलगायत अभिभावक सबैको मनोविज्ञान कस्तो भयो होला ? त्यति मात्र होइन २५ जनाभन्दा बढीको कुनै पनि भेला, जमघट, मठ, मन्दिरसम्मको आवागमनमा करिब–करिब निषेधकै खबर बाहिर आउँदा आम जनसमूहको मनोविज्ञान एकाएक अर्कै बन्न पुग्यो ।

चैत्र ६ गतेदेखि १७ सम्म सञ्चालन हुनलागेको, कुल चार लाख ८२ हजार सात सय सात विद्यार्थी सम्लग्न हुने यसपालिको एसईई परीक्षामा एक हजार नौ सय ९५ परीक्षा केन्द्रहरूको तयारी पूरा भइसकेको थियो । मनोबेत्ताहरू भन्छन्, शारीरिक चोटभन्दा मानसिक चोटबढी खतरानाक हुन्छ । सबैले भन्छन्, विद्यार्थीहरू राष्ट्रका कर्णधार हुन्, भविष्यका सम्वाहक हुन्, देश निर्माणमा उनीहरूकै हात हुन्छ । नयाँ पुस्ता झन् बढी संवेदनशील हुन्छ । नयाँ पिँढीलाई खुलेर विश्वास गर्नाले आजको थाइलैण्ड साँच्चै थाइलैण्ड भएकोे हो । पुराना पुस्तालाई खुलेर विश्वास गर्नाले आजको जापान साँच्चैकोे जापान भएको हो । त्यसो त औपचारिक प्रमाणपत्र प्राप्त गर्न नसके पनि विद्यार्थीका लागि पहिलो पाठशाला भनेको घर नै हो, पहिलो शिक्षक शिक्षिका भन्नु पिता, माता, अग्रज, आफन्त नै हुन् । विद्यार्थीको सुन्दरता भनौँ गहना भनेको उनीहरूको इमानदारीता हो, अनुशासन हो, नैैतिकता हो । साना नानीहरूलाई झूट बोल्न आउँदैन, उनीहरूको जीवन सत्य युगमा बाँचेको हुन्छ र त एउटा साहुले आफ्नो घरमा आएर ढोका ढकढकायो भने, घरमुलीलाई खोजेको महसुस ग-यो भनेर ऊ सिधै भन्छ हाम्रा बा त भकारीभित्र लुक्नुभाको छैन के ।

कमलो मन मस्तिष्क बोकेका हाम्रा साना नानीहरूको विधि व्यवहारलाई हामीले बुझ्न सकेनौँ, हाम्रा पाठ्यक्रमले बुझ्न सकेनन्, हाम्रा शैक्षिक नीति निर्माताहरूले बुझ्न सकेनन्, हाम्रा विद्यालय, महाविद्यालय, विश्वविद्यालयहरूले बुझ्न सकेनन् र त हामीले ठूलो कष्ट झेलिरहेका छौँ अहिले । घर परिवारले मात्र होइन देशैले ठूला झड्का व्यहोरिरहेकोे छ । इमानदारीता, नैतिकता, अनुशासनलाई कायम राख्न देशलाई हम्मे–हम्मे परिरहेको छ । कानुनले मात्र कहाँँ हुँदोेरहेछ त ? विद्यार्थीका लागि पुस्तकको ज्ञान सबै ज्ञान होइन, व्यावहारिक ज्ञान बढी हुनुपर्छ ।

हामीकहाँ देशप्रति इमानदार हुने जनशक्ति तयार गर्ने शिक्षा नीति भएको भए सायद टेस्ट पास गर्न नपाई गाउँ छोडेर सहर पस्ने अनि ‘प्लस टु’को अभियानमै देश छोडेर विदेशिने तरखरमा हुन्नथे होलान्, हाम्रा ससाना नानीहरू । हिजोआज त गीतै यस्तो घन्किएको छ भिजिट भिसामा ...., भूइँ छोडी उड्ने हो पश्चिम दिशामा  । अहिले कोरोेनाले देखाइदियो कहाँ कसरी उड्ने हो भनेर । अहिले हाम्रो बजार ठप्प छ, आफ्नो उत्पादन केही छैन हात मुख जोर्ने समस्या भइसकेको छ । ग्यासको नाम लेखाउँदा डेढ् महिनापछिका लागि नामसम्म टिपिएको छ, डेढ महिनापछि पसलमा जाँदा नजाने त्यो पसले त्यहाँ हुन्छ कि हुन्न ।

स–साना नानीहरूका आफ्नै समस्याहरू छन् । घर, परिवारप्रतिको सम्बन्ध, उनीहरूको टोकसो, छरछिमेक अनि नातागोताप्रतिकोे नैतिक दायित्व, उपस्थिति साथीभाइप्रतिको उदारता, शिक्षक शिक्षिकाप्रतिको व्यवहार, ठूला–ठूला झोेला बोक्दै कुद्नुपर्ने समस्या, चार घण्टासम्मको ट्राफिक जाम, बसको उकुसमुकुस वातावरणबाट लखतरान भएर कोठामा बल्लतल्ल पसेको हैरानी, गृहकार्य, घरधन्दामा सघाउनुपर्ने दायित्व, परीक्षाको तयारी, ठूलाकोे आदेश, सानाप्रतिको दयामाया, आफ्नो सरसफाइ, कतिपय अर्थमा खर्चबर्चको जोेहो, बल्ल एउटा परीक्षा सकियो, अब कुन विषय लिएर कहाँ पढ्ने ? कुन विद्यालय वा कलेज

राम्रो ? पढेअनुसारको काम पाइने नपाइने हचुवाको जिन्दगी, वृत्ति विकासमा धक्का लाग्ला कि भन्ने डर, भनौँ आसै–आसको र त्रासै–त्रासको जीवन अझ दूर्व्यसनीतिर लागिएला भन्ने त्रास भनौँ सिङ्गो विद्यार्थी जीवन त्रासदीय मनोविज्ञानमै बितेको हुन्छ । अभिभावकहरू पनि त्यस्तै मनोविज्ञानको भुमरीमै हुन्छन् । कतिपय त ‘हिस्स बुढी हरिया दाँत’ भन्ने उखानमा चरितार्थ बन्न पुग्छन् पनि । समाज तीव्र आकाँक्षी र बढी प्रतिस्पर्धी हुँदै छ । समाजमा एक किसिमको भागदौड प्रतियोगिता चलेको छ । सम्पत्तिको ठूलो मोह छ, अन्त्यमा साँढे तीन फिटको जमीन नै पर्याप्त हुने ध्रुवसत्यलाई मानिसले बिर्सेको छ । आज कोरोनाले मात्रै तर्साएको होइन हिजो अस्ति पनि यस्ता त्रासदीहरू सबै तिर थिए, भनौँ मानिस जन्मदै समस्या बोकेर जन्मिन्छ र हुर्कँदै, पढ्दै, बढ्दै जाँदा समस्या थपिँदै जान्छन् ।

देशमा व्यवस्था बदलियो, अवस्था उस्तै रह्यो । पङ्क्तिकारकोे एउटा तीतो अनुभव छ । झण्डै पाँच दशकअघि एसएलसी परीक्षामा सामेल हुँदा काठमाडौँको भृकुटीमण्डपमा दिनभरि लाइन बसेर २ लिटर मट्टीतेल ग्यालेनमा बोकी कोठामा खाना बनार्ई परीक्षामा सामेल भएको थियो ऊ, अहिले ग्यास सिलिण्डर काँधमा राखी २ महिनापछिका लागि ठूलै लाइन पार गरी पसलमा नामसम्म लेखाई चाउचाउ खुवाउँदै तेस्रो पुस्तालाई परीक्षाहलमा पु-याउने तरखरमा थियो । तर उद्देश्य अधुरै रह्यो । एसएलसी परीक्षा स्थगनको कुरा नयाँ नहुन सक्छ । यसबारे गतिलो आलेख त छैन तथापि देशमा एसएलसीको आरम्भ भएकै वर्ष महाभूकम्पका कारण नब्बे सालमा परीक्षा स्थगन भएको थियो रे । पछि देशका ठूला व्यक्ति प्रधानमन्त्री मोहन शमसेरको जन्मदिनका कारण ५ सालमा परीक्षा रोकियो रे । पछिल्ला दिनमा पनि छिट्पुट यस्ता परिवेश नआएका होइनन् तर परीक्षा स्थगन गर्नुअघिको समय मापदण्ड अझै तोेकिएन भने भोलिको पुस्ताले पनि यस्तै नसोचिएको दुःख पाउने निश्चित छ । अन्तर्राष्ट्रिय कोरोनाबारे भ्रम नफैलाउन सबैलाई निर्देशन गरिरहँदा हाल २५ जनाभन्दा बढी भेला नहुन र अत्यावश्यकबाहेक घर बाहिर ननिस्कनसमेत आदेश जारी भइसकेकोे देखिन्छ ।

मानव पुँजी निर्माणकोे सोपान शिक्षा र स्वास्थ्य नै हो । नेपालको संविधानले स्वास्थ्य सेवालाई मौलिक हकको रूपमा स्वीकारेको छ । आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र स्वास्थ्य सेवामा पहुँच बढाउने उल्लेख छ । सुलभ स्वास्थ्य सेवाबाट स्वास्थ्य जीवन र दीगो विकासको परिकल्पना भएको छ । देश भौगोलिक विकटतामा अल्मलिएको छ । भूगोल र जनसंख्याको अनुपात हेरी चिकित्सक र स्वास्थ्य संस्थाको विकास गर्न सकिएको छैन । सरकारले धेरै औषधि निःशुल्क वितरण गर्ने नारा लिए पनि यो सर्वसुलभ छैन र गुणस्तर पनि । स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारीता देखिँदैन । स्वास्थ्य क्षेत्रमा आउने वैदेशिक सहयोगको परिचालन राम्ररी गर्न सकिएको छैन । योजना, परियोजना, गैरसरकारी संस्थाहरूको सम्बन्धको अभाव छ । भूकम्पबाट क्षतिग्रस्त भएका संरचनाहरूको पुनर्निर्माण अधुरो रहेको छ । हाल देश पन्ध्रौं योजनाको कार्यान्वयनमा छ ।

विगतका योजनाहरूले मानव स्वास्थ्यका विषयमा धेरै बोले । तेह्रौ योजनाले पनि आधारभूत स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच वृद्धि गर्ने लक्ष्य लिएको थियो । गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइने नीति लिएको धेरै भइसकेको छ । हाल मानव स्वास्थ्य राम्रो भई सरदर आयु ६८ दशमलव ८ वर्षबाट ७१ पु-याउने लक्ष्यमा ६९ वर्ष मात्र पु-याउन सफल भएको देखिन्छ ।

जलवायु परिवर्तनका कारण हुने मानव स्वास्थ्य समस्यालाई राज्यले सम्बोधन गर्नुपर्ने हुन्छ । वातावरण प्रदूषण हुँदै गइरहेको अवस्था, दिनानुदिन बिग्रँदो पर्यावरण, देशाटन, आन्तरिक र बाह्य पर्यटनका दृष्टिले हुनसक्ने सम्भावित संक्रमण, उद्योग, व्यवसायबाट हुने सम्भावित रोगहरूलाई समयमै सम्बोधन गरिनुपर्छ । समय परिवर्तन भएसँगै मानव स्वास्थ्य थप जोखिममा छ, पूर्वतयारी र सचेतना जरुरी हुन्छ । आकस्मिक स्वास्थ्य जनशक्ति र उपकरण, सवारी साधनसहितको टोली, आवश्यक सामग्रीको मौज्दात जरुरी छ । आगो निभिसकेपछि दमकल पुग्ने हाम्रो सेवा र घाइते बिरामीले मृत्युवरण गरिसकेपछि पुग्ने एम्बुलेन्स वा औषधि उपकरण विशेषज्ञले के हुन्छ ? सडक, राजमार्गहरूमा दुर्घटना र घाइतेहरूको संख्था बढी रहेकोले यसतर्फ बढी चनाखो हुनुपर्ने देखिन्छ ।

नर्सिङहोम, अस्पतालहरूबाट निस्कने फोहोर, उद्योग व्यवसायबाट निस्कने प्रदूषणभन्दा कम छैन । अस्पतालबाट निस्कने फोहोरको तत्कालीन र दीर्घकालीन व्यवस्थापन, सबै अस्पतालहरूमा वैज्ञानिक सर्वेक्षणअनुसार विशेषज्ञ, चिकित्सक एवं स्वास्थकर्मीको भनौं जनशक्तिको आपूर्ति, नियमित पानीको प्रभाव, शौचालय र ढलको समुचित प्रबन्ध, विद्युत्को नियमित आपूर्ति, न्यूनतम शुल्कबाट औषधि पाउने अवस्था, बिरामीहरूलाई अनावश्यक परीक्षा गरिरहनु नपर्ने व्यवस्थाको सिर्जना गरिनुपर्छ । सामान्य रोगमा अस्पताल पुग्ने बिरामीहरूलाई अस्पतालले गर्नसक्ने सबै परीक्षण र तिनमा तिनुपर्ने शुल्कले आम बिरामीहरूको मनोविज्ञान त्रसित छ अहिले सरकारी अस्पताल पुगेको बिरामीहरू महँगा निजी अस्पतालमा निम्त्याइन्छन् ।

बाल स्वास्थ्य र कुपोषणमा बढी ध्यान दिन सकिएको छैन । परिवार स्वास्थ्य र सुरक्षित मातृत्वमा बढी ध्यान दिन जरुरी छ । क्षयरोगीको संख्या वृद्धि हुनु भएन । यौन रोग र एचआईभी अनि एड्सजस्ता रोगहरू नियन्त्रणमा रहन जरुरी छ । कुष्ठरोगदेखि नसर्ने उच्च रोगहरूको रोकथाम जरुरी छ । औलो र कालाजार निवारण गर्न जरुरी छ । खाने बानीमा परिवर्तन भएकाले मुख, दाँत, गिजाका समस्या बढेका छन् । विद्यालय शिक्षामा स्वास्थ्य शिक्षाको कमीले गर्दा केटाकेटीहरूको लवाइखुवाइ, आँखाको समस्या, मानसिक स्वास्थको समस्या थपिएका छन् । मोबाइल, कम्प्युटर, ल्यापटपले निम्त्याएको स्वास्थ्य समस्या, मनोसामाजिक र मानसिक स्वास्थ्थ समस्या थपिदै आएको छ । केटाकेटीहरू आफन्तसँग रमाउनुभन्दा नेट, इन्टरनेटमा रमाउने परिवार, एक्लिएको अवस्था, बुढाबुढीहरूले माया नपाउने अवस्था सिर्जना भएको छ ।

अकालमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने मूल्यमान्यतालाई आत्मसात गरिनु जरुरी छ । समूह, भीड जम्मा हुने स्थान, उद्योग, कलकारखाना, व्यवसाय, ठूला होटल, मोटल, रिसोर्ट, सिनेमा हल, विद्यालय, कार्यालय परिसर, राजमार्गलगायत दश जनाभन्दा बढी समूह जम्मा हुने क्षेत्रमा अग्रिम स्वास्थ्य सेवाको पहुँच जरुरी छ । साथै खानपिन, रहनसहन, जीवनशैलीप्रति पनि आमरूपमा सबैले ध्थान पु-याउन सके अहिलेजस्तो जताततै ठप्प पार्नुपर्ने थिएन । न व्यक्ति मूर्तिजस्तो एकैै ठाउँमा बस्नसक्छ न समाज नै चलायमान नभई ।

मानव पुँजी निर्माणविना राष्ट्र निर्माणको काम अधुरो रहन्छ । एक्काइसौं शताब्दीको चुनौतीसँग सामना गर्ने दक्ष र स्वस्थ जनशक्तिको अभावमा अल्पविकसित एवं विकासोन्मुख राष्ट्रहरू अहिले छट्पटिएका छन् । संघीय संरचनाको अभ्यासमा रहेको हाम्रो मुलुक पनि असल मानव संशाधन विकासको योजनाको अभावबाट अछुतो छैन । मानव पुँजी निर्माणको आधार भनेको असल स्वास्थ्य अनि त्यसका लागि असल शिक्षा नै हो । असल स्वास्थ्य र गुणस्तरीय शिक्षाको अभावमा हामीकहाँ प्रशस्त मानव संशाधन विकास गरी मानव पुँजी निर्माण गर्न सकिएको छैन । फलस्वरूप सक्षम, कर्तव्यनिष्ठ, अनुशासित र उत्पादनशील जनशक्तिको अभाव झेल्दै आएको हाम्रो मुलुक लामो समयदेखि उच्चतम प्रयास गर्दा पनि समृद्ध र समुन्नत हुन सकेको छैन ।

जनगणनाअनुसार देशको कुल जनसंख्यामध्ये १८ वर्ष मुनिका बालबालिका एवं किशोर किशोरीको संख्या ४४ दशमलव ४ प्रतिशत छ । १० देखि १९ वर्ष समूहका बालबालिका २४ दशमलव १९ प्रतिशत छन् । कुल जनसंख्याको ४० दशमलव ३५ प्रतिशत युवाहरू छन् । यी सबै समूहको उचित शिक्षा दीक्षा र असल स्वास्थ्यको वातावरण राज्यले तयार गर्न सकेको छैन । शिक्षित, अशिक्षित वा कम शिक्षित छन् धेरै जनशक्ति विदेश पलायन छ । मुलुकमा साक्षरताको अभियान अझै चलाउनु परेको अवस्था छ ।

राष्ट्र निर्माणमा सरिक हुनुपर्ने स्वदेशका मध्यम र उच्च शिक्षा प्राप्त युवाहरूको समूह विदेश पलायनको तीव्रताले मुलुक साँँच्चै संकटको घडीमा उभिएको छ अहिले । विदेशबाट फर्केर आउँदा रोगहरू बोकेर आउनेको संख्या पनि कम छैन । सकारात्मक सोच, नवीन जोस, जाँगर स्फूर्तियुक्त जनशक्तिबाट राष्ट्रको निर्माण हुनुपर्ने, आर्थिक सेवा प्रवाह हुनुपर्ने, व्यावहारिक र व्यावसायिक शिक्षा प्रवाह हुनु पर्ने, दुर्व्यसन, अपराध र असामाजिक कार्यलाई निरुत्साहित गर्नुपर्ने थियो । तर, शैक्षिक क्षेत्रहरूबाट उत्पादन भई वर्षेनी श्रम बजारमा आउने नयाँ युवा शक्तिलाई राज्यले रोजगार बनाउन नसकेकै कारण धेरै श्रम शक्ति विदेश पलायनमा छ ।

यस अर्थमा भन्नुपर्दा युवाहरूलाई सृजनात्मक एवं उत्पादनमूलक कार्यमा संलग्न गराई मुलुकको दिगो विकासमा परिचालन गर्ने राज्यको उद्देश्य अधुरो छ । सिर्जनशील, उद्यमशील, सीप र क्षमतावान मेधावी युवाहरू मुलुकमा कम छन्, भएकाहरू पनि उत्पादनशील कार्यमा संलग्न छैनन् । यदि हुँदो हो भने युवासँग सम्बन्धित कृषि व्यवसाय, पर्यटन, लघु, घरेलु उद्यम आज गिर्दाे अवस्थामा हुने थिएन । रोजगारी, स्वरोजगारी वृद्धि भई लैंगिक हिंसा अन्त्य हुने थियो, लागू पदार्थ दुर्व्यसनी मुलुकमा नभेटिने थिए । सामाजिक कुरीतिहरू मुलुकबाट सदाका लागि अन्त्य हुने थियो । युवाहरूको क्षमता विकासले मुलुकले कोल्टो फेर्ने थियो । सबै नेपालीलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा सुनिश्चित गर्दै सक्षम, उत्पादनशील र प्रतिश्पर्धी जनशक्ति तयार गर्ने राज्यको सपना अधुरो छ ।

शिक्षा जीवनको ज्योति र ज्ञानको भण्डार नै होे । कुल गार्हस्थ्य उत्पादनको ४ प्रतिशतभन्दा बढी सरकारले यसक्षेत्रमा लगानी गरेको छ । त्यसो त नर्वे, स्वीडेन, बोलेभियाजस्ता मुलुकहरूले ७ देखि ८ प्रतिशतसम्म लगानी गरेका छन् । विकसित भनिएका मुलुक बेलायत, अमेरिका, दक्षिाण कोरियाहरूले ५ देखि ६ प्रतिशतसम्म यसमा खर्च गर्नेगरेको पाइन्छ । श्रीलंका, बंगलादेशले हामीभन्दा कम ३ प्रतिशतमात्र पनि यस क्षेत्रमा खर्चिएका छन् । हरेक वर्षमा हाम्रो सरकारले वार्षिक ८ प्रतिशतले शिक्षाक्षेत्रमा बजेट वृद्धि गरेकै छ । देशभरिको तथ्याङ्क हेर्दा ३५ हजार छ सय विद्यालयहरू छन् हाम्रा । तीन लाख २२ हजार शिक्षकहरू छन् । यसमा एक लाख ५३ हजार सामुदायिकमा छन् भने निजिक्षेत्रमा ८८ हजार । सामुदायिक भनिने सरकारी विद्यालयको संख्या २७ हजार आठ सय छ । संस्थागत भनिने निजी विद्यालयहरू छ हजार पाँच सय रहेका देखिन्छन् ।

अन्य धार्मिक विद्यालयहरूको संख्या एक हजार एक सय २१ रहेकामा सबैभन्दा बढी मदरसाको संख्या ९०७, गुम्बा ११४ र गुरुकूलमा आधारितको संख्या सबैभन्दा कम एक सय छन् । विद्यार्थीहरूको भर्ना दर यकीन छैन तर युनेस्कोले गरेको एक अध्ययनअनुसार सन् २००८ देखि सन् २०१५ मा सामुदायिक विद्यालयमा भर्ना दर ५ं८ प्रतिशतले घटेको र निजीमा ४४ दशमलव ३९ प्रतिशतले बढेको देखिन्छ । हाल १ देखि १२ कक्षासम्म अध्ययन गर्ने विद्यार्थी संख्या ७३ लाख १२ हजार छ । हाल ती सबै बन्द छन् । भनिएला जापानमा पनि विद्यालय बन्द भएका हुन् तर त्यहाँ परिबारका हरेक व्यक्ति रोजगार हुन्छन् काम केही भएन भने घडीका सुई वा पेचकस बनाएर दिन काट्छन् हामीकहाँँ यही मौकामा कुटोकोदालो लिएर हाम्रा नानीहरू खेतबारीमा गइहाल्लान् त ? हामीकहाँ स्वतः हुने बिदा नै धेरै हुन्छन्, अनि पढाइ नभएको समयको पैसा फिर्ता हुन्छ त ? अनि शिक्षा व्यापार नभए के हो त ? हामीकहाँ निजीक्षेत्रमा शिक्षाको नाममा मुलुकमा ठूलै व्यापार भइरहेको छ । जति शिक्षामा व्यापार भएको छ त्योभन्दा बढी स्वास्थ्य क्षेत्रमा व्यापार भएको छ ।

मुलुकमा भएको जनसंख्यालाई समुचित व्यवस्थापन गर्दै सर्वसाधारण जनताको जीवनस्तर गुणस्तरीय बनाउँदा मात्र राष्ट्र निर्माणको काम सबल हुने कुरामा विश्वस्त हुन सकिन्छ । स्वस्थ निरोगी जनसंख्या व्यवथापनबाटै उत्पादनशील र स्तरीय जीवनयापनको वातावरण तय हुन्छ तर हामीकहाँ बसाइसराइ, अव्यवस्थित सहरीकरण र बढ्दो विदेश पलायनले मानव संशाधन विकासलाई मात्र होइन सिङ्गो मुलुकलाई नै चुनौती दिएको छ । साँच्चै भन्नुपर्दा विकासमा जनसहभागिताभन्दा पनि अहिले विनाशमा जनसक्रियता देखिएको छ । गुणस्तरीय शिक्षा र भरपर्दो स्वास्थ्यको अभावकै कारण हामी आज हराइरहेका छौँ, प्रदूषित वातावरणले विभिन्न थप र नयाँ नयाँ रोगहरूबाट ग्रस्त भइरहेका छौँ । राम्रो स्वास्थ्य, असल शिक्षा दीक्षाको अभाव र मानव पुँजी निर्माण योजनाको अभाव नै यसको मूल कारण हो देशको सामाजिक, आर्थिक र राजनीतिक सांस्कृतिक उत्थानमा आम नागरिकहरूको सहभागिताको सुनिश्चितता जरुरी हुन्छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie